Successfully Copied

परिपक्व साथ

अहिलेका युवाहरू उमेरान्तर बिहेमा उदार देखिँदै गएको पारिवारिक परामर्शदाता रमा कार्की बताउँछिन् । ‘महिला शिक्षित, सचेत, आत्मनिर्भर र सशक्त हुँदै गएका छन् । पुरुष नै अगाडि हुनुपर्छ भन्ने मान्यता घट्दै गएको समाजशास्त्री निर्मला ढकालको बुझाइ छ । आजका युवाहरू करियर निर्माणका लागि उमेरभन्दा पनि बलियो र

अहिलेसम्मकै सबैभन्दा कम उमेरका राष्ट्रपति फ्रान्सका इम्यानुअल म्याक्रोनले ३९ वर्षमा पदभार सम्हालेका थिए । जतिबेला पेरिसको लुभ्र म्युजियमअगाडि राखिएका विशाल एलइडी डिस्प्लेमा ब्रोडकास्ट भइरहेको अन्तिम चरणको मतगणनामा आफ्नो नाम अग्रस्थानमा देखे, भावविह्वल हुँदै म्याक्रोनले पहिलो अभिव्यक्ति दिएका थिए, ‘मेरो यो जित एउटी परिपक्व र धैर्यवान् महिलाको जित हो ।’

मतगणनाको लाइभ ब्रोडकास्ट सीएनएन, बीबीसी, अलजजिरालगायत च्यानलले गरिरहेका थिए । म्याक्रोनले  आफूभन्दा २६ वर्ष जेठी ब्रिजेटसँगको विवाहपछि आफूमा ठूलो आँट, साहस र धैर्य थपिएको बताए । सिंसारमा यस्ता थुप्रै उदाहरण छन्, जसले आफूभन्दा कम उमेरका पुरुषसँग विवाह गरेर आफ्नो मात्र होइन, आफ्ना जीवनसाथीलाई समेत सफलताको उचाइ चुम्न सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।  विभिन्न विधामा स्थापित सेलिब्रेटीहरूले जब आफूभन्दा धेरै कम वा बढी उमेरको जोडीसँग विवाह गर्न थाले, तब यो विषय चाखलाग्दो बन्न पुग्यो ।

हलिउड–बलिउडका नेता, अभिनेता, उद्योगपति, व्यवसायीहरूमाझ पनि यस्तो प्रवृत्ति देखिन थाल्यो । अहिले पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय चलचित्र उद्योगदेखि व्यावसायिक घरानासम्म फराकिलो उमेरका विवाह देख्न र सुन्न पाइन्छ । यसलाई सामाजिक बनाउन इन्टरनेट तथा सामाजिक सञ्जाल पनि सहयोगी माध्यम बनेका छन् । अहिलेका युवाहरू उमेरान्तर बिहेमा उदार देखिँदै गएको पारिवारिक परामर्शदाता रमा कार्की बताउँछिन् । ‘महिला शिक्षित, सचेत, आत्मनिर्भर र सशक्त हुँदै गएका छन् । पुरुष नै अगाडि हुनुपर्छ भन्ने मान्यता घट्दै गएको समाजशास्त्री निर्मला ढकालको बुझाइ छ । आजका युवाहरू करियर निर्माणका लागि उमेरभन्दा पनि बलियो र दरिलो साथ खोजिरहेका हुन्छन् । 

करुणा के.सी., म्यानेजर, ग्राउन्ड ह्यान्डलिङ बुद्ध इयर

विनोद दास, क्रिकेटर 

‘श्रीमतीकै ठाउँमा म बसेर त्यस्तै बोली–व्यवहार गरे सह्य हुन्थ्यो वा हुँदैनथ्यो, यस विषयमा म सधैं सजग छु,’ दाम्पत्य जीवन बलियो बनाउने विषयमा क्रिकेटर विनोद दास भन्छन्, ‘यसरी एकले अर्काको स्थानमा रहेर सोचिदिने हो भने हरेकको वैवाहिक जीवन सफल र खुसी हुन्छ ।’ 

