सारसको वात्सल्य प्रेम

मनोज पौडेल

माघ ६, २०७७ बचेराका चिरबिर–चिरबिर बोली । कोकिलकण्ठे बोलीले सबै मन्त्रमुग्ध हुन्छन् । लठ्ठ पर्छन् । सानो बचेरा छेउ अग्लो सारस देख्दा सबै रमाउँछन् । मन फुरुङ्ग बनाउँछन् । रोमाञ्चित हुन्छन् । विश्वमै दुर्लभ मानिएको सारसको मनमोहक गतिविधि बुद्ध जन्मस्थल लुम्बिनी र राजप्रासाद रहेको कपिलवस्तुको तिलौराकोट आसपास अहिले हेर्न पाइन्छ । माउ बचेराको वात्सल्य प्रेम देखेर यहाँ आउनेहरू मोहित हुन्छन् ।

कपिलवस्तुको तिलौराकोट, रामनगर, रमतहला, बासखोर, गोटिहवा, जहदी र सिहोखोर गाउँ आसपास सारसको यस्तै चहलपहल देख्न पाइन्छ । त्यस्तै लुम्बिनीको विश्वशान्ति स्तूप, पर्सा बजार, खुनगाई, शिवगढिया, भगवान्पुर र भियतनाम विहार छेउ सारस बचेरा हुर्काउन व्यस्त छन् ।

माउले बचेरालाई धाप, पोखरी, ताल र सिमसार क्षेत्रबाट कीरा फट्यांग्रा, गड्यौला र माछा समात्दै ख्वाइरहेका हुन्छन् । बचेराले सकी नसकी खान्छन् । खान सिकाउँदैछन् । दिनभरि बचेराकै हेरचाहमा व्यस्त हुन्छन् । रातमा सुरक्षित बस्छन् । सुरक्षामा उत्तिकै चनाखो हुन्छन् ।

बचेरा ४/५ महिनाका भइसके । पहिलो उडान गर्न तयार भइसके । दुई–चार सातामा उडाएर लिएर जान्छन् । चारैतिर पानी जमेको ठाउँको बीचमा झारपात र घाँस राखेर अग्लो बनाएर अण्डा पारेको स्थान आसपास बच्चा स्याहार गरिरहेका छन् ।

दुर्लभ पंक्षी सारसको रोमान्टिक नेस्टिङ देख्नेहरू सबै मोहित हुन्छन् । उनीहरूको दुर्लभ चहलपहल देख्दा सबै आनन्दित बन्छन् । सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो अग्लो चरा आफैमा चित्ताकर्षक देखिन्छ । संसारकै ठूलो चरामा गणना हुने यो उड्न सक्नेमध्ये सबैभन्दा अग्लो पंछी हो ।

‘लुम्बिनी तिलौराकोट आसपास एकै ठाउँमा धेरै सारसले बच्चा हुर्काउनु राम्रो हो,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘यसले त्यस क्षेत्रको जैविक विविधता चरामैत्री देखाउँछ ।’ ओथारो बसेको ३१ देखि ३५ दिनभित्र बच्चा जन्माउँछ । बच्चा जन्मेको दुई–चार दिनमा सारसले सुरक्षा सतर्कता अपनाउँदै ओथारो बसेको ठाउँ छाड्छ ।

बचेरा हुर्काउन गरेको संघर्ष, वात्सल्य प्रेम र ममताले उस्तै आल्हादित बनाइरहेको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले बताए । ‘त्यही भएर आफू दैनिकजसो माउ–बचेराको अद्वितीय प्रेम हेर्न जान्छु,’ उनले भने, ‘त्यहाँबाट पाउने मातृत्व, प्रेरणा र मैत्रीको जति बखान गरे पनि कम हुन्छ ।’ अग्लो र चित्ताकर्षक चरा हुँदा ओथारो बसेको र बच्चा हुर्काएको हेर्न पाउँदा आनन्दको अनुभूति हुने चराविद् दिनेश गिरीले बताए ।

तस्बिरहरू : मनोज पौडेल

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>