Successfully Copied

मातृत्वको तयारी 

पहिलोपटक आमा बन्न लागेकाहरूको मनमा अनेक किसिमका प्रश्न हुन्छन् । खुसीको खबरका साथमा आउने नौ महिना जिन्दगी पूर्णरूपमा बदलिन्छ ।

 

पारिवारिक जीवनको सुरुवातको खुसीसँगै अनेक जिम्मेवारी पनि जोडिएको हुन्छ । यसका लागि पहिलेदेखि नै योजनाबद्ध ढंगले तयारी गर्नुपर्छ । पहिलोपटक आमा बन्न लागेकाहरूको मनमा अनेक किसिमका प्रश्न हुन्छन् । खुसीको खबर (गुड न्युज) का साथमा आउने नौ महिना जिन्दगी पूर्णरूपमा बदलिन्छ । यो नयाँ अनि रमाइलो जीवनलाई सहजताका साथ स्वीकार गर्नु जरुरी हुन्छ । यसका लागि मानसिक रूपमा पनि तयार रहनुपर्छ । नयाँ सदस्यको स्वागतका लागि योजनाबद्ध ढंगले तयारी गर्नुपर्छ । 

डाइट तथा फिटनेस 

सुरुदेखि नै खानपान तथा फिटनेसमा ध्यान पुर्‍याउनुपर्छ । यसका लागि न्युट्रिसनिस्ट तथा फिजियोथेरापिस्टहरूसँग सहयोग लिन सकिन्छ । पौष्टिक तथा सन्तुलित आहार खानुपर्छ । यस्तो बेला एक्सरसाइज गरे फिट रहन सकिन्छ । यसले गर्दा नर्मल डेलिभरी सहज हुन्छ । एक्सरसाइज गर्दा विशेषज्ञको सल्लाह लिनु आवश्यक छ । बिहान–बेलुकी यताउता हिँडडुल गर्नु पनि गर्भवती महिलाहरूका लागि सुरक्षित व्यायाम हो ।

 

खुसीको समाचार बाँड्ने 

आफ्नी आमा तथा सासूलाई शुभ समाचार बताउनुपर्छ किनभने आगामी दिनमा दुवैजनाको उत्तिकै आवश्यकता पर्छ । डेलिभरीको सम्भावित मिति ध्यानमा राख्नुपर्छ । आफ्नो समय पनि त्यहीअनुसार म्यानेज गर्नुपर्छ । आफ्ना साथीभाइ तथा नजिकका आफन्तलाई तीन महिनापछि 

आफ्नो प्रिग्नेन्सीका बारेमा बताउनु उपयुक्त हुन्छ । सुरुको तीन महिनाको अवधि बढी नाजुक हुन्छ । पहिले नै घरमा अर्को शिशु भए उसलाई पनि उसको सानो भाइ वा बहिनी आउन लागेको जानकारी गराउनुपर्छ । उसलाई भाइबहिनीसँग जोडिएका कथा समावेश भएका पुस्तक उपहार दिन सकिन्छ । पहिलो सन्तानलाई अर्को सन्तान आए पनि उसको महत्व कम नहुने कुरा महसुस गराउनुपर्छ । पहिले जस्तै उसलाई माया गरिरहने कुरामा आश्वस्त तुल्याउनुपर्छ ।

डाक्टरको छनोट 

आफ्नो स्वास्थ्यमा पूरा ध्यान दिने स्त्री तथा प्रसूति रोग विशेषज्ञ छनोट गर्नुपर्छ । कुनै राम्रो डाक्टरका बारेमा जानकारी नभए नातेदार तथा साथीभाइसँग पनि लिन सकिन्छ । पहिलो भेटमा डाक्टरले सामान्य स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गर्छन् । यतिबेला सुरुमा खानुपर्ने औषधि तथा पछि गर्नुपर्ने उपचारका बारेमा जानकारी पनि लिन सकिन्छ । कसै–कसैलाई औषधिको एलर्जी हुनसक्छ । त्यस्तो भए चिकित्सकलाई जानकारी गराउनुपर्छ । चिकित्सकले बोलाएको दिन पनि सम्झनामा राख्नुपर्छ । व्यस्त दैनिकीका कारण कतिपय कुरा बिर्सन सकिन्छ, त्यसैले उक्त मिति मोबाइलको रिमाइन्डरमा राख्न सकिन्छ । चिकित्सकको फोन नम्बर आफ्नो साथमा राख्नुपर्छ अनि जरुरी भए मात्र फोन गर्नुपर्छ । चिकित्सककहाँ चेकअप गर्न जाँदा श्रीमान्लाई साथमा लानुपर्छ । यसो गर्दा श्रीमान्लाई पनि स्वास्थ्यस्थितिका सम्बन्धमा सबै कुरा जानकारी हुन्छ । 

