Successfully Copied

पीपीईमा महिला हात

धादिङकी लक्ष्मी पुन मगरले काठमाडौंमा सिलाइको काम गर्न थालेको करिब तीन वर्ष भयो । उनले यो अवधिमा धेरै प्रकारका ज्याकेट, सलवार, टिसर्ट सिलाइन् । कपडाका फरक–फरक डिजाइन बनाइन् । कहिले कपडा काटिन् त कहिले जोडिन् ।

धादिङकी लक्ष्मी पुन मगरले काठमाडौंमा सिलाइको काम गर्न थालेको करिब तीन वर्ष भयो । उनले यो अवधिमा धेरै प्रकारका ज्याकेट, सलवार, टिसर्ट सिलाइन् । कपडाका फरक–फरक डिजाइन बनाइन् । कहिले कपडा काटिन् त कहिले जोडिन् । तर कपडा जोड्ने–काट्ने क्रम कोरोना कहर सुरु भएसँगै ठप्प भयो । उनले सिलाइलाई नै मुख्य आम्दानीको स्रोत बनाएकी थिइन् । त्यो पनि बन्द भएपछि उनको आम्दानीको बाटो अवरुद्ध भयो । काम गरिरहेको गार्मेन्टले पनि केही समयका लागि बिदामा बस्न भन्यो ।

अरूले झैं उनले पनि राजधानी छाडेर गाउँ जाने सोच बनाइन् । कोरोना कहर सुरु भएसँगै राजधानी छाड्नेहरूको लर्कोले उनलाई नतानेको पनि होइन । घर फर्कने धेरैको रहर नभई बाध्यता थियो । उनको त्यो बाध्यतालाई भने पीपीई सिलाउने कामले रोकिदियो । कोरोना संक्रमितको उपचारमा चिकित्सकले लगाउने पीपीई सिलाउने कामको उनलाई प्रस्ताव आयो । राष्ट्रिय आविष्कार केन्द्रमार्फत गार्मेन्टमा उनलाई पीपीई सिलाउने प्रस्ताव आएको हो ।

बेरोजगार भएका बेला काम पाउँदा खुसी भए पनि एकछिन अलमलिन् । उनलाई पीपीईबारे केही थाहा थिएन । भन्छिन्, ‘पीपीई भनेकै केही थाहा थिएन, कसरी सिलाउने अन्योलमा थिएँ, गार्मेन्टकै दाइले सजिलो हुन्छ भनेपछि काम गर्न तयार भएँ ।’ पहिलो चरणको लकडाउनको एक सातापछि नै उनले पीपीई सिलाउन थालिन् । कोरोनाका कारण धेरैले रोजगारी गुमाउनुपर्‍यो । तर, लक्ष्मीलाई कोरोना एक अवसरका रूपमा आएको छ । उनी अहिले गार्मेन्टमार्फत पीपीई बनाएर मासिक तलब लिने गर्छिन् । उनी गाउनको कपडा काट्ने र सिलाउने गर्छिन् । अन्य कपडा सिलाएको भन्दा पीपीई सिलाउँदा केही फरक अनुभव भने उनले बटुलेकी छन् । पीपीईको कपडा सिलाउन केही गाह्रो हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘वाटरप्रुफ भएकाले सिलाउँदा कहिले कपडा नतानिने, सियो भाँचिने जस्ता समस्या हुन्छन् ।’

विभिन्न समस्याका कारण पनि उनले पीपीई सिलाइमा निरन्तरता दिइरहेकी छन् । पीपीई मात्र होइन उनले मास्क, पञ्जा, जुत्ता कभरसमेत बनाइरहेकी छन् । देशमा महामारीको समयमा आफूले केही मात्रामा सहयोग पुर्‍याउँदा खुसी लागेको बताउँछिन् ।

काठमाडौं सीतापाइलाकी मिश्रीमाया ढुंगेलको अनुभव पनि उस्तै छ । महामारीको समयमा पीपीई निर्माणको कामले आफूलाई केही राहत भएको उनी बताउँछिन् । मिश्रीको हात पहिले गाउन सिलाउनमा व्यस्त थियो । पारिवारिक गार्मेन्टमा छोराले पीपीईका लागि कपडा ल्याएपछि सिलाउनमा उत्साहित भएकी हुन् । पीपीई सिलाउनु उनका लागि नौलो काम थियो । उनी भन्छिन्, ‘नौलो लागेर नै मैले पनि सिलाउन सिकेकी हुँ र यो सिलाउन पाउँदा मलाई खुसी लागेको छ ।’

लकडाउनका कारण आम्दानी ठप्प भएको समयमा यो कामले केही आम्दानी भएको उनको भनाइ छ । उनलाई एक पिस गाउन बनाउनका लागि करिब दुई घन्टा लाग्ने गर्छ । सामान्य कपडा सिलाएजस्तो भने सहज नभएको उनको अनुभव छ । सहज नभए पनि आम्दानीका लागि उनी गाउन सिलाउनमा रमाइरहेकी छन् । अवस्था सामान्य नभएसम्म यसबाट आम्दानी गर्ने उनको योजना छ । उनी भन्छिन्, ‘महामारी अन्त्य नभएसम्म गाउन सिलाउने काम पाइरहे दुई–चार पैसा आम्दानी भइरहन्थ्यो ।’

