Successfully Copied

गर्भावस्थामा योग

महिलाहरूका लागि गर्भावस्था एउटा विशेष चरण हो । धेरैजसो महिला शारीरिक र मानसिक रूपमा पूर्ण तयार नहुँदा यस्तो अवस्थामा विभिन्न समस्या आउन सक्छन् । त्यस्ता समस्यालाई न्यूनीकरण गर्नका लागि गर्भवती महिलाले योग गर्दा धेरै राम्रो हुने प्रिनाटल योग प्रशिक्षक लिली भेटवाल बताउँछिन् ।

महिलाहरूका लागि गर्भावस्था एउटा विशेष चरण हो । धेरैजसो महिला शारीरिक र मानसिक रूपमा पूर्ण तयार नहुँदा यस्तो अवस्थामा विभिन्न समस्या आउन सक्छन् । त्यस्ता समस्यालाई न्यूनीकरण गर्नका लागि गर्भवती महिलाले योग गर्दा धेरै राम्रो हुने प्रिनाटल योग प्रशिक्षक लिली भेटवाल बताउँछिन् । गर्भावस्थामा योग गर्नाले मन, मस्तिष्क र शरीरलाई शान्त र फुर्तिलो बनाउने उनको धारणा छ । 

भेटवालले गर्भवती महिलालाई योग सिकाउन थालेको करिब पाँच महिना भयो । यो अवधिमा गर्भवती महिलाहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछिन् । उनले अहिले चार जना गर्भवती महिलालाई नियमित योग सिकाउँदै आएकी छिन् । ‘विशेष गरी सम्भ्रान्त वर्गका गर्भवती महिलाले मात्र योग गरिरहेका छन्,’ भेटवाल भन्छिन्, ‘गर्भावस्थामा योग गरिन्छ भन्ने धेरैलाई थाहा छैन र कतिपयलाई यस्तो अवस्थामा योग गर्नु हुँदैन भन्ने भ्रम छ ।’ 

गर्भावस्थामा शारीरिक रूपमा धेरै परिवर्तन देखा पर्छ, जसले गर्दा गर्भवती महिलामा एक खालको डर हुन्छ । तर, यस्तो खाले परिवर्तन स्वाभाविक हो, शरीरमा देखिएको परिवर्तनले ल्याएको समस्या हल गर्न प्रिनाटल योगले सघाउ पुर्‍याउने भेटवाल बताउँछिन् ।

गर्भावस्थामा कहिलेबाट गर्ने योग ? 

नियमित योग गर्दै आएका महिलाले गर्भ रहेको थाहा पाएलगत्तै प्रिनाटल योग गर्न सक्छन्, तर गर्भावस्थापछि मात्र योग गर्न चाहने महिलाले भने तीन महिनापछि योग गर्दा राम्रो हुने भेटवाल बताउँछिन् । प्रिनाटल योग तीन चरणमा गरिन्छ । शरीरका विभिन्न समस्याका कारण धेरैजसो महिलाको गर्भपतन हुने समस्या हुन्छ, त्यसैले सुरु–सुरुमा साधारण खालको योग गर्नुपर्छ । साढे तीन महिनापछि दोस्रो चरण सुरु हुन्छ । नियमित योग नगरेका महिलाले भने दोस्रो चरणबाट सुरु गर्दा सुरक्षित मानिन्छ ।

यस्तै, तेस्रो चरणको योग गर्दा भने अलि सावधानी अपनाउनुपर्ने हुन्छ । यो अवस्थामा बच्चा बढ्दै जाने र शरीर पनि ठूलो हुने भएकाले सावधानी अपनाएर र सामान्य आसनहरूलाई पनि मोडिफिकेसन गरेर योग गर्नुपर्छ । गर्भावस्थामा शारीरिक रूपमा धेरै परिवर्तन देखिने र शरीरलाई आराम पनि चाहिने भएकाले सातामा तीन दिन मात्र योग गर्दा राम्रो हुने उनी बताउँछिन् । 

गर्भावस्थामा योग गर्नुको फाइदा 

    गर्भावस्थामा मन, मस्तिष्क र शरीरलाई शान्त र फुर्तिलो बनाउँछ ।

     शरीरमा आएको परिवर्तनलाई कसरी स्वीकार गर्ने भन्ने सिकाउँछ । 

     शरीरमा लचकता ल्याउँछ । 

     मानसिक तनाव कम गर्छ । 

    श्वास–प्रश्वास लिने तरिकाले पनि महिलालाई डेलिभरीको बेलामा सहज बनाउँछ र बच्चालाई फाइदा गर्छ ।

     बिनाअप्रेसन सुत्केरी गराउन केही हदसम्म सघाउ पुर्‍याउँछ । 

     गर्भावस्थामा बच्चालाई फर्कन सहज हुन्छ । 

    बान्ता कम हुन्छ । 

     गर्भावस्थामा हुने दुखाइलाई कम गर्छ । 

    सुत्केरी भइसकेपछि चाँडै सामान्य अवस्थामा फर्कन मद्दत गर्छ ।

 

 Image