सही अस्पताल छनोट 

आफ्ना लागि अस्पताल छनोट गर्दा बजेटलाई ध्यानमा राख्नुपर्छ । कामकाजी भए आफ्नो तथा आफ्नो अफिसबाट कुनै चिकित्सासम्बन्धी सुविधा उपलब्ध हुने भए निर्धारित अस्पताल छनोट गर्न सकिन्छ । जुन चिकित्सकसँग उपचार गराउने हो उसले काम गर्ने अस्पताल नै छनोट गर्नुपर्छ । कतिपय अवस्थामा डाक्टर राम्रो भए पनि अस्पतालमा उपचारको राम्रो सुविधा उपलब्ध नहुनसक्छ । २४ सै घन्टा स्त्री रोग विशेषज्ञ उपलब्ध हुने अस्पतालका साथै शिशुको राम्रो स्याहार हुने अस्पताल छनोट गर्नु बुद्धिमानी हुन्छ । 

आमा बन्नु प्रत्येक महिलाका लागि खुसीको कुरा हो । पेटमा बच्चा चल्दा होस् वा उसले गर्ने अन्य क्रियाकलापलाई रमाइलो पल सम्झदै महिलाहरू आनन्द मानिरहेका हुन्छन् । एउटा नयाँ जीवन गर्भमा जब सास फेर्न थाल्छ त्यसको अनुभव बेग्लै किसिमको हुन्छ । यो अनुभूति निकै कोमल तथा अवर्णनीय हुन्छ । यो नौ महिनामा आफ्नो हेरचाह राम्ररी होशियारीपूर्वक गर्नुपर्छ । गर्भधारण गरेपछि महिलाको शरीरमा धेरै परिवर्तन आउँछ । यस्तो परिवर्तन कतिपय गर्भवती महिलाले अनुभव गर्न सक्छन् भने कतिपयमा नहुन पनि सक्छ । सबै गर्भवती महिलामा एकै किसिमको परिवर्तन नभइ अलग–अलग किसिमको हुनसक्छ । गर्भावस्थाको नौ महिनाको गणना अन्तिम पिरियड्सको पहिलो दिनबाटै गनिन्छ । यी नौ महिनालाई तीन ट्राइमिस्टरमा विभाजित गरिन्छ । 

पहिलो त्रैमासिक 

पहिलो तीन महिनामा भ्रूणको विकास हुन्छ भने मानवले भ्रूणको आकार लिन थाल्छ । यतिबेला चिकित्सकसँग नसोधी कुनै पनि औषधि खानु हुँदैन । स्त्री रोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । किनभने यस्तो स्थितिमा औषधि हानिकारक साबित हुनसक्छ भने गर्भस्थ शिशुमा संरचनात्मक विकार पैदा गर्न सक्छ । चिकित्सकको सल्लाहमा फोलिक एसिडबाहेक अन्य कुनै औषधि खानु हुँदैन । 

सम्भावित परिवर्तन 

    यतिबेला शरीर चिलाउने, छटपटी, थकान तथा बान्ता हुने जस्ता समस्या सामान्य हुन्छन् । यो समस्या तीन महिना पूरा भएपछि आफंै ठीक हुन्छ । 

