कस्तो हुनुपर्छ वर्षातको खाना ?
असार ११, २०७७ वर्षा मौसम सुरु भएको छ । यतिबेला पानी परिरहने भएकाले यस्तो मौसम रश्मिला कार्कीलाई असाध्यै मन पर्छ । पानीमा भिज्न पनि उनलाई रमाइलो लाग्छ । यतिबेला पानी परिरहने भएकाले पानीमा भिज्दा कतिपयलाई ज्वरो आउने तथा रुघा खोकी पनि लाग्न सक्छ । त्यसैले स्वस्थ रहनका लागि खानपानमा पनि ध्यान दिनुपर्ने सल्लाह डाइटिसियनले दिन्छन् ।
पानी पर्ने ठेगान नभएकाले घरबाहिर निस्कनुपर्दा सधै छाता तथा रेनकोट साथमा लिएर हिड्नुपर्छ । यस्तो मौसममा सकेसम्म नभिज्नु उचित हुने नेपाल राष्ट्रिय मृर्गौला उपचार केन्द्रकी डाइटिसियन संगीता लामिछाने बताउँछिन् । वर्षात्मा भिजेपनि शरीर सुख्खा बनाएर न्यानो पहिरन लगाइ हाल्नुपर्छ । यसो नगरेमा रुघा खोकी लाग्न सक्छ । यतिबेला रोग फैलाउने किटाणु पनि सक्रिय हुने भएकाले हात राम्ररी साबुनपानीले धुनुपर्छ । फोहोर हात अनुहारमा लैजाने तथा खानेकुरा छुनुहुँदैन ।अहिले कोरोनाका सन्त्रास रहेकाले रुघाखोकी लागेमा यसबाट बच्नका लागि समय–समयमा मन तातो पानी पिउनुपर्छ । प्रशस्त मात्रामा भिटामिन सी युक्त खानेकुरा खानुपर्छ । यसले शरीरमा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्याउँछ । एक अध्ययनका अनुसार भिटामिन सी ले शरीरमा भाइरसको वृद्धिलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ । डाइटिसियन संगीताका अनुसार हरिया सागपात, तरकारी र फलफूलबाट ९२ प्रतिशत जति भिटामिन सी प्राप्त हुन्छ । यसैगरी ८ प्रतिशत माछा मासु दूध दहीबाट प्राप्त हुन्छ । भिजाएर टुसा उमारेको मुङ तथा चनामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । स्ट्रबेरी, अम्बा, अमला, कागती, भुईकटहर, आँप, मेवा, ब्रोकाउली, गोलभेंडा पनि भिटामिन सीका महत्वपूर्ण स्रोत हुन् । लट्टे, पालुंगो, हरियो धनियाँ, हरियो खुर्सानी, बन्दाकोभीमा पनि भिटामिन सी पाइन्छ । स्ट्रिट फूड तथा काटेर खुला ठाउँमा राखिएका फलफूल खानुहुँदैन । यस्ता खानेकुरामा झिंगा भन्किने भएकाले झाडापखाला हुन सक्छ ।
शरीरलाई स्वस्थ राख्नका लागि रोग प्रतिरोधक क्षमता बढाउने खानेकुरा खानु उचित हुन्छ । बढी मूल्य पर्ने खानेकुराबाट मात्र यस्ता कुरा प्राप्त हुन्छन् भन्ने छैन । बाहिरबाट भिजेर आएका बेला घरका भान्सामा भएका हरिया सागसब्जी राखेर सूप बनाई त्यसमा कागती राखेर सेवन गर्न सकिन्छ । शरीरमा भाइरसको संक्रमण हुन नदिन र रोग प्रतिरोधी क्षमता बढाउन एन्टि अक्सिडेन्टयुक्त खानाको साथमा सरसफाईमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्