Successfully Copied

रात त मेरो पनि हो

केहीबेरअघि मात्र बिरामी छोरालाई औषधि खुवाइवरी थुम्थुम्याई सुताएपछि थकित भएकी अम्बिका आफू भर्खर–भर्खर निदाउन लागेकी मात्र के थिइन्, श्रीमान्को कर्कशपूर्ण डाँकोले बिउँझिइन् । उनी आत्तिँदै हत्तपत्त ओछ्यानबाट उठिन् र निदाएका छोराको अनुहार हेर्दे दैलो खोलिदिइन् ।‘श्रीमान् थाकेर आउला, उसलाई खान दिनुपर्ला भन्ने सोच्नु

माया ठकुरी

आधी रात बितिसकेको थियो ।

एक्कासि ढोकामा जोडसँग लात्ती बजार्दा हरिहरले ठूलो स्वरमा भने, ‘ए राँड, ढोका खोल्छेस् कि भत्काइदिऊँ, यो ढोकासोका । कस्ती अलच्छिनी आइमाई रहिछ जहिले पनि सम्साँझै ढोका बन्द गरेर सुत्न लाज नभएकी नकचरी ।

केहीबेरअघि मात्र बिरामी छोरालाई औषधि खुवाइवरी थुम्थुम्याई सुताएपछि थकित भएकी अम्बिका आफू भर्खर–भर्खर निदाउन लागेकी मात्र के थिइन्, श्रीमान्को कर्कशपूर्ण डाँकोले बिउँझिइन् । उनी आत्तिँदै हत्तपत्त ओछ्यानबाट उठिन् र निदाएका छोराको अनुहार हेर्दे दैलो खोलिदिइन् ।

‘श्रीमान् थाकेर आउला, उसलाई खान दिनुपर्ला भन्ने सोच्नु पर्दैन ? डंकिनी,

आफ्नो भुँडी भरेर सुत्न पाए भैगो । यस्तो चाला देखाइरहिस् भने ठीक हुने छैन, भनिदिएको छु । म त मर्दको जात, दसवटी ल्याउन सक्छु । तँ भनेको आइमाई होस्, एकचोटी बिटुलिएपछि भिजेको कागजझैं काम नलाग्ने’, रक्सीले मातेर धङ्धङिएको शरीर अघिपछि हल्लाउँदै हरिहरले भने ।

‘भात पस्किदिऊँ... ?’ दिनदिनै लोग्नेको कचकच सुन्ने बानी परिसकेकी अम्बिकाले श्रीमान्ले आफूलाई विनाकारण हप्काएको कुरालाई वास्ता नगरी सोधिन् । ‘किन... ? भोक के तँलाई मात्र लाग्छ ? हामीलाई लाग्दैन ? दिनदिनै सोध्छेस् भात पस्किऊँ कि नपस्किऊँ भनेर ? बढ्ता नबोल्, भनिदिया छु बढ्ता बोलिस् भने लात्ताले हानेर बङ्गारासमेत झारिदिउँला । गोडामा लाउने जुत्ता गोडामै सुहाउँछ । टाउकोमा होइन बुझिस्, कोठाभित्र पसेपछि मूढामा बस्दै जुत्ता खोलेर एकातिर हुर्‍याउँदै भने हरिहरले ।

‘होइन, आज पनि उतै खाएर आएको हो कि भने र सोधेकी...,’ मधुरो स्वरमा भनिन्–अम्बिकाले ।

‘ए... तँलाई सपनासँग आरिस लाग्यो मलाई कुरा सुनाएकी होइन ? सपनासँग तैंले आफूलाई दाँज्नु पर्दैन । ऊ भनेको अहिलेकी फेसनेबल युवती हो । उसको लवाइ–खवाइ, उसको बोलीचाली र उसले मानिसलाई रिझाउने तरिका सबै उम्दा छन्, उम्दा । ऊ तँजस्ती सधैभरि तेल–बेसारे गन्हाउने म्याक्सी लाएर बस्दिन । तेरो अनुहार हेर्‍यो भने सधैभरि झरी–बादल लाग्याजस्तो देखिन्छ । अनुहार नपरेकी डंकिनी ।’ लाइराखेको कोट फुकालेर ओछ्यानतिर हुत्याउँदै हरिहरले भने । उनले बाटोमा हात धुँदासम्म अम्बिकाले उनको छेउमा उभिएर पानी खन्याइदिइन् । त्यसपछि खाना तताइवरी श्रीमान्का अघि सानो टेबुलमा राखिदिइन् ।

