Successfully Copied

क्रेज कौसी खेतीको

कौसी खेती भनेको घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेती हो । बढ्दो सहरीकरणका कारण कृषि क्षेत्र विस्थापित हुँदै गएको अवस्था छ । कृषि योग्य जमिनको कमीले पनि घरको छतदेखि खाली ठाउँमा आवश्यकतानुसार खेती गर्ने चलन बढ्दै गएको छ ।


कौसी खेती भनेको घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेती हो । बढ्दो सहरीकरणका कारण कृषि क्षेत्र विस्थापित हुँदै गएको अवस्था छ । कृषि योग्य जमिनको कमीले पनि घरको छतदेखि खाली ठाउँमा आवश्यकतानुसार खेती गर्ने चलन बढ्दै गएको छ । कौसी खेतीमा प्रविधिको विकाससँगै आधुनिक तरिकाले खेती गर्न थालिएको छ । सानो ठाउँमा आफ्नो आवश्यकतानुसार यो खेती गर्न सकिन्छ । व्यस्त समय त्यसमाथि पनि बाहिरको तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएकाले अर्गानिक तरकारी खाने रुचिले आफ्नै घरमा खेती गर्ने चलन दिनहुँ बढ्दै गएको पाइन्छ । 

घरको छतमा होस्, कुना–काप्चामा होस् वा कतै खाली ठाउँमा भक्तपुर बालकोट निवासी तेजकुमारी अर्यालले तरकारी र फलफूल लगाएकी छिन् । उनले ठाउँअनुसार भाँडामा बिरुवाहरू रोप्ने गरेकी छिन् । ठूलो ठाउँमा गमलामा रोप्छिन् भने सानो ठाउँमा पानीका बोत्तल वा दहीका भाँडा प्रयोग गर्छिन् । उनले लुगा धोएको वा भाँडा माझेको पानी प्रयोग गर्छिन् । उनले कौसी खेती गर्न थालेको करिब दुई वर्ष भैसक्यो । तरकारी रोप्ने र फलाउने रहर हुने तर ठाउँ नहुने उनलाई सधै समस्या हुन्थ्यो । तर कौसी खेतीले उनको यो रहर पूरा गरिदिएको छ । यसरी तरकारी फलाउँदा विषादीरहित खान पाइने उनी बताउँछिन् । उनलाई अर्को रमाइलो लाग्ने पक्ष भनेको घरको फोहोर व्यवस्थापन हो । भान्साबाट निस्कने फोहोरले नै उनलाई तरकारी फलाउन मलको काम गरेको छ । उनी भन्छिन्–‘आफैले तरकारी रोप्दा विषादीरहित एवं गुणस्तरयुक्त हुन्छ ।’

अनामनगरकी रिता लिम्बूले पनि घरको छतदेखि बरन्डासम्म धनियाँ, टमाटर, खुर्सानी एवं कागतीहरू फलाएकी छिन् । छिमेकीले बारीभरि तरकारी फलाएको देखेर उनले घरमै फलाउन थालेकी हुन् । उनी भन्छिन्–‘छिमेकीले बारीमा तरकारी फलाए तर मेरो बारी छैन । त्यसैले घरमै तरकारी फलाउन थालें ।’ अहिले उनले धेरै थरीका तरिकारी र फलफूल घरमै उत्पादन गर्ने गरेकी छिन् । सिजनअनुसार उनले घरमा तरकारी रोप्छिन् । कौसी खेतीमा उनी दैनिक ३ घन्टा बिताउँछिन् । कौसीमा रोपेको तरकारीले उनलाई खान त पुग्दैन तर केही मात्रामा राहत भने मिलेको छ । बजारबाट ल्याइने तरकारी र कौसी खेतीमा उत्पादन हुने तरकारीको स्वाद निकै फरक हुने उनी बताउँछिन् । अहिले उनलाई अर्गानिक र विषादीरहित तरकारी खान कौसी खेती नै उत्तम लाग्छ ।

कौसी खेतीमा के–के उत्पादन गर्ने 
कौसी खेतीमा ठाउँअनुसार तरकारी र फलफूल उत्पादन गर्न सकिन्छ । यस्तो खेतीमा काँक्रा, फर्सी, लौका, घिरौंला आदि लहरे खेती गर्न सकिन्छ । गमला र अन्य भाँडाहरूको प्रयोग गरी टमाटर, बन्दा, काउली, खुर्सानी आदि तरकारी उत्पादन गर्न सकिन्छ । होंचो बोट हुने कागती–सुन्तला आदि फलफूलहरू पनि लगाउन सकिन्छ । 

