Successfully Copied

नारीको ‘निर्भीक नारी’

कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’ सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिनिधिहरूले नारी निर्भीक हुनका लागि के–कस्ता समस्या आइपर्छन् र त्यसको समाधान के त ? भन्ने कुरामा बहस गरिएको थियो । ‘सक्षम छौं, सक्छौं पनि’ ‘म त्यो

कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’ सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिनिधिहरूले नारी निर्भीक हुनका लागि के–कस्ता समस्या आइपर्छन् र त्यसको समाधान के त ? भन्ने कुरामा बहस गरिएको थियो । ‘सक्षम छौं, सक्छौं पनि’ ‘म त्यो नारी’, ‘महामारीमा नारी’ र ‘स्वाभिमानलाई सम्मान’ गरी कार्यक्रममा चारवटा सत्र रहेका थिए ।

कार्यक्रमकी प्रमुख वक्ता अधिकारकर्मी तथा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध विभेद उन्मूलन समिति (सिड) की कार्यसमिति सदस्य बन्दना राणाले नारी निर्भीक हुनका लागि घर, समाज तथा सरकारी स्तरबाट एकजुट भएर महिलाका विषयवस्तु तथा संवेदनशीलतालाई बुझेर सोहीअनुसार काम गर्नुपर्ने बताइन् । साथै उनले महिलामाथि भइरहेका हिंसा र बलात्कारका घटनामा उचित न्याय नपाउने अवस्था रहेको बताइन् ।

कार्यक्रमअन्तर्गतको ‘सक्षम छौं, सक्छांै पनि’, पहिलो सत्रमा प्यानल स्पिकर भोटु इन्दिराकी संस्थापक इन्दिरा सापकोटा रहेकी थिइन् । उनले आफ्नो अनुभव सुनाउँदै अहिले महिलाहरूमा उद्यमशीलतातर्फ आकर्षण बढ्दै गएको बताइन् । यो सत्रमा उद्यमशीलतालाई जोड दिइएको थियो । यो सत्रमा सहजकर्ताका रूपमा टुटलका संस्थापक शिक्ष्ँित भट्ट रहेका थिए भने स्पिकरमा उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव अर्जुनप्रसाद पौडेल, अर्बान गर्लकी संस्थापक निकिता आचार्य, मेड इन नेपालकी संस्थापक लतिका गोल्यान, प्याड टु गोका संस्थापक सुभांगी राणा थिइन् । छलफलमा महिलाहरूमा उद्यमशीलतामा कसरी अघि बढिरहेका छन् ? के–कस्ता चुनौती छन् ? महिलालाई यस क्षेत्रमा प्रेरित गर्न सरकारी तहबाट के–कस्ता काम भइरहेका छन् ? जस्ता विषयमा छलफल भएको थियो ।

‘म त्यो नारी’ कार्यक्रमको दोस्रो सत्र रहेको थियो । यस सत्रको सहजकर्ताको भूमिका पूर्वमिस नेपाल सुगरिका केसीले निभाएकी थिइन् भने स्पिकरका रूपमा यौनहिंसा र एसिड आक्रमणमा परेका दुई पीडित मुना नेपाली दमाई  र पवित्रा कार्की, अभियन्ता उज्जवल विक्रम थापा, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल उपस्थित थिए । पीडित प्रतिनिधिहरूले यस्ता हिंसाका अपराधीहरूलाई कडा सजायको व्यवस्था गरिनुपर्ने बताए । यसका साथै पीडितहरूले शिक्षा एवं रोजगारको सुनिश्चितता गरिनुपर्ने भनाइ राख्दै छलफलमा एसिडको खुल्ला बिक्री–वितरणमा समेत रोक लगाउनपर्ने औंल्याए ।

तेस्रो सत्र ‘महामारीमा नारी’ मा महिलाले कोरोना महामारीका बेला भोग्नुपरेको पीडा सुनाए ।  प्यानल स्पिकरका रूपमा यूएनडीपीकी नेपाल प्रतिनिधि आयसनी मिडागान्गोडा बाले थिइन् । सहजकर्ताका रूपमा नारी मासिककी लक्ष्मी भण्डारी थिइन् भने स्पिकरमा प्रसूति गृह तथा परोपकार अस्पतालकी निर्देशक डा. संगीता मिश्र, एपीएफ अस्पतालकी नर्स निशा खत्री, मनोविद् गंगा पाठक, विश्लेषक चन्दन कौशिक थिए । यो सत्रमा कोभिड–१९ महामारीको कारण महिलामा पर्न गएको शारीरिक र मानसिक असरबारे छलफल गरिएको थियो ।

युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले अरूलाई तान्ने नभई आफू अगाडि बढ्ने ध्येय राखे सफल भइने बताइन् । द थ्री सिस्टर्स एड्भेन्चरकी संस्थापक लक्की क्षत्रीले पढाइ र क्षमता महिलाको हतियार भएको जनाइन् ।

कार्यक्रमको अन्तिम सत्र ‘स्वाभिमानलाई सम्मान’ मा प्यानल स्पिकरका रूपमा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की, सहजकर्तामा कृष्ण आचार्य, नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, यति एयरलाइन्सकी प्रबन्धनिर्देशक चन्दा शेर्पा, युनाइटेड इन्स्युरेन्सकी कार्यकारी निर्देशक उपासना पौडेल थिए । यस सत्रमा कर्पोरेट क्षेत्रमा महिलाका चुनौती के–कस्ता छन्, निर्णायक तहमा महिला सहभागिता बढाउन के गर्नुपर्ला ?भन्ने विषयमा छलफल गरिएको थियो ।  

नारी मासिककी सम्पादक उपासना घिमिरेले महिलाहरूको आँट र साहसलाई कदर गर्दै ‘निर्भीक नारी’ कार्यक्रम गरिएको बताइन् । आगामी दिनमा यस्तै कार्यक्रममार्फत महिलाहरूलाई प्रोत्साहन गर्दै अघि बढ्ने जानकारी गराइन् । साथै कान्तिपुर पब्लिकेसन्सका एजीएम महेश स्वाँरले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरे ।

तस्बिरहरु ः महेश प्रधान

 Image