Successfully Copied

अंशबन्डा र कानुनी व्यवस्था

सगोलमा रहेको पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागबन्डा लगाउने प्रक्रिया अंशबन्डा हो । यसमा ‘अंश’ ले हिस्सा र ‘बन्डा’ ले अंशियारहरूबीच सम्पत्तिमा अंश वा भाग लगाउने कार्य भन्ने जनाउँछ । नेपाली बृहत् शब्दकोशमा ‘अंशियारहरूका बीचमा रहेको सगोलको श्रीसम्पत्तिको बाँडफाँड’ भनेर अंशबन्डाको परिभाषा गरिएको छ ।

सगोलमा रहेको पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागबन्डा लगाउने प्रक्रिया अंशबन्डा हो । यसमा ‘अंश’ ले हिस्सा र ‘बन्डा’ ले अंशियारहरूबीच सम्पत्तिमा अंश वा भाग लगाउने कार्य भन्ने जनाउँछ । नेपाली बृहत् शब्दकोशमा ‘अंशियारहरूका बीचमा रहेको सगोलको श्रीसम्पत्तिको बाँडफाँड’ भनेर अंशबन्डाको परिभाषा गरिएको छ । डा. शान्ता थपलियाका अनुसार, ‘घर सारमा सरसल्लाहका रूपमा होस् वा अदालतमा नालिस गरेर होस् पैतृक सम्पत्तिको (चल–अचल) अंशियारहरूबीच कानुनको रीत पुर्‍याई नरम–करम मिलाई बाँडफाँड हुनु अंशबन्डा गर्नु हो ।’

खगेन्द्रमणि घिमिरे, अधिवक्ता

सगोलको सम्पत्तिको अंशबन्डा

सामान्यतया अंशबन्डा पैतृक सम्पत्तिको सम्बन्धमा लागू हुने अर्थात् बाबुबाजेले आर्जन गरेको सम्पत्तिको सम्बन्धमा लागू हुने भए तापनि संयुक्त परिवार रहेको अवस्थामा पैतृक सम्पत्तिको अंश परिवारका सदस्यहरूका अंशियारहरूबीच भागबन्डा नभैसकेको अवस्थामा परिवारका सदस्यहरू (भाइ, छोरा, नाति, बुहारी आदि) ले आर्जन गरेका सम्पत्ति पनि पैतृक सम्पत्तिमा गाभिन गई सगोलको सम्पत्ति ठहरिन सक्छ । मुलुकी देवानी संहिता, २०७४ को दफा २५७ ले सगोलको सम्पत्तिका रूपमा पुर्ख्यौलीबाट प्राप्त सम्पत्ति, निजी सम्पत्तिबाहेक अंशियारका नाममा रहेको अन्य सम्पत्ति, अंशियारले सगोलको खेती, उद्योग, व्यापार/व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे/बढाएको सम्पत्ति, कानुनबमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा बढे/बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति मानेको छ । त्यस्तै, बाबुआमा र छोराछोरीबीच अंशबन्डा गर्ने प्रयोजनका लागि बाबुआमाले आर्जन गरेको सम्पत्तिसमेत सगोलको सम्पत्ति मानेको छ । यस्तो सगोलको सम्पत्तिको उपभोग, हक हस्तान्तरणलगायतका कार्यहरू कानुनबमोजिम मात्र हुने व्यवस्था छ ।

तथापि वादी सुमनकुमार प्रधानविरुद्ध सुरेन्द्रकुमार प्रधानसमेत भएको अंशचलन मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले एक फैसलामा भनेको छ, ‘आफ्नो सीप र प्रयासबाट निजी तवरमा प्राप्त गरेको कुनै सम्पत्ति प्राप्त गर्नेको निजी नै मान्नुपर्ने र कुनै सम्पत्ति बन्डा लाग्ने सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिले त्यस्तो सम्पत्ति के कसरी प्राप्त गरेको हो ? सो सम्पत्ति सगोलको आय आर्जनबाट खरिद गरेको वा एकासगोलको खतिउपतिबाट जोडेको हो भनी तथ्ययुक्त प्रमाण पेस गरी पुष्टि हुनु आवश्यक हुन्छ’ (ने.का.प. २०७३, अङ्क ८, नि.नं. ९६५२) ।

