Successfully Copied

पहिरनले व्यक्तित्व झल्काउँछ :

मैले मेकअपमा भन्दा स्किन केयरमा बढी ध्यान दिन्छु ।

प्रथम ‘मिस नेपाल युनिभर्स’ हुन्–नग्मा श्रेष्ठ । सन् २०१७ मा उनले पहिलोपटक अमेरिकामा आयोजित ‘मिस युनिभर्स पेजेन्ट’ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरिन् । काठमाडौंमा जन्मिएकी नग्माले सन् २०१२ मा फिलिपिन्समा आयोजित ‘मिस अर्थ पेजेन्ट’ मा समेत प्रतिनिधित्व गरेकी थिइन् । त्यहाँ उनी शीर्ष आठमा पर्न सफल भइन् । हाल उनी ‘ब्रेभ बोल्ड ब्युटिफुल प्रा.लि.’ मार्फत ‘मिस युनिभर्स’ सञ्चालन गर्दै आएकी छन् । खानपानदेखि फेसनप्रति उनको उत्तिकै रुचि छ । उनी पहिरनदेखि मेकअपका लागि के गर्छिन् त ?

पहिरन

 म धेरै फर्मल कोट–पाइन्ट नै बढी लगाउँछु । फर्मल पहिरन मलाई एकदमै सहज लाग्छ । कार्यक्रममा जाँदा होस् वा अन्य कतै जाँदा म फर्मलमै हुन्छु । यो पहिरनले मलाई स्मार्ट  देखाउँछ । पहिरनले मानिसको व्यक्तित्वसमेत झल्कने हुँदा पहिरनमा विशेष ख्याल गर्नुपर्छ । क्याजुअलमा भने  जिन्स लगाउन रुचाउँछु । परम्परागत पहिरन लगाउन पनि एकदमै मनपर्छ । विभिन्न चाडपर्वमा परम्परागत पहिरन लगाउन छुटाउँदिन । साडी–लेहेंगा पनि मलाई मनपर्ने पहिरन हुन् । मलाई मनपर्ने रंग नीलो हो । नीलो रंगका पहिरनहरू मसँग थुप्रै छन् । नीलो रंग मलाई सुहाउँछ । म सेतो र कालो रंग पनि बढी नै लगाउँछु ।

मेकअप

मैले मेकअपमा भन्दा स्किन केयरमा बढी ध्यान दिन्छु । स्किन केयर राम्रोसँग गरेमा धेरै मेकअप गर्न आवश्यक हुँदैन । स्किन केयरका लागि टोनिङ, स्पा गर्छु । यसका साथै मोस्चराइजिङमा त्यत्तिकै ध्यान दिन्छु । मेकअपमा भने म सिम्पल नै छु । धेरै मेकअप गर्दिन । दैनिक मेकअप गर्दा भने म फाउन्डेसन, गाजल, मस्कारा, लिपिस्टिक लगाउँछु । विदेशी वा स्वदेशी दुवै थरीका मेकअप ब्रान्ड फलो गर्छु ।

हेयर केयर

हेयर केयर गर्न पनि आवश्यक नै हुन्छ । धूवाँ–धूलोले केशलाई प्रत्यक्ष असर गर्ने हुनाले केशको हेरचाहका लागि घरमै तोरीको तेल लगाउँछु । केशका लागि ट्रिटमेन्टदेखि स्पा पनि गर्छु ।

फुटवेयर

 फ्लाट जुत्ता–चप्पल नै मेरो रोजाइमा पर्छन् । मेरो हाइट बढी भएकाले हाइहिल त्यति लगाउँदिन । स्पोर्ट सुज पनि लगाउँछु । यसले मलाई सहज महसुस हुन्छ । फुटवेयर भने पहिरनअनुसार नै छनोट गर्छु ।

एसेसरिज

पहिले एसेसरिज धेरै लगाउँथें अहिले कम लगाउँछु । अहिले सिम्पल टप, भुम्का, घडी लगाउँछु ।

 Image