Successfully Copied

सहजकर्ता आमा 

सरिताको जीवनमा आमाको भूमिका र महत्व सबैभन्दा बढी छ । अहिलेसम्मको जीवनको आरोह–अवरोहमा साथ दिएर प्रोत्साहन दिने मात्रै होइन, विभिन्न समयमा आएका असहज परिस्थिति र मानसिकतालाई सहजकर्ताको भूमिका पनि आमाले नै निभाउँदै आएकी छिन् ।

सरिता गिरी, कलाकार

आज आमाको मुख हेर्ने दिन । यो दिन कलाकार सरिता गिरीलाई विशेष लाग्छ । हुन त, उनी हरेक दिन आमाको दिन हो भन्न कन्जुस्याईं गर्दिनन् । तर धेरै वर्षपछि महिना दिनभन्दा बढी आमा–बुबासँग घरमै बसेर दिन बिताउन पाउनुलाई उनले जीवनकै ठूलो अवसरको रुपमा लिइरहेकी छिन् । यही लकडाउनमा आमाको मुख हेर्ने दिन पर्दा उनी अझै खुशी छिन् । तर कतिपय छोरा–छोरी टाढा हुँदा भने लकडाउनको कारण आमाकोमा आउन नपाउने सोच्दा दु:खी पनि उत्तिकै छिन् ।

सरिताको जीवनमा आमाको भूमिका र महत्व सबैभन्दा बढी छ । अहिलेसम्मको जीवनको आरोह–अवरोहमा साथ दिएर प्रोत्साहन दिने मात्रै होइन, विभिन्न समयमा आएका असहज परिस्थिति र मानसिकतालाई सहजकर्ताको भूमिका पनि आमाले नै निभाउँदै आएकी छिन् । सबैभन्दा नजिकको र मन मिल्ने साथीको रूपमा आमालाइ लिने सरिता जस्तो कुराहरू पनि आमालाई भन्न सकिन्छन् । त्यसैले पनि होला, अचेल सरिताले कुनै कुरा मुख खोलेर भन्नै पर्दैन । अनुहार र शारीरिक हाउभाउले नै आमाले पत्ता लगाइ हाल्छिन् । थिएटरमा काम गर्दा होस् या चलचित्रमा काम गर्दा, विभिन्नखाले तनाव आउनु स्वभाविकै हो । तर सरिता घर पुग्दा उनको मूड बुझेर आमाले तनाव हटाइ दिइहाल्छिन् । हरेक कुरालाई सकारात्मक सोच्ने आमाको बानी देख्दा सरितालाई आफूमा पनि त्यो गुण आए हुन्थ्यो भन्ने लाग्ने बताउँछिन् ।

सानैदेखि सरिता फरक स्वभावकी थिइन् । घरमा दिदी र दुई भाइसँग हुर्केकी सरिता निडर, आफ्नो काम आफंै गर्ने र गलत कुरामा आवाज उठाउने खालकी थिइन् । उनको यो स्वभावले नै घरवाट ४ कक्षा पढ्दा देखि नै मार्सल आर्ट सिक्न पठाए । त्यसपछि त घरमा पसल जानेदेखि कोही गाउँबाट आउँदा लिन जाने, एयरपोर्टमा ट्याक्सी चढाएर पठाउने जिम्मा पनि सरिताले नै पाइन् । आमालाई सधै विश्वास थियो, यसले गलत कदम चाल्दिन ।

उनकी दिदी सोझी थिइन्, उनी कतै जाँदा बडी गार्डको जिम्मा पनि सरिताको हुन्थ्यो । एसएलसीपछि काम गर्न जान्छु भन्दा आमाले कुनै रोक लगाइनन् सरितालाई । त्यस पछि उनको करिअरको ढोका खुल्दै गयो । थिएटरमा अभिनय सिक्ने र कलाकार हुने रहरमा पनि पहिलो सहमति  आमाकै मिलेको थियो । अहिले सरिताको अभिनय कलाको सबैभन्दा ठूलो फ्यान पनि उनकै आमा हुन् । सरिता भन्छिन्, ‘हरेक आमाको लागि छोराछोरी जहिले पनि बच्चै लाग्छ । मेरी आमाले त अहिलेसम्म पनि कतै टुरमा जानु पर्दा मेरो सामान प्याकिङ गरेर ठिक्क पारिदिनु हुन्छ  ।’

आमाको विश्वास देखेर कहिलेकाहिँ सरितालाई डर पनि लाग्छ– अन्जानमा कतै आमाको विश्वासमा घात नहोस् । अहिले आफूहरू बिच परिपक्व समझदारी रहेको बताउँदै यति धेरै बुझ्ने आमा पाएकोमा गर्व गर्छिन् । ‘आफूलाई जन्म दिने आमा–बुबाभन्दा ठूलो यो संसारमा कोही हुँदैनन् । आमा त झन् जननी, जन्मदाता र कर्मदाता हुन्’, सरिताले भनिन् ।

 Image