Successfully Copied

अमेरिकी अर्थमन्त्री येलेन

‘सधै याद राख्नुस्, सफलताका लागि तपाईंको आफ्नै संकल्प कुनै अन्य संकल्पभन्दा बढी महत्व राख्छ’– यी भनाइ अमेरिकी पूर्वराष्ट्रपति अब्राह्म लिंकनका हुन् ।

‘सधै याद राख्नुस्, सफलताका लागि तपाईंको आफ्नै संकल्प कुनै अन्य संकल्पभन्दा बढी महत्व राख्छ’– यी भनाइ अमेरिकी पूर्वराष्ट्रपति अब्राह्म लिंकनका हुन् । हो, कुनै व्यक्तिलाई सफलताको शिखरमा पुग्ने अस्त्र उसको आफ्नै संकल्पको विकल्प छैन । सायद यसैलाई पछ्याएकी छन् अमेरिकी इतिहासमा प्रथम अर्थमन्त्री बन्न सफल जेनेट येलेनले । त्यसैले त उनले जीवनमा एक होइन, धेरै पटक इतिहास रचेकी छन् । पुरुषहरूको दबदबा रहेको समाजमा महिला भएर सफलताको मार्गमा अघि बढ्नु चानचुने कुरा होइन । भनिन्छ, ‘मरुभूमिमा फुल्ने फूलले प्रमाणित गर्छ कि परिस्थिति जतिसुकै प्रतिकूल भए पनि त्यसलाई आफूअनुकूल बनाउन सकिन्छ ।’ येलेनले आफ्नै अनुभव, लगन र बलबुतामा आफूअनुकूलको परिस्थिति बनाउँदै लगिन् र सफल पनि भइन् ।

चौहत्तर वर्षअघि अमेरिकाको न्यूयोर्कस्थित बुक्रलिनमा एक मध्यम वर्गीय यहुदी परिवारमा जन्मिएकी उनको पूरा नाम ‘जेनेट लुइज येलेन’ हो । उनी सानैदेखि मेधावी थिइन् । छोरीको अब्बल दर्जाको प्रतिभाबारे आमा अन्ना रुथलाई थाहा नहुने कुरै भएन । त्यसैले छोरीलाई स्याहार्नकै लागि उनले इलिमेन्ट्री हाई स्कुलको शिक्षण पेसा छाडिन् । बुवा जुलियस येलेन पेसाले चिकित्सक थिए । आफ्नै घरको भुइँतल्लामा उनको क्लिनिक थियो, त्यसैले उनी अति व्यस्त थिए । आमाबुवा दुवैको व्यस्त दिनचर्याका कारण येलेनको स्याहार राम्रोसँग हुन सकेको थिएन । छोरीलाई स्याहार गर्न आमाले जागिर छाडेको एसोसिएटेट प्रेस (एपी) को समाचारमा छ । हामीकहाँ पैसा र जागिरको पछि दौडदा पछिल्लो समय धेरै अभिभावकका सन्तानको बाल्यपन गुमेको र बालबालिकाहरू कुमार्गमा हिँडेका उदाहरण प्रशस्त भेटिन्छन् । मुलुकमा ‘किन्डरगार्डेन’ र ‘रिहाइबिटेसन सेन्टर’ को बढ्दो संख्या र त्यहाँ भर्ना गरिएकाहरूको भीडले त्यसको थोरबहुत पुष्टि गर्छ । येलेन भने अमेरिकामै भएर पनि यो मामिलामा भाग्यशाली छोरी हुन् ।