    रक्तचाप कम तथा नाडीको धड्कन (पल्स रेट) बढ्छ । 

    स्तनको आकार बढ्ने तथा पानी बग्ने हुनसक्छ । स्तन छुँदा पीडा हुनसक्छ । 

    पहिलो तीन महिना कसैको तौल बढ्न तथा कसैको घट्न सक्छ । 

    मर्निङ सिकनेस गर्भधारणको तेस्रो हप्तामा सुरु हुन्छ । यो पूरा तीन महिनासम्म रहन्छ । एस्ट्रोजन तथा प्रोजेस्टेरोनको बढ्दो स्तरले गर्दा पेट बिस्तारै–बिस्तारै खाली हुन्छ । खाना ढिलो पच्ने कारणले गर्दा वान्ता हुने समस्या उत्पन्न हुनसक्छ । यस्तो समस्या बिहान बढी हुन्छ । 

    पटक–पटक पिसाब गर्न मन लाग्छ । यसबाट छुटकारा पाउन तरल पदार्थ बढी सेवन गर्नुपर्छ । यतिबेला चिया वा कफी भने कम पिउनुपर्छ । 

    गर्भावस्थामा प्रोजेस्टेरोन हार्मोनको स्तर बढ्छ । यसले गर्दा बढी निद्रा लाग्छ । यतिबेला ब्लड सुगरको कम स्तर साथै कम रक्तचापका कारण थकान हुन सक्छ । यसका लागि आरामको आवश्यकता पर्छ । त्यसैले पर्याप्त मात्रामा आइरन तथा प्रोटिन भएका खानेकुरा खानुपर्छ । 

सावधानी 

    खाली पेट बस्नुहुँदैन । समय–समयमा खानेकुरा खाइरहनुपर्छ । फलफूल, नरिवल पानी तथा ग्लुकोज पानी खाइरहनुपर्छ । धेरै पिरो तथा चिल्लो खानेकुरा खानुहुँदैन । 

    नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ । प्रत्येक १५ दिनमा चिकित्सकबाट चेकअप गराउनुपर्छ । 

    गर्भावस्थामा हिल भएको जुत्ता लगाउनुहुँदैन । भीडभाडमा जानुहुँदैन । कामकाजी भए हिँडडुल गर्दा खाल्डाखुल्डी भएको ठाउँ वा सिंढी चढ्दा–ओर्लदा सावधानी अपनाउनुपर्छ । 

    धेरै खाना एकैपटक खानुहुँदैन । फलफूल प्रशस्त मात्रामा खान सकिन्छ । डबल डाइट नखाई सन्तुलित खाना खानुपर्छ । 

रुटिन चेकअप

    एन्टिनेटल स्क्रिनिङ टेस्ट (ब्लड ग्रुप तथा आरएच, हेमोग्लोबिन, ब्लड सुगर, स्क्रिनिङ फर इन्फेक्सन, एचआइभी, सिफिलिस, रुबेला, हेपाटाइटिस सी, हेमोग्लोबिन) 

    थाइराइड । 

    युएसजीबाट डेलिभरीको मिति पत्ता लाग्छ । त्यसबाट गर्भमा एउटा वा त्यसभन्दा बढी शिशु भएको कुरा पनि पत्ता लाग्छ । 

    सात तथा बाह्र हप्तामा अल्ट्रासाउन्ड गराउनुपर्छ । बाह्रौं हप्ता डबल मार्कर ब्लड टेस्ट गराउनुपर्छ । 

 

दोस्रो त्रैमासिक 

दोस्रो त्रैमासिकलाई ‘सेफ पिरियड’ पनि भनिन्छ । किनभने यतिबेला गर्भवती महिलाले पहिलो त्रैमासिकको तुलनामा अलि सहज महसुस गर्छन् । यो समयमा मुड पनि राम्रो रहन्छ भने बान्ता हुने, मर्निङ सिकनेस तथा अन्य समस्या हुँदैन । पेटको आकार बढ्दा पीठ्युँ तथा थाईमा भने पीडा महसुस हुन सक्छ । यो समयमा आइरन तथा क्याल्सियम सेवन गर्नुपर्छ । 

परिवर्तन 

प्रिग्नेन्सीको दोस्रो त्रैमासिकमा शरीरको अन्य भाग जस्तै स्तनको आकार पनि बढ्छ । स्तनमा दूध बनाउने ग्रन्थिको विकास हुन थाल्छ । 

