Successfully Copied

थरीथरीका स्वदेशी वाइन

सिस्नोबाट उत्पादन हुने वाइन हो, नेसी । काठमाडौंस्थित चोभारमा उत्पादन हुने यो वाइन ०६४ देखि बजारमा उपलब्ध हुँदै आएको छ ।

वाइन फलफूलको रसबाट बनाइन्छ । यो मदिराजन्य पदार्थ हो । नेपालमा स्याउ, अंगुर, तीतेपाती, ऐंसेलु आदिबाट वाइन तयार पारिन्छ । विदेशीले आफ्नो प्रभुत्व जमाउन अंगुरबाट मात्र वाइन बन्ने गरेको बताउँथे । तर, त्यसो होइन, यो अन्य फलफूलको रसबाट पनि तयार पारिन्छ । फलफूल जुनसुकै पनि हुनसक्छ ।

नेपाली समाजमा कुनै समय मदिरा वर्जित थियो । केही समुदायले भने आफ्ना रीतिरिवाज धान्न विवाह, जन्मदिन एवं विशेष समारोहमा यसको सेवन धेरै पहिलेदेखि गर्दै आएका छन् । समय परिवर्तनशील छ । अहिलेको जीवनशैलीमा सबैका लागि मदिरा अनिवार्यजस्तै बन्दै गएको छ । सुखमा होस् वा दुःखमा उत्सव, पर्वमा मदिरा पिउनेको संख्या बढेको छ । अहिले मदिरा पिउने मात्र नभई चाडपर्वमा उपहार दिने चलन पनि सुरु भएको छ । मदिराको माग बढेसँगै बजारमा विभिन्न कम्पनीले मदिरा उत्पादन गर्न थालेका छन् । खासगरी पछिल्लो समय महिलाहरू पनि वाइनका पारखी हुन थालेका छन् । विभिन्न कम्पनीले महिलालाई लक्षित गर्दै बियर, ह्विस्की तथा वाइन उत्पादन सुरु गरेका छन् ।

नेपालमा विशेषगरी क्यानभास, बिग मास्टर, हिंवा, डाँडाघरे, डिभाइन वाइन लोकप्रिय छन् । कम्पनीले आ–आफ्नै ढंगले उपभोक्तालाई आकर्षित गरेका छन् । नेपालमा मदिरा उद्योगको करिब ६० प्रतिशत बजार स्वदेशी वाइनले नै ओगटेको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार हरेक वर्ष मदिराको बजार १० देखि १५ प्रतिशतसम्म बढ्ने गरेको छ । क्यानभास वाइन उत्पादन गर्ने संकटा वाइन एन्ड वेभरेज प्रा.लि.का प्रमुख हरिनाथ बाँस्तोलाका अनुसार स्वदेशी कम्पनीहरूले गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने भएकाले ग्राहकहरू आकर्षित हुन थालेका छन् । उनी भन्छन्, ‘गुणस्तरीय उत्पादन र उचित मूल्य भएकै कारण नेपालमा वाइन बजार बिस्तार हुँदै गएको हो ।’ विदेशी ब्रान्डमार्फत नेपालमा चुत्रो, सिस्नो, अंगुर आदिबाट वाइन तयार पारिन्छ । धेरैको रोजाइमा पर्ने वाइनको मूल्य प्रतिबोतल सात सयदेखि आठ सय रुपैयाँ पर्छ । स्वदेशी ब्रान्डमा पनि केही लोकप्रिय वाइनहरू छन् ।

क्यानभास

नेपालमा करिब तीन वर्षयता उत्पादन हुँदै आएको वाइन हो, क्यानभास । संकटा वाइन एन्ड वेभरेज प्रा.लि.ले यो वाइन बजारमा ल्याएको हो । काभ्रेमा उत्पादित यो वाइन रेड र ह्वाइट गरी दुई फ्लेवरमा बजारमा रहेको कम्पनीका प्रमुख हरिनाथ बाँस्तोलाले बताए । उनका अनुसार ह्वाइट वाइनका लागि हरियो अंगुर र रेड वाइनका लागि कालो अंगुर प्रयोग गरिन्छ । यसमा १० प्रतिशत अल्कोहल हुन्छ । अन्य वाइनको तुलनामा क्यानभासको डिजाइन आकर्षक रहेको बाँस्तोला बताउँछन् । उनी भन्छन्, ‘क्यानभास वाइनको बोतल आकर्षक छ, यसले गर्दा पनि ग्राहकहरूको रोजाइमा पर्छ ।’ उनले अन्तर्राष्ट्रिय मान्यता हेर्ने हो भने वाइन भन्नाले अंगुरबाट मात्र बन्ने भन्ने रहेको बताए । वाइनको वास्तविक स्वाद भने अंगुरबाट मात्र आउँछ । अंगुरबाट निर्मित भएकाले क्यानभासले अन्तर्राष्ट्रिय स्तरको स्वाद दिएको उनको दाबी छ ।

