Successfully Copied

सुन्दर आँखा

आँखामाथिको छाला झोल्लिएको, आँखा तलको भाग सुन्निएकोलाई आइलिड ब्याग भनिन्छ । यस्ता समस्या लिएर धेरै आउँछन् । यीबाहेक कसैका दुवै आँखा बराबर आकारका हुँदैनन् । कसैका आँखा धेरै ठूला र कसैका धेरै साना हुन्छन् ।

 आँखामाथिको छाला झोल्लिएको, आँखा तलको भाग सुन्निएकोलाई आइलिड ब्याग भनिन्छ । यस्ता समस्या लिएर धेरै आउँछन् । यीबाहेक कसैका दुवै आँखा बराबर आकारका हुँदैनन् । कसैका आँखा धेरै ठूला र कसैका धेरै साना हुन्छन् ।

डा. बेन लिम्बू / नेत्ररोग तथा आँखा प्लास्टिक शल्य चिकित्सक, ग्लोबल आई सेन्टर

इटहरीकी पुष्पा याखाले दुई वर्षअघि डा. बेन लिम्बूसँग आँखाको आइलिड सर्जरी (मुन्द्री) गरिन् । देख्दा असहज र आँखामा आइस्याडो लगाउँदा पनि नदेखिने भएकाले उनले मुन्द्री राखेकी हुन् । मुन्द्री राखेपछि उनले आफ्नो आँखा पहिलेभन्दा सुन्दर भएको महसुस गरिन् । पुष्पाजस्ता ६ हजारभन्दा बढी महिलाको आँखामा मुन्द्री राखिसकेका छन् डा. लिम्बूले । साना हुन् वा ठूला, दुवै आँखा बराबर हुनुलाई सुन्दर आँखा मानिन्छ । सुन्दर आँखाले मानिसको व्यक्तित्व झल्किने र अनुहारको सौन्दर्य बढ्ने भएकाले कस्मेटिक सर्जरीमा धेरैको चासो देखिन्छ ।

आँखाको कस्मेटिक सर्जरी पनि धेरै प्रकारका हुन्छन् । आँखामाथिको छाला झोल्लिएको, आँखा तलको भाग सुन्निएकोलाई आइलिड ब्याग भनिन्छ । यस्ता समस्या लिएर धेरै आउँछन् । यीबाहेक कसैका दुवै आँखा बराबर आकारका हुँदैनन् । कसैका आँखा धेरै ठूला र कसैका धेरै साना हुन्छन् । थाइराइडको असरले पनि आँखाको आकार ठूलो हुन्छ । चोटपटकपछि आँखाको छाला अङ्गभङ्गपछि पनि कस्मेटिक गर्न आउनेहरू हुने डा. बेन बताउँछन् । 

बालबालिकादेखि वृद्धवृद्धासम्म आँखाको कस्मेटिकका लागि आउँछन् । बालबालिकामा जन्मिएदेखि नै आँखा ठूला–साना हुन्छन् । उमेर बढ्दै जाँदा आँखाको छाला झोल्लिएको र फुल्लिएको कारण सुन्दर बनाउन आउनेको संख्या धेरै भएको डा. बेनको अनुभव छ । प्राय: मंगोलियन आँखामा मुन्द्री हुँदैन । मुन्द्री बनाउन धेरै आउँछन् । जसको आँखामा गाजल लगाउने ठाउँ हुँदैन, गाजल लगाउँदा लतपत हुन्छ, उनीहरू पनि मुन्द्री बनाउन आउँछन् । 

सन् २००४ देखि नेपालमा आँखाको कस्मेटिक सर्जरी सुरु भएको हो । प्रविधि र सचेतनाका कारण आँखा साना–ठूला बनाउन, मुन्द्री बनाउन, चोटपटकले अङ्गभङ्ग भएको आँखा सुन्दर बनाउन, उमेरले आँखाको झोल्लिएको छाला बनाउन, आइलिड ब्याग बनाउन, आँखा वरिपरि छालाको चाउरीपन हटाउन, आइब्रो झोल्लिएको बनाउन पनि मानिस आउँछन् । यी छालाको कस्मेटिकमा पर्छन् ।

यीबाहेक आँखाभित्रको डल्लोको कस्मेटिक गर्न आउनेहरू पनि हुन्छन् । आँखाको डल्लो चोटपटकपछि फुट्छ अनि सुक्छ । कतिपयको जन्मिँदा नै आँखा हुँदैन । अनि सौन्दर्यका लागि कृत्रिम आँखा राख्न चाहने पनि हुन्छन् । विभिन्न रोग तथा अप्रेसनले पनि आँखाको डल्लो सुक्छ । त्यस्ता मानिसहरू पनि कृत्रिम आँखा राख्न प्लास्टिक सर्जरीमा आउँछन् । आँखा सीधा हेर्दा बाङ्गो वा छड्के हेरेजस्तो देखिने विशेषता हुनेहरू पनि सीधा बनाउन आउँछन् । यी सबै आँखाको डल्लोमा पर्छन् । यीबाहेक आँखाको वरिपरि रहने हड्डी चोट लागेर, ठोक्किएर, फुटेर हड्डी बसिदिन्छ । यसले गर्दा एउटा आँखा अर्को आँखा पछाडि देखिन्छ । चोटपटकबाट फुटेको हड्डीलाई यथास्थितिमा ल्याउन पनि कस्मेटिक सर्जरी गरिन्छ । 

