Successfully Copied

आँटले सफल पुष्पाञ्जली

पुष्पाञ्जली शेरचन ६९ वर्षीया कलाकार हुन्  । केही समयअघि थाइल्यान्डमा ६ नेपाली महिला कलाकार कला प्रदर्शनीका लागि पुगेका थिए । त्यसमा मूर्तिकला विधाबाट पुष्पाञ्जली शेरचन छानिइन्, जहाँ उनका ढलोट र काठमा शान्तिका प्रतीक परेवाका सिरिज प्रदर्शनीमा राखियो । 

 

पुष्पाञ्जली शेरचन ६९ वर्षीया कलाकार हुन्  । केही समयअघि थाइल्यान्डमा ६ नेपाली महिला कलाकार कला प्रदर्शनीका लागि पुगेका थिए । त्यसमा मूर्तिकला विधाबाट पुष्पाञ्जली शेरचन छानिइन्, जहाँ उनका ढलोट र काठमा शान्तिका प्रतीक परेवाका सिरिज प्रदर्शनीमा राखियो । 

उनको कलासम्बन्धी औपचारिक अध्ययन ललितकला क्याम्पसमा मूर्तिकला विधामा अध्ययनबाट सुरु भएको हो । ४० वर्ष उमेर पुग्नै लाग्दा उनले मूर्तिकलाको ज्ञान लिन थालेकी हुन् । नेपाल टेलिभिजनको मूर्तिकलासम्बन्धी कार्यक्रममा सुन्दर बगैंचामा मूर्ति राखेको देखेपछि उनलाई आफैं मूर्ति बनाएर बगैंचामा राख्ने रुचि लाग्यो ।

त्यसका लागि मूर्ति बनाउन पनि सिक्नु आवश्यक थियो । त्यसैले मूर्तिकला पढ्न कलेज भर्ना भइन् । उनी कलेज भर्ना हुँदा छोरा नै १४ वर्ष भइसकेका थिए । त्यसबेला ललितकला अध्ययन सहज थिएन, तर कामप्रति रुचि र इमानदारिता हुने हो भने कुनै कुरा असम्भव हुँदैन भन्ने कुराको उदाहरण हुन् उनी । 

उनको कलायात्रामा घरपरिवारको सहयोग भए पनि सुरुमा माटोको फोहोरी काम नगरे हुन्थ्यो भन्ने चाहना थियो । तर, उनलाई श्रीमान्को पूर्ण सहयोग प्राप्त भयो, जसले गर्दा उनले आफ्नो कलायात्रालाई निरन्तरता दिन सकिन् । अहिले उनी आफ्नो बगैंचामा मात्र होइन, थुप्रैका बगैंचामा सुन्दर मूर्ति राख्न सफल भएकी छन् ।

केही समयअघि उनका मूर्तिहरू क्लासिक ग्यालरीमा प्रदर्शनीमा समेत राखिएको थियो । यसबीच उनी झन्डै एक दर्जन सामूहिक कला प्रदर्शनीमा सहभागी भइसकेकी छिन् । वि.सं. २०५७ मा नेपाल ललितकला संघ (नाफा) ले आयोजना गरेको राष्ट्रव्यापी मूर्तिकला प्रतियोगितामा उनी प्रथम भएकी थिइन् ।

 Image