Successfully Copied

अर्किडको सौन्दर्य

अर्किड औषधीय गुणले भरिपूर्ण छ । नेपालमा पाइने १२ प्रजातिमा जडीबुटीको गुण पाइन्छ ।

अर्किड निकै सुन्दर र आकर्षक फूल हो । विश्वमा यो फूलका झन्डै २५ हजार प्रजाति पाइन्छन् । तीमध्ये धेरै नेपालमा पाइन्छन् । अमेरिका, अफ्रिका आदि धेरै देशमा अर्किड पाइन्छ । यो फूल रंग र आकारमा अरुभन्दा भिन्न देखिन्छ ।

‘लामो समयसम्म फूल नझर्ने र काटेको फूल पनि नओइलाउने भएकाले फूलप्रेमीहरूले अर्किडलाई उच्च दर्जामा राख्ने गरेको भक्तपुर दधिकोटस्थित उदय गार्डेन सेन्टरका संस्थापक सुशील खड्का बताउँछन् । उनी भन्छन्, ‘एउटा स्किटमा १२ देखि १४ वटासम्म फूल लाग्छन् । फूल डेढदेखि दुई महिनासम्म रहन्छन् ।’ सामान्यतया अर्किड असोजदेखि वैशाखसम्म फुल्छ । फूलका प्रजातिअनुसार फुल्ने मौसममा भने फरक हुनसक्छ ।

अर्किड औषधीय गुणले भरिपूर्ण छ । नेपालमा पाइने १२ प्रजातिमा जडीबुटीको गुण पाइन्छ । अर्किडलाई सुनाखरी र सुनगाभाको नामले पनि चिनिन्छ । अन्य मुलुकमा नपाइने ४१ प्रजातिका सुनगाभा नेपालमा पाइन्छन् । तीमध्ये २५ प्रजाति रूखमा, १३ प्रजाति जमिनमा र तीन प्रजाति रूख–जमिन दुवैमा पाइन्छन् । उष्णदेखि हिमाली हावापानी भएको क्षेत्रसम्म सुनाखरी पाइने जानकारहरू बताउँछन् ।

अन्य फूलको तुलनामा अर्किड केही महँगो हुन्छ । काठमाडौं उपत्यकामा अर्किडका बिरुवा पाँच सयदेखि एक हजारसम्ममा बिक्री हुने गरेको खड्का बताउँछन् । त्यसो त अर्किडका फूल घर सजावट एवं बुकेहरूमा पनि प्रयोग गरिन्छ । फुलेका स्टिक पनि बिक्रीमा राखिएको हुन्छ ।

कहाँ र कसरी रोप्ने ?

अहिले अर्किडको फूल फुल्ने सिजन हो ।

त्यसैले फूल फुलिरहेका बेला बिरुवालाई चलाउनुहुँदैन अर्थात् यतिबेला सार्नुहुँदैन । अर्किड रोप्ने ठाउँ घाम कम लाग्ने तथा प्रशस्त चिस्यान भएको हुनुपर्छ ।

अर्किड रोप्ने भाँडा सामान्य गमलाको तुलनामा अलिक ठूलो वा प्वाल धेरै भएको हुनुपर्छ । किनभने यसलाई धेरै पानी चाहिँदैन । माटोको प्रयोग भने पटक्कै गर्नुहुँदैन । अर्किड नरिवलको बोक्रा जोडेर पनि रोप्न सकिन्छ । ह्यांगिङ् पटमा रोप्दा आकर्षक देखिन्छ ।

हेरचाह

 अर्किड रोपेको गमलामा अन्य झारपात पलाएका छन् भने बिरुवालाई प्रकाशको आवश्यकता भएको बुझ्नुपर्छ । पात मुलायम र लचिलो भए बिरुवालाई घाममा राख्नुहुँदैन । अर्किडमा पानी निकै कम हाल्नुपर्छ । पानीले जरामात्र भिजाउने हो । पानी धेरै भए यसको जरा कुहिन सक्छ ।

अर्किड फुलाउन धेरै मेहनत गर्नुपर्छ । राम्रोसँग स्याहार–सुसार पुगेन भने अर्किड फुल्दैन । अर्किड फुल्न स्वच्छ हावापानीको आवश्यक पर्छ । अर्किडलाई सीधै घाम पर्ने स्थानमा राख्नुहुँदैन । घामले अर्किडको पात डड्न सक्छ । अर्किडको हाँगा सार्न सकिन्छ । फूल फुलिसकेपछि यसको बिरुवा छुट्याउनुपर्छ ।

 जानकारी

अर्किड बढ्न धेरै समय लाग्छ । नयाँ पात पलाउन महिनौं लाग्न सक्छ । नयाँ बिरुवा फुल्न आठ–नौ वर्षसम्म लाग्न सक्छ । गर्मी ठाउँमा अर्किड रोप्दै हुनुहुन्छ भने बिरुवालाई छिटोछिटो पानी दिनुपर्छ । मक्किएका काठ र पतकर मल मिसाएर अर्किड रोप्न सकिन्छ । पछिल्लो समय बालुवा र नरिवलको जट्टाको धूलोमा पनि रोप्ने गरिएको छ । अर्किडमा बजारमा पाइने विशेष किसिमका भिटामिन पनि प्रयोग गर्न सकिन्छ । कृत्रिम रूपमा ‘फर्टिलाइजर’ गर्नुपर्छ । बजारमा विभिन्न किसिमका ‘फर्टिलाइजर’ उपलब्ध छन् ।

 Image