त्यस्तै, वादी अहमद अति गद्दीविरुद्ध अलि गद्दी भएको अंश मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले निजी आर्जेको सम्पत्तिको सन्दर्भमा फैसला गर्दै भनेको छ, ‘सम्पत्ति राजीनामाबाट प्राप्त गरेको र सो सम्पत्ति निजी आर्जनको सम्पत्ति निजी आर्जन देखिने गरी निजले अन्य विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेकाले निजको निजी आर्जनको भन्न सकिने अवस्था नदेखिएकाले सगोलको सम्पत्ति मान्नुपर्ने’(ने.का.प. २०७१, अंक १, नि.नं. ९११२) । त्यसैगरी, प्रमाण ऐन, २०३१ को दफा ६ (क) ले पनि यस कुरालाई पुष्टि गरेको छ । जसमा भनिएको छ, ‘अंशियार जसको नाउँमा रहेको सम्पत्ति भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलको मान्नुपर्ने ।’

अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्वपूर्ण हुन्छ । पैतृक सम्पत्तिको स्रोतबाट आएको सम्पत्तिमा प्रत्येक अंशियारहरूको समान हक लाग्छ । प्रत्यक्ष रूपमा बाबुको अंशहक रहने सम्पत्तिमा निजका छोराछोरीका लागि पनि स्वतः अंशहक निश्रित रहने हुन्छ । अंशबन्डा गर्दा अंशियारहरूबीच समान हुने किसिमबाट गर्नुपर्छ भन्ने अंशबन्डाको सिद्धान्त रहेको छ । यसै सन्दर्भमा सर्वोच्च अदालतको संयुक्त इजलासले एक अंशबन्डा मुद्दामा भनेको छ, ‘पुर्ख्यौली सम्पत्ति एउटा अंशियारले पाउने अर्को अंशियारले नपाउने भन्ने हुँदैन । जब पैतृक सम्पत्ति भन्नेमा विवाद देखिँदैन र सो सम्पत्ति बन्डा भएको छैन भने त्यसलाई अंशियारहरूबीच अंशबण्डा रहेको सम्पत्तिकै रूपमा लिनुपर्छ र त्यस्तो अंशबन्डाको सम्पत्ति सबै अंशियारहरूलाई बन्डा लाग्ने’ (ने.का.प. २०७६, अंक १, नि.नं १०१७१) ।

सगोलको सम्पत्ति अंशबन्डा प्रक्रिया

सगोलको सम्पत्ति अंशबन्डा गर्दा कानुनले निर्धारण गरेको प्रक्रियाअनुसार अंशियारहरूबीच लिखित रूपमा बन्डापत्र गर्नुपर्छ र उक्त अंशबन्डाको लिखत तयार गर्दा साक्षी राखी त्यस लिखतमा सबै अंशियारको सहीछाप गरी कानुनको रीत पुर्‍याई सम्बन्धित कार्यालयबाट पारित गराउनुपर्छ नत्र त्यो लिखतले कानुनी मान्यता पाउन सक्दैन । तथापि पैतृक सम्पत्तिको स्रोतबाटै आएको सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्लेख नभए पनि सबै अंशियारका बीचमा समान रूपमा बन्डा गर्नु नै न्यायपूर्ण हुन्छ भन्ने नजिर सिद्धान्त रहेको छ ।

