Successfully Copied

२०७७ साल भदौ महिनाको राशिफल

रोकिएका कामहरू पूरा हुँदै जानेछन् । यात्राको सम्भावना रहेको छ ।

मेष

रोकिएका कामहरू पूरा हुँदै जानेछन् । यात्राको सम्भावना रहेको छ । सन्तानमार्फत सुख प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यक्तिगत र पारिवारिक खुसीका निमित्त केही खर्च हुन सक्छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहे तापनि यदाकदा सामान्य कुरामा खटपट पर्न सक्छ । कुनै कुराले मनमा तनाव हुने र झिँजो लाग्न सक्छ । आफ्नो शारीरिक एवं मानसिक स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।

वृष

कुनै कार्यमा विशेष सफलता मिल्न सक्छ । पारिवारिक सुखका निमित्त केही खर्च हुन सक्छ । सन्तानबाट सुख एवं सन्तोष पाइनेछ । आर्थिक पक्ष सुदृढ हुँदै जानेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुनेछ । काम गर्ने जाँगर बढ्दा शरीर फुर्तिलो रहनेछ । व्यावहारिक कार्य गर्दा अपजस आउने प्रबल सम्भावना भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुपर्ने छ ।

मिथुन

 समय तपाईं अनुकूल रहनेछ । घरमा विभिन्न सामग्रीको जोहो हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । आफ्नो इच्छानुसार काम गर्ने, खाने, सुत्ने, घुमफिर एवं किनमेल गर्ने समय निस्कनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । शारीरिक एवं मानसिक रूपले शरीर स्वस्थ रहनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सबल रहनेछ । सेयरसम्बन्धी कारोबारमा केही सामान्य फाइदा हुन सक्छ ।

कर्कट

काम गर्ने जाँगरमा कमी आउनेछ । रक्तचापको मात्राको राम्रो ख्याल गर्नुहोला । टाउको एवं आँखा दुख्ने योग रहेकाले मसिनो र सूक्ष्म तवरको काम गर्दा ख्याल गर्नुहोला । प्रतिस्पर्धीले दुःख दिने प्रयास गर्न सक्छन्, सतर्क रहनुहोला । रिस र तनावलाई नियन्त्रणमा राखी आफ्नो गोपनीयताको राम्रो ख्याल गर्नुहोला । दाम्पत्य जीवनमा आफ्नो जोडीले गरेको कार्य चित्त नबुझ्न सक्छ ।

सिंह

कामको सिलसिलामा यात्रा गर्नुपर्ला । पेट, मुटु एवं रक्तचापका रोगीहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै खानपान र औषधि समयमै सेवन गर्नुहोला । फलफूल एवं जलीय पदार्थको भरपूर सेवन गर्नुहोला । सानातिना कुराले काममा अवरोध आउन सक्ने भएकाले समयमै सम्भावित समस्याको आकलन गरी कार्य गर्नु उचित हुनेछ । कुनै पनि कार्यलाई बोझ नमानी कर्तव्य ठानी गरेमा तनावबाट बच्न सकिन्छ ।

कन्या

 यात्रा गर्दा दुःख हुने सम्भावना भएकाले जुनसुकै साधनबाट यात्रा गर्दा पनि चाहिने अत्यावश्यक मालसामान लिई यात्रा गर्नु लाभदायक रहनेछ । टाउको एवं आँखा दुख्न सक्ने भएकाले सूक्ष्म र दिमाग खियाउनुपर्ने कार्य गर्दा सतर्क रहनुहोला । अनपेक्षित वादविवाद हुने योग भएकाले जो कोहीसित बोल्दा पनि तर्कसंगत कुराभन्दा बाहिर नबोल्नु नै उत्तम हुन्छ । ठट्टाले लट्टा हुन्छ भनेजस्तै कसैसित भुलेर पनि जिस्किने कार्य नगर्नुहोला ।

तुला

यो महिना तपाईं अनुकूल रहनेछ । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वतःस्फूर्त रहनेछ । सोचे अनुरूप कार्यमा सफलता मिल्दै जानेछ । कुनै नवीन कार्यको थालनी हुनुका साथै नयाँ कार्यको सिलसिलामा कतैको यात्रा गर्नुपर्ला । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित सुख मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यापारिक क्षेत्रहरू पनि क्रमशः फस्टाउँदै जानेछन् । छोराछोरीबाट सन्तोष मिल्नेछ ।

वृश्चिक

परिवार, इष्टमित्र एवं साथीसंगीसित भेटघाट गर्ने अवसर मिल्नेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । आर्थिक पक्ष सुदृढ हुनाका साथै व्यापारिक क्षेत्र पनि फस्टाउँदै जानेछ । कुनै कामविशेषले सानोतिनो यात्रा हुन सक्छ । मालसामान हराउने/छुट्ने सम्भावना भएकाले आफ्नो सामानको राम्रो ख्याल गर्नुहोला । ग्यास्ट्रिक एवं रक्तचापका बिरामीहरूले आफ्नो आहारविहारको ख्याल गर्नुहोला ।

धनु

पारिवारिक खुसी बढ्नेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनेछ । सोचे अनुरूप काममा सफलता पाउन अलि बढी खट्नुपर्नेछ । काम गर्दा हुन सक्ने सम्भावित समस्याको आकलन गरी कार्य गरे सहज हुनेछ । मौसमी रुघाखोकीले सताउन सक्ने भएकाले आफ्नो स्वास्थ्य र खानपानमा सतर्क रहनुहोला । केही समय आफ्नो व्यक्तिगत कार्य र खुसीका लागि छुट््याउनुहोला । मालसामान हराउने वा छुट्न सक्ने भएकाले सामानको राम्रो ख्याल गर्नुहोला ।

मकर

 बहुप्रतीक्षित कार्यमा सफलता मिल्दा मन खुसी हुनेछ । काम गर्दा विभिन्न माध्यम एवं व्यक्तित्वहरूबाट सहयोग पाइनेछ । कसैकसैको घरमा यो महिनामा छोराछोरीका रूपमा नयाँ सदस्यको आगमन हुनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । कहिलेकाहीँ मनमा कुनै कुराले दोधार हुन सक्छ । धैर्य र शान्त भई कार्य गर्दा सबै काम सफल हुनेछन् । प्रायः सबै कार्य तपाईंकै प्रभुत्व र योजनानुसार सम्पन्न हुँदै जानेछन् ।

कुम्भ

सोचेअनुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । सन्तान सुखका निमित्त केही खर्च हुनेछ । सानोतिनो कार्यका लागि पनि आफै खट्नुपर्दा धपेडी हुनसक्छ । आफ्नो खुसी र स्वास्थ्यका लागि पनि केही समय छुट्याउनुहोला । जहाँ जाँदा पनि आफ्नो मालसामानको ख्याल गर्नुहोला । कुनै कामविशेषले कतै जानुपर्ला । सबैले तपाईंको इच्छा बुझी कार्य गर्ने प्रयास गर्नेछन् ।

मीन

शारीरिक एवं मानसिक दुवै रूपले शरीर स्वस्थ रहनेछ । माइती, साथीसंगी एवं इष्टमित्रसित रमाइलो भेटघाट गर्ने मौका जुट्नेछ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउन सक्छ । गरेको कार्यमा भनेजस्तो सफलता मिल्नेछ । व्यापारिक क्षेत्रमा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । कसैकसैको यो महिनामा बढुवा वा बसाइसराइँ हुन सक्छ ।

 Image