Successfully Copied

सज्जा चौलागाईं, विजेता, नेपाल आइडल

पहिलो महिला नेपाल आइडल बनेकोमा आफैंलाई गर्व महसुस भएको छ । अहिले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेकी छु । सबैले जे हुनु थियो भयो भनिरहनुभएको छ । अघि बढ्नका लागि हौसला दिइरहनुभएको छ ।

पहिलो महिला नेपाल आइडल हुनुभएको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

पहिलो महिला नेपाल आइडल बनेकोमा आफैंलाई गर्व महसुस भएको छ । अहिले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेकी छु । सबैले जे हुनु थियो भयो भनिरहनुभएको छ । अघि बढ्नका लागि हौसला दिइरहनुभएको छ ।

आइडलको उपाधि जित्नासाथ के कुरा सम्झनुभयो ?

मैले उपाधि जित्नासाथ गायक बन्ने क्रममा गरेका संघर्षहरू सम्झिएँ । गायक बन्नका लागि मैले थुप्रै संघर्ष झेलेकी छु ।

सांगीतिक यात्रा कसरी सुरु भयो ?

बुवाआमाले गुनगुनाएको सुनेर नै मलाई गीत गाउने रहर पलाएको हो । म कुनै सांगीतिक माहोलमा हुर्केको भने होइन । संगीत सिक्ने मौका पनि पाइनँ । बर्निङ डिजायरले पनि गायक बन्न प्रेरित गरेको हो ।

पहिलो गीत कहाँ गाउनुभयो ?

मैले १० कक्षा पढ्दा विद्यालयको प्रतियोगितामा तारादेवीको उकाली ओरालीहरूमा ...गीत गाएको थिएँ । उक्त प्रतियोगितामा उपाधि जितेकी थिएँ ।

‘द लर्ड ब्यान्ड’ कसरी निर्माण भयो ?

गीत गाउने रहरले ब्यान्ड बनेको हो । गीत गाउने रहर थियो तर प्लेटफर्म कही थिएन । ठमेलको क्लबमा गीत प्रस्तुत गर्नका लागि साथीहरू मिलेर यो ब्यान्ड निर्माण भएको हो । यही ब्यान्डमार्फत नै ठमेलका क्लबमा गीत गाउने गर्थें ।

क्लबमा गाउँदाको अनुभव कस्तो रह्यो ?

मलाई गीत गाउने एक प्रकारको हुटहुटी थियो । क्लबमा त्यो रहर पूरा गरें । क्लबमा गाउने क्रममा मैले सिक्ने मौका पनि पाएँ । गाउनका लागि आत्मविश्वास पनि बढ्दै गयो । अर्को कुरा क्लबमा गाउँदा आम्दानी पनि हुन्थ्यो । एकातिर आम्दानी अर्कोतिर रहर दुवै पूरा हुन्थ्यो ।

गीत गाएर कति कमाइ हुन्थ्यो ?

त्योचाहिँ गोप्य नै राखौं ।

क्लबमा दुर्व्यवहार भोग्नुपर्‍यो कि ?

मेरो सन्दर्भमा त्यस्तो भएन । आफू सही भएर काम गरे यसको सामना गर्नुपर्दैन ।

नेपाल आइडलमा दोहोरिएर आउनुको कारण ?

पहिलो नेपाल आइडलमा धेरै परसम्म पुग्न सकिनँ । दोस्रोमा पनि मन थियो, बाध्यतावश सकिनँ । तेस्रो संस्करणमा भने विश्वासका साथ आएँ र उपाधि पनि हासिल गरें ।

आगामी दिनमा तपाईंको प्राथमिकता के कुरामा हुन्छ ?

अबको मेरो पहिलो प्राथमिकता भनेको आफ्नो ब्यान्डलाई अघि बढाउनु हो । ब्यान्ड सँगसँगै आफू पनि एक अब्बल गायक बन्ने प्रयास गर्नेछु ।

 Image