पाठेघरको मांसपेशी खुम्चिएजस्तो लाग्न सक्छ । 

हार्मोनल परिवर्तनका कारण नाकबाट रगत बग्न सक्छ भने शरीरमा रक्तसंचार बढ्न थाल्छ । जसका कारण नाकबाट रगत बग्न सक्छ । त्यस्तो भए रगत रोक्न टाउको सीधा राख्नुपर्छ । पछिल्तिर झुकाउनुहुँदैन । चिसो पानीले नाक सफा गर्नुपर्छ । 

दोस्रो त्रैमासिकमा बढी भोक लाग्छ । त्यसैले सन्तुलित तथा पौष्टिक खानेकुरा खानुपर्छ । यतिबेला वजन पनि बढ्न सक्छ । 

    पर्याप्त दूध तथा प्रोटिनयुक्त डाइट खानुपर्छ । एउटा ठूलो कचौरा दाल खानुपर्छ । यसले शरीर सुन्निदैन भने एनिमियाँ पनि हुन पाउँदैन । प्रोटिनले शिशुको विकासमा समेत सहयोग पुर्‍याउँछ । 

 

सावधानी 

    फाइबरको कमी हुन दिनुहुँदैन । यसले कब्जियतको समस्या हुन दिँदैन । 

    यतिबेला अतिरिक्त क्याल्सियम तथा आइरनको आवश्यकता पर्छ । किनभने यो समयमा गर्भस्थ शिशुको हड्डी तथा दाँतको विकास हुन्छ । 

    झुकेर कुनै कुरा उठाउनुहँुदैन । उठ्दा–बस्दा आफ्नो पोस्चरमा ध्यान पुर्‍याउनुपर्छ । पिठ्युँलाई सपोर्ट दिन पछाडि कुसन राख्नुपर्छ । 

    शरीरमा पानीको कमी हुन दिनुहुँदैन । 

    बाहिर घुम्न जानुपरे सुरक्षित यात्रा गर्नुपर्छ । 

रुटिन चेकअप 

    रक्तचाप तथा प्रोटिनको स्तरसम्बन्धी जानकारी हासिल गर्न पिसाब जाँच गराउनुपर्छ । 

    यो ट्राइमिस्टरमा टिटानस टक्साइडको दुई इन्जेक्सन १/१ महिनाको अन्तरालमा लगाउनुपर्छ । 

    शिशुको शारीरिक विकास जाँच्न एनोमली स्क्यान (अल्ट्रासाउन्ड) गराउनुपर्छ ।

    ब्लड सुगर टेस्ट–ग्लुकोज २४ हप्तामा गराउनुपर्छ । 

    दाँत तथा फिजियोथेरापी जाँच गराउनुपर्छ । 

तेस्रो तीन महिना 

प्रिग्नेन्सीको तेस्रो तीन महिनामा पेटमा स्ट्रेच माक्र्स पर्न थाल्छ । यतिबेला पेट वरिपरिको छालामा मोस्चराइजर लगाउनुपर्छ । गर्भस्थ शिशुलाई आवश्यक क्यालोरीको मात्रा बढ्ने भएकाले प्रत्येक तीन घन्टाको फरकमा पौस्टिक खाने कुरा खाइरहनुपर्छ । यो अवधिमा सबैजस्तो महिना महिलाको वजन १–२ किलो बढ्नुपर्छ । 

परिवर्तन 

    गर्भावस्थाको तेस्रो ट्राइमेस्टरमा भ्रूण लगभग विकसित भैसक्छ । यसले गर्दा धेरै समय आराम गर्नु आवश्यक हुन्छ । आराम गर्दा तनाव कम हुनुका साथै निराशा र चिन्ता पनि हुँदैन । सकारात्मक सोच राख्नुपर्छ । 

    यतिबेला प्रतिदिन ३ सयदेखि ५ सय अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ । त्यसैले डेरी उत्पादन, बदाम, अन्न तथा दाल आदि खानुपर्छ । 

    यो अवधिमा भ्रूणको विकास तीव्र रूपमा हुन्छ । त्यसैले गर्भवती महिलाले बढीभन्दा बढी पोषकतत्व खानुपर्छ । जसमा फलफूलको जुस एवं माछा उत्तम साबित हुन्छ । 

