Successfully Copied

विवाह र गर्भ !

बेरोजगारीले विवाह गर्ने औसत उमेरलाई उकालो चढाएको पाइन्छ । अहिलेका युवाहरू राम्रो जागिर नपाए सम्म वा आर्थिक रुपमा स्थापित नभई विवाह गर्न रुचाउँदैनन् ।

डा.बालकृष्ण साह

प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ, मोरङ सहकारी अस्पताल

अधिकांश नेपालीको विवाह बीस नपुग्दै हुन्छ । पछिल्लो चरणमा ढिला विवाह गर्ने संस्कृति बढ्दै गए पनि गाउँघरमा अझै पनि बीस वर्ष नपुग्दै विवाह गर्ने चलन छ । बेरोजगारीले विवाह गर्ने औसत उमेरलाई उकालो चढाएको पाइन्छ । अहिलेका युवाहरू राम्रो जागिर नपाए सम्म वा आर्थिक रुपमा स्थापित नभई विवाह गर्न रुचाउँदैनन् । अनि राम्रो जागिरका लागि योग्यता बटुल्न समय लाग्नु स्वभाविक नै हो । पछिल्लो चरणमा ३० वर्ष पार गरेका सफल व्यवसायिक र समाजका प्रतिष्ठित व्यक्तित्वहरू अविवाहित पनि रहने गरेको भेटिन थालेको छ ।

‘डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६’ का अनुसार नेपालमा औसत महिलाको विवाह १७ दशमलव ९ (अठार वर्ष) र पुरुषको २१ दशमलव ७ (२२ वर्ष) मा हुने गरेको छ । यस तथ्याङ्क अनुसार हाम्रो देशमा विवाहको उमेर महिलामा अझै कम रहेको देखिन्छ र यसलाई बढाउन अर्थात् विवाहको उमेर २० वर्ष पुर्‍याउनु आवश्यक छ । विवाहका लागि कम्तिमा पनि २० वर्ष पुग्नुपर्ने यथार्थलाई राज्यले पनि अगाडि सारेको देखिन्छ भने समाज र विभिन्न समाजिक संघसंस्थाहरूले समेत यसका लागि विभिन्न कार्यक्रमहरू अगाडि सार्दै जनचेतना अभिवृद्धि गर्दै आएको छ, जुन सकारात्मक छ । तर बढ्दो सामाजिक तथा आर्थिक चुनौतीहरू अनि बेरोजगारी समस्याहरूले विशेषगरी शहरी क्षेत्रका युवाहरूको विवाहको उमेर बढेको देखिन्छ । ‘डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६’ को तथ्याङ्क अनुसार एसएलसी वा सो भन्दा बढी अध्ययन गरेका युवाको औसत विवाहको उमेर २४ दशमलव ४ वर्ष रहेको छ भने अनपढहरूको यो उमेर २० वर्ष रहेको छ । यसमा अझ स्नातक तहको शिक्षालाई पनि आधार बनाएर तथ्याङ्क संकलन गरेको भए औसत विवाहको उमेर ३० का हाराहारीमा पुग्थ्यो होला भन्दा फरक नपर्ला । त्यस्तै निम्न आय भन्दा आर्थिकरुपमा सबल युवाहरूको विवाहको औसत उमेर बढी रहेको सो तथ्याङ्कले देखाएको छ ।

छिटो विवाह गर्नाले शारीरिक, मानसिक एवं आर्थिक संकट ल्याउँछ, त्यसैले विवाह २० वर्ष नपुगी गर्नु हुँदैन । विवाहसँग गर्भवती तथा सन्तानको प्राप्ती जोडिएको हुन्छ । विभिन्न अध्ययनहरूले २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा एकातिर मातृमृत्यु दर बढी हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढी हुने गरेको देखाएको छ । कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ साता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धी जटिलताहरू थपिने सम्भावना बढि रहेको हुन्छ । गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र नभै गर्भको बच्चामा समेत असर गरेको हुन्छ । यस्ता बच्चाहरू कम तौलका हुने, शारीरिक विकास राम्रो नहुने तथा कन्जेनाईटल डिफेक्ट (जन्मपूर्व नै खराबी) हुने सम्भावना बढी हुन्छ । विश्व स्वास्थ्य संघको तथ्याङ्क अनुसार २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा, बच्चा जन्मिनासाथ वा जन्मेको पहिलो सातामा मृत्युको सम्भावना ५० प्रतिशतले बढि हुन्छ । त्यसैले २० वर्ष नपुगी विवाह गर्नु तथा गर्भवती हुनु राम्रो होईन ।

स्वास्थ्यका पक्षमा पनि कम उमेरमा गर्भवती हुँदा आमा र बच्चा दुवैलाई असर गरेजस्तै उमेर बढ्दै गए पछि पनि गर्भ र प्रसवमा जटिलताहरू थपिदै जान्छन् । महिलाको उमेर ३२ वर्ष पुगे पछि गर्भ रहने सम्भावना नै घटेर जाने हुन्छ, ३५ वर्ष पुगे पछि त गर्भ रहने सम्भावना ५० प्रतिशत मात्र हुन्छ र ४० वर्ष पछि यो सम्भावना ५ प्रतिशतमा सीमित हुन सक्छ भन्ने धेरै अध्ययनले देखाएका छन् । यो उमेरमा रहेको गर्भ तुहिने सम्भावना पनि बढी हुन्छन् । त्यस्तै गर्भका जटिलताहरू पनि जस्तै जेस्टेशनल डायबेटिज्, प्रेग्नेन्सी ईन्ड्युस्ड हाईपरटेन्सन (उच्च रक्तचाप), सालनालको जटिलता हुने सम्भावना बढी रहने गरेको पाईन्छ । यस्तो अवस्थामा प्रसव पीडा लामो समयसम्म हुने, अधिक रगत खेर जान सक्छ । शिशु जन्मेपछि पनि समस्या हुन सक्छ, शिशु अपांग वा अस्वस्थ्य जन्मन सक्छ । सामान्यतया गर्भको बच्चा र उसको स्वास्थ्य आमासँग मात्रै सम्बन्धित हुन्छ भन्ने आम धारणा रहेको हुन्छ । तर पछिल्लो समयमा बुबाको उमेरले शुक्रकिटको गुणस्तरमा असर गर्ने र यसले बच्चाको स्वास्थ्यमा असर गर्न सक्छ । बाबुको उमेर पैतीस वर्ष नाघेको छ भने २७ प्रतिशत भन्दा बढीमा गर्भ खेर जाने सम्भावना रहने अध्ययनले देखाएको छ ।