‘ए आज पनि मासु पकाइनस् । तँलाई थाहा छैन, मासु नभए तेरो श्रीमान्को घाँटीबाट भात छिर्दैन भनेर ? कति सम्झाउनु हो तँलाई ? पाँच वर्ष भइसक्यो विवाह भएको, तर तेरो बुद्धि अझै पलाएन’ भातमा भएभरको दाल–तरकारी खन्याएर खाँदै भने हरिहरले ।

‘बाबु बिरामी भएको थियो, त्यही भएर बिहानै डाक्टरकहाँ पुर्‍याएर आउँदा ढिलो भयो । घर आएपछि पनि बाबुले एकछिन छोडेको होइन । साता दिन भइसक्यो । ग्राहकले भनेको बेलामा कपडा सिएर दिन नपाएको । घरमा पैसा पनि थिएन अनि मासु कहाँबाट ल्याउने ?’ मीठो स्वरमा भनिन्–अम्बिकाले ।

‘ए... अबचाहिँ तैले आफ्नो कमाइले घर चलाएकी छु भनेर मलाई ताना मार्न थालिस् होइन । खान्न जा तेरो भात तैं खा...’ अम्बिकाको कुरा सहनै नसकेर एकाएक उत्तेजित हुँदै भातको थाल हुत्याइदिए हरिहरले । त्यसपछि जेनतेन हात पखालेर झुल्दै ढोका खोलेर बाहिर गए । अम्बिका सदाझैं केही नबोलेर हृदयको वेग सम्हाल्दै भुइँभरि छिरलिएका खाना सोहोर्न लागिन् ।

‘ल, अब त्यो गन्हाउने म्याक्सी फेरेर आइज ओछ्यानमा । केही बेरपछि कोठामा पसेका हरिहरले आदेश दिएका थिए पत्नीलाई । यस्तो थियो अम्बिकाको जीवन । सात वर्षको उमेरमा हरिहरसँग विवाह गरेर आएपछि ठूलो पीडा खेपेकी थिइन् उनले । विवाह हुनुभन्दा अघि विवाहका बारेमा जुन प्रकारको सुन्दर सपना उनले देखेकी थिइन् त्यो सब उल्टो भएको थियो । हरिहरका लागि नारीको शरीर एउटा मनोरञ्जनको खेलौना मात्रै थियो । उनी त्यो खेलौनालाई आफ्नो इच्छाबमोजिम खेलाएर मात्र तृप्तिको अनुभव गर्दथे ।

साँच्चै भन्ने हो भने हरिहरसँगको अम्बिकाको वैवाहिक जीवन नारकीय बनेको थियो । पत्नीलाई जीवनसंगिनीको दर्जा दिन नचाहने हरिहरले कुरै पिच्छे ‘रात भनेको मेरो हो । मेलै जसो गर्न भन्छु, तैंले मान्नुपर्छ’ भनी धम्क्याएर अम्बिकाको देहलाई पशुको जस्तो व्यवहार गरेका थिए । एक रात उनले दैलोमा लात बजारी कोठाभित्र पसेपछि बिनाकारण अम्बिकासँग निहुँ खोज्दै उनलाई नभएको आरोप लगाए । आफूमाथि लगाएका आरोपको प्रतिवाद गरेकी अम्बिकाको कोमल शरीरमा लात्ती र मुड्की बजार्न पनि पछि परेनन् हरिहर ।

‘पख्, आज म तँलाई कसरी ठीक पार्दो रहेछु हेर्लिस्’, पत्नीलाई कुटेपछि बाहिरिएका थिए हरिहर । अब श्रीमान्ले आफूलाई कस्तो पीडा दिने हुन् भन्ने भयले त्रसित अम्बिका आँखाबाट अविरल आँसुका धारा बगाउँदै छोराको छेउमा पल्टेकी थिइन् ।

‘ए तँ यहाँ आएर आराम गरिरहेकी छस् उठ् खुरुक्क हिँड् ओछ्यानमा । चूप लागेर हिँड्छेस् कि दिऊँ फेरि लात्...’ केही बेरपछि कोठाभित्र पसेका हरिहरले पत्नीका सामुमा गएर कर्कश स्वरमा भने ।

‘म आज यहीँ सुत्छु,’ करुण स्वरमा भनिन्–अम्बिकाले ।

‘के अरे ? के भनिस् ? श्रीमान्ले भनेको कुरो नमान्ने तेरो कत्रो हिम्मत ? तँलाई त कुटाइ पुगेको छैन जस्तो छ’ हरिहरले एकाएक अम्बिकाको चुल्ठोमा समातेर घिसार्दै भने । कोठामा भएको हल्लाले बालक ब्युँझिएर रुन थाल्यो । अम्बिकाले श्रीमान्को हातबाट आफ्नो केश छुटाउने प्रयास गरिन् । तर हरिहरले अझ जोडसँग अम्बिकालाई घिसार्न थाले । अचानक अम्बिकाले श्रीमान्को तिघ्रामा जोडसँग टोकिदिइन् । ‘ऐया... ’ भन्दै हरिहरले अम्बिकाको चुल्ठो छोडिदिए । अम्बिकाले रोइरहेको छोरालाई उठाएर काखमा राखी फुल्याउन थालिन् ।

