Successfully Copied

बहुप्रतिभाशाली चिकित्सक

डा. अनिल भन्छन्, ‘मेरो यो रुचि अहिले घर–समाज दुवैका लागि उचित रूपमा प्रयोग भएको छ ।’

धेरै पुरुष भान्सामा छिर्दैनन् । आफूलाई मन परेको परिकार बनाउन महिलालाई नै आग्रह गर्छन् । तर, मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भने आफैं भान्सामा पस्छन् । आफूलाई मन परेको परिकार आफैं बनाउँछन् र परिवारका सबैलाई खुवाउँछन् । उनी आफूलाई मात्र नभई छोरी वा श्रीमतीलाई मनपर्ने परिकार पनि बनाएर खुवाउँछन् । भान्सामा काम गर्दा उनलाई छुट्टै रमाइलो लाग्छ । उनी भन्छन्, ‘कहिलेकाहीँ भान्सामा काम गर्दा बेग्लै आनन्द आउँछ ।’ उनले खाना बनाउँदा घरको वातावरण पनि बेग्लै हुन्छ । छोरी वा श्रीमतीले उनलाई भान्सामा देख्दा निकै रमाउँछन् । उनले बनाएको खानाको प्रशंसा भएपछि उनी मख्ख पर्छन् । डा.अनिल भन्छन्, ‘म भान्सामा पस्दा आफू सँगै परिवारमा खुसी छाउँछ ।’

चिकित्सकको व्यस्त दैनिकीका बाबजुद पनि उनी भान्सामा रमाउँछन् । भान्सामा पुगेपछि दिनभरको तनाव कम हुन्छ । पुरुष भएर भान्सामा काम गर्न हुँदैन भन्ने मान्यता उनी राख्दैनन् । भान्सादेखि घरको काम महिलामा मात्रै सीमित हुन नहुने उनको धारणा छ । पुरुष र महिलाले मिलेर काम गरे परिवारमा खुसी छाउनुका साथै समानता कायम रहने उनी गर्वका साथ बताउँछन् । उनी भन्छन्, ‘घरको काममा पनि पुरुषले हात बढाउन सके पारिवारिक खुसी मिल्नुका साथै समानता कायम हुनसक्छ ।’

भान्सामा काम गर्नु, खाना बनाउनु उनको रुचि हो । उनले आफ्नो यो रुचिलाई परिवारलाई खुसी बनाउने र जनमानसमा चेतना फैलाउने उपायका रूपमा लिएका छन् । सामाजिक सञ्जालमार्फत उनी स्वस्थ खानाका लागि सन्देश दिने गरेका छन् । खाना बनाउँदा मसला, चिल्लो के कति प्रयोग गर्ने उनले सिकाइरहेका हुन्छन् । डा. अनिल भन्छन्, ‘मेरो यो रुचि अहिले घर–समाज दुवैका लागि उचित रूपमा प्रयोग भएको छ ।’ उनी सामाजिक सञ्जालमार्फत नै आममानसमा पुग्छन् । उनले खाना पकाउने तरिकादेखि हरेक रोगबारे जनचेतना फैलाइरहेका हुन्छन् । यसलाई समाजप्रति उत्तरदायित्व पूरा गरेको उनी ठान्छन् । उनलाई लाग्छ आफ्नो सन्देशले धेरैलाई फाइदा हुन्छ भने किन नगर्ने ? यसबाट उनलाई  समाजप्रतिको उत्तरदायित्व पूरा गरेको महसुस भइरहेको हुन्छ । चिकित्सक पेसा समाजप्रति उत्तरदायी हुने पेसा भएको उनी ठान्दछन् । त्यही कारणले पनि उनी सामाजिक सचेतना फैलाउन अग्रसर हुन्छन् । उनी धेरैका लागि लोकप्रिय चिकित्सक बनेका छन् । सामाजिक सञ्जालमार्फत नै उनी बिरामीको समस्या समाधान पनि गर्छन् ।

मुटु रोग विशेषज्ञ बन्न र समाजप्रति उतरदायित्व निर्वाह गर्नका लागि उनले थुप्रै बाधा–अवरोध पनि झेलेका छन् । कडा परिश्रम र कामप्रतिको लगावले आफू यो स्थानमा पुग्न सफल भएको बताउँछन् । महोत्तरीमा जन्मिएका उनी विद्यालयसम्मको पढाइ गाउँमै पूरा गरेका हुन् ।  त्यसपछि उनले आई.एस.सी. जनकपुरमा पढे । एमबीबीएस भने चितवनबाट पूरा गरे । सन् २००७ मा उनले महाराजगन्जस्थित त्रिवि चिकित्साशास्त्र संस्थानअन्तर्गत आइओएममा एमडीको पढाइ पूरा गरे । उनको रुचि कार्डियोलोजी (मुटु रोग विशेषज्ञ) थियो । उनको यो रहर पूरा गर्ने ठाउँ नेपालमा थिएन । नेपालमा कार्डियोलोजीको पढाइ नै हुँदैनथ्यो । एमडीपछि डिएम गर्न उनी भारत पुगे । कार्डियोलोजी विशेषज्ञ बनेर त्यहाँबाट फर्केपछि सन् २०११ मा महाराजगन्जस्थित शिक्षण अस्पतालमा बिरामीलाई सेवा दिन थाले ।

डा. अनिल चिकित्सकसँगै श्रीमान्, बुवा, छोरा सबैको भूमिका राम्ररी निर्वाह गरिरहेका छन् । तर, उनको पहिलो प्राथमिकता बिरामी नै हो । उनी भन्छन्, ‘कुनै पनि चिकित्सकका लागि बिरामी मानिस पहिलो प्राथमिकता हो ।’ कार्यव्यस्तताले परिवारमा समय दिन नसक्दा कहिलेकाहीँ उनीप्रति गुनासो भइरहन्छ । भन्छन्, ‘परिवारमा पर्याप्त समयको अभाव भइरहन्छ ।’ बिरामीको उपचारपछि उनी परिवार–समाजका लागि समय दिएर बिताउँछन् । सामाजिक सञ्जाल समाजमा पुग्नका लागि गतिलो माध्यम बनेको उनी बताउँछन् । उनका भिडियोमा थुप्रै लाइक कमेन्ट आउने गरेका छन् । यसले पनि उनलाई काम गर्नका लागि थप हौसला दिने गरेको छ । उनी भन्छन्, ‘भिडियोमा कमेन्टहरूले थप काम गर्न हौसला प्रदान गरिरहेको हुन्छ ।’

करिब ११ वर्षे कामको दौरानमा नेपालको स्वास्थ्य अवस्था निकै कमजोर रहेको अनुभव उनले गरेका छन् । त्यसमाथि पनि महिलाहरूको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको उनी बताउँछन् । महिलाहरू आफ्नो स्वास्थ्य समस्याबारे खुलेर बोल्न नसकेकै कारण धेरै समस्यामा परेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘महिलाहरू परिवारको स्वास्थ्यप्रति जति सचेत छन्, आफ्ना लागि भने त्यति सचेत हुन सकेका छैनन् ।’ महिलाहरू आफ्नो रोग लुकाएर बस्ने गरेको उनी बताउँछन् । महिलाका यस्ता समस्याले आफैं कमजोर हुँदै जाने उनको भनाइ छ । डा.अनिल भन्छन्, ‘महिलाहरू आफ्नो स्वास्थ्यका लागि आफै सचेत हुनुपर्छ ।’

 Image