Successfully Copied

कोपिलामै चुँडिइन् सम्झना

बझाङमा असोज ७ मा गोठ हिँडेकी १२ वर्षीया सम्झना कामी एकाएक बेपत्ता भइन् । परिवार र गाउँले मिलेर निकै खोजी गरे । राति साढे आठ बजेतिर उनी स्थानीय शिव मन्दिरभित्र मृतावस्थामा भेटिइन् । तल्लो भाग निर्वस्त्र उनको शरीरभरि चोटैचोट थिए ।

वसन्तप्रताप सिंह

बझाङमा असोज ७ मा गोठ हिँडेकी १२ वर्षीया सम्झना कामी एकाएक बेपत्ता भइन् । परिवार र गाउँले मिलेर निकै खोजी गरे । राति साढे आठ बजेतिर उनी स्थानीय शिव मन्दिरभित्र मृतावस्थामा भेटिइन् । तल्लो भाग निर्वस्त्र उनको शरीरभरि चोटैचोट थिए । जिल्ला अस्पतालमा पोस्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भयो । यो घटनाले बझाङ मात्रै होइन, सिंगो देश नै मर्माहत भयो ।घटनामा संलग्नलाई सार्वजनिक गरी फाँसी दिनुपर्ने माग उठ्यो । बझाङ प्रहरीले भने घटनाकै दिन पक्राउ गरेका स्थानीय राजेन्द्र बोहराले आफ्नो संंलग्नता अस्वीकार गरे ।

अपराधी पत्ता नलागेको भन्दै मृतक बालिकाका परिवारले तत्काले शव बुझन् मानेनन् ।  घटनाको आठौं दिन सम्झनाको हत्यामा संलग्नलाई प्रहरी मुख खोलाउन सफल भयो । पक्राउ परेका राजेन्द्रले सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला भन्ने जंगलबाट नियन्त्रणमा लिई बलात्कारपछि हत्या गरेको साबिती बयान प्रहरीसमक्ष दिए । ‘सुरुमा फकाएर मन्दिरतर्फ केही पर लिएर गएको तर सम्झनाले मन्दिरभित्र जान नमानेपछि उसले बोकेको डोको, नाम्लो र हँसिया थुतेर फालिदिएको रहेछ’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि बालिकालाई लछार–पछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेछ ।’

बालिकाले सक्दो प्रतिकार गरेको र घटना गाउँमा सबैलाई भनिदिन्छु भनेपछि पोल खुल्ने डरले हत्या गरेको राजेन्द्रले बयानमा भनेको प्रहरीले बताएको छ । उनले मन्दिरभित्रको त्रिशूल र घनले हानेर सम्झनाको हत्या गरेको स्विकार गरेका छन् ।

‘सुरुमा ढुङ्गाले टाउकोमा हानें । टाउकोको चोटले सम्झना ढुन्मुनिँदै ढलेपछि मन्दिरभित्र रहेको त्रिशूल ल्याएर पिठ्युँमा घोपेको हुँ’ राजेन्द्रलाई उद्धृत गर्दै उनको बयान लिने क्रममा संलग्न प्रहरीले भने, ‘त्रिशूलले घोपेपछि ऊ झन् छटपटाउन थाली । त्यसपछि फेरि घनले टाउकोमा हानें ।’

राजेन्द्रलाई यो कुर्कमसम्म डोर्‍याउनका लागि समाजले नै मनोबल बढाएको कुरा प्रहरीअनुसन्धानका क्रममा खुलेको छ ।

उनी शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको प्रहरीले जनायो । गत साउन २६ मा मात्रै उसले खिकाला गाउँकै अर्की १३ वर्षीया दलित किशोरीलाई बलात्कार गरेको घटना अनुसन्धानका क्रममा बाहिरियो । उसले स्थानीय धनचडी बोहराको घट्टभित्र पिठो पिस्न लागेकी ती किशोरीलाई जबरजस्ती करणी गरेकोबारेमा जाहेरी परेर अनुसन्धान भैरहेको छ ।

कक्षा–५ की छात्रा उनले तीन दिनपछि मात्रै घटना आफ्नी भाउजूलाई सुनाएकी थिइन् । घटनाका बारेमा  थाहा पाएपछि किशोरीका दाजु–भाउजूले राजेन्द्रका आमाबाबुसहित पञ्चायती बसालेका थिए । पञ्चायतीमा बसेकाहरूले ‘एकै गाउँका भाइ–बहिनी हुन्, यत्तिको घटना भैहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारेका रहेछन् ।