अंशबन्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋणसमेत घटीबढी नहुने गरी बन्डा गर्नुपर्छ । व्यावहारिक रूपमा पनि अंशको अधिकार दाबी गर्नेले ऋण दायित्वमा उदासीन हुन नमिल्ने हुन्छ । तर ऋण बन्डा गर्दा साहुको मञ्जुरी नलिई कुनै अंशियारले मात्र सगोलको ऋण तिर्ने जिम्मा रहने गरी अंशबन्डा गर्न मिल्दैन । तथापि कुनै अंशियारले सगोलको ऋण तिर्न जिम्मा दिएको भए तापनि साहुले मञ्जुर नगरे सबै अंशियारहरूलाई सगोलको ऋण बराबर भाग लाग्छ । अंशबन्डा गर्दा असल–कमसल मिलाई सबै अंशियारको मञ्जुरीबमोजिम गर्नुपर्छ । सबैको मञ्जुरी नभएको अवस्थामा गोला हाली बन्डा गर्न सकिने कानुनी व्यवस्था छ । त्यस्तै, अंशबन्डा गर्दा कुनै सम्पत्तिमा विवाद परेमा त्यस्तो विवाद समाप्त भएपछि अंशबन्डा गर्न सकिने तर त्यस्तो विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बन्डा गर्न सकिन्छ । कसैले पनि अंशबन्डा गर्नुपर्ने सम्पत्ति लुकाउन वा छिपाउन हुँदैन । यदि त्यस्तो गरेको अदालतबाट ठहरे त्यसरी लुकाउने वा छिपाउनेले त्यस्तो सम्पत्ति लिन पाउने छैन । त्यस्तो सम्पत्ति अन्य अंशियारले अंश भाग लगाई लिन पाउने कानुनी व्यवस्था छ । तर, कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंशवापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्छन् । तर यसरी अंश छोडपत्र गर्दा कुनै अंशियारका पति, पत्नि वा उमेर पुगेका छोराछोरी भएमा त्यस्ता पति, पत्नी वा छोराछोरीको मञ्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सकिन्छ । तथापि नाबालक अंशियारका हकमा अंश छोडपत्र गर्न कानुनले वर्जित गरेको छ । अंशबन्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबन्डा गर्नुपर्नेछ । नेपालको सर्वोच्च अदालतमा पुनरावेदन परेको एक अंशबन्डा मुद्दामा ‘अंश जस्तो नैसर्गिक अधिकारका विषयमा वादीले दाबी गरेको अवस्थामा कायम रहेको अंशियारको संख्या पछि फैसला हुँदाको अवस्थामा घटी वा बढी हुन गएमा प्रमाणका आधारमा अंशियारहरूको वास्तविक संख्याबमोजिम निर्णय दिनुपर्ने विशेष अवस्था हुन जाने’ भनी नजिर सिद्धान्त निर्माण भएको छ ।

अंश/हक लिई भिन्न हुन चाहने व्यक्तिले के गर्ने ?

कुनै अंशियारले आफ्नो अंश/भाग छुट्याई भिन्न हुन चाहेमा अन्य अंशियारसँग आफ्नो मानो छुट्टिएको मिति उल्लेख गरी आफ्नो र थाहा पाएसम्म अन्य अंशियारका नाममा रहे/भएको अंशबन्डा हुने सम्पत्ति र ऋण धनको विवरण खुलाई कानुनी उपचार खोज्नुपर्छ । अदालतमा नालिस दिँदा कानुनले तोकेको हदम्यादभित्र दिनुपर्छ । नत्र नालिस लाग्दैन किनभने आफ्नो हक अधिकार समयमै नखोजी सुतेर बस्ने र विलम्ब गरी अदालत जाने व्यक्तिलाई अदालतले न्याय गर्न सक्दैन । त्यस्तै, कानुनको म्याद नघाई जहिलेसुकै अदालतमा नालिस उजुर गर्न दिने हो भने विवादको कहिल्यै अन्त्य नभई अनिश्चितता उत्पन्न हुन्छ ।

