Successfully Copied

स्मार्ट चिकित्सक जोडी

कहिलेकाहीँ त म चौबीसै घण्टा काममा खटिइरहेको हुन्छु । खाने, हिँड्ने, घर आउने–जाने कुनै टुंगो हुँदैन । ६ महिने सानी छोरीलाई हप्तौं भेट्न पाउँदिन र पनि मेरी श्रीमती मसँग कहिल्यै कुनै गुनासो गर्दिनन् ।’ यो भनाइ हो डाक्टर वीरेन्द्र यादवको । युवा उमेरमै

कहिलेकाहीँ त म चौबीसै घण्टा काममा खटिइरहेको हुन्छु । खाने, हिँड्ने, घर आउने–जाने कुनै टुंगो हुँदैन । ६ महिने सानी छोरीलाई हप्तौं भेट्न पाउँदिन र पनि मेरी श्रीमती मसँग कहिल्यै कुनै गुनासो गर्दिनन् ।’ यो भनाइ हो डाक्टर वीरेन्द्र यादवको । युवा उमेरमै गहन जिम्मेवार पदमा पुग्न सफल क्यान्सर रोग विशेषज्ञ उनी सही दाम्पत्यले जीवन मात्र होइन करियर र पेसा–व्यवसायलाई नै सही मार्गमा लैजाने बताउँछन् । उनी भन्छन्, ‘श्रीमतीको साथ, सहयोग र सही समयमा पाइने स्मार्ट डिसिजनयुक्त सुझावका कारण आज म यहाँ छु ।’

चण्डीगढ पञ्जाबबाट अंकोलोजीमा एमडी गरेका ३४ वर्षीय डा. वीरेन्द्र अहिले दक्षिण एसियाकै भौतिक पूर्वाधार र पछिल्लो नवीन प्रविधिले सुविधासम्पन्न झापास्थित बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर हुन् । उनकी श्रीमती डा. अर्चना यादव जेनेरल फिजिसियन । यी दुईबीच अचम्मको कम्बिनेसन छ । डा. वीरेन्द्र निकै फरासिला छन् भने अर्चना भद्र र शालीन । डा. वीरेन्द्र जोकोहीसँग छिट्टै घुलमिल भइहाल्छन् ।

यी दुईको चिनजान सामाजिक सञ्जालमार्फत भएको हो, जतिबेला डा.वीरेन्द्र भारतबाट एमडी सिध्याएर नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा कार्यरत थिए । डा.अर्चना भने काठमाडौंको चाबहिलस्थित मेडिकेयर अस्पतालमा काम गर्थिन् । दुवैले चिनेका एकजना आफन्तले ‘तिमीहरू दुवैजना मधेसी मूलका, डाक्टर पढेका, दुवैको पारिवारिक स्टाटस पनि मिल्ने भएकाले कुरा गर’ भनेपछि फेसबुकमार्फत कुराकानी सुरु गरेको अर्चना बताउँछिन् । उनी भन्छिन्, ‘त्यसरी सामाजिक सञ्जालमा मात्रै कुरा गरिरहँदा त्यति भर लागेन र प्रत्यक्ष भेट्ने कुरा भयो । उहाँ नेपाल आउनु भयो ।’

अहिले पनि डा.अर्चनालाई याद छ उनीहरूको पहिलो भेट नयाँ बानेश्वरको एउटा क्याफेमा भएको थियो । त्यो क्षण सम्झदा आज पनि उनी रोमाञ्चित हुन्छिन् । भन्छिन्, ‘त्यो पल म शब्दमा व्यक्त गर्न सक्दिन । पहिलो पटक भेट्दा नै पुरानो साथी भेटेको जस्तो अनुभूति भएको थियो । असाध्यै सजिलो र आत्मीय लागेको थियो ।’ जात, धर्म, संस्कार र समान पारिवारिक हैसियतका कारण पनि यत्तिको मान्छेलाई जीवनसाथी बनाउँदा सहज हुन्छ भन्ने लागेरै अर्चनासँग विवाहको निष्कर्षमा पुगेको डा. वीरेन्द्र बताउँछन् । विवाहपछि दुवैको व्यक्तिगत करियरले अझ गति लिएको उनीहरूको ठम्याइ छ । दुवै एकै स्वरमा भन्छन्, ‘विवाहपछि, जीवनको अर्को अध्याय सुरु भएको महसुस गर्दैछौं । दुःख–सुखमा साथ दिने कोही छ भन्ने भरोसा जागेको छ । त्यही भरोसाले आँट र साहस थपेको छ । यी सबै कारणले करियरको उचाइमा थप इँटा थपिँदै गएको छ । हामी दुवै चिकित्सा पेसामा भएकाले समय व्यवस्थापन दुवैका लागि मुख्य चुनौती हो, आपसी समझदारीमा तालमेल मिलाइरहेका छौं ।’ यी दुवैलाई धुलिखेलमा बिताएको ‘प्रि–वेडिङ फोटोसुट सेरेमोनी’ जीवनकै रमाइलो र स्मरणीय छ ।

