Successfully Copied

निर्माणमा निगरानी

निर्माण गर्दा प्राविधिक कुन कुरा पुगेको छ/छैन, निर्माण सामग्रीको गुणस्तर कस्तो छ भनेर हेर्नुपर्छ ।

बाबुराम भट्टराई

आर्किटेक्ट इन्जिनियर

कुनै पनि ठाउँको पहिचान हो,घर । सबै ठाउँमा एकै डिजाइनको घर बनाउँदा पक्कै पनि राम्रो देखिँदैन । किनभने घरले त्यस ठाउँको विशेषतासमेत झल्काउँछ । आर्किटेक्ट इन्जिनियर बाबुराम भट्टराई भन्छन्, ‘घरसँग त्यस ठाउँको संस्कृति गाँसिएको हुन्छ ।’ जस्तो, भक्तपुरमा परम्परागत शैलीको नेवारी संस्कृति झल्कने घर बनाइएको छ । कालीगढहरूले बुट्टा भरेको आकर्षक काठका थामहरू प्रयोग गरेका छन् । पोखरा वरपर क्षेत्रमा ढुंगाको छाना देख्न सकिन्छ । हिमाल, पहाड र तराईमा बनाइने घर फरक हुन्छन् । हिमालमा धेरै चिसो र हिउँ पर्ने भएकाले होचो एवं न्यानो हुने खालको घरको डिजाइन गर्नुपर्छ । त्यस्तै, तराईमा गर्मी धेरै हुने भएकाले हावा ओहोरदोहोर हुने र शीतल महसुस गराउने खालको हुनुपर्छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यापक बाबुराम भन्छन्, ‘घर बनाउँदा स्थानीय स्रोत र साधनको प्रयोगलाई जोड दिनुपर्छ । यसो गर्दा घर निर्माण खर्चिलो हुँदैन ।’ यसरी निर्माण गरेको घर पूर्णतः सुरक्षित हुने उनको तर्क छ । घर निर्माणसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रही बाबुरामसँग गरिएको कुराकानीको सम्पादित अंश–

घर निर्माणका क्रममा आर्किटेक्ट इन्जिनियरले निगरानी गर्नु जरुरी हुन्छ ?

निगरानी जरुरी हुन्छ । निर्माण गर्दा प्राविधिक कुन कुरा पुगेको छ/छैन, निर्माण सामग्रीको गुणस्तर कस्तो छ भनेर हेर्नुपर्छ । स–साना कुरा विस्तृत रूपमा हेर्नुपर्छ । एउटा इन्जिनियरले बनाएको डिजाइनअनुसारको घर निर्माण भइरहेको छ/छैन भनेर पनि हेर्नुपर्छ । साथै निर्माणमा सही प्रविधि अपनाउनुपर्ने हुन्छ ।

सानो क्षेत्रफलमा घर बनाउँदा के कुरामा ध्यान दिनुपर्छ ?

घरको मोहडा कता फर्काउने, वरिपरिको घर कस्तो छ ? अरूको घरको साइज कत्रो छ, सम्भावना कस्तो छ, वरिपरि के–के छ ? जस्ता कुरामा ध्यान दिनुपर्छ । त्यस्तै, आधारभूत कुराहरूमा पानीको ट्याङ्की कहाँ राख्ने, पार्किङ, ढल आदि पनि हेर्नुपर्छ । जग्गा कतातिर फर्केको छ, घरको कोठा कतातिर फर्काउने, झ्याल–ढोका कतातिर बनाउने ? पनि हेर्न जरुरी छ । अहिले घर बनाउँदा धेरैले वास्तुअनुसार बनाउन चाहन्छन् । त्यो पनि मिलाउनुपर्छ । शयन कक्ष, स्नान घर, हात धुने बेसिन कतातिर राख्ने, घरको ले–आउटदेखि इन्टेरियरको कुरा सबै हेर्नुपर्छ । नगरपालिकाको मापदण्डलाई पनि फलो गर्नुपर्छ । बाटो कति छोड्ने, कत्ति तल्ला बनाउने यी सबै मापदण्ड पुर्‍याएर घर निर्माण गर्न प्रेरित गर्नुपर्छ ।

घरको आर्किटेक्ट डिजाइन गराउँदा के कुरालाई महत्व दिनुपर्छ ?

