Successfully Copied

कमेडी च्याम्पियनको कथा

डिजिटल माध्यमहरूमा ‘हिट’ भइरहेका ‘स्ट्यान्ड अप’ कमेडीहरूको अध्ययन र अनलाइन अडिसनबाट प्राप्त उत्साहपूर्ण प्रतिक्रियाले केकीमा पनि आत्मविश्वास जगायो । उनी भन्छिन्, ‘पहिलो चरणमा विश्वास दाइकै आत्मविश्वासबाट यो काम सुरु भएको थियो । पछि हामी सबैमा विश्वास पैदा हुँदै गयो ।’

रिमा विश्वकर्मालाई ‘होस्टिङ’ कुनै नौलो कुरा होइन । अनेकन अनुभव छन् । ‘नेपाल आइडल’जस्तो अन्तराष्ट्रिय फ्रेन्चाइजी रियालिटी शोमा होस्टिङ गरिसकेपछि उनको अनुभवको गहिराइ अझ बढेको थियो । त्यही क्रममा ‘कोहलपुर एक्सप्रेस’मा काम गर्दाका निर्देशक विशाल भण्डारीले कमेडी क्षेत्रमा नयाा काम गर्ने प्रस्ताव ल्याए । राम्ररी क्षमता चिनेका साथीले ल्याएको प्रस्तावमा उनी असहमत हुने कुरै भएन । र, उनी नेपालको मौलिक कमेडी च्याम्पियन शोको ‘होस्ट’ बनिन् ।

यता, ‘रियालिटी शो’ केकी अधिकारीको कलाकारिता यात्राको ‘पहिलो प्रेम’ हो । नेपाल टेलिभिजनबाट आउने प्रतियोगितामा ‘घिन्ताङ’मा नृत्य गर्दै उनले आफ्नो खुशी चिनिन्, आफू रमाउन सक्ने क्षेत्र चुनिन् । सिनेमामा जमिन् । तर कमेडी ? योचाहिा उनको ‘जानरा’ थिएन । तर, ‘सेन्स अफ ह्युमर’ उनीसँग पनि छ, कमेडी मन नपर्ने त कुरै भएन । 

त्यही मेसोमा विशाल भण्डारीको निर्देशनमा कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाइन् । प्रतिक्रिया राम्रा–नराम्रा दुवै आए । तर कमेडीको बजारको आाकलन भने मज्जाले गरिन् उनले । त्यतिबेलै विशालले कमेडी क्षेत्रमा युवाहरूलाई प्रोत्साहित गर्ने काम गर्ने प्रस्ताव ल्याए । 

डिजिटल माध्यमहरूमा ‘हिट’ भइरहेका ‘स्ट्यान्ड अप’ कमेडीहरूको अध्ययन र अनलाइन अडिसनबाट प्राप्त उत्साहपूर्ण प्रतिक्रियाले केकीमा पनि आत्मविश्वास जगायो । उनी भन्छिन्, ‘पहिलो चरणमा विश्वास दाइकै आत्मविश्वासबाट यो काम सुरु भएको थियो । पछि हामी सबैमा विश्वास पैदा हुँदै गयो ।’

निर्णायकको छनोट

कमेडी च्याम्पियनका निर्णायकबारे धेरै चर्चा हुने गरेको छ । विशेष गरी ऋचा शर्मा र प्रदीप भट्टराई कसरी यसको निर्णायक बने भन्नेबारे ? भण्डारी भन्छन्, ‘हामीले ऋचालाई कमेडी राम्ररी बुझ्ने कलाकारका रूपमा लिएका छौं । उहाँ कमेडी बुझ्ने र त्यसमा रम्न सक्ने कलाकार हो । उहाँ आफूलाई मन पर्ने कुरामा खुलेर हाँस्नुहुन्छ । त्यस्तो व्यक्तित्व निर्णायकको भूमिकामा आउनुपर्छ भन्ने हामीलाई लाग्यो ।’

प्रदीप भट्टराईले निरन्तर तीनवटा कमेडी विधाका चलचित्र निर्माण गरिसकेको भएकाले प्राविधिक रूपमा उहाँको अनुभवले धेरै पक्षमा ध्यान पुग्न सक्छ भन्ने समूहको अपेक्षा रह्यो । त्यो कुरा प्रमाणित भइरहेको भण्डारीलाई लाग्छ । स्ट्यान्ड अप कमेडीको लागि मनोज गजुरेलभन्दा उपयुक्त निर्णायक हुन नसक्ने पनि निर्माण पक्षको दाबी छ । सन्तोष पन्तलाई अग्रज पुस्ताको प्रतिनिधिको रूपमा सबैले स्वीकार गरेको उनीहरू तर्क गर्छन् । 

सहभागिताको उत्साह

जुन अपेक्षा गरेर कमेडी च्याम्पियन सुरु गरिएको थियो, त्यसको तीस प्रतिशतमात्रै सहभागी भएको आाँकलन निर्माण समूहले गरेको छ । भण्डारी भन्छन्, ‘पहिलो पटक यस्तो प्रकृतिको कार्यक्रम भएकाले धेरैले शंकाको सुविधा प्रयोग गरेको देखिन्छ । त्यसैले हामीले सोचको जति सहभागिता भएन । तर, अर्को सिजनमा सहभागी हुन्छौं भन्नेको संख्या धेरै छ ।’

