Successfully Copied

नारी मासिक कस्तो चाहनुहुन्छ ?

‘नारी’ मासिक नेपालको एक मात्र गुणस्तरीय र व्यावसायिक महिला पत्रिका हो भन्नेमा शंकै छैन । यसले फराकिलो दायरामा विभिन्न क्षेत्र, जातजाति, पेसा, व्यवसाय, तह र तप्काका महिलालाई समेट्दै आएको छ । यसले समग्र महिलाको सशक्तीकरण र व्यक्तित्व विकासमा निरन्तरता पाउँंदै जाओस् ।

नारी मासिक १९ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा हामीले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरूसँग नारी मासिकका बारेमा सोधेका थियौं ।

वन्दना राणा

अधिकारकर्मी

‘नारी’ मासिक नेपालको एक मात्र गुणस्तरीय र व्यावसायिक महिला पत्रिका हो भन्नेमा शंकै छैन । यसले फराकिलो दायरामा विभिन्न क्षेत्र, जातजाति, पेसा, व्यवसाय, तह र तप्काका महिलालाई समेट्दै आएको छ । यसले समग्र महिलाको सशक्तीकरण र व्यक्तित्व विकासमा निरन्तरता पाउँंदै जाओस् । पत्रिकाले अब लैंगिक मुद्दासम्बन्धी पुरुषवादी सोंच, नकारात्मक कार्य, व्यवहार तथा संस्कार र संस्कृतिका आडमा चलनचल्तीमा रहँदै आएका व्यवहारहरू जुन महिलाका लागि घातक छन्, त्यस्ता विषय उठान गर्न सक्नुपर्छ । कुसंस्कार र कुव्यवहारका विरुद्ध अडिग भई सामाजिक परिवर्तनमा क्रान्तिकारी भूमिका खेल्न सक्नुपर्छ । नारी मासिक सबैको रोल मोडल बन्न सक्छ । शुभकामना ।

शैलजा अधिकारी

संस्थापक, आईईसी ग्रुप

 सर्वप्रथम त नारी पत्रिकाको कभरमा ध्यान दिनुपर्छ । अहिले देखिइरहेको मिक्समास कभर डिजाइन भद्र नदेखिएझैं लाग्छ । कभरका लागि यसको आफ्नो छुट्टै कलर र डिजाइन भए आधिकारिक देखिन्छ । अर्को कुरा खानपान, फेसन, इन्टेरियर डिजाइनिङसम्बन्धी लेखका लागि विशेषज्ञलाई स्तम्भ दिएर तथ्यपूर्ण ज्ञान पस्किन सकिन्छ । यो एउटा लाइफ स्टायल म्यागजिन भएकाले डिजाइन, फोटो, ब्रेकर, क्याप्सनलगायतका कुरा पाठक तान्ने खालका हुनुपर्छ, यो नहोस् कि दैनिक अखबार जस्तो अक्षरले मात्रै खचाखच भएको । तसर्थ ले–आउट डिजाइन सुधार्नुपर्ने देखिन्छ । यसको कागजको गुणस्तर पनि सुधार्नुपर्ने देखिन्छ । सम्पूर्ण नारीको आवाज, अभियान र सशक्तीकरणका विविध पक्षलाई समेट्दै आएको यो पत्रिकालाई धेरै शुभकामना र बधाई ।

निर्मला भण्डारी

अधिवक्ता तथा लेखक

‘नारी’ मासिकले समग्र महिला वर्गका मुद्दालाई स्थान र महत्व दिएको कुरामा दुई मत छैन । यद्यपि महिलाकै बीचमा पनि ‘नारी’ सहरी महिलाका लागि मात्रै हो ग्रामीण महिलाका दुःख, पीडा, उद्यम, उन्नति, प्रगति, सकारात्मक र नकारात्मक पाटालाई समेट्न सकेको छैन भन्ने टिप्पणी सुनिन्छ । जो ‘नारी’ जस्तो राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको पत्रिकाका लागि चुनौती र थप खोजको विषय हो । तसर्थ सहरी र ग्रामीण महिलाहरूका दुःख, पीडा र सफलता समेटिएका सोच बदल्ने खालका खोजमूलक लेखहरू प्रकाशित होऊन् । महिलासँग सम्बन्धित कानुनी ज्ञान दिने उद्देश्यले कानुनी स्तम्भ समावेश गर्दा राम्रो हुन्छ । महिलालाई व्यावसायिक बनाउन, सफल व्यवसाय, प्राविधिक ज्ञान, सरकारले दिने सहुलियत, बैकिङ सुविधासहितका विशेषाङ्कहरू प्रकाशित गरी लक्षित ग्रामीण समूह वा संघसंस्थालाई १/१ प्रति निःशुल्क (सामाजिक उत्तरदायित्व बहन अन्तर्गत) उपलब्ध गराउँदा यसको लोकप्रियता बढ्छ ।

