Successfully Copied

बन्दाबन्दी र परिवार नियोजनका साधन 

बन्दाबन्दीका कारण धेरै दम्पत्ति अहिले अन्योलको स्थितिमा छन् । यतिबेला दम्पत्ति सँगै हुँदा परिवार नियोजनको साधनको मुख्य भूमिका छ ।

बन्दाबन्दीका कारण धेरै दम्पत्ति अहिले अन्योलको स्थितिमा छन् । यतिबेला दम्पत्ति सँगै हुँदा परिवार नियोजनको साधनको मुख्य भूमिका छ । ३५ वर्षीया दुई छोराछोरीकी आमा नम्रता (नाम परिवर्तन) ले तीन महिने सुई लगाउने गरेकी थिइन् । सुइ लगाउने समय पुगेपनि अहिले बन्दाबन्दीका कारण उनी गएकी छैनन् । यसले अनिच्छित गर्भ रहने होकी भन्ने त्रास उनमा रहेको छ । नम्रताको जस्तो समस्या अन्य महिलालाई पनि परेको हुन सक्छ । 

बन्दाबन्दी जारी रहँदा महिलाको स्वास्थ्य तथा अधिकारमा प्रभाव परेको समाचार पनि आएका छन् । युएनएफपीको रिपार्ट अनुसार लकडाउनकै कारण तीन महिनामा परिवार नियोजनका साधनमा पहुँच नहुँदा यसको प्रभाव महिलामा परेको र यो तीन महिनामा ३ लाख २५ हजार अनिच्छित गर्भधारण भएको हुनसक्ने अनुमान गरिएको छ । कोभिड–१९ का कारण परिवारनियोजनसम्बन्धी कार्यक्रम पनि प्रभावित बनेका छन् । 

सुखी परिवार क्लिनिककी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. तुमला लाकौलका अनुसार परिवार नियोजनको अस्थायी साधन लामो समय र छोटो समयका छन् । लामो समयको कपर टी महिलाको पाठेघरभित्र राखिने १२ वर्षे साधन हो । कतिपय महिलाले पहिले नै यो राखिसकेका होलान् । कपर टी राखेका महिलामा महिनावारीमा अलि बढी रक्तश्राव हुन सक्छ । लकडाउनमा धेरैजसो क्लिनिक बन्द छन् । इमरजेन्सी सेवा मात्र खुल्ला छ । परिवार नियोजनको सेवा इमरजेन्सी सेवामा पर्दैन त्यसैले कतिपयलाई निकाल्ने समय पुगेकाले समस्या परेको हुन सक्छ । कपर टी राखेको १२ वर्ष भइसक्यो र निकाल्नु पर्ने समय भएमा आत्तिनु पर्दैन । कपर टी १२ वर्षभन्दा बढी  पाठेघरमा भएर स्वास्थ्यमा केही असर नगरेपनि १२ वर्षपछि भने काम गर्न छोड्छ र यौनसम्पर्क राख्दा गर्भवती हुन सक्ने संभावना हुन्छ । त्यसैले यस्तो अवस्थामा परिवार नियोजनका अन्य साधन प्रयोग गर्नु उचित हुन्छ । 

                   डा. तुमला शाह - बाझोपन विशेषज्ञ, सुखी परिवार क्लिनिक कालीमाटी 

अर्को परिवार नियोजनको साधन जसलाई जिडेल भनिन्छ । यो महिलाको पाखुरामा ५ वर्षका लागि राखिन्छ । यो हर्मोनल हो । यसले कसैकसैमा महिनावारी गढबढी, रक्तश्राव बढी हुने वा रक्तश्राव नै नहुने जस्ता साइड इफेक्ट देखिन सक्छन् । कतिपयमा १ वर्षसम्म पनि महिनावारी नै नहुने र भएपनि थोपा–थोपा रक्तश्राव (ब्लिडिङ) भइराख्छ । बन्दाबन्दीका बेला धेरै रक्तश्राव भएर गाह्रो भएमा मात्र इमरजेन्सीमा जानुपर्छ । सानोतिनो समस्या परे चिनजानका चिकित्सकलाई सम्पर्क गर्न सकिन्छ । 