कतिपयलाई आँखाको आकार सानो–ठूलो पार्ने रहर हुन्छ । यसमा बालबालिका धेरै हुन्छन् । जन्मिएदेखि नै उनीहरूका आँखा साना–ठूला हुन्छन् । बालबालिकाको आँखाको कस्मेटिक अवस्था हेरेर गर्नुपर्छ । उनीहरूका कस्मेटिकसँगै अन्य अप्ठेरा पनि हुन सक्छन् । कस्मेटिक सँगै दृष्टिको खतरा पनि हुन्छ । सानैमा आँखाका समस्याहरूले गर्दा दृष्टिको विकास रोकिने खतरा हुने भएकाले बालबालिकाले अभिभावकको अनुमतिमा सर्जरी गर्नुपर्ने हुन्छ । 

थाइराइडले आँखाको आकार धेरै ठूलो हुँदा आँसु सुक्न एवं घाउ हुनसक्छ । ठूलो भएको आँखा सुख्खा भएर फुट्ने डर पनि हुन्छ । थाइराइडले सबैको आँखामा एकै किसिमको असर पार्दैन । कसैलाई असर नपार्न पनि सक्छ । यस्तो समस्या चुरोट खाने थाइराइडका बिरामीमा पनि पाइएको छ । थाइराइडले आँखा ठूलो भएपछि सौन्दर्यमा मात्र असर नपारी दृष्टिमा पनि असर पार्न सक्छ । सानो बनाएपछि आँखामा आँसुको डिमान्ड कम हुनुका साथै घाउ हुने र फुट्ने खतरा पनि न्यूनीकरण भएर जान्छ । 

के–के गर्न आउँछन् ?

    जन्मजात आँखा नहुने बच्चा कृत्रिम आँखा राख्न कस्मेटिकमा आउँछन् ।

    एउटा आँखा सुकेको पनि आउँछन् । 

    ५० प्रतिशत मंगोलियनमा सिंगल आइलिड (मुन्द्री) हुन्छ । उनीहरू डबल आइलिड बनाउन आउँछन् । १५ वर्षदेखि ४० वर्षमा मुन्द्री बनाउन आउने गरेका छन् ।

    प्रौढ उमेरमा आँखाको छाला झोल्लिन थाल्छ । बोसोका फोका आँखाको तल फुल्लिन थाल्छ । ४० वर्षपछि यस्तो समस्या लिएर मानिस उपचारमा आउने गरेका छन् ।

    कस्मेटिक डिमान्डमा पहिले बाध्य भएर आउँथे भने अहिले सचेत भएर आउँछन् । पहिले लजाउनेहरू अहिले बूढी भएरै नक्कल पार्ने हो भन्दै आउँछन् ।

    कस्मेटिककै डिमान्डको सर्जरी ३ महिनाका बालबालिकादेखि ८० वर्षसम्मकाले गरेका छन् । 

    शल्यक्रियाको किसिम हेरेर ३० मिनेटदेखि डेढ घन्टासम्म समय लाग्छ । शल्यक्रियाको किसिम हेरेर १२ हजारदेखि ४५ हजार रुपैयाँसम्म पर्छ ।

ध्यान दिनुपर्ने कुरा

    अप्रेसन होसमै गर्न सकिन्छ । वयस्क तथा वृद्धालाई लोकल एनेस्थेसियामै अप्रेसन गरिने हुँदा खानेकुरा बार्न तथा भर्ना हुनुपर्दैन । 

    सरसफाइमा ध्यान दिनुपर्छ । आँखाको घाउ पाक्न नदिन र घाउमा संक्रमण हुन नदिन सचेत हुनुपर्छ ।

    चुरोट खानुहुँदैन, दाग बस्छ । चुरोट खाने मानिसबाट टाढा बस्नुपर्छ ।

    एक डेढ महिना आँखा घाममा एक्सपोज गर्नु हुँदैन । घामले नराम्रो दाग बस्ने भएकाले टोपी, चश्मा र छाता प्रयोग गर्नुपर्छ ।

    चिकित्सकले दिएको औषधि सेवन गर्नुपर्छ ।

साइड इफेक्ट     

    आँखा बन्द नहुने, खुलेको खुल्यै हुनसक्छ । 

    आँखाका रौंहरू भित्र फर्कन सक्छन् । 

    आँखा सुख्खा हुने, घाउ हुने, फुलो पर्ने समस्या आउन सक्छन् । अनुभवी आँखा विशेषज्ञ र शल्यचिकित्सकसँग शल्यक्रिया गरे समस्या न्यून हुन्छ ।

 

 Image