Successfully Copied

नङको सौन्दर्य

‘राइनस्टोन’ र ‘जेल ग्लिटर अम्ब्रे नेल डिजाइन’ अहिले चल्तीमा छ । धेरै युवतीको रोजाइमा पर्ने यो डिजाइनमा ‘ग्लिटर’को प्रयोग गरिन्छ । यो डिजाइन निकै आकर्षक देखिन्छ ।

कोमल हात अनि सुन्दर नङ सबैको रोजाइ हो । आफ्नो हातलाई सुन्दर बनाउन ‘नेल आर्ट’ राम्रो उपाय हुन सक्छ । यसको आकर्षक भनेकै मनमोहक कलाकृति हो । सानो र थोरै स्पेस हुने नङमा आकर्षक डिजाइन बनाएर सबैको ध्यान खिच्न सकिन्छ । सेलिब्रेटी मात्रै होइन सामान्य महिलासम्मको ‘नेल आर्ट’ को क्रेज बढ्दो छ । फेसनको दुनियाँमा केही फरक देखिन वा नयाँपन दिन यो आर्टले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

‘नेल आर्ट’ ले व्यक्तित्व निखार्नुका साथै सुन्दरता बढाउने ‘द जंगस्ट्रङ नेल आर्ट’ का संस्थापक कार्यकारी निर्देशक सुनीलजंग मल्ल बताउँछन् । उनी भन्छन्, ‘नेल आर्ट रंग, थिम, मौसम वा मुडअनुसार सजाउन सकिन्छ ।’ ‘नेल आर्ट’ गर्न सिर्जनात्मक हुनु जरुरी हुने उनी बताउँछन् ।

सदियौं पुरानो प्रचलन

‘नेल आर्ट’ अहिले चल्तीमा छ । यसलाई आजको फेसनको उपज मानिन्छ । तर यसको प्रचलन सदियौं पुरानो हो । महिलाले आफ्नो नङलाई आकर्षक बनाउन सदियौंअघि नङ पाल्ने, नङमा पेन्ट गर्ने, नङमा आर्ट गर्ने गर्थे । तर अहिले नङमा आर्ट गर्ने ट्रेन्ड, डिजाइन, विधिमा भने केही फरक छ । पहिले धनी र गरिबले लगाउने नेल पेन्ट फरक हुन्थे अर्थात् नेल पेन्टको माध्ययमबाट धनी–गरिब छुट्टिन्थे ।

प्राचीन मिश्रमा महिलाहरूले हातमा मेहन्दी र नङमा रंग दल्थे । यही आधारमा उनीहरू आफ्नो सामाजिक स्थिति दर्साउँथे । निम्नवर्गका महिलाले हल्का रंग लगाउँथे भने उच्च वर्गकाले गहिरो र चम्किलो रंग लगाउँथे । सदियौं पुरानो यो कला पुरुषहरूमा पनि लोकप्रिय थियो । पुरुषले भने कालो र हरियो रंग प्रयोग गर्थे । ईशापूर्व ३२०० मा प्राचीन राज्य बाबिलमा योद्धाले युद्धको तयारी घन्टौं लगाएर गर्थे । उनीहरूले नङ र केश रंगाउँथे । प्राचीन मिश्रमा नङमा लगाइने रंगले उनीहरूको व्यक्तित्वको पहिचान हुन्थ्यो । कालो रंगको उपयोग धनीको पहिचान हुन्थ्यो जबकि हरियो रंगको उपयोगले सामान्य मानिसको पहिचान हुन्थ्यो ।

 सुरुवात

तीन हजार ईशापूर्व चीनमा पहिलो पटक नेलपोलिसको सुरुवात भएको थियो । नेलपोलिस मैन, अण्डाको सेतो भाग, जिलेटिन र तरकारीको रंगबाट बनाइएको थियो । केही घण्टासम्मयो मिश्रणमा हात डुबाएर राखेपछि सुक्नका लागि छाडिदिन्थे ।

‘नेल आर्ट’ का प्रकार

‘नेल आर्ट’ विभिन्न डिजाइनमा गर्न सकिन्छ । यसका लागि तल दिइएका केही डिजाइन निकै प्रचलित छन् । त्यसलाई बनाउने विधि भने केही फरक छ । अलग–अलग तरिकाबाट नङलाई सुन्दर बनाउन सकिन्छ । सामान्य नेलपोलिसबाट बनाउने आर्टलाई ‘पोल्का डट्स डिजाइन’ भनिन्छ । यो त्यति खर्चिलो हुँदैन । यो सामान्य नेलपोलिसबाट बनाउन सकिन्छ । ‘राइनस्टोन’ र ‘जेल ग्लिटर अम्ब्रे नेल डिजाइन’ अहिले चल्तीमा छ । धेरै युवतीको रोजाइमा पर्ने यो डिजाइनमा ‘ग्लिटर’को प्रयोग गरिन्छ । यो डिजाइन निकै आकर्षक देखिन्छ ।

