Successfully Copied

जाडोका उपयोगी खानेकुरा

जाडो मौसममा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । खानपानले नै शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । शरीरको भित्री तापक्रम बढाउन बढी क्यालोरीयुक्त खाना आवश्यक पर्छ ।

मोदनाथ पौडेल, डाइटिसियन

जाडो मौसममा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । खानपानले नै शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । शरीरको भित्री तापक्रम बढाउन बढी क्यालोरीयुक्त खाना आवश्यक पर्छ । जाडोमा निम्न खाद्यवस्तु खानुपर्छ :–

मह

महमा एन्टी माइक्रोबियल तत्व हुन्छ । यसले कीटाणुको प्रवेश नष्ट गर्छ । महले पाचन प्रक्रियामा सुधार गरी रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ । राति सुत्ने समयमा दूधसँग महको सेवन गर्न सकिन्छ । यसैगरी, जाडो मौसममा धेरैले तातोपानी, कागती र मह (हट लेमन विथ हनी) सेवन गर्छन्, जुन स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

भिटामिनयुक्त खाना

अमला भिटामिनको राम्रो स्रोत हो । यतिबेला कागती पानी, सुन्तला, मौसम, जुनार सेवन गर्नुपर्छ । यस्ता फलफूलले चिसो मौसममा देखापर्ने समस्याबाट जोगाई शरीरमा फुर्ती बढाउँछन् ।

अदुवा

अदुवाले रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरलाई न्यानो राख्छ । जाडोमा कब्जियतको समस्या बढी देखापर्ने भएकाले अदुवाको पर्याप्त सेवन गरे पाचन प्रक्रियामा सहयोग पुग्छ । त्यसैले यो मौसममा हाम्रो भोजनमा अदुवा अनिवार्य गरेमा उपयुक्त हुन्छ ।

दही–मोहीको साटो दूधको सेवन गर्ने, ग्रिन टी, मरिच पानी, तुलसी पानीको सेवनले एन्टिअक्सिडेन्ट प्रदान गर्नुका साथै शरीरलाई न्यानो प्रदान गर्दछ ।

तुलसी चिया तथा तुलसी पानी

सजिलै पाइले तुलसीमा भिटामिन ‘सी’, भिटामीन ‘ए’ तथा आइरनलगायतका विभिन्न पौष्टिक तत्व पाइन्छन् । बिहान–बेलुका दैनिक रूपमा यसको सेवन गर्दा राम्रो हुन्छ । रुघाखोकी एवं पिनास हुनबाट रोक्नुका साथै श्वासप्रश्वासमा देखा पर्ने समस्यालाई समेत कम गर्छ । यसको सेवनबाट शरीरको तापक्रम बढ्न गई न्यानो प्राप्त हुन्छ ।

कोदो र कागुनोको सुप

आधा लिटर पानीमा करिब दुई चम्चा जति कोदोको पिठो घोलेर बिहानको समयमा पिउँदा शरीरमा न्यानोपन प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुँदा यसको कमीले देखापर्ने एनिमिया र अन्य रोग समेत लाग्न दिँदैन ।

कागुनो नेपालको पश्चिम अन्नपूर्णलगायतका क्षेत्रमा खेती हुने एक अन्नबाली हो । यसमा बढी मात्रामा म्याग्नेसियम पाइन्छ । यो शरीरका लागि आवश्यक तत्व हो । कागुनोको रोटी, सुप प्रयोगले गर्मी प्रदान गर्नुका साथै बुढ्यौलीपनबाट पनि बचाउँछ ।

चिकेन सुप

मासुले शरीरमा शक्ति प्रदान मात्र नगरी यसमा भएको भिटामिनले रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरीरको मासंपेशी दरो बनाई ऊर्जा प्रदान गर्छ । बढ्दो मुटुरोगी, उच्च रक्तचापका बिरामीका लागि पनि स्वास्थ्यको हिसाबले खसीभन्दा कुखुराको मासु सेवन गर्नु उपयुक्त हुन्छ ।

माछा, ओखर

जाडोमा माछा, ओखर, झिंगे माछा, आलमण्डको सेवन उपयोगी मानिन्छ । यिनीहरूमा पाइने ओमेगा ३ र फ्याटी एसिड मुटु एवं मधुमेहका रोगीलाई समेत जरुरी हुन्छ । माछामा पाइले जिंकले जाडो मौसममा लाग्न सक्ने रोगबाट बचाउँछ । जाडोमा घाममा बसेर बदाम खाने गरिन्छ । यसले शरीरमा न्यानो प्रदान गर्छ । बदाम र सख्खर मिश्रित मिठाईंको सेवन जाडोमा फाइदाजनक हुन्छ ।

दूध र अण्डा

दूधमा पाइने भिटामिन ‘डी’ ले जाडोमा लाग्ने विभिन्न संक्रमणबाट जोगाउँछ । अण्डामा पाइने एमिनो एसिड र भिटामिनले शरीरलाई न्यानो प्रदान गर्छ । यसमा पाइने म्याग्नेसियमले जाडोमा देखापर्न सक्ने एक्लोपन, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । अण्डाबाट पोटासियम सूक्ष्म तत्वको परिपूर्ति हुने भएकाले शरीरले सधै न्यानोपन महसुस गर्छ । कहिलेकाहीँ रगतमा पोषक तत्वको कमी हुँदा शरीरले बढी जाडोको महसुस गर्छ ।

तिल

तिलले शरीरमा ऊर्जा प्रदान गर्छ । कहिलेकाहीँ लामो समयसम्म रुघाखोकी लागेर छातीमा कफ जम्मा भएर बस्छ । यो लामो समयसम्म रहिरहे हानिकारक हुन्छ । यस्तो बेला तिल र सख्खरको दैनिक सेवन गरे कफ बाहिर निस्कन्छ ।

हरियो सागपात  

मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको प्रयोग पोषणका हिसाबले मात्र नभई जाडोमा न्यानो प्रदान गर्ने खानाका रूपमा लिन सकिन्छ । अदुवा, ज्वानो, टिम्मुर, मरिचको पेस्ट बनाई तातोपानीमा राखी सेवन गरेमा शरीरको तापक्रम सन्तुलित भई न्यानो महसुस हुन्छ ।

 Image