Successfully Copied

मोटोपन हुन नदिन 

मोटोपन भएकाको लागि छुट्टै खाना भन्ने हुँदैन । शरीरको तौल अनुसार क्यालोरी, प्रोटिन, फ्याट जस्ता सबै तत्व मिलाएर खानुपर्छ । कार्बोहाइड्रेट अन्नहरु (चामल, धान, मकै, जौ, कोदो), तरकारी (आलु, पिंडालु, सखरखण्ड) आदिमा पाइन्छ । प्रोटिन धेरै प्रकारका एमिनो एसिड नामक सरल अणुहरुबाट बनेको

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा कोरोना भाइरस देखापरेको थियो । यो भाइरसले अहिले संसारभर त्रसित बनाएको छ । यस्तो बेला सबैले सतर्कता अपनाउनुपर्छ । अहिले नेपालमा पनि ३ हप्ताअघि देखि सरकारले लकडाउन गरेको छ । यस्तो बेला भाइरस फैलन नदिन सामाजिक दूरी कायम राख्नुका साथै घरबाट अनावश्यक रुपमा बाहिर निस्कनुहुँदैन । यति बेला आफ्नो लागि मात्र नभइ असल नागरिक भइ परिवार, समाज र देशका हितका लागि सोच्नुपर्छ । 

यतिबेला धेरै घरमा नै बस्ने गरेका छन् । खायो, बस्यो गर्दा तीन हप्तामा आफ्नो तौल ३ केजी बढेको सुनाउँछिन्, ज्ञानेश्वरकी नम्रता केसी । अहिले खाली समय भएकाले धेरैले मीठा–मीठा परिकार बनाएर खाने, बस्ने गर्छन् । तारेको, भुटेको मसालेदार खानेकुरा खाँदा तौल बढ्नुका साथै स्वास्थ्यका लागि हितकर हुँदैनन् । घरमै बस्ने भएकाले सजिलै पच्ने र शरीरमा स्फूर्ति प्राप्त हुने खानेकुरा खानुपर्छ । 

अहिले भाइरसको संक्रमणका कारण अस्पतालका ओपिडी सेवा बन्द छन् । त्यसैले स्वास्थ्यको ख्याल राख्दै स्वस्थ र पोषिलो खानेकुरा खानुपर्छ । शरीरले खाद्य पदार्थबाट प्राप्त गर्ने शक्ति र पाएको शक्तिको खर्च बराबर भएमा शक्ति सन्तुलित हुन्छ । शक्ति बढी वा कम भए स्वास्थ्यमा नराम्रो असर पार्छ । आवश्यकताभन्दा कम र आवश्यकताभन्दा अधिक पोषण पनि कुपोषण नै हो । 

पोषणबाट पीडित मानिसलाई बाहिरबाट हेर्दैमा लक्षण चिन्न सकिन्छ । यसको पहिलो लक्षण मोटोपन हो । मोटोपनका कारण हृदयरोग, उच्च रक्तचाप, मधुमेह तथा वाथ रोग देखापर्न सक्छन् । सामान्य तौलका मानिसमा भन्दा धेरै बढी र घातक रुपमा पाइन्छ । 

शक्ति सन्तुलनका लागि के गर्ने ? 

शारीरिक क्रियाकलापलाई बढी क्रियाशील बनाउनु पर्छ । यसका लागि व्यायाम, योगा, घरको सरसफाई, ब्याडमिन्टन खेल्ने, बगैंचामा काम आदि गर्न सकिन्छ । 

कस्तो खाना खानु पर्छ ? 

अहिले आम जनमानसमा कोभिड–१९ सँगै भ्रम फैलिएको छ । गर्मी बढेमा तथा यस्तो खानेकुरा खाएमा रोग हराउँछ भन्ने भ्रम रहेको छ । कुनै पनि जीवाणुको संक्रमणबाट बच्न खानाको ठूलो भूमिका हुन्छ । खाना खाँदा शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्व समावेश गर्नुपर्छ । कार्बोहाइड्रेट, प्रोटिन, फ्याट (चिल्लो), खनिज लवण, पानी, चोकर समावेश हुनुपर्छ । 

मोटोपन भएकाको लागि छुट्टै खाना भन्ने हुँदैन । शरीरको तौल अनुसार क्यालोरी, प्रोटिन, फ्याट जस्ता सबै तत्व मिलाएर खानुपर्छ । कार्बोहाइड्रेट अन्नहरु (चामल, धान, मकै, जौ, कोदो), तरकारी (आलु, पिंडालु, सखरखण्ड) आदिमा पाइन्छ । प्रोटिन धेरै प्रकारका एमिनो एसिड नामक सरल अणुहरुबाट बनेको हुन्छ । प्रोटिन वनस्पति र जैविक स्रोत दुवैबाट प्राप्त हुन्छ । वनस्पति स्रोतमा दाल, बदाम, काजु, पेस्ता आदि पर्छन् भने जैविकमा माछा, मासु, अण्डा आदि पर्छन् । प्रोटिनलाई मानव शरीरको रक्षक मानिन्छ । कुनै गेडागुडी यत्तिकै खाँदा प्रोटिन प्राप्त हुन्छ भने भिजाएर टुसा उमारेर खाँदा भिटामिन सी प्राप्त हुन्छ । चना, मुग उमारेर खानु स्वस्थकर हुन्छ । 