सावधानी 

    तेस्रो ट्राइमिस्टरमा शिशुको मुभमेन्टमा ध्यान पुर्‍याउनुपर्छ । कुनै किसिमको असजिलोपन भए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । शिशुले कम किक हानेको, कम चलेको भए पनि चिकित्सकलाई भनिहाल्नुपर्छ किनभने शिशुको मुभमेन्ट कम हुनु कुनै समस्याको संकेत हुनसक्छ । 

    कुनै किसिमको असामान्य संकेत तथा लक्षण भए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । योनिबाट अधिक डिस्चार्ज, गन्हाउने पानी, खोकी, चिसो लाग्ने, पिसाब गर्ने बेलामा पीडा, टाउको दुख्ने जस्तो समस्या भए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

 

प्रिग्नेन्सीका समयमा शरीरमा आउने परिवर्तनका कारण महिलाले धेरै किसिमका स्वास्थ्य समस्या सामना गर्नुपर्छ । त्यसैले विशेष रूपमा सजगता अपनाउनुपर्छ । गर्भावस्था कुनै पनि महिलाको जीवनको सबैभन्दा रमाइलो यात्रा हो । यो यात्रामा धेरै किसिमका समस्याले सताउन सक्छन् ।

उच्च रक्तचाप

पहिले रक्तचाप सामान्य अवस्थामा भए पनि गर्भ रहेपछि रक्तचाप वृद्धि हुनसक्छ । सामान्यतया प्रिग्नेन्सीको चौथो महिनापछि (२० हप्तापछि) लगभग १० प्रतिशत महिलामा रक्तचापको समस्या हुन्छ । यसलाई प्रिग्नेन्सी इड्युस्ड हाइपरटेन्सन भनिन्छ । रक्तचाप उच्च भएका महिलाको कलेजो, मुटु तथा मिर्गौलामा असर पुग्न सक्छ । शिशुको जन्मपछि पनि ६ हप्तासम्म औषधि सेवन गर्नुपर्ने हुनसक्छ । आखिर जे भए पनि गर्भ रहेका बेला रक्तचाप बढे चिकित्सकसँग सल्लाह लिनुपर्छ । यस्तो बेला उच्च रक्तचाप देखिनुलाई ‘जेस्टेसनल हाइपरटेन्सन’ भनिन्छ । त्यसका लागि चिकित्सकको सल्लाहमा रक्तचाप कम गर्न सामान्य औषधि खानुपर्ने हुनसक्छ जसले गर्भस्थ शिशुलाई असर गर्दैन ।

कारण : ३५ वर्षको उमेरपछि गर्भवती हुनु, पारिवारिक हिस्ट्री, धेरै तौल तथा पहिलो प्रिग्नेन्सीमा रक्तचाप बढ्न सक्छ ।

लक्षण : टाउको दुख्नु तथा रिंगटा लाग्नु, आँखा धमिलो हुनु, अनुहार तथा हात सुन्निनु तथा छटपटी महसुस हुनु । ९०/१४० भन्दा बढी भए त्यसलाई उच्च रक्तचाप मानिन्छ ।

प्रभाव : गर्भस्थ शिशुको विकासमा अवरोध सिर्जना हुन्छ ।

रोकथाम : नियमित रूपमा रक्तचाप जाँच गराउनुपर्छ । औषधि नियमित रूपमा सेवन गर्नुपर्छ । नुनको मात्रा कम गर्नुपर्छ । दिनमा केही क्षण आराम गर्नुपर्छ ।

मधुमेह : गर्भावस्थामा कतिपयमा मधुमेहको समस्या सिर्जना हुन सक्छ । परिवारमा आमाबुवालाई मधुमेह छ भने पनि गर्भवती महिलामा मधुमेह देखिने सम्भावना बढ्छ । खासगरी गर्भवती महिलामा २८ हप्तापछि मधुमेह देखापर्न सक्छ । मधुमेह गर्भावस्थामा मात्र देखिएर पछि आफैं कम हुनसक्छ । गर्भावस्थामा मधुमेह देखिए चिकित्सकको सल्लाहमा रगतमा चिनीको मात्रा टेस्ट गराउनुपर्छ । गर्भावस्थामा मधुमेह देखिनुलाई ‘जेस्टेसनल डाइबिटिज’ भनिन्छ । गर्भवती महिलाको प्यांक्रियाज सामान्य अवस्थामा तीन गुणा धेरै इन्सुलिन बन्छ ताकि उसको शरीरमा सुगर लेवल नियन्त्रित रहोस् । कहिलेकाहीँ शरीरमा पर्याप्त मात्रामा इन्सुलिन बन्न पाउँदैन जसले गर्दा महिलाको प्रिग्नेन्सीमा मधुमेहको समस्या सिर्जना हुन पुग्छ ।

