Successfully Copied

महामारी भनेर रोकिदैन महिनावारी

१७ बर्षिया सुमी मुल्मी भन्छिन्, अरुबेला ट्यांकरको पानी किनेर खाने हामी अहिले त लकडाउनले ट्यांकर आउनै मान्दैनन् । त्यसैले महिनावारीको समयमा महिलाले धेरै समस्या खेप्नुपरेको छ । 

महिला र युवतीकालागी सास्तीको बिषय हो ‘महिनावारी’ । सफा बस्नुपर्ने यो बेला पानीको अभाव भैरहेको छ । १७ बर्षिया सुमी मुल्मी भन्छिन्, अरुबेला ट्यांकरको पानी किनेर खाने हामी अहिले त लकडाउनले ट्यांकर आउनै मान्दैनन् । त्यसैले महिनावारीको समयमा महिलाले धेरै समस्या खेप्नुपरेको छ । 

धापासीकी १८ बर्षिया प्राञ्जल वली भन्छिन्, महिनावारीमा मेरो ढाड र पेट असाध्यै दुख्छ । औषधी किन्नलाई पसल बन्द हुन्छ । शारीरिक अवस्थाले मेडिकल पसलमा गएर औषधी किन्न जानसक्ने क्षमता पनि हुदैंन । 

कोभिड १९ को संत्रासले स्वास्थ्य, शिक्षा, यातायात, खाद्यान्न लगायतका क्षेत्रमा पारेको असर जगजाहेर छ । यो अवस्थामा अस्पताल वरपरका औषधी पसल मात्रै खोल्न दिनु गलत भएको बताउंदै गोगंबुकी १९ बर्षिया ज्योती गुरुगं भन्छिन्, हाम्रो टाउन प्लानिगंका मेडिकल पसल प्राय: बन्द नै देख्छु । यस्तो बेला आवश्यकता अनुसार मास्क, स्यानिटरी प्याड, सामान्य सिटामोल लगायतका औषधीको व्यवस्था सरकारी तवरबाटै हुनुपर्ने हो । कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरे जस्तै महिनावारीको समयमा अन्य रोगका संक्रमणबाट बच्नकालागी सेनिटरी प्याड अनिवार्य भएको उनले बताइन् । 

नयाँबस्तीकी १७ बर्षिया करिना धिताल कक्षा ११ की विद्यार्थी हुन् । उनलाई महिनावारीको समयमा पेट दुख्ने र ज्यादा रक्तस्रावको समस्या छ । यो बेला उनलाई ३ दिन घर भित्रै हिड्डुल गर्न नै हम्मे पर्छ । धिताल भन्छिन्, यस्तो बेला टोल टोलमा निश्चित दिन पारेर साधारण औषधी र प्याड बाँडिदिनु नि । 

कलंकीकी खुशी राइ पहिलो पटक रजस्वला भएको धेरै भएको छैन र उनी यो प्रकृयासंग धेरै अभ्यस्त भएकी छैनन् । महिनावारी हुने मितिले दुइचार दिन अगाडी देखी नै उनलाई पिरोल्न थाल्छ । यो बन्दाबन्दीले त झन उनलाई मानसिक बिरामी नै बनाएको छ । धेरै प्याड चाहिने उनलाई कपडा प्रयोग गर्ने बानी छैन् । यो बेला खानकालागी प्रोटिन या फलफुलपनि सहज तरिकाले किन्न नपाइने हुंदा उनी आफुमा कमजोरी महसुस भएको बताउंिछन् । भन्छिन्, खै मलाई त्यस्तो लागेको मात्रै हो कि सांच्चिकै हो, अरु बेला भन्दा फोहोरी र कमजोर भएझैं लाग्छ यो बेला ।

टोखाकी अस्मिता घिमिरेको पिरलो उस्तै छ । अघिपछि पनि सबैभन्दा दिक्कलाग्ने भनेकै महिनावारीको बेला हो, उनले भनिन्, अहिले त झन् कुरै नगरौं । पानीको अभावले सरसफाइ राम्ररी गर्न पाइएको छैन, पैसा भएपनि मन लागेको किनेर खान पाइएको छैन । अरु त अरु महिनावारी भएको बेला औषधी र प्याडको पनि अभाव छ । कतै किन्न पाइहालेमा पुऱ्याएर प्रयोग गर्नुपर्छ । कि त हामी जस्ता युवालाई त्यसको सट्टा प्रयोग गर्ने अर्को विकल्प सिकाइदिनु पऱ्यो नभए सहज उपलब्ध हुनुपऱ्यो । 

प्राञ्जल र खुशी जस्ता युवा आफुहरु यस्तो संकटका बेला पनि सरकारले अत्यावश्यक सामग्री व्यवस्थापन र सहयोग गर्न नसकेकोमा दुखेसो पोख्छन् । उनीहरु दुबैको यसमा एकमत छ, महामारी भनेर महिनावारी रोकिदैन । यो बेला युवामा हुनसक्ने मानसिक, शारीरिक समस्या र बिचलनलाई मध्यनजर राख्दै यसलाई पनि अन्य स्वास्थ्य समस्या सरह व्यवहार र व्यवस्थापन गरिनुपर्छ । 

ज्योती भने टोल वा वडामा निश्चित दिन पारेर महिनावारीसंग सम्बन्धित स्वास्थ्य सामाग्री र प्याड मात्रै उपलब्ध गराइदिन सकेको खण्डमा निक्कै सहजहुने धारणा व्यक्त गर्छिन् ।

 Image