हिंवा

संखुवासभा जिल्लाको मकालु क्षेत्रमा उत्पादन हने वाइन हो, हिंवा । स्थानीय ऐंसेलु, चुत्रोबाट यो वाइन उत्पादन हुने गरेको ब्रान्ड म्यानेजर मिलन शर्मा बताउँछन् । स्थानीय सामानबाटै उत्पादन हुँदै आएको हिंवा वाइन २५ वर्षदेखि बजारमा उपलब्ध छ । मिलनका अनुसार हिंवा वाइन पनि रेड तथा ह्वाइट दुई किसिमको हुन्छ । ‘नेपाली बनौं, नेपाली किनौं, यो मन त मेरो नेपाली’ जस्ता नारासहित हिंवा बजारमा छाइरहेको छ । यसमा नेपाली स्वाद पाइने भएकाले पनि धेरैको रोजाइ हिंवा नै हुने गरेको मिलन बताउँछन् । उनी भन्छन्, ‘हिंवा वाइनमा पहाडी फल चुत्रो र ऐंसेलुको स्वाद हुने भएकाले धेरै ग्राहकको रोजाइमा परेको हो ।’

डाँडाघरे

डाँडाघरे वाइन स्वदेशदेखि विदेशसम्म लोकप्रिय छ । नेपालमा उत्पादित यो पहिलो वाइन हो । ‘सुन्दर पोखराको, सुन्दर कोसेली, सुन्दर मनहरूका लागि’ भन्ने नारासहित पर्यटकीय क्षेत्र पोखरामा उत्पादन हुँदै आएको वाइनको स्वाद विदेशीहरूले पनि लिन्छन् । डाँडाघरे वाइन चार प्रकारका विभिन्न फ्लेबरमा उत्पादन हुन्छन् । ती फ्लेबरहरू आँगन, पिंढी, मझेरी र आँटीका नाममा बजारमा उपलब्ध छन् । यीवाइन विभिन्न प्रकारका फलफूल र महबाट तयार पारिन्छ । यी वाइनमा रसायनको मिसावट नहुने भएकाले पनि गुणस्तरीय मानिन्छ । डाँडाघरे वाइन कोसेलीका रूपमा विभिन्न देशमा पुग्छ । मह, जडीबुटी र फलफूलबाट तयार पारिएका छ प्रकारका वाइन अहिले बजारमा उपलब्ध छन् ।

नेसी

सिस्नोबाट उत्पादन हुने वाइन हो, नेसी । काठमाडौंस्थित चोभारमा उत्पादन हुने यो वाइन ०६४ देखि बजारमा उपलब्ध हुँदै आएको छ । ‘सकारो फर्मन्टेड वेभरेज प्रा.लि.ले

‘नेसी’ ब्रान्डको वाइन बजारमा ल्याएको हो । यो वाइन चार फ्लेबरमा उत्पादन हुँदै आएको छ । कम्पनीका निर्देशक हरि दाहालले यो वाइनमा नेपालीहरूको मौलिक स्वाद रहेको दाबी गर्छन् । सिस्नोको स्वाद पाइने भएकाले पनि यो वाइनको छुट्टै विशेषता रहेको उनको भनाइ छ । उनका अनुसार नेसी वाइन पोखरा, काठमाडौंमा उपलब्ध छ ।

बिग मास्टर

काठमाडौं हिमालय वेभरेजबाट उत्पादित यो वाइन छोटो समयमै लोकप्रिय बनेको छ । बिग मास्टरमा रेड र ह्वाइट गरी ६ भेराइटीमा उत्पादन हुने गरेका छन् । सबै वर्ग र समूहका लागि यो वाइन उपयुक्त रहेको कम्पनी निर्देशक गणेशप्रसाद चापागाईं बताउँछन् । बनेपामा उत्पादित बिग मास्टर वाइन रेड–ह्वाइट बराबरी रूपमै ग्राहकको रोजाइ हुने गरेको उनी बताउँछन् । यो वाइन देशका हरेक क्षेत्रमा उपलब्ध छ ।

 Image