मोहिनी प्रधान

बैंकर, माछापुच्छे बैंक लाजिम्पाट

सुरुवातदेखि नै म ‘नारी’ मासिकको पाठक हुँ । पहिलेदेखि नारीको कभर डिजाइन र कागजको स्तर उही देख्दै आइरहेकी छु । अब यसको साइज, डिजाइन र कागजको गुणस्तर परिवर्तन हुनुपर्छ । हल्का सामग्रीभन्दा पनि मुद्दा केन्द्रित लेख–रचना पढ्न पाइयोस् । सरकारका नीति, आर्थिक क्रान्ति, सीपमूलक तालिमका बारेमा सामग्री पस्किएर यसले स्वरोजगार सिर्जना गर्न सक्ने सूचना पनि दियोस् । यसको प्रवर्द्धनका लागि नियमित स्तम्भकारलाई विभिन्न कार्यक्रम गरेर प्रोत्साहित गर्ने र वार्षिक ग्राहकका लागि विविध गतिविधिमार्फत हौसला प्रदान गरेमा पाठकहरू अझ बढ्दै जाने थिए । नारीलाई बधाई ।

अमृता लम्साल, सञ्चारकर्मी

‘नारी’ मासिकले परिवारलाई मनोरञ्जन दिँदै आएको कुरामा दुईमत छैन । यो पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना । यसमा अलिकति, महिला सशक्तीकरणको पाटोका बारेमा आधा–एक पेज थपेर प्रेरक महिलाका संघर्षका कुराहरू समेट्न पाए अझै राम्रो हुन्थ्यो कि ? अर्को कुरा, महिलाहरू सक्षम छन्, उनीहरू आफैंमा सग्ला मानव हुन् कसैप्रति आश्रित हुनुपर्ने प्राणी वा ‘सेक्स अब्जेक्ट’ होइनन् भन्ने खालका सन्देश जाने सामग्रीलाई पनि स्थान दिन प्रयास गरियो भने धेरै राम्रो हुने थियो ।

डा.भोला रिजाल

वरिष्ठ स्त्री तथा प्रसूति रोग तथा आइभिएफ विशेषज्ञ, ह्याम्स हस्पिटल

महिलामाझ लोकप्रिय ‘नारी’ पत्रिका १९ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उत्तरोतर प्रगतिको कामना । म पुरुष भए पनि यो पत्रिकाको अंशियार जस्तै भएर सधै महिलाहरूका रोग एवं हकहितका लागि जीवन समर्पित गरेको छु । यसले विश्वव्यापी चर्चा पाओस्, सबैको प्रिय होस् भन्ने चाहना छ । महिलाका विविध मुद्दा अझ पनि ओझेलमा छन्, ३३ प्रतिशत सहभागिता भने पनि ३ प्रतिशत मात्र छ । केही महिला मात्र उन्नतिको शिखरमा पुगेका छन् । प्रधान न्यायाधीश, राष्ट्रपति नारी भएको अवस्थामा प्रम पनि नारी नै भए देशले काँचुली फेर्थ्यो कि भन्ने लाग्छ । पत्रिका त्यसैमा समर्पित भएकाले पुरुषप्रधान देशमा पुरुषमा पनि केही चेत र परिवर्तन आउनु आवश्यक छ । विद्यमान कुरीति उन्मूलन गर्न पुरुषलाई सचेत, समाजलाई जनचेतना, उनीहरूलाई अगाडि लिएर बढ्न सशक्त भूमिका खेलोस् नारीले ।

