Successfully Copied

कस्तो मास्क उपयोगी ?

लकडाउन केही खुकुलो भएसँगै सर्वसाधारण घरबाहिर निस्कने क्रम बढेको छ । यतिबेला सार्वजनिक यातायातका साधन पनि चलेका छन् । दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेकै छ ।

लकडाउन केही खुकुलो भएसँगै सर्वसाधारण घरबाहिर निस्कने क्रम बढेको छ । यतिबेला  सार्वजनिक यातायातका साधन पनि चलेका छन् । दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेकै छ । घरबाहिर निस्कने धेरैले मास्कको प्रयोग त गर्छन् । तर, कस्तो मास्क प्रयोग गर्नेबारे धेरैलाई अझै थाहा छैन । नेपाल नेसनल हस्पिटलका वरिष्ठ छाती रोग विशेषज्ञ डा.प्रकाश पौडेलका अनुसार मास्क लगाउँदा सामान्यभन्दा पनि सर्टिफाइड एन–९५ मास्क लगाउनु उपयुक्त हुन्छ । यो मास्कले अत्यन्त सूक्ष्म कण पनि छेक्न सक्ने पनि उनको भनाइ छ ।

कसरी प्रयोग गर्ने मास्क ?

अहिले कोरोना भाइरस संक्रमणबाट जोगिन सबैले मास्क लगाउने गरेका छन् । मास्क नलगाई हिँडेमा संक्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम सय रुपैयाँ जरिवानासमेत तिराएको खबर सार्वजनिक भएका छन् । मास्क लगाए पनि कतिपयले यसको सही प्रयोग भने गरेको पाइँदैन । केहीले टाउकोमा, निधारमा मास्क लगाउने गर्छन् । यसैगरी हातमा, घुँडामा झुन्ड्याउने र अन्य व्यक्तिसँग कुराकानी गर्दा मास्कलाई चिउँडोमा पुर्‍याउने गर्छन् । मास्कको उचित प्रयोग गर्नुपर्ने धारणा डा. पौडेलको छ । उनका अनुसार मास्कको सही प्रयोग नगर्दा संक्रमणको खतरा उत्तिकै रहन्छ । नाक तथा मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुपर्छ । मास्कले कोरोना भाइरस संक्रमण मात्र नभई अन्य संक्रमणबाट पनि बचाउने गर्छ । मास्कको प्रयोग गरेमा खोक्दा, हाँच्छ्यु गर्दा निस्कने थुकका छिटा अर्को मानिसमा सर्नबाट रोक्छ । त्यसैले सबैले मास्कको सही प्रयोग गर्नु उपयुक्त हुन्छ । घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्छ । मास्क लगाउनुअघि साबुनपानीले हात धुने, मास्कमा प्वाल परे नलगाउने, मास्क खुकुलो छ भने अर्को मास्क लगाउनुपर्छ ।

के हो ‘मास्कने’ ?

चिकित्सक, स्वास्थ्य सेवामा कार्यरत र अन्यले धेरै बेर मास्कको प्रयोग गर्ने गरेका छन् । धेरै समयसम्म मास्कको प्रयोग गर्दा छालामा विभिन्न समस्या देखापरेको लाभना स्किन एन्ड हेयर क्लिनिक, महाराजगन्जकी प्रा. डा. सबिना भट्टराई बताउँछिन् । हुन त अहिले मास्कबिना हिँड्ने र काम गर्ने अवस्था छैन तर पनि धेरै समय यसको प्रयोग गर्दा कतिपयमा मास्क लगाएको भाग गुम्सिँदा इरिटेसन हुने, एलर्जी हुने, डन्डिफोर आउने गर्छ । यसलाई ‘मास्क एक्ने’ वा ‘मास्कने’ भनिन्छ । धेरै बेरसम्म मास्क लगाउँदा एलर्जी भई छाला च्यातिन सक्छ । यसले गर्दा ब्याक्टेरिया पनि छिर्न सक्छ । धूवाँधूलो पनि छिर्न सक्छ । यसले असर पारी अनुहारमा रातो उठेको जस्तो दुख्ने डन्डिफोर आउन सक्छ । मास्कले ढाक्ने भाग (एरिया) बाट यो घाँटी तथा चिउडोमा पनि फैलन सक्छ । अप्रेसन थिएटरमा काम गर्ने, कोरोनाको बिरामी हेर्ने चिकित्सकमा पनि मास्क धेरै समय लगाउँदा नाक वरिपरिको भाग, गाला रातो हुने गर्छ । ३/४ घन्टासम्म मास्क लगाइरहनेमा यस्तो समस्या देखिएको छ । पुरुषको दाह्री हुने भएकाले पुरुषको तुलनामा महिलामा मास्कको एलर्जी बढी देखिन्छ । सबै मास्क लगाउनेमा यो समस्या नहुन सक्छ ।

कसरी बच्ने ?

संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्नुपर्ने स्थिति छ । डन्डिफोर र एलर्जीको समस्याबाट बच्नका लागि बाहिरबाट आएपछि मुख धुनुपर्छ । राति सुत्ने बेलामा मुख धुँदा केमिकलरहित सामान्य फेसवासको प्रयोग गर्नुपर्छ । यसैगरी यो मौसममा गर्मी हुने भएकाले वाटर बेस सनस्किन क्रिम, जेलयुक्त मोस्चराइजर लगाउँदा छालाको प्वाल बन्द हुँदैन । प्राकृतिक मेकअप गर्नु उपयुक्त हुन्छ । छालालाई रगडेर स्क्रब गर्नुहुँदैन । भीडभाडमा मास्कको प्रयोग गर्नुपर्छ । खुल्ला र सामाजिक दूरी कायम रहेको अवस्थामा मास्क नलगाउँदा पनि हुन्छ । एउटै मास्क पटक–पटक लगाउनु हुँदैन । मास्कले एलर्जी भएको ठाउँमा माइल्ड मोस्चराइजर लगाउनुपर्छ । धेरै नै एलर्जी भएमा सम्बन्धित चिकित्सककहाँ उपचार गराउनुपर्छ ।

जानकारी

- मास्कको प्रयोग र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किएकाले गत वर्षका तुलनामा फ्लुको बिरामीको संख्या कम भएको छ ।

- सामाजिक दूरी र पटक–पटक हात धुने बानीका कारण सरुवा रोगका बिरामी पनि कम भएका छन् ।

- कपडाको मास्क एकपटक प्रयोग गरिसकेपछि राम्रोसँग धोएर मात्र लगाउनुपर्छ ।

- चस्मा लगाउने मानिसलाई मास्कका कारण केही अप्ठ्यारो परेको छ । मास्क लगाउँदा चस्मामा वाफ भरिन सक्छ । चस्मा लगाउने मानिसले मास्क लगाएपछि मात्र चस्मा लगाउँदा समस्या कम हुने नेत्ररोग विशेषज्ञ डा. बेन लिम्बू बताउँछन् ।

- यसैगरी मास्कमा माथिबाट सेतो टेप लगाएर पनि चस्मा लगाउन सकिन्छ । चस्मा समय–समयमा टिस्यु पेपरले सफा गर्नुपर्छ । कम बाफ लाग्ने चस्मा पनि पाइन्छन्, तिनको पनि प्रयोग गर्न सकिन्छ ।

- अहिले सबैजना त्रसित भएर २४ सै घन्टा मास्क लगाउने गर्छन् । गाडी चलाउँदा एक्लै भएमा, घरभित्र भने मास्कको प्रयोग नगर्दा पनि हुन्छ ।

 Image