Successfully Copied

जमेको जोडी

जिम्पाटस्थित होटल सांग्रिलाको साम्बाला गार्डेनमा नारीका लागि ब्राइडल पोज दिदै थिए, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ । ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ गरी दुई ठूला चलचित्र रिलिजको तयारीमा रहेका यी दुई कोरोना भाइरस महामारीले सबैभन्दा बढी असर चलचित्र क्षेत्रलाई नै

जिम्पाटस्थित होटल सांग्रिलाको साम्बाला गार्डेनमा नारीका लागि ब्राइडल पोज दिदै थिए, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ । ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ गरी दुई ठूला चलचित्र रिलिजको तयारीमा रहेका यी दुई कोरोना भाइरस महामारीले सबैभन्दा बढी असर चलचित्र क्षेत्रलाई नै पारेको बताउँछन् ।

५ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय दाङका आकाशले अहिलेसम्म ८ वटा ठूलोपर्दाका चलचित्रमा अभिनय गरिसकेका छन् । त्यसबाहेक यिनको टेक्सटायल व्यवसाय छ । बाल्यावस्थामा शिक्षिका, नभए एअरहोस्टेज बन्ने चाहना राखेकी कुसुन्ती ललितपुरकी पूजा आरजे, भिजे हुँदै ७ वर्षअघि ‘मधुमास’ मा लिड रोल गर्दै चलचित्रमा प्रवेश गरेकी हुन् । यो अवधिमा उनले ११ वटा फिचर फिल्ममा अभिनय गरिसकेकी छिन् ।

‘नारी सहनशीलताका प्रतीक हुन्’, पूजा भन्छिन्, ‘नारीहरू हरेक परिस्थितिमा आफू सम्हालिन र अरूलाई सम्हाल्न सक्षम छन् ।’ यसबाहेक धैर्यशील हुनु नारीको अर्को गुण भएको उनी बताउँछिन् । सय दिन पार गरेको ‘ब्लकबस्टर’ चलचित्र ‘पोइ पर्‍यो काले’ मा पूजाले गरेको अभिनयलाई दर्शकले निक्कै मन पराए । तर, पूजालाई भने आफ्नै कथामा बनेको चलचित्र ‘प्रेम गीत’ मा निर्वाह गरेको भूमिकाबाट बढी सन्तुष्टि मिलेको छ ।  

आकाश भन्छन्, ‘नारीको भावना र भूमिका मानव जीवनका लागि अपरम्पार छ । तसर्थ म नारीलाई भगवान्का रूपमा लिन्छु ।’

‘ब्राइडल थिम’ फोटोसुटका लागि दुलहा–दुलही पहिरनमा सजिएका यो जोडीले विवाहले मानिसलाई थप जिम्मेवार बनाउने धारणा व्यक्त गर्दै भने–

‘ विवाहपछि हरेक कुरामा समान हिस्सेदार भइन्छ ।’

पूजाले विवाह भनेको कसैमाथि आफूले हक जमाउन लाइसेन्स पाउनु भएको बताइन् । ‘तर यसका लागि दुई आत्माको मिलन अनिवार्य छ’ उनले भनिन् । पाइलट बन्ने सपनासँगै काठमाडौं छिरेका आकाश विवाहलाई आपसी समझदारी र हरेक कुरामा समान हक–अधिकार प्राप्त गर्ने कानुनी बाटोका रूपमा लिन्छन् । एक–अर्कालाई राम्ररी चिनेर/बुझेर बेस्ट फ्रेन्ड हुन पुगेको बताउने यो जोडी एक–अर्काका कमीकमजोरीलाई दुवै मिलेर सुधार्दै आपसमा भएका सकारात्मक बानी र क्षमतालाई पछ्याउँदै अगाडि बढिरहेको छ । धैर्य, अवसर चिन्ने क्षमता, लगनशीलता तथा परिश्रमले सफलता प्राप्त गर्न सकिने बताउने आकाश पूजालाई धैर्य हुन र अरुलाई छिट्टै विश्वास नगरिहाल्न सुझाउँछन् । पूजा भने गम्भीर विषयलाई पनि हल्का रूपमा लिने आकाशको बानीमा सुधार गरे करियरलाई थप उचाइमा पुर्‍याउन सहयोगी हुने धारणा व्यक्त गर्छिन् ।

तस्बिर : महेश प्रधान

मेकअप तथा हेयर : पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी, नयाँ बानेश्वर

गहना : रानीशृंगार, विशालबजार, न्यूरोड

पहिरन : ड्रिम्स वेयर, कुपण्डोल

स्थान : सांग्रिला होटल, लाजिम्पाट

 Image