Successfully Copied

मूर्तिकलामा  महिला हात

अहिले महिलाहरू उपस्थितिका लागि मात्रै मूर्तिकलामा छैनन्, नाम र दाम दुवै कमाइरहेका छन् । २०५८ सालमा सिर्जना कलेज अफ फाइन आर्ट र २०६० मा काठमाडौं युनिभर्सिटी सेन्टर फर आर्ट एन्ड डिजाइन खुलेपछि यो क्षेत्रमा महिलाको संख्या बढेको हो ।

मूर्तिकला π झन्डै मूर्तिकै जस्तो धैर्य, साधना र एकाग्रता अनि अतिरिक्त शारीरिक बल आवश्यक हुन्छ यो विधामा । यसलाई कठोर कलाकर्म भन्न सकिन्छ । कहिले ढुंगा त कहिले काठका मुढा फोर्नुपर्छ । मूर्ति बनाउँदा–बनाउँदै दुर्घटनामा परेका घटना धेरै छन् । त्यसैले होला, एक दशकअघिसम्म नेपाली मूर्तिकलामा महिलाको उपस्थितिलाई अनौठो मानिन्थ्यो ।

जसमा सुष्मा सिंखडा र प्रमिला गिरी अपवाद थिए । सुष्माको मूर्तिकला नदेखिएको धेरै भयो, प्रमिला गिरी भने समय–समयमा मूर्ति प्रदर्शनीमा देखिन्छिन् । गिरी आफ्ना सिर्जनालाई घरमा संग्रह गर्ने सोचमा पनि छिन् । उनीहरूको पाइला पछ्याउँदै मूर्तिकलामा मेहनत गर्नेको संख्या बढिसकेको छ ।

पुष्पाञ्जली शेरचन, मीना कायस्थ, शिलासा राजभण्डारी, इन्दिरा श्रेष्ठ, जुनु अर्याल, आनमारी तामाङलगायतको नाम त्यसमा दर्ज भइसकेको छ । चाँदनी बज्राचार्य, संविका वासुकला तथा मेनुका श्रेष्ठलगायत त मूर्तिकला शिक्षणमा सक्रिय छन् भने पेन्टिङमा कहलिएकी सुनिता राणाले पनि मूर्तिकलालाई निरन्तरता दिइरहेकी छिन् । मूर्तिकलामा स्नातकोत्तर शिलासा राजभण्डारी छोटो अवधिमा धेरै पुरस्कार पाउने कलाकार पनि हुन्, तर उनी इन्स्टलेसन आर्टमा व्यस्त छिन् । शिलासा मेमोरीसम्बन्धी मूर्तिहरू बढी बनाउँछिन् ।

अहिले महिलाहरू उपस्थितिका लागि मात्रै मूर्तिकलामा छैनन्, नाम र दाम दुवै कमाइरहेका छन् । २०५८ सालमा सिर्जना कलेज अफ फाइन आर्ट र २०६० मा काठमाडौं युनिभर्सिटी सेन्टर फर आर्ट एन्ड डिजाइन खुलेपछि यो क्षेत्रमा महिलाको संख्या बढेको हो । ललितकला क्याम्पसमा मूर्तिकला विषयमा स्नातकोतर पढाइ हुन थालेपछि कला विषयमा पढिरहेकाहरू मूर्तिकलामा आकर्षित भएको मूर्तिकार इन्दिरा श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘यस क्षेत्रमा नाम र दाम दुवै छ । श्रम, जाँगर र निरन्तरता दिन सक्ने हो भने क्षेत्र पनि फराकिलो छ । त्यसैले यसमा आकर्षण बढ्दो छ ।’ अहिले मूर्तिकलामा पनि विविधता आइरहेको छ । इन्स्टलेसन, जंक र आधुनिक मूर्तिकलाले युवा पुस्तालाई समेत आकर्षित गरिरहेको छ । 

प्रथम महिला मूर्तिकार 

प्रमिला गिरीले कलामा भारतबाट स्नातक र अमेरिकाबाट स्नातकोत्तर गरेकी हुन् । सन् २००२ मा नेपालमा प्रदर्शनी गरेको १४ वर्षपछि सन् २०१६ मा उनले फेरि नेपाली कलामञ्चमा आफ्ना मूर्ति प्रदर्शन गरिन् । यसबीच उनले विदेशमा केही प्रदर्शन गरिन् । पृथ्वी आमा थिमका साथै उनले सामूहिकता बोल्ने, मानवमा लुकेका भावना जागृत गराउने, बुद्ध र शान्ति सँगसँगै स्मरण गर्ने सिर्जनाका रूपमा थुप्रै मूर्ति बनाएकी छिन् । उनका कलाहरू नेपाल, भारत, नर्वे, अमेरिका एवं जापानमा संग्रहित छन् । उनका कलामा मानवीय भावनाका साथै वर्तमान समाजका भौतिक एवं प्राविधिक प्रविधि पनि झल्किन्छ । 

 Image