तसर्थ, मुलुकी देवानी संहिता, २०७४ को दफा २३५ ले अंशबन्डासम्बन्धी काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले निम्न अवस्थामा निम्न समयभित्र नालिस गर्नुपर्ने व्यवस्था गरेको छ :

  • अंशबन्डा नै नभएको वा अंशबन्डा हुँदा गोश्वारको लिखत भएको र लिखत नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकोमा जहिलेसुकै नालिस लाग्छ ।
  • अंशबन्डामा चित्त नबुझेमा त्यस्तो बन्डा भएको मितिले तीन महिनाभित्र नालिस दिइसक्नुपर्छ ।
  • सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म नालिस दिन सकिनेछ ।
  • यी माथि उल्लिखित अवस्थाबाहेक अन्य अवस्थामा त्यस्तो कामकारबाही भए/गरेको मितिले छ महिनाभित्र नालिस दिनुपर्छ ।

मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १० मा अंशबन्डासम्बन्धी गरेको व्यवस्था :

  • कानुनतः अंशियार भन्नाले एकाघरका पति, पत्नी, बाबु, आमा वा छोरा, छोरी अंशियार मानिनेछन् ।
  • अंशियारबीच आपसी सहमति भएमा निजहरू जहिलेसुकै अंश लिई भिन्न हुन सक्नेछन् ।
  • पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंशबन्डा गरी अलग–अलग बस्न उपयुक्त लागेमा जहिलेसुकै अंशबन्डा गरी छुट्टिई भिन्न हुन सक्नेछन् ।
  • गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुका लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउनेछन् ।
  • कानुनबमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मिएका छोराछोरीले त्यस्ता बाबुआमाबाट अंश पाउनेछन् ।
  • बाबुको पहिचान नभएका छोराछोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन् । त्यस्तै, प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोराछोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैनन् ।
  • सगोलमा बसेका दाजुभाइका छोराछोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन् ।
  • अंश नहुँदै पति वा बाबु, आमाको मृत्यु भएमा निजले पाउने अंश निजका पत्नी वा छोराछोरीेले पाउनेछन् ।
  • कुनै व्यक्तिका एकभन्दा बढी पत्नी भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् ।
  • पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउनेछन् । त्यस्तै, पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश छुट्याई आफूले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनु पर्नेछ ।
  • पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा पति वा पत्नीले कुनै अवस्थामा जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्छन् ।
  • पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा कुनै अवस्थामा जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्छन् ।
  • विधवाले जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछन् । तर विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्ती विधवाका अघिल्ला पतितर्फ छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैले लिन पाउनेछ ।
  • घरको मुख्य भई काम गर्ने व्यक्तिले सगोलको सम्पत्ति अंशबन्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई मात्र दिन पाउने छैन ।
  • कुनै अंशियारको अंश भागमा परेको कुनै सम्पत्ति कानुनबमोजिम अंशियारको हक नपुग्ने भई निजले भोग गर्न नपाएमा त्यस बराबरको सम्पत्ति सबै अंशियारबाट समानुपातिक हिसाबमा शोधभर्ना गर्नुपर्नेछ ।
  • अंशियारहरूबीच आपसी सहमति भएकोमा बाहेक कुनै अंशियारले अंशबन्डाबाट प्राप्त गरेको कुनै सम्पत्ति अंशबन्डा भएपछि बिग्रे/नासेको वा मन नपरेका कारण देखाई अन्य अंशियारसँग सट्टापट्टा गर्न पाउने छैन ।
  • अंशबन्डा गर्दा कुनै अंशियारका भागमा परेको घर वा जग्गामा आउनजानका लागि बाटो वा निकास नहुने भएमा र अन्य अंशियारको जग्गाबाट निजलाई बाटो वा निकास दिन मिल्ने भएमा सम्बन्धित अंशियारले त्यस्तो घर वा जग्गामा बाटो वा निकास दिनुपर्ने गरी बन्डा गर्नुपर्छ ।

 Image