Successfully Copied

इखले मोडिएको  रुबीको बाटो

मेटल संगीतमा ड्रम बजाएका क्रिस एडलरले नेपाल आउँदा रुबीलाई खोजेरै सँगै बजाउने मौका दिए । त्यस्तो अवसर पाउँदा उनी आफूलाई भाग्यमानी मान्छिन् । ‘यस्तो मौका कहाँ सबैले पाउँछन् र ?’

मेटल संगीतमा ड्रम बजाएका क्रिस एडलरले नेपाल आउँदा रुबीलाई खोजेरै सँगै बजाउने मौका दिए । त्यस्तो अवसर पाउँदा उनी आफूलाई भाग्यमानी मान्छिन् । ‘यस्तो मौका कहाँ सबैले पाउँछन् र  ?’

भनिन्छ–इखले नै मान्छेलाई सफल वा असफल बनाउँछ । चापागाउँकी रुबी लाखेका लागि गाउँलेहरूले भनेको एउटा वाक्य नै इख जगाउने मोड थियो । त्यही मोडले उनलाई तबलावादक बनायो । चापागाउँ नेवारी बस्तीमा हजुरबुवासँगै छुट्टीमा भजन सिक्दै गर्दा ६ वर्षकी रुबी हार्माेनियम, तबलालगायत बाजाबाट मन्त्रमुग्ध हुन थालिन्, खिं बाजा सिकिन् पनि । खिं र हार्माेनियम सिकेपछि उनलाई तबला बजाउन मन लाग्यो । गाउँमै तबला सिक्न खोज्दा उनलाई भनियो–‘भोलिदेखि क्लासमा नआऊ, केटीहरूले कहाँ तबला बजाउन सक्छन् ?’ र, यही वाक्यले उनलाई ‘एक दिन तबला सिकेरै देखाउँछु’ भन्ने संकल्प गर्न प्रेरित गर्‍यो । 

रुबी कलानिधिमा तबला पढ्न पुगिन् । गुरु मिलेश तण्डुकार रुबीको निरन्तरता र सक्रियतामा दंग छन् । कयौं महिलाले तबला सिके तर बीचबीचमा छोड्दै–हराउँदै गए । उनको सपना थियो–एकजना उत्कृष्ट महिला तबलावादक जन्माउने । प्रथम नेपाली महिला तबलावादकका रूपमा सरिता मिश्रको नाम परिचित छ । त्यसपछि भने युवापुस्तामा तबलालाई निरन्तरता दिने कोही महिला देखिएनन् ।

तबला राम्रै बजाइरहेकी संस्कृति श्रेष्ठ विदेशमा छिन् । उनी उतै विभिन्न सांगीतिक कार्यक्रममा तबला बजाइरहेकी हुन्छिन् । नेपालमा तबला बजाउने युवापुस्ताकी प्रतिनिधि महिला पात्र भने रुबी लाखे नै हुन् । रुबी अहिले कलानिधिमा ५औं वर्षको तबला कोर्स गरिरहेकी छिन् । पढाइमा सधैं प्रथम हुने रुबी कानुन विषयमा छैठौं सेमेस्टरमा अध्ययनरत पनि छिन् । उनको अनुभवमा तबलाको ताल र संगीतको सेन्सले पढाइलाई झनै सहयोग पुर्‍याएको छ । 

‘कलेजमा मलाई सबैले तबला भनेरै बोलाउँछन्, त्यति मात्र होइन धा, धिन, धिन धा गरेर समेत बोलाउँछन्’, उनले भनिन् । यसरी बोलाउँदा रुबीलाई सारै खुसी लाग्छ । समयअनुसार चल्न उनले आफ्नो युट्युब च्यानल खोलिन् र धमाधम रेकर्ड गर्दै अपलोड गर्न थालिन् । नयाँ प्रयोग गर्न हेबी मेटल संगीतमा तबला राखेर युट्युबमा एक वर्षअघि राखिन् । धेरैले उनलाई गाली गरे–कहाँ ड्रम, कहाँ तबला ? अचम्म, दर्शक–श्रोताले त्यो प्रयोग धेरै रुचाए । एक वर्षपछि उनको उक्त भिडियो धेरै सेयर भयो र ६ लाखभन्दा बढीले हेरे । त्यति मात्र होइन, मेटल संगीतमा ड्रम बजाएका क्रिस एडलरले नेपाल आउँदा रुबीलाई खोजेरै सँगै बजाउने मौका दिए ।

त्यस्तो अवसर पाउँदा उनी आफूलाई भाग्यमानी मान्छिन् । ‘यस्तो मौका कहाँ सबैले पाउँछन् र ?’ तबला वादनमा नयाँ–नयाँ प्रयोग गर्दै जाने सोचका साथ अघि बढिरहेकी रुबी भन्छिन् । उनी तबलामा नयाँपुस्ता पनि आउनुपर्छ भन्दै चापागाउँमा तबला कक्षा पनि लिइरहेकी छिन् । आफूले जानेको सिकाउन र सिक्न रुबीकी आमा कमलासमेत छोरीसँग तबला सिक्दैछिन् ।

 Image