आज ती छोरी २३१ वर्षको अमेरिकी इतिहासमा प्रथम महिला बनेकी छन् । अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’ का अनुसार येलेन अमेरिकाको ७८ औं अर्थमन्त्री बनेकी छन् भने त्यहाँका ४६ औं राष्ट्रपति जो बाइडेनको मन्त्रिमण्डलमा तेस्रो वरीयतामा परेकी छन् । यति मात्रै होइन, अमेरिकी संघीय सरकारका तीन शक्तिशाली र प्रमुख आर्थिक निकायहरू–अर्थमन्त्रालय, केन्द्रिय बैंक (फेडरल रिजर्भ) र ह्वाइटहाउसमा आर्थिक सल्लाहकार परिषद्को नेतृत्व गर्नेमा पनि उनी प्रथम भएकी छन् । ‘ब्रिटानिका डटकम’ का अनुसार येलेन जुन–जुन पदमा पुगिन् ती सबैमा प्रथम महिला दर्ज भइन् । उनी आर्थिक क्षेत्रमा विशेषज्ञका रूपमा परिचित भइन् । उनी कुनै बेला सम्पादक भएकी थिइन् । ‘इन्भेस्टोपेडिया’ ले यसबारे लेखेको छ, ‘येलेन संयोगवश आफू पढ्ने ‘फोर्ट हेमिल्टोन हाईस्कुल’ ले प्रकाशन गर्ने पत्रिकामा सम्पादकसमेत बन्न भ्याइन् ।’ गजबको कुरा त के छ भने उनले स्कुल पढ्दाताका बनाएका नोटहरू अनौपचारिक पाठ्यपुस्तकका रूपमा समेत प्रयोग भइरहेका छन् ।

विद्यालय तहमै शैक्षिक उपलब्धि राम्रो हुनेलाई दिइने उपाधि ‘भ्यालेडिक्टोरियन’ समेत पाउन उनी सफल भइन् । त्यस्तै, ‘डिक्टिन्सन’ सहित शैक्षिक उपाधि प्राप्त गर्नेलाई लेटिन भाषामा दिइने सम्मान ‘सम्मा कम लाउडे’ र अति प्रतिष्ठित सम्मान ‘फी बिटा कम्पा’ पनि उनले प्राप्त गरिन् । उनी कक्षाबाहिर लज्जालु र शान्त भए पनि कक्षाभित्र भने सक्रिय थिइन् । आफ्नो प्रतिभा प्रस्फुटन हुने कुनै पनि मौका उनी गुम्नै दिन्नथिन् । येलेन ब्राउन र येल विश्वविद्यालयबाट स्नातक हुन् । उनीसँग हार्वर्र्ड, द लन्डन स्कुल अफ इकोनोमिक्स र क्यालिफोर्निया विश्वविद्यालयमा अर्थशास्त्र पढाएको अनुभव छ । सन् १९७१ मा येले विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गर्ने २४ जनामध्ये येलेन एक्ली महिला थिइन् । विश्वव्यापी वित्तीय संकटका कारण घट्दो रोजगारी र निरन्तर आर्थिक सुधारका चरणमा फेडरल रिजर्भको प्रमुखका रूपमा येलेनलाई सम्झिने गरिन्छ । उनी सन् २०१४–१८ सम्म अमेरिकाको केन्द्रिय बैंक ‘फेडरल रिजर्भ सिस्टम’ (द फेड) को गभनर्स परिषद्मा अध्यक्ष रहिन् ।

संचारमाध्यमहरूका अनुसार नवनियुक्त राष्ट्रपतिका आर्थिक नीतिहरूलाई सही आकार र दिशा प्रदान गर्ने कार्यमा निर्णायक भूमिका खेल्न सक्ने भनेर उनलाई अर्थमन्त्रीमा ल्याइएको हो । उनीमाथि २२ लाख २१ हजार ६ सय करोड रुपैयाँ (१ दशमलव ९ ट्रिलियन डलर) को अमेरिकी ‘रेस्क्यु प्लान’ को रेखदेख गर्ने, एक लाख ६० हजारको प्रोत्साहन चेक सर्वसाधारणसमक्ष पुर्‍याउने, बेरोजगारी घटाउने र कोभिड–१९ खोप कोषको निगरानी गर्ने दायित्व थपिएको छ । यसअघि उनी अमेरिकामा बेरोजगारी दर ६ दशमलव ७ प्रतिशतबाट घटाएर ४ दशमलव १ प्रतिशतसम्म ल्याउन सफल भइसकेकी छन् । त्यस्तै, सन् २०१५ मा प्रमुख ब्याजदरमा वृद्धि गर्न उनी सफल भएकी थिइन् । येलेन फेडरल रिजर्भको अध्यक्ष छँदा १६ डिसेम्बर २०१५ मा ब्याजदर (रेपो रेट) मा वृद्धि गरेकी थिइन् । उनको ब्याजदरमा वृद्धि गर्ने उक्त निर्णय सन् २००६ पछिको पहिलो थियो । श्रम बजारको दृष्टिकोणले महत्वपूर्ण मानिएको फेडरल रिजर्भ सिस्टममा सबैभन्दा लामो समय अध्यक्ष भएर काम गर्ने भाग्यशाली महिला पनि हुन् । उनको कार्यकालमा बेरोजगारी दर ६.७ प्रतिशतबाट घटेर ४.१ प्रतिशत अर्थात् २.६ प्रतिशत घटेको थियो । पछिल्लो समय अमेरिकी अर्थतन्त्र जर्जर अवस्थामा छ । यसको प्रभावलाई न्यून गर्न बाइडेनले १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेज अघि सारेकाले येलेनको भूमिका झनै महत्वपूर्ण हुनेछ ।