कारण : परिवारमा कसैलाई मधुमेह भए तथा मोटोपन ।

लक्षण : आँखा धमिलो हुनु, धेरै तिर्खा लाग्नु तथा सधै थकान महसुस हुनु ।

प्रभाव : यस्तो स्थितिमा गर्भस्थ शिशु बढी तौलको हुन्छ । यसले नर्मल डेलिभरीमा समस्या देखापर्न सक्छ । जन्मिएको केही समयपछि शिशुमा समेत मधुमेह देखापर्न सक्छ ।

रोकथाम : प्रिग्नेन्सीको २४ हप्ता पूरा भएपछि स्क्रिनिङ टेस्ट गराउनुपर्छ । सुगर लेवल बढेको पाइए चिनी, घिउ, तेल, भात, आलु तथा मैदाजस्ता क्यालोरीयुक्त खानेकुराको सेवन बन्द गर्नुपर्छ । मर्निङ वाक तथा प्रशिक्षकको सल्लाहमा एक्सरसाइज गर्न सकिन्छ । यसले पनि सुगरको मात्रा कम नभए इन्सुलिन नै लिनुपर्छ ।

हाइपोथाइराडिजम

प्रिग्नेन्सीका बेला यस्तो समस्या आमा तथा गर्भस्थ शिशु दुवैका लागि राम्रो मानिँदैन ।

कारण : वंशानुगत, आयोडिनको कमी, औषधिको साइडइफेक्ट आदिमा कुनै सर्जरीपछि पनि यो समस्या देखापर्न सक्छ ।

लक्षण : तीव्र रूपमा तौल बढ्नु, धेरै निद्रा लाग्नु, छालामा खस्रोपन, केश झर्नु, पटक–पटक रुघाखोकी लाग्नु तथा कब्जियत हुनु ।

प्रभाव : शिशुको आइक्यु क्षमता कम हुनु तथा प्रिम्याच्योर डेलिभरी हुन सक्ने सम्भावना वृद्धि हन्छ ।

रोकथाम : गर्भधारण गर्नुअघि थाइराइडको जाँच तथा औषधिले त्यसमा नियन्त्रण आएपछि मात्र पारिवारिक जीवन सुरु गर्नुपर्छ ।

युटीआई

प्रिग्नेन्सीमा धेरै महिलाले यसको सामना गर्नुपर्छ । यस्तो समस्याप्रति बेवास्ता गर्नुहुँदैन ।

कारण : प्रिग्नेन्सीमा पाठेघरको आकार ठूलो हुन्छ । यसकारण ब्ल्याडरमा दबाब पर्छ । पिसाब राम्रोसँग डिस्चार्ज हुन पाउँदैन । यसले युटीआई (युरिनरी ट्यांक इक्फेक्सन) को समस्या हुन्छ । हार्मोनसम्बन्धी परिवर्तन तथा व्यक्तिगत सफाइमा ध्यान नदिनु नै यसको प्रमुख कारण हो ।

लक्षण : पिसाब गर्दा पीडा हुनु, रोकिँदै पिसाब आउनु, पिसाबको रंग परिवर्तन हुनु, गन्हाउने पिसाब आउनु । यसैगरी योनि चिलाउनु, पोल्नु, ढाड, कम्मर दुख्नु तथा ज्वरो आउनु ।

प्रभाव : मिर्गौलामा संक्रमण, शिशुको विकासमा रोकावट तथा प्रिम्याच्योर डेलिभरी ।

बचावट : सरसफाइमा विशेषरूपले ध्यान पुर्‍याउनुपर्छ । जुस तथा पानीजस्ता तरल पदार्थको सेवन बढी गर्नुपर्छ ।

टाउको दुख्ने

प्रिग्नेन्सीमा केही महिलाको टाउको दुख्छ । टाउकाको पीडासँगै बान्ता पनि आउँछ । माइग्रेनले पनि सताउँछ ।

