मानसिक स्वास्थ्यका लागि ध्यान र योग
जेष्ठ २८, २०७७ विश्वभर कोरोना भाइरसको प्रकोप यथावतै छ । नेपालमा चैत महिनादेखि गरिएको बन्दाबन्दी अहिले सम्म कायमै छ । केही कार्यालय खुले पनि विद्यालय, क्याम्पस, सिनेमा हल, रेस्टुराँलगायतका अन्य क्षेत्र बन्द नै छन् ।
यसरी खाली समय यत्तिकै बस्नु पर्दा मानिसमा कोरोनाको भयसँगै विभिन्न किसिमका मानसिक समस्याका लक्षण पनि देखा परेको त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् । अहिलेको असामान्य अवस्थामा डर लाग्नु, आत्तिनु, निद्रामा समस्या हुनु, घबराहट हुनु सामान्य हो । तर पनि निरन्तर डर लागिरहने, आत्तिरहने, मनमा घवराहट हुने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, मुख सुख्खा हुने र अनावश्यक चिन्ताको महसुस भइरहेमा एन्जाइटी डिसअर्डर भएको हुन सक्ने डा. सगुन बताउँछन् ।डा. सगुनका अनुसार दिक्क लागिरहने, मन निराश भइरहने, निद्रामा समस्या, खानामा अरुचि, मनमा नकारात्मक सोच ज्यादा आउने जस्ता समस्या बढ्दै गएमा आत्महत्यासम्बन्धी सोच आउनु डिप्रेसन रोगको लक्षण हो । कतिले त यो समयमा आफ्नो भविष्यको चिन्ताले डिप्रेसनमा गई आत्महत्यासमेत गरेका समाचार आउन थालेका छन् ।
कडा खालको मानसिक रोग त्यति बढेको नदेखिएपनि तनाव बढेको अवस्थामा यी रोग बल्झिन सक्छन् । दीर्घकालीन रुपमा मानसिक रोगका औषधि सेवन गरिरहेकामा अचानक औषधि छोड्दा, मनोचिकित्सक र मनोविदसँग फलोअप गर्न नपाउँदा रोग बल्झेको पाइएको छ ।
मानसिक रुपमा स्वस्थ हुनका लागि योगको पनि भूमिका महत्वपूर्ण हुने योग शिक्षक निर्मला केसी बताउँछिन् । यस्ता मानिसका लागि प्राणायाम सबभन्दा महत्वपूर्ण हुन्छ । यसमा गहिरो र लामो श्वास लिने र छोड्ने गर्नुपर्छ । यसैगरी नाडी शोधन विधि पनि उपयोगी हुन्छ । यो विधिले मस्तिष्कसम्म अक्सिजन पुग्न गई क्रियाशील हुन्छ । बिरामीको इन्डोफिन, सेरोटोनिन, डोपोमिन जस्ता हर्मोन क्रियाशील बनाई आनन्द, खुशी र उमंगमा परिणत गरिदिन्छ ।
यो प्राणायाम २० देखि २५ मिनेटसम्म गर्नु उपयुक्त हुन्छ । यसैगरी ध्यान पनि गर्न सकिन्छ । सुरुमा ध्यान १० देखि २० मिनेटसम्म गरेर बिस्तारै समय बढाउन सकिन्छ । परिवारसँग, साथीभाइसँग कुराकानी गरेर होस् या आफूलाई मन लागेको कुरा गरेर यो समयमा व्यस्त राख्नुपर्छ । यो सँगै केही समय शारीरिक व्यायाम, योग, ध्यान गर्दा मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुन सकिन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्