अमेरिकी सिनेटको सुनुवाइका क्रममा गत २५ जनवरीमा सिनेटमा येलेनको समर्थनमा ८४ र विपक्षमा १५ मत परेको थियो । सिनेटमा सत्ताधारी डेमोक्रेटिक पार्टी र प्रतिपक्ष रिपब्लिकन पार्टीका ५०–५० सदस्य छन् । डेमोक्रेटिक पार्टीका सदस्य येलेनले कडा प्रतिस्पर्धात्मक दुई दलीय मतदानमा रिपब्लिकनको ३४ मत पाउन सफल मात्रै भएकी छैनन्, तीमध्ये धेरैले उनीसँग काम गर्ने वाचासमेत गरेका छन् । यो उनका लागि सकारात्मक पक्ष हुनसक्छ । सिनेटमा बहुमतका नेता चक सुमरले भनेका छन्, ‘येलेनको मनोनयनलाई दुई दलले समर्थन गर्नु भनेको उनको अनुभवलाई स्वीकार प्रदान गर्नु हो । साथै हाम्रो यो समयको आर्थिक चुनौतीहरूको व्यवस्थापन गर्नका लागि उनको योग्यताको विकल्प नरहेको पुष्टि गर्नु हो ।’ यसअघि पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उनलाई फेडको सदस्यका रूपमा नियुक्त गरेका थिए । त्यसताका सिनेट बैंकिङ कमिटीले येलेनलाई एकविरुद्ध १८ मतले अनुमोदन गरेको थियो । नर्थ क्यारोलिनाबाट रिपब्लिकन सिनेटर लौच फेयरक्लोथले मात्रै उनीविरुद्ध एक मत हालेका थिए । उनीविरुद्ध मतदान गर्नुको कारणबारे फेयरक्लोथले भनेका थिए, ‘येलेनको चिन्ता मुद्रास्फिति, मुद्रास्फिति र मुद्रास्फिति’ मा सीमित हुनुपर्छ ।’ किनभने येलेन मुद्रास्फितिको विपक्षमा थिइन् । त्यसबेला सिनेटमा भने उनको अनुमोदन ६ विरुद्ध ९४ मतबाट भएको थियो । महिलाबारे महिलाले सोच्नुपर्ने मान्यता उनी राख्थिन् । त्यसैले सन् १९९७ को फेब्रुअरी १८ मा बिल क्लिन्टनको आर्थिक परिषद्को सल्लाहकार (सीईए) मा नियुक्तिपछि ज्यालामा लैङ्गिक विभेदको अन्त्यका लागि प्रयास गरेकी थिइन् ।