लक्षण : टाउकाको दायाँ तथा बायाँ भागमा अचानक धेरै पीडा हुनु, दृष्टि धमिलो हुनु, शरीर चिलाउनु, प्रकाश तथा आवाजबाट झर्को (इरिटेट हुनु) लाग्नु ।

कारण : फेमिली हिस्ट्री तथा हार्मोनसम्बन्धी परिवर्तन । पहिले पनि यस्तै समस्या भए प्रिग्नेन्सीमा पनि यो लक्षण देखापर्न सक्छ ।

बचावट : औषधिको नियमित सेवन, कफी तथा जंकफुडबाट टाढै रहनुपर्छ ।

पाचनतन्त्रसम्बन्धी समस्या

प्रिग्नेन्सीमा महिलाको पाचनतन्त्रले प्रभावकारी ढंगले काम गर्दैन । एसिडिटी, ग्यास्ट्रिक तथा कब्जियतजस्ता समस्याले सताउन सक्छ ।

कारण : प्रिग्नेन्सीमा महिलाको शरीरबाट प्लेसेन्टल हार्मोनको सिक्रिएसन तीव्र हुन थाल्छ । फलस्वरूप कलेजोले बिस्तारै काम गर्न थाल्छ । ढिला खाना पच्नु तथा पेटमा ग्यास बन्नुको प्रमुख कारण पनि यही हो । प्रिग्नेन्सीको अन्तिम तीन महिनामा गर्भाशयको आकार ठूलो हुन्छ । यसको दबाबका कारण स्फिंक्टर (फुड पाइपको तलको भाग) ढिलो हुनपुग्छ भने नपचेको खाना माथितिर आउन थाल्छ । यसले गर्दा एसिडिटी, ग्यास तथा कब्जियतको समस्या हुन्छ । प्रिग्नेन्सीमा आइरन, क्याल्सियम तथा मल्टिभिटामिनको सेवन आवश्यक हुन्छ । यसले गर्दा कब्जियतको समस्या उत्पन्न हुनसक्छ ।

लक्षण : पेटको माथिल्लो भागमा पीडा, पोल्नु, शरीर चिलाउनु, अमिलो डकार आउनु, खानामा अरुचि तथा पेटमा भारीपन ।

प्रभाव : प्रिग्नेन्सीमा लगातार रूपमा कब्जियत भए पाइल्सको समस्या हुनसक्छ ।

पिठ्युँ  तथा खुट्टामा पीडा

धेरैजसोलाई प्रिग्नेन्सीमा पिठ्युँ तथा कम्मरमा पीडा हुन्छ भने खुट्टासमेत सुन्निन सक्छ । यो आमसमस्या डेलिभरीपछि आफै ठीक हुन्छ ।

प्रभाव : गर्भस्थ शिशुमा प्रत्यक्ष असर पर्दैन तर यसले नर्मल डेलिभरीलाई पीडादायक बनाउनसक्छ ।

बचावट : राम्रो सपोर्टका लागि खुट्टा थोरै फैलाएर उभिनुपर्छ । लामो समयसम्म उभिनुपरे एउटा खुट्टा हल्कासँग मोड्नुपर्छ । यसो गर्दा दुवै खुट्टामा समान रूपमा भार पर्दैन । बस्नका लागि पिठ्युँलाई सपोर्ट दिने किसिमको कुर्सी छनोट गर्नुपर्छ । पिठ्युँको तलको भागमा सानो कुसन राख्न सकिन्छ । कुर्सीमा खुट्टा तल राखेर बस्नुभन्दा पनि सानो स्टुलमा खुट्टा राख्न सकिन्छ । हिल नभएको जुत्ता लगाउनुपर्छ । खसेको सामान उठाउनुपरे कम्मरको बलले झुक्नुभन्दा पनि घुँडा मोडेर बिस्तारै तल बसेर सामान उठाउनुपर्छ । सुत्ने बेलामा पिठ्युँको बल प्रयोग गर्नुभन्दा पनि बायाँ फर्केर तथा घुँडा हल्का मोडेर बीचमा सिरानी राख्नुपर्छ ।

त्यसबाहेक प्रिग्नेन्सीमा समय अगावै पानी बग्ने, रक्तस्राव हुने, बच्चा उल्टो, तेर्सो बस्ने समस्या पनि उत्पन्न हुनसक्छ ।

के खाने गर्भावस्थामा ?

