Successfully Copied

फूलसँगै फुलेका महिला

फूल खेतीप्रति महिलाको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । अहिले कुल व्यवसायीमध्ये ६० प्रतिशत महिला छन् । सरकारले व्यावसायिक महिलाका लागि अनुदान दिन थालेपछि फूल व्यवसाय गर्न महिलाहरू उत्साही भएका छन् ।

फूल कसलाई मन पर्दैन र ? सबैलाई मन पर्छ । ढकमक्क फुलेको फूलले आनन्दित बनाउँछ । ऊर्जा बढाउँछ । त्यसैले अचेल घरको कौसी, बरन्डा र छतमा फूल राख्ने/रोप्ने चलन बढ्दै गएको छ । सजाउन मात्र होइन, व्यावसायिक रूपमा फूल खेती गर्ने चलन बढेको छ । 

घरमा फूल फुलाउँदै, रमाउँदै व्यावसायिक फूल खेतीमा लागिन् ललितपुरकी जिनमाया चापागाईं । उनी फूल भनेपछि हुरुक्क हुन्थिन् । घरमा ढकमक्क फूल फुलाउने उनको चाहना थियो । त्यसैले उनले घरमा थुप्रै किसिमका फूल फुलाइन्, घर सजाइन् । फूलसँगै उनको दैनिकी बित्न थाल्यो । सौखका लागि फूल फुलाउन थालेकी उनले फूलमार्फत आम्दानीको बाटो खोज्न थालिन् । 

उनको फूल खेती गर्ने रहर पूरा गर्न श्रीमान्ले साथ दिए । करिब ७ वर्षअघि गोदावरी मड्रिङ फ्लोरिङ नर्सरी सञ्चालनमा ल्याइन् । गोदावरीबाट सुरु गरेको फूल व्यवसाय फस्टाउँदै गएपछि उनले थानकोटमा अर्को नर्सरी सञ्चालनमा ल्याइन् । उनी अहिले फूल खेतीमा रमाइरहेकी छन् । सँगै मनग्ये आम्दानी गरिरहेकी छिन् । भन्छिन्–‘रहर र आम्दानी दुवै मिसिएकाले यो खेतीमा रमाइलो महसुस गरेकी छु ।’ बीउ रोप्नु, बिरुवा स्याहार्नु र माटोसँग खेल्नु उनको दैनिकी हो । उनले करिब ३ रोपनी जग्गामा फूल खेती गरेकी छन् । आम्दानीका लागि गरिएको फूल खेतीले अन्य ५ जनालाई रोजगारीसमेत प्रदान गरेको छ । फूल खेतीबाट राम्रो आम्दानी गरिरहेकी उनी भन्छिन्–‘जीवन यापनका लागि पनि फूल उपयोगी रहेछ ।’

भीमसेनगोलाकी अम्बिका घिमिरे पनि फूलसँग रमाउन थालेको लामो समय भयो । २०५९ सालदेखि उनी फूलबारीमा काम गरिरहेकी छिन् । फूल रोप्दै, बिरुवा उमार्दै उनले नर्सरी सञ्चालन गरेकी छिन् । नर्सरीमा मौसमी र बाह्रै महिना फुल्ने फूलहरू फुलाउँछिन् । उनले करिब १ रोपनी जग्गामा ‘कान्तिपुुर नर्सरी’ सञ्चालन गरिरहेकी छन् । उनले विदेशबाट बीउ ल्याएर आफैं बिरुवा उमार्छिन् । फूलको बिरुवा उमार्न सजिलो नहुने उनको अनुभव छ । बिरुवा उमार्न मल, हावापानी एवं घामको मात्रा मिलाउनुपर्ने उनी बताउँछिन् । भन्छिन्– ‘तालमेल मिलाउन सकिएन भने न बिरुवा उम्रन्छ न हुर्कन्छ ।’ फूलको व्यवसाय राम्रो फस्टाउँदै गएको उनको अनुभव छ । हरेक चाडपर्वमा होस् वा सजावटका लागि फूलको प्रयोग बढ्न थालेपछि व्ययसाय पनि राम्रो भएको उनले बताइन् ।

उनको नर्सरीबाट मखमली, गोदावरी र सदाबहार कौसीमा फुल्ने पिटुनियाजस्ता फूलहरू बढी बिक्री हुन्छन् । महिलाहरूका लागि फूल व्यवसायले राम्रो रोजगार प्रदान गर्ने गरेको भक्तपुरकी नर्सरी सञ्चालक राधा मर्ताङी बताउँछिन् । ‘औपचारिक शिक्षा नलिएका महिलाले पनि सीपमार्फत फूल व्यवसाय गर्न सक्छन्, उनी भन्छिन्– ‘यसकारण फूल व्यवसाय महिलाहरूका लागि राम्रो अवसर बनेको छ ।’ परम्परागत रूपले नर्सरी सञ्चालन गर्दै आएकी उनले व्यवसायमा समस्या पनि हुने गरेको सुनाइन् । बिरुवा उमार्न होस् वा फूल फुलाउन मल र माटोसँग साथै रहनुपर्छ । जसकारण कहिले हातमा एलर्जी हुने त कहिले पानीको अभाव हुने उनले बताइन् । फूल खेतीमा धेरै नै मेहनत गर्नुपर्ने उनको अनुभव छ । ‘मेहनतका साथ फूल खेतीलाई निरन्तरता दिन सकेमा व्यावसायिक रूपले सफलता पाउन सकिन्छ ।’ उनी भन्छिन् । 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार अहिले कुल फूल व्यवसायीमध्ये ६० प्रतिशत महिला छन् । महिला उद्यमीलाई सरकारले अनुदान दिने भएपछि व्यावसायिक फूल खेतीमा महिलाको आकर्षण बढ्न थालेको एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठ बताउँछन् । उनका अनुसार पुरुषले पनि महिलालाई नै अग्रसर गराउँछन् । 

 Image