गर्भावस्था आफैंमा एउटा जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा आमा बन्ने खुशी मात्र जोडिएका हुँदैन, गर्भसँग सामाजिक, पारिवारिक र आत्मीय सम्बन्ध रहेको हुन्छ । अझ पहिलो गर्भ π दाम्पत्य जीवनको पहिलो सफलता अनि पहिलो अनुभव, शारिरीक मात्र होईन मानसिक अनि भावनात्मक परिवर्तन अनि जिम्मेवारी सबै कुरा एकै साथ आएकाले पनि होला गर्भवती महिलामा धेरै जिज्ञासा हुने गरेको पाईन्छ । महिनावारी रोकिने बित्तिकै नवविवाहित महिलाहरूमा एउटा नयाँ तरङ्ग थपिन्छ । कहिलेकाही त महिनावारी ढिला भएमा महिला दुखित पनि हुने गरेको पाईन्छ । गर्भ रहने बित्तिकै सबैलाई समस्या नहुन पनि सक्छ । तर गर्भको बच्चा कसरी राम्रो बनाउने चिन्ता धेरैमा रहने गरेको पाईन्छ । अधिकाशं गर्भवतीहरूलाई खाना मन नलाग्ने तथा वाकवाकी लाग्ने गरेको पाइन्छ । गर्भावस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठुलो समस्या मानिदैन । गर्भको बच्चाले सामान्यतया १२ साता पार गरिसके पछि वाक्वाक लाग्न छोड्छ । तर कसै–कसैलाई यो समस्या र यस्तै अन्य साना देखि ठूला समस्या पनि देखापर्न सक्छ ।

गर्भावस्थामा हुने शारीरिक र हर्मोनल परिवर्तनले गर्भवतीमा समस्या र चिन्ता थपिने हुन्छ । त्यसैले यी परिवर्तनका बारेमा गर्भवती, दम्पती र परिवारका सदस्यले राम्ररी बुझे तनाव आफैं कम हुन्छ । यसका साथै गर्भावस्थामा आमा र गर्भका विकासका लागि पोषणतत्वहरूको आवश्यकतामा केही वृद्धि हुन्छ । आवश्यकतानुसारको पोषकतत्व नपुगेको अवस्थामा एकातिर गर्भको राम्रो विकास नहुने तथा अपाङ्गता हुने सम्भावना बढ्छ भने अर्कातिर गर्भवतीलाई पनि समस्या थपिन सक्छ । त्यसैले हरेक दम्पतीले गर्भका योजना बनाउनु र गर्भ राख्नु पहिले नै चिकित्सकीय परामर्श लिनु राम्रो हुन्छ । पछिल्लो चरणमा ढिला विवाहसँगै गर्भको योजना र परामर्श (प्रि–कन्सेपसनल काउन्सिलिङ्ग) को महत्व, आवश्यकता बढ्दै गएको छ र यसले गर्भलाई धेरै सहज बनाउँछ ।

आफ्नो स्वास्थ्य राम्रो होस्, आफ्ना गर्भ तथा सन्तान स्वस्थ हुन् भन्ने चाहना सबैको हुन्छन् । यसका लागि आफू शारीरिक रुपमा स्वस्थ हुनु, मानसिक रुपमा तयार हुनु, उपयुक्त समयमा पूर्ण परामर्श र तयारीका साथ गर्भको योजना बनाउनु आवश्यक हुन्छ । गर्भावस्थामा समस्या आउन सक्छन् र पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ । त्यसैले यस अवस्थामा नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्छ । चिकित्सकले दिएको औषधी सही तरिकाले सेवन गर्नु तथा दिएका निर्देशन पूर्णरुपले पालना गर्नुपर्छ । अधिकाशं गर्भवतीले गर्भावस्थामा औषधी सेवन गर्ने कि नगर्ने दोधारमा हुन्छन् । गर्भावस्थामा पनि धेरै औषधी सेवन गर्नु पर्ने हुन सक्छ । तर यो अवस्थामा सबै औषधी सुरक्षित नहुने भएकाले चिकित्सकको परमर्शपछि मात्र औषधी सेवन गनुपर्छ । गर्भावस्थामा यौनसम्पर्कका बारेमा सबैलाई एउटै उत्तर नहुन सक्छ । सामान्य अवस्थामा गर्भवती महिलाको खुशीमा सम्पर्क गर्न सकिन्छ तर उनलाई सजिलो हुनु आवश्यक हुन्छ । तर जटिल अवस्थाको गर्भमा भने यौनसम्पर्क गर्न हुँदैन । यसैगरी मर्निङ्ग वाक, साइकल कुदाउने, पौडी खेल्ने जस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध नभए तापनि सजग रहनु पर्छ । यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धुम्रपान तथा मद्यपान सेवन गर्नु पनि नराम्रो साबित हुन सक्छ ।

 Image