छोटो समयका लागि प्रयोग गर्न सकिने अस्थायी साधन तीन महिने सुई (संगीनी) पनि हो । बन्दाबन्दीको समयमा कतिपय ठाउँमा यो उपलब्ध होला । उपलब्ध नभए पनि पहिले लगाइरहेको र तीन महिना कट्यो लगाउन पाइएन भने अन्य अस्थायी साधन प्रयोग गर्न सकिन्छ । बन्दाबन्दी भएपनि  औषधी पसल खुलेका छन् । यस्तो बेलामा खाने चक्की पिल्स प्रयोग गर्न सकिन्छ । संगीनीले महिनावारी गढबढी, अधिक रक्तश्राव, तल्लो पेट दुख्ने जस्ता समस्या हुन सक्छ । तर एकदमै धेरै पेट दुख्यो, धेरै रक्तश्राव भयो भने मात्र अस्पताल जानुपर्छ ।

खाने चक्की पिल्स सहजै उपलब्ध छन् । यो चक्की महिनावारी भएको पाँच दिनबाट यो सुरु गर्नुपर्छ । यसमा सेतो र खैरो दुई किसिमका चक्की छन् । सुरु गर्दा सेतो चक्कीबाट सुरु गर्नुपर्छ । सेतो चक्की २१ वटा हुन्छ त्यो सिद्धिएपछि मात्र खैरो चक्की सेवन गर्नुपर्छ । खैरो आइरन चक्की हो । यो नबिर्सिकन हरेक दिन खानुपर्छ । एकदिन खान बिर्सिएमा भोलिपल्ट त्यही समयमा दुईवटा चक्की खानुपर्छ । दुई दिन बिर्सिएमा दुईवटा चक्की दुई दिनसम्म दुई दुईवटा चक्की खानुपर्छ । तीन दिनसम्म बिर्सिएमा त्यो चक्कीको प्रयोग गर्नुहुँदैन । अन्य परिवार नियोजनका साधन कण्डम प्रयोग गर्न सकिन्छ । पुरुष तथा महिलाका लागि कण्डम प्रयोग गर्न सकिन्छ । 

अर्को महिना महिनावारी भएको पाँच दिनपछि फेरि त्यो चक्की प्रयोग गर्न सकिन्छ । यो चक्कीले कसैकसैलाई टाउको दुख्न तथा वाकवाकी लाग्न सक्छ । कसैलाई बढी वान्ता आउन सक्छ । धेरै नै असर गरेमा भने यो चक्की बन्द गरेमा अन्य विकल्पमा जानुपर्छ । बन्दाबन्दीका लागि अनिच्छित गर्भ रोक्नका लागि यो चक्की उपयोगी हुन्छ । सस्तो र सुलभ पनि छ । पुरुषले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधन कण्डमले सेक्सुअल ट्रान्समिटेड डिजिजबाट बचाउँछ । एचआइभी हुनबाट पनि रोक्छ । अहिले महिलाको लागि पनि फिमेल कण्डम पाइन्छ । यसले पनि सेक्सुअल्ली ट्रान्समिटेड डिजिजबाट बचाउँछ । त्यसैगरी इमरेजेन्सी कन्ट्रयोसेप्टिभ ७२ घन्टे ट्याबलेट पनि चल्तीमा छ । यो ट्याबलेट असुरक्षित यौनसम्पर्क भएको ७२ घन्टाभित्र प्रयोग गर्नुपर्छ । २४ घन्टाभित्र प्रयोग गर्नु राम्रो हो । २४ घन्टाभित्र प्रयोग गरेमा ९५ प्रतिशत प्रभावकारी हुन्छ । ४८ घन्टामा गरेमा ८५ प्रतिशत हुन्छ । ७२ घन्टा कुरेर गरेमा ५८ प्रतिशत मात्र प्रभावकारी हुन्छ । जति धेरै समय भयो त्यति गर्भधारण हुने संभावना बढी हुन्छ । 

अहिले कोभिड–१९ को महामारी भएकाले अस्पताल नजानु उपयुक्त हुन्छ । यसले संक्रमण गरेमा झन नराम्रो असर पार्छ । गाह्रो भएमा फोनबाट आफ्नो सम्पर्कमा भएका चिकित्सकको सल्लाह लिन सकिन्छ । बन्दाबन्दीमा सबैजना समस्यारहित हुनुपर्छ । घरमै बसेर आफूलाई स्वस्थ र सुरक्षित राख्नु नै उचित हुन्छ ।    

 Image