आफूभन्दा बढी उमेरकी श्रीमती रोजेका विनोद उमेरलाई केवल नम्बर मात्रै मान्छन् । बाराका विनोदले करिब १३ वर्षअघि क्रिकेट कोचिङका बेला नक्सालमा भेटेका थिए करुणा के.सी.लाई । अन्तरजातीय त्यसमा पनि उमेरान्तर, दुवैको समझदार परिवारका कारण यसले कुनै असर पारेन । करुणा भन्छिन्, ‘परिस्थितिलाई ह्यान्डल गर्न सक्ने क्षमता छ भने दाम्पत्य जीवन मात्र होइन, सबै काम सफल हुन्छन् । उहाँ मिहीनेतबाट आफैं बनेको मान्छे, हरेक परिस्थितिमा आफूलाई ढाल्न सक्ने गुण मैले उहाँबाट सिकें । हामी आपसमा सिक्दै–सिकाउँदै, सुखदु:ख बाँड्दै यहाँसम्म आइपुगेका छौं ।’ उमेरले सानो भए पनि अनुभव र सिकाइले विनोद परिपक्व देखिन्छन् । ‘प्रकृतिप्रदत्त लैंगिक गुणमा फरक देखिए पनि अन्य क्षमता आफैंले वृद्धि गर्दै लैजाने कुरा हुन्’, विनोद भन्छन्, ‘आज महिला जहाज हाँक्छन्, खेलमा अब्बल छन् । यसमा दुवैको प्रेरणा र हौसला चाहिन्छ, जुन हामी समान रूपमा गरिरहेका छौं ।’

दुवैजना परिपक्व जीवन बाँचिरहेको यो जोडीलाई महसुस हुन्छ । फ्रेन्ड्स वा बेस्ट फ्रेन्ड्स मात्रै भन्दा पनि आफूहरूबीचको सम्बन्ध सबैथोक हो भन्ने करुणा–विनोदको जोडीले पुरुषले महिलालाई आश्रय दिनुपर्ने उहिलेको प्रचलनलाई आफैंबाट परिवर्तन गर्न खोजेको प्रस्ट हुन्छ । त्यसैले विनोदले भने, ‘श्रीमान्–श्रीमती भनेको दाजुबहिनी वा दिदीभाइ जस्तो हुनु हँुदैन किनभने दाजुभाइ दिदीबहिनी समान संस्कार, संस्कृति, खानपान र रीतिरिवाजमा हुर्किएका हुन्छन् तर श्रीमान्–श्रीमती यी सबैमा भिन्न हुन्छन् । तसर्थ एकले अर्कालाई बुझेर सोहीअनुसारको व्यवहार गर्नुपर्छ ।’ 

संगीता श्रेष्ठ, फिल्ममेकर / भूमिराज श्रेष्ठ, मिडियापर्सन 

‘उमेरान्तरकै कारण यति खुसी दाम्पत्य जीवन हुन्छ भने म त सबैलाई परिपक्व श्रीमती रोज्न सल्लाह दिन्छु,’ फिल्ममेकर संगीता श्रेष्ठले कुराकानीको सुरुवातमै भनिन्, ‘हामीले देख्नेबित्तिकै प्रेममा परेर भोलिपल्टै विवाह गरेका होइनौं, लामो संगतमा एक–अर्कालाई राम्ररी चिनेपछि विवाहको निर्णयमा पुगेका हौं । एक–अर्काको उमेरको हेक्का हुँदा हामीबीच ‘वोन्डिङ बिल्डअप’ भइसकेको थियो । त्यसपछि उमेर माइनर बन्यो ।’ 

पढाइ, लेखाइ, कमाइ, उमेरमा श्रीमानै अगाडि हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यतामा यो जोडी आफै एउटा चुनौती हो । यो जोडी यस्तो परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने बताउँछ । कतिले उमेरान्तरका कारण परनिर्भर हुनुपर्ने तर्क गर्छन् । तर, संगीता भन्छिन्, ‘बालबच्चा जन्माउने, परिवार सम्हाल्ने, इष्टमित्र–आफन्त व्यवस्थापन गर्ने काममा हिजो पुरुषहरू महिलामै निर्भर थिए, त्यसलाई हामी किन स्वीकार नगर्ने ?’ आर्थिक पाटो मात्रै दाम्पत्यको निर्णायक तत्त्व होइन भन्ने संगीता पछिल्लो समय महिला व्यावसायिक बन्दै गएकाले यस्ता विषयमा चासो बढेको स्वीकार गर्छिन् । महिलाको फेरिँदो स्तर र भूमिकाका कारण अहिले व्यक्तिगत वा पारिवारिक विषय पनि सामाजिक बन्न पुगेको बताउँदै भूमिराज भन्छन्, ‘महिला सधै उही स्थान र उस्तै भूमिकामा रहनुपर्छ भन्ने मान्यता अब फेरिनुपर्छ । मैले नआँटे कसले आँट्ने ? सूत्रमा हामी युवा अगाडि बढ्नुपर्छ । मैले आफूभन्दा बढी उमेरकी श्रीमती भित्र्याएर कहिल्यै असहज वा अपमानित महसुस गर्नुपरेको छैन । बरु मेरा हरेक कदममा दरिलो साथ र भरोसा पाएको छु ।’ 