घर निर्माण गर्दा गुणस्तरीय निर्माण सामग्रीदेखि इन्टेरियरसम्मको कुरा आउँछ । आर्किटेक्ट इन्जिनियरले घरको नक्सा तयार गर्नेदेखि निर्माण सामग्रीहरूसम्म सबै कुरामा उत्तिकै ध्यान दिनुपर्छ ।

घरको बैठक, भान्सा, बेडरुमको डिजाइन गराउँदा के–के कुरामा ध्यान दिनुपर्छ ?

यी सबै घरको शोभा बढाउने ठाउँ हुन् । यी ठाउँको डिजाइन गर्दा आकर्षक त छँदैछ त्यससँगै सहजताको ख्याल पनि गर्नुपर्ने हुन्छ । कस्तो रंग लगाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । मास्टर बेडरुममा प्राइभेसीको कुरा आउन सक्छ, फर्निचर कस्तो चयन गर्ने, कता फर्काएर राख्ने त्यहीअनुसारको कोठाको डिजाइन गर्नुपर्छ । घरको डिजाइन भनेको ग्राहकको आवश्यकता र हामीबीचको समझदारी हो । अर्को महत्वपूर्ण कुरा भनेको पर्यावरणीय हिसाबले पनि घर डिजाइन गर्नुपर्ने हुन्छ । बाछिटाले भेट्छ कि भेट्दैन वा कतापट्टिबाट भेट्छ, घाम कतापट्टि लाग्छन्, घाम चाहिने बेला घाम लाग्ने र गर्मीमा घाम छेकिने कुरामा ध्यान दिनुपर्छ । स्वस्थ घरका लागि सम्भव भएसम्म हरेक कोठामा क्रस भेन्टिलेसन राख्नुपर्छ ।

बलियो र आकर्षक घर बनाउन कस्तो विधि अपनाउनुपर्छ ?

घर बनाउँदा आधारभूत कुरा भनेको आकर्षण नै हो । २० देखि २५ प्रतिशत चाहिँ घर कसरी राम्रो बनाउने भन्ने हुन्छ । अर्को कुरा उपयोगिता पनि हेर्नुपर्छ । ठाउँ सुहाउँदो घर हुनुपर्छ । घर निर्माण गर्दा त्यो ठाउँको माटो सुहाउँदो हुनुपर्छ । यस्तो घरको धेरै फाइदा हुन्छ । स्थानीय स्रोत र साधनबाट बनाइएको घर सुरक्षितमात्र हुँदैन, स्वास्थ्य तथा वातावरणमैत्री, कम खर्चमै बनाउन सकिन्छ । यस्तो घर लामो समयसम्म टिक्छ । साथै त्यो ठाउँको विशेषता पनि झल्कन्छ । किनभने घर भनेको पहिचान पनि हो । घरसँग त्यस ठाउँको संस्कृति गाँसिएको छ ।

घरलाई सुविधायुक्त, बालमैत्री बनाउन के कुरामा जोड दिनुपर्छ ?

भर्‍याङ उक्लन सजिलो र सुरक्षित बनाउनुपर्छ । ढोकाको चुकुल लगाएर खोल्न सजिलो खालको हुनुपर्छ । बार्दली वा छत सुरक्षित बनाउनुपर्छ । खेल्नका लागि खुल्ला ठाउँ छोडिदिनुपर्छ । भान्साकोठाको डिजाइन बालबालिकाका लागि सुरक्षित र सहज हुनुपर्छ ।

पछिल्लो समय कस्तो डिजाइनको घर चलेको छ ?

पछिल्लो समय काठमाडौंमा घरको डिजाइन मोर्डन र पोस्ट मोर्डन चल्तीमा छ । यहाँको परम्परागत शैलीको घर हराउँदै गइसक्यो । यहाँ सबै ठाउँका मानिसले बसोबास गर्ने भएकाले सबै प्रकारका घर बनाएको देख्न सकिन्छ ।

 Image