कौसी खेतीमा प्रयोग हुने भाँडाहरू
     घरको बरन्डा र थोरै खाली ठाउँमा खेती गरिने भएकाले घरायसी सामानहरू प्रयोग गर्न सकिन्छ । यो खेतीका लागि सिमेन्टका बोरा, फुटेका बाल्टिन, गमला, हेल्मेटदेखि अण्डाको खोल, पानीका जारदेखि पानीका बोत्तलहरूसम्म प्रयोग गर्न सकिन्छ । साथमा कार्टुन, तेलका प्लास्टिकहरू पनि प्रयोग गर्न सकिन्छ । 

कौसी खेतीका फाइदाहरू 
    कौसी खेतीको राम्रो फाइदा भनेको फोहोर व्यवस्थापन गर्नु हो । भान्साबाट निस्कने फोहोरलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । 
    दैनिक रूपमा उपभोग्य तरकारी र फलफूल किनमेलमा पैसाका साथै समयको पनि बचत हुन्छ । 
    घरमा भएका बिग्रिएका सामानहरूको सदुपयोग । 
    तरकारी र फलफूल ताजा एवं अर्गानिक हुने । 
    सानो ठाउँमा इच्छानुसारका तरकारी फलाउन सकिने । 
    यो खेतीमा भाँडा माझेको र लुगा धोएको पानी प्रयोग गर्न सकिन्छ । 

कौसी खेती गर्दा ध्यान दिनुपर्ने कुरा 
    मल कस्तो प्रयोग गर्ने र कसरी जुटाउने भन्ने कुराको विशेष ज्ञान हुनुपर्छ । 
    बोटबिरुवाका लागि पानी आवश्यक हुन्छ । पानी बढी र कम भए बिरुवा मर्न सक्छन् । त्यसकारण पानीको मात्रा मिलाउन सक्नुपर्छ । 

    सकेसम्म सिजनको तरकारी रोप्ने प्रयास गर्नुपर्छ ।
    तरकारी र फलफूल लगाइसकेपछि उचित रूपमा हेरचाह र व्यवस्थापन गर्नुपर्छ ।

मदनकुमार राई, कृषि विशेषज्ञ
अहिले कौसी खेतीको क्रेज बढ्नुको कारण के हो ? 
अहिले मानिसहरूमा स्वास्थ्य चेतना बढ्दै गएको छ । बजारका तरकारीहरू अर्गानिक हुँदैनन् । अत्यधिक मात्रामा विषादी मिसाइएको हुन्छ । अर्गानिक र ताजा तरकारीका लागि अहिले घरमै खेती गर्ने चलन बढ्दै गएको हो । 

कौसी खेती गर्नु आवश्यकता कि रहर ? 
अहिले दिनहुँ सहरीकरण बढ्दै गएको छ । त्यसैले खेती गर्ने जग्गाको अभाव भैसकेको छ । अहिले इच्छानुसार तरकारी र फलफूल उत्पादन गर्ने उपयुक्त ठाउँ नै घर भएको छ । त्यसकारण कौसी खेती गर्ने चाहनाभन्दा पनि आवश्यकता भैसकेको छ ।

कौसी खेतीका बारेमा मानिसहरू कत्तिको जानकार छन् ? 
कौसी खेतीका बारेमा मानिसहरू त्यति जानकार भएको पाइँदैन । यसले आफूलाई फाइदा पुर्‍याउँछ भन्ने चेतना मानिसहरूमा अझै आएको छैन । यसरी खेती गर्दा घर जंगलजस्तो देखिन्छ भन्नेहरू पनि छन् भने गर्नेहरूले पनि आवश्यक प्रक्रिया पुर्‍याएर गरेका छैनन् । अरूले गरेको देखेर गर्नेहरूको संख्या बढेको छ । 

कौसी खेतीका बारेमा आवश्यक जानकारी दिन के गर्नुपर्ला ? 
यो खेतीका बारेमा जानकारी दिन सरकारी तहबाटै अभियान चलाउनु आवश्यक छ । यसको जानकारी हरेक घर–घरमा पुर्‍याउनुपर्छ ।
 

 Image