उनीहरूबीच यो काम श्रीमतीले मात्रै गर्ने वा यो श्रीमान्ले मात्रै गर्ने भन्ने छैन । भ्याएको बेला जसले जुन काम पनि गरिरहेकै हुन्छन् । छोरी (५ वर्षीया समृद्धि) हुर्काउन दुवैले उत्तिकै समय दिन्छन् । संगीताको सुटिङले कति रात बाहिर बस्नै परे पनि उनलाई ढुक्कै छ । ‘मेरो पेसालाई यति धेरै बुझ्ने र महिलालाई सम्मान गर्ने श्रीमान् कमै हुन्छन्, यसमा म भाग्यमानी छु,’ संगीता भन्छिन्, ‘हामी श्रीमान्–श्रीमती कम, बेस्ट फ्रेन्ड बढी छौं । स–साना कुरा आपसमा सुनाउन आतुर हुन्छौं, बेलुका भेट हुने समय कुर्न नसकेर कति कुरा फोनैमा सुनाउँछौं ।’ 

प्रतिमा चौधरी, संचारकर्मी / सुजोय योङ, डाइरेक्टर

‘म बूढी भएँ, गाला चाउरी पर्न थालिसके,’ भिजे तथा समाचारवाचिका प्रतिमाले यसो भन्दा सुजोयले मुस्कुराउँदै थपे, ‘तपाईं मेरा लागि सधैं जवान, सुन्दर अनि उत्तिकै प्रिय ।’ आफूभन्दा पाको उमेरकी प्रतिमालाई दुलही बनाउन सुजोयले धार्मिक रूपमै ठूलो क्रान्ति गर्नुपरेको थियो । रोमन क्याथोलिक सुजोयले हिन्दू प्रतिमालाई विवाह गर्दा चर्चले बहिष्कार गर्‍यो । 

‘उहाँले मलाई धर्म परिवर्तन गर्न एकपटक पनि भन्नुभएन बरु आफैंले कति कुरामा कम्प्रोमाइज गर्नुभयो,’ प्रेमलाई केही कुराले नछेक्ने विश्वास गर्ने प्रतिमा भन्छिन्, ‘अन्तत: हामीले सामाजिक विवाह गर्नुपर्‍यो ।’ वीरगञ्जका स्थायी बासिन्दा सुजोय कसैले सम्हाल्न नसक्ने स्वतन्त्र स्वभावका थिए । आमाले बाहेक उनलाई कसैले तह लगाउन सक्दैनथ्यो । ‘आमाले पनि सम्हाल्न नसक्ने भएपछि मलाई सम्हाल्न प्रतिमा आइपुगिन्,’ सुजोय भन्छन्, ‘महिला मनका बलिया हुन्छन् । जिन्दगीभरि चाहिने शारीरिक बलभन्दा मानसिक बलै हो । आफूभन्दा परिपक्व जीवनसाथी पाउनु भाग्यको कुरा हो ।’ सुरुसुरुमा प्रतिमालाई अत्यन्तै चुलबुले केटाकेटीजस्तो स्वभाव, सम्हाल्नै गाह्रो बानी, अपरिपक्व व्यवहार देख्दा बेक्कारमा विवाह गरिएछ भन्ने नलागेको होइन तर ती सबैलाई उनको प्रेमले बाँधेर राखेको हुँदा क्षणभरमा माया पलाउँथ्यो । सम्बन्ध एकैनासको हुँदा ममज्जा नआउने भन्दै सुजोय मसला थपिरहन पनि निहुँ खोजिरहन्छन् । भन्छन्, ‘एकैनासे कन्स्ट्यान्ट जिन्दगी के मज्जा ?’ 

