Successfully Copied

डरले दबियो मिटू 

कार्यस्थलमा हुने यौन दुव्र्यवहारविरुद्ध बोल्ने वा कुरा राख्ने कुनै निकाय नहुँदा र घटनाबारे बोल्न पीडित डराउने कारण नेपालमा मिटु अभियान अघि बढ्न नसकेको अभियन्ताहरूले बताएका छन् । 

 

कार्यस्थलमा हुने यौन दुव्र्यवहारविरुद्ध बोल्ने वा कुरा राख्ने कुनै निकाय नहुँदा र घटनाबारे बोल्न पीडित डराउने कारण नेपालमा मिटु अभियान अघि बढ्न नसकेको अभियन्ताहरूले बताएका छन् । 

कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘नेपालमा मिटू किन अघि बढेन ?’ भन्ने विषयको बहसमा राजनीतिक अभियन्ता मानुषी यमी भट्टराईले पीडितहरु बोल्ने, आफ्ना समस्या राख्ने संस्थागत निकाय नहुँदा  मिटूको विषय दबिएको बताइन् । 

मानुषीका अनुसार अहिलेको अवस्था हेर्दा मिटूबारे बोल्ने निकाय सामाजिक सञ्जाल मात्र देखिन्छ । महिलाका मुद्दालाई राजनीतिक मुद्दाको रुपमा नलिने र पितृसत्तात्मक संरचनाले महिलाहरूको आवाज दबाइने परम्पराले पनि मिटू अगाडि आउने नसकेको तर्क उनले गरिन् । 

कानुन व्यवसायी दुर्गा कार्कीले मिटूलाई नेपालमा एक मुभमेन्टका रुपमा लिइएको तर त्यही रूपमा अगाडि बढाउन नसकिएको बताइन् । ‘मिटूका सीमित घटनाहरू बाहिर आए पनि संस्थागत रूपमा अघि बढ्न सकेन’– उनले भनिन् । मिटूबारे आवाज उठाउँदा आफैंलाई असहज हुने भएकाले घटनाहरू बाहिर आउन नसकेको तर्क उनले गरिन् । समाजमा मिटूको मुद्दा लाग्न सक्ने समुह र मिटूका मुद्दा लगाउने समूहबीचको घुलमिलले पनि घटनाहरू आउन नसकेको कार्कीले बताइन् । 

मिटू इज्जत र प्रतिष्ठासँग जोडिने भएकाले पनि मिलेमतोमा लुकाउने गरिएको रंगकर्मी आकांक्षा कार्कीले बताइन् । उनले भनिन् ‘मिटूबारे बोल्दा इज्जत जाने डर र आफंैलाई असहज हुने भएकाले  यस्ता घटनाहरू लुकाउने प्रवृत्ति छ ।’ 

मिटू अभियानलाई अगाडि बढाउन खुलेर कुरा गर्न डराउन नहुने भट्टराईले बताइन् । ‘आफूलाई दुव्र्यवहार भएमा नाम तोकेर खुलाउन सक्नु पर्दछ’– उनले भनिन् । हरेक क्षेत्रमा हुने यौन हिंसाबारे सहज रूपमा छलफल गर्न सक्ने वातावरण निर्माण हुनु पर्ने कार्कीले बताइन् । यदि कसैलाई आफ्नो व्यवहारले असहज महसुस भए सम्बन्धित व्यक्तिले गल्ती स्वीकार्न सक्नुपर्ने धारणा कार्कीले राखिन् ।  

 

 Image