आफू पराजित भएजस्तो ठानेर हरिहरले दाहिने हातको मुड्की उचाल्दै पत्नीलाई आक्रमण गर्न तयार भए । तर अचानक हरिहरलाई के भयो कुन्नि उनी धुर्मुराउँदै भुइँमा ढले । हरिहर भुइँमा ढलेपछि अम्बिकाले उठाउने प्रयास गरिन् तर सकिनन् ।् अम्बिकाले त्यसपछि छिमेकीसँग हारगुहार गरेर श्रीमान्लाई अस्पताल पुर्‍याइन् । अस्पतालमा डाक्टरहरूले परीक्षण गरेपछि उनलाई पक्षघात भएको थाहा भयो । उनी देख्न सक्थे, सुन्न सक्थे तर शरीर चलाउन सक्दैनथे । लगभग दुई महिनासम्म हरिहरलाई अस्पतालमै राखी उपचार गरियो, तर उनमा कुनै प्रकारको सुधार आएन । हरिहर अस्पतालमा रहँदासम्म अम्बिकाले उनको सेवामा कुनै प्रकारको कमी हुन दिइनन् । त्यसरी श्रीमान्को सेवामा दिन–रात खटेको देखेर आफन्तहरूले यमराजसँग पनि जुध्न सक्ने सावित्रीको संज्ञा दिँदै उनको प्रंशसा गर्न थाले ।

दुई महिना अस्पतालमा राखेपछि हरिहरलाई जुन दिन घरमा ल्याइयो, त्यो रातको घटना हो ।

त्यो रात अम्बिकाले चामल, दाल, तरकारी सबै एकै ठाउँमा मिसाएर जाउलो पकाइन्, आफूले खाइन् र छोरा र हरिहरलाई पनि खुवाइन् । त्यसपछि तोरीको तेलमा मेथी र लसुन फुराएर आफ्ना हातगोडामा घसिन्, अनि तेल राखेको दिउरी लिएर श्रीमान्को ओछ्यानमा गइन् । उनले दिउरीबाट आफ्नो हत्केलामा तेल खन्याइन् र हरिहरको अनुहारभरि घसिदिइन् । दिउरीमा रहेको बाँकी तेल उनको कपालमा पनि घसिदिइन् । ‘तपाईंलाई मेथी र लसुनको गन्ध मन पर्दैन ?’ मुस्कुराउँदै भनिन्–अम्बिकाले । ‘ए साँच्चै, मैले त म्याक्सी फेर्न बिर्सिएँछु, खोइ यो म्याक्सीमा त बेसारको दाग पनि छैन, तेलको टाटो पनि छैन । अलिकति बेसार र तेलको दाग राखेर आउँछु है ।’ अम्बिका तत्काल त्यहाँबाट उठिन् र आफूले लगाएको म्याक्सीमा जताततै तेल र बेसारको दाग लगाएर आइन् । ‘तपाईंलाई मेरो मुखबाट आउने लसुनको गन्ध पनि मन पर्दैन भनेको होइन ? तर मलाई लसुन असाध्यै मनपर्छ । खाऊँ है भन्दै अम्बिकाले एक पोटी लसुन मुखमा राखिन् ।

लसुन करम–करम चपाएपछि हरिहरको नाकनेर आफ्नो मुख लगेर हाँ गर्दै सास छाडेर उनले भनिन्–‘सुँघ्नुहोस् त कस्तो राम्रो वासना आएको छ... अम्बिकाले गरिरहेको असामान्य क्रियाकलापले गर्दा हरिहरको दृष्टिमा बिस्तारै विस्मयको भाव प्रकट हुन थाल्यो । ‘विवाहपछि आज पहिलो पटक म तपाईंसँग गाला जोडेर सुत्न चाहन्छु । सुतूँ है...’ श्रीमान्को अश्रुपूर्ण आँखातिर दृष्टि पुर्‍याउँदै अम्बिकाले भनिन् । र, नभन्दै साँच्चै नै हरिहरको अनुहारमा सुस्त–सुस्त आफ्नो अनुहारले स्पर्श गर्दै उनले भनिन्–‘रात त मेरो पनि हो ।’

 Image