धेरै महिला गर्भावस्थामा खानपानलाई लिएर बढी नै सतर्क हुन्छन् । यो समयमा आफ्ना लागि मात्र नभएर गर्भस्थ शिशुको पोषणका सम्बन्धमा समेत ध्यान पुर्‍याउनुपर्छ । यतिबेला गर्भवती महिलालाई गर्भस्थ शिशुको विकासका लागि पर्याप्त मात्रामा पौष्टिक आहारा आवश्यक हुन्छ । शिशुलाई पूर्णरूपमा स्वस्थ राख्न कार्बोहाइड्रेड, प्रोटिन तथा फ्याट चाहिन्छ । आममानिसलाई सधै १ सय क्यालोरी आवश्यक हुन्छ भने गर्भवती महिलालाई त्यसभन्दा बढी क्यालोरीको आवश्यकता पर्छ ।

प्रोटिन तथा बोसोयुक्त खाना

गर्भावस्थामा प्रोटिन धेरै जरुरी हुन्छ । यतिबेला रगत बढाउने खानेकुरा खानुपर्छ । डेरी प्रोडक्ट दही, पनीर आदि खान सकिन्छ । गर्भावस्थामा कार्बोहाइड्रेड प्राप्त गर्न टुसा उम्रिएका गेडागुडी खानु उपयुक्त हुन्छ । हरियो सागपात तथा फलफूल पनि यो बेलामा खानु उपयुक्त हुन्छ भने अम्बा, आँप, खरबुजा आदि पनि खान सकिन्छ । केराबाट भिटामिन बी ६ तथा पोटासियम पाइन्छ, यो गर्भको शिशुका लागि समेत लाभदायक हुन्छ ।

आमा बन्न त्यति सहज हुँदैन, यतिबेला महिलामा चिडचिडेपन देखापर्नु सामान्य हो । यस्तो भए केही न केही खानेकुरा खाइरहनुपर्छ तर धेरै चिल्लो तथा मसालेदार खानेकुरा भने खानुहुँदैन । कोल्ड ड्रिंक्स, एवं चिया–कफी पनि कम सेवन गर्नुपर्छ ।

यो पनि आवश्यक 

    डेलिभरीको सम्भावित मितिभन्दा एक महिना पहिले नै घरमा आउने नयाँ पाहुनालाई आवश्यक पर्ने सबै कुरा व्यवस्थित गर्नुपर्छ । 

     दुईवटा ब्याग तयार पार्नुपर्छ । पहिलो ब्यागमा आफूलाई आवश्यक पर्ने सबै कुरा जस्तो अन्डरगार्मेन्ट्स, सेनिटरी प्याड, नेपकिन, रुमाल, कटनका आरामदायक गाउन, टुथब्रस, पेस्ट, रबरब्यान्ड, टेलकम पाउडर, मोस्चराइजर तथा लिपबामजस्ता जरुरी चीज राख्न बिर्सनुहुँदैन । 

    अर्को ब्यागमा नवजात शिशुका लागि रुमालको बेबी साबुन, स्याम्पु, क्रिम तथा पाउडरजस्ता आवश्यक चीज हुनुपर्छ । यसका अतिरिक्त बेबी ब्यागमा कटनका आरामदायक पहिरन, फिडिङ बोतल, डिब्बाबन्द फर्मुला मिल्क, डायपर, स्टेरलाइज्ड कटन, बेबी वाइप तथा डायपर क्रिम आदि राख्नुपर्छ । 

    आफ्नो बेडरुममा उसका आवश्यक चीज राख्न साइडमा खाली एउटा टेबल राख्नुपर्छ । दराजको एक भागमा शिशुको पहिरन राख्ने ठाउँ छुट्याउनुपर्छ । शिशुका लागि वाथ टब, तेल लगाउने ठाउँ आदिको व्यवस्था पहिले नै गरे हस्पिटलबाट घर आउनासाथ कुनै असुविधा हुँदैन । 

 Image