दुर्गा कार्की

लेखक

‘नारी’ मासिकको नेतृत्व नारीले पहिलोपटक पाएकोमा शुभकामना र बधाई छ । आगामी अंकमा सर्वप्रथम नारीले आजका युगका नारीहरूको जीवन, संघर्ष, चुनौती, सपना, उडान, जीवन दृष्टिकोण र जीवनशैलीको सही प्रतिनिधित्व गरोस् । ‘नारी’ को परिधिभित्र केश र छालाको हेरचाह गर्न नभ्याउने महिलादेखि समाज र परिवारको डरले चाहेर पनि त्यसो गर्न नपाएका लैङ्गिक अल्पसंख्यक महिला पनि अटाऊन् । यसले आफ्नो परिधि फराकिलो, दृष्टि गहिरो र प्रस्तुति गहकिलो बनाउँदै लगोस् ।

महेश विक्रम शाह

साहित्यकार

‘नारी’ ले नारीका दृश्यमा भएका उज्याला पक्षहरूलाई मात्र होइन समाजको अँध्यारो कुनामा सामाजिक मूल्य–मान्यता, परम्परा, संस्कार, संस्कृति र जातीय तथा लैंगिक दायित्वका नाममा जरा गाडेर बसेका अँध्यारा पाटाहरूलाई पनि उधिन्ने जमर्को गर्नुपर्छ । यी कुरीति, बेथिति, राज्यको असमान व्यवहार र दायित्वहीनताका कारण सृजित नारीका दुःख र असफलताका कथाहरूलाई पनि आवाज दिनुपर्छ । नारीको आवरणमा सफलताको रंगले रंगिएकी नारीको मुहारले मात्र होइन, कर्णालीको दुर्गम बस्तीमा भोक र रोगले थन्किएकी अशक्त नारीको अनुहारले पनि स्थान पाओस् भन्ने कामना गर्छु ।

वन्दना खाँड

सामाजिक तथा क्यान्सर रोकथाम अभियन्ता

नारीले महिला अधिकार, लैंगिक समानता, विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिलाको आवाज उठाएको छ । यसले चाडपर्व, मौसमअनुसारका सामग्री, सौन्दर्य, स्वास्थ्यलगायतका विषयवस्तु प्रस्तुत गर्दै आइरहेको छ । अहिलेको यो महामारीपछि पनि नारीले मौलिक अधिकार तथा आवश्यक रूपमा सरकारको नीति तथा पहुँचका विषयमा पनि सेतुका रूपमा भूमिका खेलोस् । नारीले सहरी महिलालाई मात्र स्थान दिएको गुनासो सुनिन्छ । ग्रामीण बस्तीका पीडित महिलाका बारेमा पनि स्थान दिँदै लैंगिक समानताका लागि आवाज उठाएका पुरुष तथा युवालाई पनि समाबेश गरे सुनमा सुगन्ध हुने थियो ।

सोफिया थापा, गायिका

‘नारी’ पत्रिकामा सरकार तथा नीति–निर्माण तहमा आसीन व्यक्तिको राय, सल्लाह र जानकारी आउन सकोस् साथै यिनै महिलाका मुद्दामा पुरुष लेखक, पाठकहरूको अभिमत आउन सकोस् । त्यसैगरी चलिरहेको सौन्दर्यको मानकलाई ब्रेक गर्ने प्रयास गर्दै समाज र देशका लागि राम्रा र असल काम गरेका महिलालाई यो पत्रिकामार्फत रोल मोडलका रूपमा स्थापित गर्न सकियोस् । महिलाका मुद्दामा डटेर कानुन बनाउने र बारम्बार ती विषयमा अनवरत लेख्ने, छलफल गर्ने पुरुषलाई पनि पत्रिकाको कभरमा समेट्न सकियोस् । यो पत्रिकाले सहर केन्द्रित मात्र नभई ग्रामीण महिलाको पनि प्रतिनिधित्व गर्दै पीडितको आवाज बोल्न सकोस् । समग्रमा यो पत्रिका राम्रो त छँदैछ अझै राम्रो भएको हेर्ने रहर छ । ‘नारी’ को अझै प्रगति र सफलताको कामना ।

 Image