कमेडी जटिल विधा भएकाले यसमा सोचेजति सहभागिता नहुनु स्वाभाविक भएको उनको बुझाइ छ । दोस्रो सिजनका लागि राम्रा कमेडियनले पनि तयारी गरिरहेको खबरले आफूहरू उत्साहित भइरहेको उनले बताए । महिला सहभागिता कम भएको प्रतिक्रिया पनि आइहेको छ । ‘टप पोजिसन’ छनोट गर्दै जाँदा महिलाको सहभागिता नहुनुले अझ खड्किएको छ । रिमा भने यसलाई स्वाभाविक भएको तर्क गर्छिन् । 

रिमा भन्छिन्, ‘हाम्रो समाजको संरचनाअनुसार जति सहभागी हुनुभयो, त्यो पनि ठूलो हो । हामीले टप ट्वान्टीमा चारजना महिला सहभागी पाएका थियौं । त्यसले महिला कमजोर छैनन् भन्ने प्रमाणित भएको छ । कतिपय परिस्थिति र परिवेशका कारण पहिलो सिजनमा उल्लेख्य सहभागिता हुन नसकेको सत्य हो ।’ यस्ता प्रतियोगितात्मक मञ्चमा सबै क्षेत्रबाट सहभागिता गराउनका लागि निर्माण पक्षले गर्नुपर्ने मिहिनेतबारे पनि सिकाएको उनले बताइन् ।

पुरानो पुस्ताको प्रोत्साहन

कमेडी च्याम्पियन आइसकेपछि त्यसले पुरानो पुस्ताका कमेडिन पनि उत्साहित भइरहेका छन् । कार्यक्रमका सहभागी भएर र व्यक्तिगत रूपमा सुझाव दिएर पुरानो पुस्ताले प्रोत्साहित गरेकोमा निर्माण समूह खुसी देखिन्छन् । 

पहिलो चरणमा आफूले जानेको काम पो गर्नुपर्छ भन्ने प्रतिक्रिया आएको भए पनि अहिले धेरैले आफूहरूलाई प्रोत्साहित नै गरेको केकी अधिकारी सुनाउँछिन् । भण्डारीलाई त पुराना पुस्ताका धेरैले सुझाव र प्रतिक्रिया दिएका छन् । त्यसमध्ये हरिवंश आचार्य र दीपकराज गिरीको प्रतिक्रिया आफूलाई विशेष लागेको उनी बताउँछन् । ‘हरिवंश दाइले सुझावसहित प्रोत्साहन दिनुभयो । दीपक दाइले पहिलो चरणमै कार्यक्रममा सहभागी भएर उत्साह बढाइदिनुभयो । हामीले उहाँहरूको सुझावलाई गहिरो गरी मनन गरेका छौं,’ उनले भने ।

उत्साहजनक प्रतिक्रिया

प्रतियोगितात्मक कार्यक्रम भएकाले पहिलो चरणमा निर्माण समूहले व्यावसायिक दृष्टिकोणबाट मात्रै सोचेका थिए । तर, जब कार्यक्रम अघि बढ्यो, त्यसपछि आएका प्रतिक्रियाले आफूहरू उत्साहित भएको रिमा बताउँछिन् । ‘कार्यक्रमले हाम्रो जीवनमा धेरै तनाव कम गरेको छ, दिनभरि काम गरेर आएपछि कार्यक्रम हेर्दा देशको परिस्थिति बुझ्न र हाँसेर रिफ्रेस हुन सघाएको छ भनेर विदेशमा बस्ने धेरै नेपालीले प्रतिक्रिया दिनुभएको छ । यो सुन्दा हामीले व्यवसायिक मात्रै नभई केही पुण्यका काम पनि गरेछौं कि भन्ने पनि अनुभव भइरहेको छ’, उनले भनिन् । त्यसले समाजमा अझ जिम्मेवार हुन उत्प्रेरित बनाएको उनको बुझाइ छ । 

लगानीको पाटो 

नेपालमा कमेडी विधाकै रियालिटी शोमा लगानी गर्नु चुनौतीकै काम थियो । भण्डारी र केकीसँग पहिलो चरणमा आफ्नो प्रस्तावना सुनाउँदा प्रायोजकहरू निकै अनकनाएको अनुभव छ । ‘कार्यक्रम अगाडि बढ्दै जाँदा अर्को सिजनमा लगानी गर्न तयार धेरै प्रायोजक सम्पर्कमा आउनुभएको छ । विकासशील र भर्खरैे द्वन्द्वबाट गुज्रिएको देश हुनाले पनि यहाँ धेरैजसो रमाइलो विषयमा ध्यानकेन्द्रित हुने गरेको छ । विश्वमै पनि हास्यको बजार राम्रो छ । मान्छेलाई साँच्चै नै हँसाउन सकियो भने त्यो व्यवसाय पक्का नै हुन्छ’, उनले भने । 

यसका लागि प्रस्तुति सही हुनुपर्छ भन्ने भण्डारीको निष्कर्ष छ । हरेक विषयलाई गम्भीरतापूर्वक लिएर तर्कपूर्ण व्यंग्यलाई स्थापित गर्नु अबको चुनौती रहेको उनले स्वीकारेका छन् । त्यही दायित्व सम्झेर नै कमेडी च्याम्पियनमा निर्णायकको भूमिकामा आएको कलाकार मनोज गजुरेल बताउँछन् । ‘नयाँ पुस्ता नयाँ विषय खोज गर्ने र त्यसलाई प्रस्तुत गर्ने नयाँ शैली पहिल्याउने उत्साह छ । त्यसलाई सामाजिक उत्तरदायित्वसहितको बनाउन हामीले भूमिका खेल्नुपर्छ भन्ने लागेर नै हामी यो कार्यक्रममा छौं,’ उनले भने ।

 Image