येलेनले फेडको अध्यक्ष छँदा अमेरिकी हाउस र सिनेटका सदस्यहरूसँग रचनात्मक सम्बन्ध निर्माण गर्ने काम गरेकी थिइन् । सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले येलेनलाई फेडको अध्यक्षका रूपमा अघि सारेका थिए । उनले दश वर्ष फेडको बोर्ड सदस्य र चार वर्ष उपाध्यक्षका रूपमा काम गरेकी थिइन् । ओबामाले एकताका उनीबारे भनेका थिए, ‘फेडरल रिजर्भकी महत्वपूर्ण व्यक्तित्व येलेनकै कारण मेरो कार्यकालमा मुलुकलाई आर्थिक मन्दीबाट माथि उकास्न सहयोग मिलेको हो ।’ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फेडमा पुनः नियुक्ति गर्न अस्वीकार गरेका थिए । त्यसलगत्तै उनी आफूलाई एउटी प्रखर र अब्बल अर्थशास्त्रीका रूपमा स्थापित गर्न अग्रसर भइन् । सन् २०१८ मा फेडबाट फुर्सद पाएपछि उनको कुशल नेतृत्वलाई सम्मान गर्दै धेरैले उनको कोटको कलरको सिग्नेचर स्टाइल कपीसमेत गरेका थिए ।

अमेरिका कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक हो । यो सामग्री तयार पार्दासम्म ‘वल्डोमिटर’ को तथ्यांकमा त्यहाँ यो महामारीका कारण ४ लाख ४३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको र दुई करोड ६३ लाखभन्दा बढी संक्रमित रहेको उल्लेख छ । यसले अमेरिकाको अर्थतन्त्रलाई तहसनहस पारेको छ । अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने जिम्मेवारी पनि येलेनको काँधमा आएको छ । उनले केही साताअघि भनेकी थिइन्, ‘मेरो पहिलो प्राथमिकता मन्दीबाट सबैभन्दा बढी प्रभावित भएकाहरू हुनेछन् । खासगरी अल्पसंख्यक श्रमिक तथा महिलाहरू मेरो प्राथमिकतामा पर्नेछन् ।’ उनले कोभिड महामारीको विध्वंसले सबै क्षेत्र प्रभावित भएकाले त्यसलाई सामान्य अवस्थामा ल्याउनु आफूहरूको जिम्मेवारी र दायित्व भएको प्रतिक्रिया दिइसकेकी छन् ।

सन् १९८६ मा भिक्टर डिलेन्टले माइक्रोइकोनोमिक्स कक्षामा येलेनको परिचय लिएका थिए, तब उनको पहिलो धारणा ‘सानी’ महिला भन्ने थियो, जसले १२५ जना ओपिनियनेटेट विद्यार्थीको सामना गरिरहेकी थिइन् । कक्षामा तीमध्ये धेरै उनको आर्थिक सिद्धान्तलाई चुनौती दिन इच्छुक थिए । येलेनले त्यहाँ जबर्जस्ती प्रश्न तेर्साउने बुद्धिजीहरूलाई अत्यन्तै शालीन, सभ्य र आत्मविश्वास तथा तर्क गर्ने क्षमताका साथ निरस्त गरेकी भिक्टर सम्झन्छन् । फेडमा छँदै अमेरिकी केन्द्रिय बैंकको क्याफटेरियामा जर्ज अकेर्लफसँग भेटघाट भएको थियो । भेटघाट बाक्लिँदै गएर एक वर्ष नबित्दै सन् १९७८ मा उनीसँग विवाह गरिन् । जर्ज सन् २००१ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने सह–विजेता हुन् । उनीसँग मिलेर येलेनले गरिबी, बेरोजगारी र बच्चा जन्माउँदा लाग्ने खर्चलगायतका विषयमा निरन्तर अनुसन्धान गरेकी छन् । तर दुवैबीच असहमति पनि छन् । येलेन स्वतन्त्र व्यापारकी पक्षपाती हुन् भने उनका श्रीमान् यसको विपक्षमा छन् । उनको कुल सम्पत्ति १ अर्ब १६ करोड ६७ लाख ६० हजार रुपैयाँ रहेको छ । यसमा ५१ करोड रुपैंयाँभन्दा बढी विभिन्न वित्तीय कम्पनीमा दिएको भाषणबाफत पाएको रकम र स्टक होल्डिकबाट प्राप्त आम्दानीसमेत छ ।

– एजेन्सीको सहयोगमा

 Image