अन्य डिजाइन

- राइनस्टोन

- जेल ग्लिटर अम्ब्रे नेल

- वाटर मार्बल

- होलोग्राफिक नेल

- एक्यार्लिक नेल टेप

- एलसेप

- पोल्का डट्स

- वान स्ट्रोक

- ट्राई कलर क्लिफ

- ग्लिटर भि–टिप

- थ्रिडीआर्ट

आफै ‘नेल आर्ट’ गर्दा

नेल पेन्ट आफ्नो पहिरनसँग मेल खाने गरी लगाउनुपर्छ । ‘नेल आर्ट’ गर्दा फ्रेस नेलपोलिस लगाउनुपर्छ । ‘नेल आर्ट’ गर्नुअघि भिटामिन ‘ई’ युक्त नेल रिमुभरको सहायताले पुरानो नेलपोलिस हटाउनुपर्छ । त्यसपछि नङलाई सही सेप दिनुपर्छ । सेप राम्रो भएन भने ‘नेल आर्ट’ राम्रो देखिँदैन । नेल फाइलरले आफ्नो रुचिअनुसारको सेप दिनुपर्छ । त्यसपछि नङमा बेस कोट लगाउनुपर्छ । हल्का पारदर्शी रंगमा पाइने बेस कोटले नङलाई चम्किलो बनाउँछ । बेस कोटलाई एकछिन सुक्न दिनुपर्छ । त्यसमाथि आफूलाई मनपर्ने डिजाइनमा ‘नेल आर्ट’ गर्न सकिन्छ । ‘नेल आर्ट’ गरिसकेपछि एकदिन सुकाउने र माथिबाट टपकोट लगाइदिने ।

करियर पनि

‘नेल आर्ट’लाई करियर बनाउन पनि सकिन्छ । नेल टेक्निसियनको माग दिनहुँ बढिरहेको छ । फेसनप्रति बढ्दो जागरुकता एवं झुकावका कारण ‘नेल आर्ट’ मा करियर बनाउन चाहनेहरूकालागि राम्रो अप्सन बन्न सक्छ । यसका लागि शैक्षिक योग्यता आवश्यक मानिँदैन । सिर्जनात्मक क्षमता भएका

जोकोहीले सिक्न सक्छन् । यससम्बन्धी रुचि एवं इच्छा हुनु जरुरी छ । अझ बाहिर जाने महिलाहरूका लागि काम पाउन नेल आर्टको कोर्सले सहज भूमिका खेल्न सक्छ ।

नङको स्याहार

- नकाटेको नङ वा बाङ्गोटिङ्गो नङले आफ्नो व्यक्तित्वमा नराम्रो प्रभाव पार्छ । त्यसैले समय–समयमा नङ काटेर सही सेप दिनुपर्छ ।

- नङ टुट्ने समस्या छ भने आफ्नो डाइटमा विशेष ख्याल राख्नुपर्छ । प्रशस्त मात्रामा हरिया सागसब्जी तथा फलफूल खानुपर्छ ।

- नङको चमक बढाउन कागतीको बोक्रा नङमा रगड्ने वा हल्का मनतातो पानीमा कागतीको रस मिलाएर हात डुबाउनुपर्छ । केही दिनमा नङमा परिवर्तन देख्न सकिन्छ ।

- नङ टोक्नु वा ब्लेडले काट्नु हुँदैन ।

- नेलपोलिस वा रिमुभर गुणस्तरीय प्रयोग गर्नुपर्छ ।

- हाम्रा हातले लगातार काम गरिरहेका हुन्छन् । त्यसैले महिनाको एकपटक मेनिक्योर गर्नुपर्छ । नियमित रूपमा मेनिक्योर गर्दा हात र नङ सफा त हुनुका साथै मृत छाला पनि हट्छ ।

- नङलाई बलियो बनाउन नुनपानीले धुन सकिन्छ । मनतातो एक लिटर जति पानीमा चार चम्चा नुन हालेर १५ मिनेटसम्म हात भिजाउने र हात सुख्खा बनाएर मोस्चराइचर लगाउनुपर्छ ।

‘नेल आर्ट महँगो छैन’

सुनीलजंग मल्ल, संस्थापक कार्यकारी निर्देशक, जंगस्ट्रङ नेल आर्ट

नेल आर्ट हरेक युवतीहरूको रोजाइ हो । कलरफुल नेल पेन्ट्समार्फत आफ्नो नेललाई सुन्दर एवं आकर्षक बनाउन सकिन्छ । पहिला थ्रिडी नेल आर्ट, वान स्ट्रोक आदि चल्तीमा थिए । अहिले नेल पेन्ट वा आर्टस्मा धेरै भेराइटी आएका छन् । नेल आर्ट महँगो हुन्छ भन्ने बुझाइ छ, जुन गलत हो । आफ्नो बजेटअनुसारको जुनसुकै डिजाइन गर्न सकिन्छ । जस्तो, सामान्य नेलपोलिसले पनि रंग संयोजन मिलाएर आर्ट गर्दा आकर्षक देखिन्छ । नेल आर्टलाई लामो समयसम्म टिकाउन पानी धेरै चलाउनु हुँदैन । चलाउनैपरे पञ्जाको प्रयोग गर्न सकिन्छ । एसिड भएको वा रिमुभर जस्ता पदार्थ चलाएमा नेल आर्ट चाँडै निस्कन्छ । गुणस्तरीय पोलिसको प्रयोग गर्नुपर्छ । त्यस्तै आर्ट गर्दा छालामा टच नगराई गराउनुपर्छ ।

 Image