Successfully Copied

दीर्घकालिन दुखाइ भएकाले लकडाउनमा के गर्ने ? 

दीर्घकालिन दुखाइ धेरै जसो वृद्धावस्थामा हुने गर्छ । कोरोना संक्रमणको अवस्थामा यो झन जटिल हुन्छ । अहिले अस्पतालबाटै पनि संक्रमण हुन सक्ने भएकाले अत्यावश्यक नपरी अस्पताल नजानु वेश हुन्छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण अहिले देशव्यापी रुपमा लकडाउन गरिएको छ । सुरक्षाका लागि गरिएको लकडाउनका कारण धेरै बिरामीलाई एकदमै गाह्रो भएमा मात्र अस्पताल आउनु भनिएको छ । विभिन्न रोगका कारण कतिपयमा दीर्घकालिन दुखाइ हुन्छ । कुनै पनि अंगमा दैनिक क्रियाकलाप तथा काम गर्न नै वाधा हुने गरि लामो समयसम्म एकनासले वा त्यो भन्दा बढी असह्य पीडा तीन महिनाभन्दा बढी हुनु नै दीर्घकालिन दुखाइ हो । 

अहिले कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले इमरजेन्सी बाहेक अन्य बिरामी अहिलेको अवस्थामा अस्पताल नजानु नै वेश हुन्छ । दीर्घकालिन दुखाइ कम गर्नका लागि औषधी पनि सेवन गर्नुपर्ने हुन्छ । दुखाइ कम गर्ने औषधी सेवन गरिरहेका बिरामीले यस्तो अवस्थामा घरमै बसेर औषधी सेवन गर्नु पर्छ । कतिपय बिरामीलाई फलोअपमा बोलाएर औषधी थपघट गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफूले देखाइरहेको चिकित्सकलाई फोनमार्फत नै परामर्श लिनु उचित हुने डा. निनादिनी श्रेष्ठ बताउँछिन् । 

धेरै मानिसमा ६०,६५ वर्षको उमेरपछि विभिन्न रोगले आक्रमण गर्न सक्छ । यसैगरी क्यान्सर, मधुमेह, युरिक एसिड जस्ता रोग लागेका मानिसको रोग प्रतिरोधक क्षमता कम हुने गर्छ । यसकारण पनि शरीरका विभिन्न भागमा दुखाइ हुन सक्छ ।   

निनादिनी श्रेष्ठ, उप प्रा.– एनेस्थेसियोलोजी विभाग, पेन युनिट, त्रि.वि, शिक्षण अस्पताल

कुनै दुखाइ उपचारको केही समयपछि आफैं निको हुन्छ त्यस्ता दुखाइ क्षणिक र सामान्य हुन्छन् । कुनै दुखाइ लामो समयसम्म पनि निको नभएमा त्यो दीर्घकालिन दुखाइ हो । यो आफैंमा एउटा रोग हो । लामो समयदेखिको ढाड दुख्ने समस्या, सर्भिकल स्पोन्डिलोसिस, हाड जोर्नीका दुखाइ, वाथका कारण उठेको दुखाइ, टाउको दुख्ने, अबुद्र्ध (क्यान्सर) रोगका कारण हुने दुखाइ, जनै खटिरापछि हुने दुखाइ आदि दीर्घकालिन दुखाइका उदाहरण हुन् । 

 

कतिपय नयाँ दुखाइका बिरामी दुखाइका कारण सुत्नै नसक्ने, क्यान्सरका बिरामीलाई पनि असहय दुखाइ भएर छटपटाएमा मात्र इमरजेन्सीमा अस्पताल आउनु उपयुक्त हुन्छ, अहिलेको अवस्थामा । सामान्य फलोअपमा रहेका बिरामी भने अहिले अस्पताल नजानु वेश हुन्छ । फोन तथा हटलाइनमार्फत परामर्श सेवा लिन सकिन्छ । 

अर्जेन्ट बिरामी– अधिक टाउको दुखाइ, क्यान्सरका कारण भएका अधिक दुखाइ, नशासम्बन्धीको दुखाइ यसमा पर्छन् । मिर्गौला बिग्रिएकालाई पनि अधिक दुखाइ हुन सक्छ । असह्य पीडा भएमा इमरजेन्सी जानु पर्छ । 

दुखाइ कम कसरी गर्ने ? 

– सामान्तया: ९० प्रतिशत दुखाइका बिरामीलाई अस्पताल आएपछि रोग अनुसारको औषधी दिइन्छ । 

– एउटै रोग तथा उमेरका मानिसका दुखाइ पनि फरक हुन्छन् । कसैलाई कम दुख्छ भने कसैलाई बढी दुख्छ । दुखाइसँगै भावना तथा स्ट्रेस पनि जोडिएर आउँछन् । औषधी तथा सुइले मात्र उपचार गरिदैन । कतिलाई सामान्य उपचार र कतिलाई साइको थेरापीको आवश्यकता पर्न सक्छ । 

– दुखाइको स्थिति अनुसार व्यायाम, अकुपंचर, फिजियोथेरापी गराइन्छ । 

के–केको दुखाइको उपचार हुन्छ ? 

– ढाडको नशा च्यापिएको, जोर्नी, वाथका कारण हुने दुखाइ, क्यान्सरको, घाँटीको नशा च्यापिएको, टाउको दुखाइको उपचार गर्न सकिन्छ । 

– साथै लेबर पेन (बच्चा जन्माउने बेलामा हुने दुखाइ) पनि उपचार मार्फत कम गर्न सकिन्छ ।

सामान्य खालको दुखाइमा अस्पताल आउनुपर्दैन । धेरैले दुख्यो भनेमा आफू तल परिने होकी भनेर अधिक दुखाइ भए पनि स्वभाविक रुपमा लिने गर्छन् । 

दीर्घकालिन दुखाइ धेरै जसो वृद्धावस्थामा हुने गर्छ । कोरोना संक्रमणको अवस्थामा यो झन जटिल हुन्छ । अहिले अस्पतालबाटै पनि संक्रमण हुन सक्ने भएकाले अत्यावश्यक नपरी अस्पताल नजानु वेश हुन्छ । घरमा खाने बस्ने गर्दा तौल बढ्न सक्छ । मानसिक तनाव, चिन्ता र डिप्रेसन पनि बढ्न सक्छ । यी सब कारणले दीर्घकालिन दुखाइलाई बढाउन सक्छ ।

त्यसैले नियमित रुपमा सामान्य शारीरिक व्यायाम गर्न सकिन्छ । यसका साथै ध्यान गर्ने तथा सकारात्मक सोचाई राख्ने गर्नुपर्छ । यी कुराले शरीरभित्रको राम्रा हर्मोन्सको संचालन गरेर रोगसँग लड्ने तागत प्राप्त हुनुका साथै केही हदसम्म दुखाई पनि कम हुन्छ । त्यसैले स्वस्थ खानेकुरा खाइ स्वस्थ जीवनशैली अपनाउनु पर्छ ।

 Image