Successfully Copied

घुमफिरका लागि होमस्टे

कोरोना महामारीले लामो समय थलिएको होमस्टे व्यवसाय अहिले केही सामान्य भएपछि फेरि जुरमुराउन थालेको छ ।

कोरोना महामारीले लामो समय थलिएको होमस्टे व्यवसाय अहिले केही सामान्य भएपछि फेरि जुरमुराउन थालेको छ । होमस्टेहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल भएकाले होमस्टे व्यवसायी पनि दंग छन् । थोरै खर्चमा घुमफिर गर्न सकिने भएकाले पनि आन्तरिक पर्यटकहरूको होमस्टेमा आकर्षण बढ्दै गएको छ ।

स्याङ्जाको सिरुबारीबाट ०५४ सालमा सुरु भएको होमस्टे पर्यटन घुमफिरको आकर्षणको केन्द्रबिन्दु रहेको छ । स्थानीय कला–संस्कृति प्रदर्शन गर्नु, अतिथि सत्कार गर्नु, मौलिक उत्पादनको प्रवर्द्धन गर्नु होमस्टेका मुख्य विशेषता हुन् । महामारीपछि सेवा दिइरहेका केही होमस्टेको सुविधा र विशेषताका बारेमा यहाँ उल्लेख गरिएको छ ।

श्री अन्तु, इलाम

सूर्योदय तथा चियाका लागि प्रख्यात स्थान हो, इलामको श्री अन्तु सामुदायिक होमस्टे ।अन्तुडाँडा सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि लोकप्रिय छ । यहाँबाट कञ्चनजंघालगायतका हिमालको दृश्यावलोकन, अन्तुपोखरीको सुन्दरता, भारतको सिलीगुढी, खर्साङ, मिरिक र तराईका फाँटका दृश्यावलोकन गर्न सकिने होमस्टे सञ्चालक अनिल गिरी बताउँछन् । अन्तुडाँडाबाट मिरिक बजारको मनमोहक दृश्यका साथै हिमशृंखला, कञ्चनजंघा र कुम्भकर्ण पनि अवलोकन गर्न सकिन्छ । पर्यटकहरूका लागि होमस्टे व्यवसायीहरूले मौलिक परम्परा र संस्कृति, ग्रामीण खानपान पस्किने गरेको उनी बताउँछन् । अन्तु होमस्टे सुविधा सम्पन्न भएकाले पनि हरकोही होमस्टेमा रमाउन सक्ने उनको भनाइ छ । अन्तुको अधिकांश क्षेत्र चिया बगानले ढाकेको छ । यो होमस्टेमा एट्याच बाथरुम भएको कोठामा बसेको एक रातको २५ सयदेखि ३ हजारसम्म लाग्छ । इलामको फिक्कलबाट अन्तु १४ किमि दूरीको यात्रा गर्नुपर्दछ । फिक्कलबाट ४५ मिनेटको बस, जिप यात्रामा जान सकिन्छ ।

गाभर भ्याली, बाँके

बाँके जिल्लाको पहिलो सामुदायिक होमस्टे हो–गाभर भ्याली सामुदायिक होमस्टे । बाँके बैजनाथ गाउँपालिकामा अवस्थित भ्यालीमा १७ वटा घरमा होमस्टे सेवा सञ्चालनमा छन् । गाउँमा थारु र मुगेलीहरूको संयुक्त बसोबास छ । गाभर भ्यालीमा मुगेली थारुको मिश्रित संस्कारमा परम्परागत परिकारहरूको स्वाद लिन सकिने होमस्टेका अध्यक्ष कृष्ण चौधरी बताउँछन् । उनका अनुसार होमस्टेमा अनदीको भात, ढिक्री, कोदो, ढिँडो, घोघी र गंगटोजस्ता थारु स्वाद लिन सकिन्छ । भ्यालीमा प्रतिव्यक्ति १ हजार रुपैयाँ पर्छ । गाभर भ्याली पुग्न नेपालगन्जसम्म हवाई यात्रा वा बस यात्रा गर्न सकिन्छ । नेपालगन्जबाट १० किमिको बाटो पार गर्दै कोहलपुर पुगिन्छ । कोहलपुरबाट भ्याली ८ किमि छ । कोहलपुरबाट गाभर भ्याली पुग्न भने १ किमि कच्ची बाटोको यात्रा गर्नुपर्ने हुन्छ ।