चरेस, मदिराजस्ता नसालु पदार्थ सेवन गर्ने र समूहमा भन्दा एक्लै बस्न र हिँडडुल गर्न  रुचाउने राजेन्द्र यसअघि थुप्रै चोरी र लुटपाटका घटनामा संलग्न रहेको स्थानीयहरू बताउँछन् । उनले महिला र बालिकाहरूका गहना खोस्ने, कोही नभएको मौका छोपी घर–पसलमा चोरी गर्ने गरेका दर्जनौं घटना यसअघि गाउँमै मिलाइएको खिकालाकै अर्जुन बोहोराले बताए । ‘यसको ग्रुपमा एक–दुई जना अरु पनि थिए । उनीहरू दिनभरि कहाँ जान्थे ? के गर्थे भन्ने कसैलाई थाहा हँुदैनथ्यो’ अर्जुनले भने, ‘मान्छे नभएको मौका पारेर सुटुक्क गाउँलेका घरमा पस्ने र चोरी गर्ने काम गर्न थालेको दुई–तीन वर्षभन्दा बढी भयो । ’

राजेन्द्र र उनको समूहले यसअघि धुरिल, गान्जी, रौलाभुवाँ, घट्टाल, पानीपाटा आदि छिमेकी गाउँमा पनि चोरी र लुटपाट गरेको अर्का स्थानीय डबल बूढाले बताए । ‘कसैको घरमा पैसा छ, कसैले वृद्धभत्ता, बालपोषण भत्ता बुझेको थाहा पाउना साथ उसले चोरी गरिहाल्थ्यो’ बूढाले भने ।

लगातार चोरी, लुटपाट र बलात्कारजस्ता घटनामा संलग्न भएको थाहा पाउँदा पनि परिवारले उसलाई पुल्पुल्याएर राखेको थियो । घटना भएको थाहा पाउनेबित्तिकै उनका बाबु वीरबहादुर पीडितकोमा पुगेर आफ्नो छोराबाट अब यस्तो गल्ती नहुने भन्दै सानोतिनो जरिवाना तिराएर घटना सामसुम पार्न लगाउँथे । राजेन्द्रले लुटपाट, चोरी र बलात्कारका घटना धेरैजसो दलित समुदायमा गरेका थिए । गैरदलितको डरका कारणले दलितहरू उनको अन्याय सहन बाध्य थिए । ‘मेरो छोरा सानै छ, अब यसो गर्दैन भन्थे । हामीले ठूलो स्वर गर्‍यांै भने यो नाबालक हो, यसलाई कानुन लाग्दैन । जे गर्न सक्छौ गर भनी थर्काउँथे’ स्थानीय लक्षुकामीले भनिन् ‘हामीलाई नियम–कानुन थाहा छैन । केही बोल्न सकेनौं ।’

राजेन्द्रले लगातार गाउँमा घटना गराएको भए पनि आफूकहाँ भने एउटा उजुरी मात्रै आएको वडाध्यक्ष शेरबहादुर खड्काले बताए । ‘गाउँमा यत्रा घटनाहरू गराएको रहेछ । हामीलाई जानकारी नै भएन’ उनले भने ‘आफ्नै ठूला बुवाको पसल चोरेको एउटा घटना वडा कार्यालयसम्म पुगेको थियो । रकम फिर्ता गर्ने सहमतिमा हामीले मिलाएका हौं । अरु कुरा त अहिले पो थाहा हुँदैछ । ’ उनले नियम–कानुनको विषयमा थाहा नपाएका कारण स्थानीयले घटनाहरू गाउँमै मिलाएको हुन सक्ने बताए ।

अपराधका घटनाहरू गुपचुप गाउँमै मिलाउँदा सम्झनाले ज्यान गुमाउनु परेको डिएसपी रूपक खड्काको बुझाइ छ । ‘साउनमा भएको बलात्कारको घटना प्रहरीकहाँ पुगेको भए त्यो मानिस अहिले जेलमा हुन्थ्यो । सम्झनाको ज्यान जाने थिएन’ उनले भने ‘बलात्कारका घटना त गाउँमै मिलाउँदा रहेछन् । अरु सानातिना घटना त झन् के आउँथे ।’ उनले घटनाहरू गाउँमा सामसुम पार्न खोज्दा झन् ठूलो अपराध जन्मिने भएकाले यसबाट सबैले पाठ सिक्नुपर्ने बताए ।

तस्बिर : वसन्तप्रताप सिंह

 Image