Successfully Copied

शबानाको फिटनेस अनुभव

बाटोमा हिँड्दा होस् वा सपिङ जाँदा धेरैले मलाई घुरेर हेर्थे । मानिसबाट भएको यस्तो व्यवहारबाट मलाई एक प्रकारको मानसिक तनाव हुन थाल्यो ।

शबाना खातुन ‘फिटनेस प्रशिक्षक’ हुन् । चार वर्षअघि उनले एकै वर्षमा ५६ किलो तौल घटाइन् । पहिले उनको तौल ११५ किलो थियो । तौल घटाएपछि चर्चा बटुल्न सफल उनी अहिले धेरैको रोल मोडल बनेकी छन् । प्रशिक्षकका रूपमा करियर अघि बढाइरहेकी उनले विभिन्न विज्ञापनमा पनि मोडलिङ गरेकी छन् । शबानाले कसरी तौल घटाइन् त ? उनीसँग कुराकानीका आधारमा तयार पारिएको सामग्री :

~

११५ किलो हुँदा

२१ वर्षकी हुँदा म ११५ किलो थिएँ । सबैले मलाई मोटी भन्थे । मेरो उपनामजस्तै बन्यो, त्यो । मन लागेको पहिरन लगाउन पाउँदिनथें । प्रायः ठूलो कुर्ता र ब्यागी पहिरन लगाउँथें । धेरैको नजर मप्रति फरक थियो । बाटोमा हिँड्दा होस् वा सपिङ जाँदा धेरैले मलाई घुरेर हेर्थे । मानिसबाट भएको यस्तो व्यवहारबाट मलाई एक प्रकारको मानसिक तनाव हुन थाल्यो । त्यसपछि म एक्लै बस्न थालें । बाहिर निस्कनै मन नलाग्ने, साथीभाइको जमघटमा झनै जाँदैनथें । ऐना हेर्दा आफैलाई डर लाथ्यो । फेसबुकमा कहिल्यै पूरा तस्बिर राख्दिनथें ।  संसारमा म जस्तो नराम्रो कोही नभएको महसुस हुन्थ्यो । मोटी भएकै कारण थाइराइडसमेत भयो । त्यसपछि चिकित्सकले तौल घटाउन सुझाव दिए । मैले युट्युबमा ट्रान्समिसनका भिडियोहरू हेर्न थालें । तौल घटाउन मलाई ममीको एकदमै सपोर्ट रह्यो ।

जिम यात्रा

मेरो उद्देश्य तौल घटाउनु थियो । धेरैले कुरा काट्न छाडेनन् । किनकि हाम्रो समुदायमा केटी मान्छे जिम जाने बिरलै हुन्छन् । तर, पनि जिममा निरन्तरता दिएँ । सुरुवाती दिनमा गाह्रो हुन्थ्यो, शरीर एकदमै दुख्थ्यो । शरीर दुखेर धेरैपटक रोएकी छु । तर म भित्र भएको ‘इगो’ का कारण कहिल्यै हार मानिन । व्यायामले मेरो तौल घट्दै गयो । म निकै खुसी हुन थालें । एकै वर्षमा ५६ किलो तौल घटाएर ५९ किलोमा झारें । यो मेरो जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि हो ।

खानपान

पहिले म खानपानमा सोखिन थिएँ । व्यायाम गर्दा भने खानेकुरा नियन्त्रण गरें । उसिनेका खानेकुरा बढी खाने र गुलिया, चिल्ला, कोक/फेन्टा सबै खान बन्द गरें । जंकफुड पनि खाइन । तौल घटाउन खानपान नियन्त्रण गर्नुपर्दो रहेछ । त्यसैले अहिले पनि खानपानमा ध्यान दिन्छु । सकेसम्म बाहिर खाँदिन ।

फिटनेस प्रशिक्षक

आफ्नो तौल घटाउने क्रममा फिटनेसप्रति आकर्षण बढ्यो । ट्रान्सफर्मेसनको यात्राबारे सबैको सकारात्मक रूपमा प्रतिक्रिया आयो । देश–विदेशबाट थुप्रै प्रतिक्रिया आउन थाले । मलाई रोलमोडलका रूपमा धेरैले लिन थाले । आफूजस्तै व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यले नै तालिम दिन थालें । सीटीसी मलस्थित ‘फिटनेस पार्क’ मा फिटनेस प्रशिक्षक भएर काम गर्न थालें । कलाकार वर्षा राउत, आँचल शर्मालगायतलाई तालिम दिएकी छु । लकडाउनपछि भर्चुअल रूपमा तालिम दिइरहेकी छु ।

तस्बिर : अंगद ढकाल

 Image