कुनै केटीप्रति आकर्षण भए पनि उनी सुनाइहाल्छन् । प्रतिमा भन्छिन्, ‘मम्मीजी मलाई त त्यो केटी साह्रै मन पर्‍यो भन्नुहुन्छ, मलाई नसुनाउनुहोस् भन्यो भने सबैभन्दा बढी विश्वास हुनेलाई सुनाउने त हो, अरूलाई सुनायो भने त इज्जतमा आँच आउँछ भन्नुहुन्छ ।’ पाको उमेरकी केटीसँग विवाह गर्दा धेरै सजिलाहरू हुने सुजोयको अनुभव छ । ‘कहिलेकाहीँ अरूप्रति क्षणभरको आकर्षण पलाए पनि जीवनको एउटै प्रेम र अन्त्यसम्मको सहारा प्रतिमा मात्रै हुन्,’ उनले भने ।

 

उषा शाही, अनुसन्धानकर्ता / राजीव शाही, व्यवस्थापन विशेषज्ञ

३४ वर्षअघि नेपाली समाज अहिलेजस्तो फराकिलो थिएन । त्यस्तो बेलामा पनि उषाले आफूभन्दा कान्छा श्रीमान् राजीवलाई रोजिन् । प्रेममा सबै कुरा गौण हुने बताउने उनीहरू मुख्यत: व्यक्ति असल र एक–अर्कालाई बुझ्ने भएमा वैवाहिक जीवन सार्थक हुनेमा विश्वास गर्छन् । उषा भन्छिन्, ‘उहाँको बौद्धिकस्तर, मायालु स्वभाव र समझदार बानीका कारण उमेरले त्यहाँ कुनै अर्थ राखेन । हरेक क्षणमा हामी दुवैले एक–अर्कालाई दिने साथ र समर्थनका कारण पनि हामीबीच उमेर कहिल्यै बाधक बनेन ।’ लैंगिक विभेद गर्ने–गराउनेहरू एकै उमेर समूहका किन नहून्, तिनीहरूबीच वैमनश्यता आउन सक्ने ठान्छन्, राजीव । त्यस्तो सम्बन्धबीच तिक्तता, नैराश्यता र विचारमा बेमेल हुने राजीवको विश्वास छ । भन्छन्, ‘मलाई त मभन्दा उनी अझ पक्का लाग्छिन् । धेरै सम्बन्ध उमेरान्तरका कारण धरापमा परेको भनिन्छ । समाजले पनि यसलाई कटाक्षको विषय बनाउँछ । उषा भन्छिन्, ‘एक समय महिला पूर्णरूपमा श्रीमान्मा आश्रित थिए । सम्पूर्ण जिम्मेवारी बहन गर्न पुरुष पाको, पढेको, परिपक्व हुनैपर्छ भन्ने थियो । कथंकदाचित् जेठी श्रीमती परिन् भने यसले जितेर खान्छे भन्ने हुन्थ्यो । अहिले पनि हामी उही कुरामा अडिग रह्यौं भने परिवर्तन असम्भव हुन्छ । परिवर्तन आफैबाट किन नथाल्ने ? उमेर होइन, व्यवहार र समझदारीले दाम्पत्य जीवन सुन्दर हुने हो त्यसको उदाहरण हामी किन नबन्ने ?’ 

उषालाई लाग्छ, एकपटक प्राप्त सुन्दर जीवन उमेरभन्दा धेरै गुना फराकिलो छ । मानसिक परिपक्वता बढाउन यही व्यायाम काफी छ । त्यसकारण उनी उमेरमै मात्र केन्द्रित रहेर अन्य सारा कुरा छाड्नुलाई जीवनकै दुर्भाग्य सम्झिन्छन् । भन्छिन्, ‘उमेरभन्दा माथि धेरै कुरा छन् जसले तपाईंको दाम्पत्य जीवनलाई स्वर्ग बनाउन सघाउँछन् ।’ उमेरान्तरजस्ता झिनामसिना विषयमा अल्झिन नहुने राजीवको सुझाव यस्तो छ । ‘अरुलाई सुनेर तनाव बोक्नुअघि आफूलाई भित्रैदेखि सुनौं । जीवन बिताउने दुई व्यक्तिले हो,’ उनले भने, ‘हामै्र कुरा गर्दा पनि हामी दुवैले आफूभित्रको आत्मालाई नसुनेको वा नबुझेको भए सायद हामी सँगै हुन्नथ्यौं कि ?’

 Image