डा. वीरेन्द्रका अनुसार दाम्पत्य जीवनलाई बलियो बनाउन आपसमा इगो नभई विश्वास हुनुपर्छ । आपसी समझदारी र एकले अर्काको भावना बुझ्दै त्यसको कदर गर्न सकियो भने वैवाहिक जीवन सुमधुर बन्छ । डा.अर्चनालाई एकापसमा गरिने सम्मान र समझदारीले श्रीमान्–श्रीमतीलाई अझ गहिरो प्रेममा पार्छ भन्ने लाग्छ । डा.अर्चनाको जिद्दीपन सुधार्न सके अझ राम्रो हुने थियो भन्दै डा.वीरेन्द्र भन्छन्, ‘मानिस सर्वगुण सम्पन्न हुँदैनन्, समयसँगै आफूलाई परिमार्जित गर्दै लैजाने हो । डा.अर्चनाले आफूमा भएको जिद्दीपन सुधारिदिए सुनमा सुगन्ध हुने थियो ।’ जे कुरामा पनि हुन्न भन्न नसक्ने डा.वीरेन्द्रको बानी देखेर अर्चनालाई अचम्म लाग्छ । उनी भन्छिन्, ‘यही कारण, कोही बिरामी छ भनेर राति १२ बजे फोन आए पनि उहाँ दौडिनुहुन्छ । सहयोगका लागि कहीँ– कतै पछि हटेको पाएकी छैन । तर समय सधै एकनास हुँदैन ।’

अस्पताल व्यवस्थापनको नेतृत्व सम्हालेका डा. वीरेन्द्रले लिने महत्वपूर्ण निर्णयहरूमा श्रीमतीको सल्लाह–सुझावले विशेष भूमिका खेल्ने गरेको छ । उनी भन्छन्, ‘यो अस्पताललाई निजी क्षेत्रको सबैभन्दा उत्तम र पछिल्लो प्रविधियुक्त बनाउनुमा उनको पनि देन छ ।’ मेडिकल अधिकृत डा.अर्चना भने महिलाले चाहे पढाइमा होस् वा करियरमा प्रगति गर्नमा श्रीमान् र परिवारको साथ र सहयोग आवश्यक हुने राय व्यक्त गर्छिन् । ‘अहिले पनि मेरी सासूले मलाई पढ्नुपर्छ, काम गर्नुपर्छ भनेर आफैं खाना पकाएर ख्वाउनुहुन्छ, श्रीमान्ले भ्याएका बेला सबै काम आफै गरिदिनुहुन्छ, मेरो करियरप्रति उहाँ गम्भीर हुनुहुन्छ । परिवारको साथ छ र त म आफ्नो करियरलाई निर्धक्क अगाडि बढाउन सकेकी छु’ उनी भन्छिन्, ‘श्रीमान्–श्रीमती एउटा

रथका दुई पाङ्ग्रा हुन् भने परिवारका अन्य सदस्य रथका लागि चाहिने आवश्यक पाटपुर्जा हुन् जसको सहायतामा रथ गुड्न सफल हुन्छ ।’

डा. अर्चनाका बारेमा डा. वीरेन्द्र

- म जतिसुकै व्यस्त भए पनि नरिसाउने ।

- परिवारलाई समय दिन नभ्याए पनि कचकच नगर्ने र नझर्किने ।

- मेरो खानपिनमा अत्यन्तै केयर गर्ने, मेरो स्वास्थ्यको ख्याल गरिदिने ।

- म र मेरो कामलाई बुझिदिने ।

डा. वीरेन्द्रका बारेमा डा. अर्चना

- अत्यन्तै सेवाभाव भएको मान्छे ।

- एउटा असल मानव, असल छोरा, असल श्रीमान्, असल बुवा र इमान्दार डाक्टर ।

- भित्र जतिसुकै तनाव भए पनि हाँसिरहने, हँसमुख र मिजासिलो स्वभाव ।

- सबैसँग छिट्टै घुलमिल भइहाल्ने ।

 Image