शरीर स्वस्थ हुनका लागि चिल्लोको पनि महत्व हुन्छ । एक स्वस्थ र सक्रिय मानिसलाई प्रतिदिन ४० देखि ६० ग्राम चिल्लो आवश्यकता पर्छ । धेरै स्वास्थ्यकर्मीले मोटोपन भएकालाई चिल्लो नखान सुझाव दिने गरेका छन् । आवश्यक मात्रामा चिल्लो नखाए छाला सुख्खा हुने तथा फुट्ने गर्छ । धेरै समयसम्म चिल्लोको कमी भएमा प्रोटिन खर्च हुन थाल्छ साथै भिटामिन ए, डी, ई र के को कमी हुन्छ । किनकी यी भिटामिन चिल्लोमा मात्र घुल्छन् । 

शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनका लागि भिटामिन र खनिजको आवश्यक पर्छ । हरियो सागपात, तरकारी, फलफूल, पाकेको फर्सी, अमला, कन्दमूल आदिबाट भिटामिन प्राप्त हुन्छ । यसैगरी खनिज पदार्थले शरीरलाई स्वस्थ राख्न, सुरक्षा गर्न र पाचन अवशोषणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसैले यसलाई सुरक्षात्मक आहारको वर्गमा राखिएको छ । क्याल्सियम, फस्फोरस, सोडियम, पोटासियम, फलाम, आयोडिन जिंक आदि खनिज हुन् । 

कुनै एक जना पुरुष ४५ वर्षको छ । उसको उचाई १ सय ७७ सेन्टीमिटर छ तौल ९० किलोग्राम छ भने उसको बडी मास इन्डेक्स (बिएमआई) २८ दशमलव ७२ हुनुपर्छ । तर मोटा मानिसको यो भन्दा बढी हुने गर्छ । १८ देखि २३ सम्मलाई नर्मल बिएमआई मानिन्छ । 

आफ्नो बिएमआई सही राख्न र स्वस्थ हुनका लागि सबै पौष्टिक तत्व पाइने खानेकुरा मिलाएर खानुपर्छ । तौल सन्तुलनमा राख्न रेशायुक्त खानेकुरा खानुपर्छ । बोक्रासहितका गहुँ, मकै, फापर, कोदा, दाल, गेडागुडीमा फाइबर पाइन्छ । यसैगरी तरकारी र फलफूल पनि मिल्नेको बोक्रासहित खानु उपयुक्त हुन्छ । स्याउ तथा नासपाती बोक्रा सहित खानुपर्छ । सुन्तलाको भित्रि रेशा पनि फाल्नुहुँदैन । परिस्कृत गरेर रेशा चोकरविहीन, बट्टा वा बन्द पोका पारिएका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मैदाबाट बनेका पाउरोटी, बिस्कुट, चाउचाउ र सेतो चिनीबाट बनेका चकलेट, आइसक्रिम रेशा वा चोकरविहीन हुन्छन् । यस्ता खानेकुरामा विविध सुगन्ध, रंग र स्वादिलो रसायन मिसाइएको हुन्छ । स्वस्थ जीवनका लागि यस्ता खानेकुरा उपयोगी हुँदैनन् । सबै भोजनमा प्राकृतिक रुपमै रेशा वा चोकर रहेका हुन्छन् । 

विश्वमा आएको अप्राकृतिक जीवनशैलीले घटाएका विविध घटनाक्रमले मानव स्वास्थ्यमा मात्र नभई जीव र वनस्पतिमा समेत असन्तुलन बढ्दै गइरहेको छ । अहिलेको विषम परिस्थितीमा घरभित्र बसेर वनस्पतिजन्य आहार खाँदा नै स्वास्थ्य राम्रो हुन्छ । बेला–बेलामा देखा पर्ने विभिन्न खाले रोग बर्ड फ्लु, सार्सलाई पनि बिर्सनुहुदैन । अहिले चमेरोका कारण कोरोना देखिएको भन्ने छ । त्यसैले पशुजन्यभन्दा पनि वनस्पतिजन्य आहारलाई जोड दिनुपर्छ । स्वस्थ, सजग र संयमित भएर घरभित्र नै बस्नु अहिलेको अवस्थाको माग हो । 

 Image