कपनकी रोजी पाख्रिन गर्भवती भएकाले घरमै थिइन् । उनलाई गार्मेन्टबाट फोन आयो– घरै बसेर काम गर्ने हो ? कोरोनाका कारण घरबाहिर काम गर्ने वातावरण सहज छैन । त्यसमाथि गर्भवती भएकाले घरमै काम गर्ने अफर आउनु रोजीका लागि खुसीको कुरा थियो । घरमै बसेर किन काम नगर्ने ? उनले सहजै ‘हुन्छ’ भनी दिइन् । ‘महामारीको समयमा घरमै बसेर काम गर्न पाउनु मेरा लागि राम्रो कुरा थियो’ उनले भनिन् । उनका लागि पीपीई सिलाउन घरमै मेसिन जडान भयो । त्यसपछि उनको व्यस्तता सुरु भयो । कोरोना कहरका अग्रपंक्तिमा खटिनेहरूका लागि उनले गाउन, मास्क, जुत्ता कभर, पञ्जा बनाउन थालिन् । महामारीको समयमा सिलाइको काम गर्दा फरक अनुभुव बटुलेको उनी बताउँछिन् । आम्दानी मात्र नभएर देशलाई महामारीको समयमा आफूले केही गर्न सकेकोमा गर्व महसुस भएको बताउँछिन् । ‘देशको नागरिक भएको हैसियतले पनि महामारीको समयमा सहयोग गर्न पाउँदा खुसी लागेको छ’ उनले भनिन् ।

गाउनका लागि कपडा अभाव

पहिलो चरणको लकडाउनमा सीतापाइलाकी शर्मिला ढुंगेल २ महिना जति गाउन बनाउन व्यस्त भइन् । उक्त अवधिमा करिब २ हजार पिस गाउन बनाउन उनले भ्याइन् । महामारीका कारण सबै क्षेत्र ठप्प हुँदा उनी भने निकै व्यस्त थिइन् । अन्य काम नहुँदा गाउनबाट केही राहत मिलेको थियो । महामारी फैलँदै जाँदा गाउनका लागि थप अर्डर आउँछ भन्ने उनलाई थियो । तर, गाउनका लागि अर्डर आउन छोड्यो । बजारमा टफेटाको अभाव भएका कारण अर्डर आउन छाडेको उनको भनाइ छ । भन्छिन्, ‘पहिला अधिक अर्डर आउने भए पनि अहिले भने अर्डर नै छैन ।’ अर्डर नभएकै कारण धेरै कालिगढहरू फुर्सदिला बनेका छन् । तिनीहरूको आम्दानी गुमेको छ । बजारमा भने पीपीईको अभाव छ । यो कुरालाई पीपीई बनाउनमा सहयोग गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पनि स्वीकार गर्छन् । कपडा आपूर्ति नभएकाले पीपीईको अभाव भएको उनको भनाइ छ । ‘लकडाउका कारण कच्चा पदार्थ आपूर्ति हुन सकेको छैन,’ उनले भने, ‘लकडाउनका कारण बाहिरी आयात ठप्प छ, त्यसकारण माग अनुसार पीपीईको आपूर्ति हुन सकेको छैन ।’

माग अनुसार पीपीई अभाव

महावीर पुन

संस्थापक, राष्ट्रिय आविष्कार केन्द्र

पीपीई बनाउने सोच कसरी आयो ?

कोरोना रोकथामका लागि देशव्यापी रूपमा लकडाउन लागू भयो । त्रिवि शिक्षण अस्पताल, मोडल अस्पताल र धरानस्थित बीपी मेमोरियलका चिकित्सकहरूले पीपीईको माग गर्नुभयो । तर, मलाई भने पीपीईबारे केही थाहा थिएन । शिक्षण अस्पतालले पीपीईको डिजाइन पठायो । त्यसपछि हामीले पीपीईका लागि आवश्यक कपडा र अन्य सामग्री खोजेर गार्मेन्टमा निर्माण गर्न थाल्यौं ।

पीपीई कसरी बन्छ ?

पीपीई बनाउनका लागि दुई लेयरको वाटरपुफ्र टफेटा, चेन, सिल्कटेप र इलास्टिक अनि थ्रीडी प्रिन्टिङको चस्मा आवश्यकता पर्छ । सुरुमा गार्मेन्टमा यी सामानहरूमार्फत पीपीई सेट तयार गरिन्छ । त्यसपश्चात् थ्रीडी प्रिन्टिङमा चस्मा फ्रेमको स्क्रिन हालेर पीपीईको पूर्ण सेट तयार पारिन्छ ।

अहिले पीपीईको माग कत्तिको छ ?

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । अंग्रपक्तिमा खटिने हरेक व्यक्ति जोखिममा छन् । त्यसकारण पनि पीपीईको माग अत्यधिक छ । हामीले मागअनुसार एक चौथाइ पनि आपूर्ति गर्न सकेका छैनौं ।

माग अनुसार पीपीईको उत्पादन गर्न नसक्नुको कारण के हो ?

पीपीईको उत्पादन गर्न नसक्नुको मुख्य कारण कच्चा पदार्थ अभाव हो । यसका लागि आवश्यक कपडा टफेटाको चरम अभाव छ । लकडाउनयता आपूर्ति हुन सकेको छैन । हामीसँग कपडा छ भनेर नेपाली बजारबाट पीपीई बनाउनका लागि थुप्रै अफर आउने गरेको छ । तर गुणस्तर न्यून भएका कारण नेपाली उत्पादन प्रयोग गर्न सकेका छैनौं ।

 Image