चित्लाङ होमस्टे मकवानपुर     

मकवानपुर जिल्लाको चित्लाङ २ हजार २ सय ८० मिटरमा चित्लाङ होमस्टे रहेको छ । चित्लाङ पुग्ने पर्यटकहरूले सम्राट् अशोकले ईशापूर्व २ सय ७३ मा बनाएको चैत्य अवलोकन गर्न सक्छन् । चित्लाङमा अर्ग्यानिक उत्पादन मुला, साग, आलु, भुइँस्याउ पाइन्छ । यो ठाउँमा बाख्राको दूधबाट बनेको चीजको पनि स्वाद लिन सकिन्छ । अर्ग्यानिक भिलेजका रूपमा परिचित चित्लाङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र धार्मिक महत्वका कारण पर्यटकको यो होमस्टेमा आकर्षण बढेको होमस्टेका संयोजक राधाकृष्ण बस्नेत बताउँछन् । उनका अनुसार यो होमस्टेमा आउने पर्यटकले कुलेखानी जलविद्युत् परियोजनाका लागि निर्मित इन्द्रसरोवर, पालुङ, दामन तथा सीमभञ्ज्याङका मनमोहक दृश्य अवलोकन गर्न सक्छन् । होमस्टेमा एक राते प्याकेजको १ हजार २ सय रुपैयाँ लाग्छ । काठमाडौंबाट चन्द्रागिरि हुँदै चित्लाङ पुग्न सकिन्छ ।

अमलटारी होमस्टे, नवलपुर

नवलपरासी जिल्लाको कावासोतीमा अवस्थित अमलटारी होमस्टे क्षेत्रमा बोटे र थारु समुदायको बसोबास छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो होमस्टेमा जंगल सफारी, हात्ती र गाडा सफारी, नारायणी नदीमा डुङ्गा सफारी र फिसिङ गरिन्छ । यो होमस्टेमा लोकल कुखुराको मासु तथा माछाको स्वाद लिन सकिन्छ । पूर्व–पश्चिम राजमार्गको कावासोतीको डण्डाबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने बाघखोर गाउँमा थारु, मुसहर, बोटेलगायत २२ वटा घरमा होमस्टे संचालनमा छन् । चिचर, माछा, घोगी, अचार, हाँसबाट बनाइने थारु परिकारले यहाँ पाहुनालाई स्वागत गरिने बताउँछन् होमस्टे सञ्चालक धनराम गुरौ । यो होमस्टेमा पाहुनाको स्वागत र मनोरञ्जनका लागि थारु र बोटेको संस्कृति झल्कने थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाच प्रस्तुत गरिने उनी बताउँछन् । मध्यवर्तिभित्र आउने गैंडा, बाघ, भालु, चराचुरुङ्गी र जैविक विविधताले पर्यटकलाई लोभ्याउने उनको भनाइ छ । ३१ घर रहेको यो होमस्टेमा १२४ जनाको क्षमता छ । अट्याच बाथरुमसहित कोठाहरूमा एक रातको ९ सय ८० रुपैयाँ पर्दछ । त्यसमा खाना र ब्रेकफास्ट पर्दछ । अमलटारी पुग्नका लागि नारायणघाट हुँदै जानुपर्दछ । नारायणघाटबाट ३५ किलोमिटरको यात्रापछि अमलटारी पुग्न सकिन्छ ।

पनौती सामुदायिक होमस्टे, काभ्रे

महिलाहरूले आर्थिक उत्थानका लागि सञ्चालनमा ल्याएको होमस्टे हो काभ्रेपलाञ्चोक जिल्लाको पनौती होमस्टे । घरमा सीमित महिलालाई आर्थिक अवस्था सुधार्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको बताउँछिन् होमस्टेकी अध्यक्ष शीला अमात्य । होमस्टेमा १७ वटा घर संचालनमा छन् । होमस्टेमा ८० जनासम्मको क्षमता छ । ऐतिहासिक पनौती क्षेत्रमा मठ, मन्दिर आदि पुरातात्विक वस्तु अवलोकन गर्न सकिन्छ । यो होमस्टेमा स्थानीय संस्कृतिसँग पाहुनाहरूलाई घुलमिल गराउँदै स्थानीय परिकारहरूको स्वाद चखाइन्छ । पाहुनालाई जात्रा एवं धान रोप्ने काममा सहभागी गराई स्थानीयको काममा सामेल गराइन्छ । यो होमस्टेमा बस्दा हाइकिङसमेत गर्न सकिन्छ । पनौती, साँगा, नमोबुद्धमा हाइकिङ गर्दै रमाइलो गर्न सकिन्छ । यहाँ एक रात बिताउँदा १७ सय खर्च गर्नुपर्ने हुन्छ । यसमा लन्च, ब्रेकफास्ट समावेश गरिएको हुन्छ ।

 Image