Successfully Copied

व्यावसायिक सीपमा महिला

तालिम सञ्चालन गर्नुअघि फलोअपसम्मको प्याकेज बनाइन्छ तर सबै कार्यान्वयन भएको छैन ।

बद्रीप्रसाद तिवारी

टिभिइटी एक्सपर्ट

व्यावसायिक सीप एवं प्राविधिक शिक्षामा महिलाको सहभागिता कस्तो छ ?

तुलनात्मक रूपमा धेरै बढेको छ । ठ्याक्कै तथ्यांक त छैन तर पछिल्लो समय युवापुस्ताको सहभागिता बढेको सत्य हो । युवाहरू कृषि र पर्यटन क्षेत्रमा बढी छन् ।

महिला लक्षित विशेष सीप विकाससम्बन्धी के–कस्ता कोर्स छन् ?

महिलालाई लक्षित गरिएका कोर्स भनेका सौन्दर्यसम्बन्धी र नर्सिङ कोर्स हुन् । तर, महिलाले अरु थुप्रै कोर्स लिन सक्छन् । जुन उनीहरूका लागि नाफामूलक हुन सक्छन्, जस्तो मोबाइल रिपेयरिङ, बिजुलीको वायरिङ, वेल्डिङ गर्ने, आल्मुनियमको झ्याल बनाउने, निमार्णको काम, पर्यटन, फ्रन्ट अफिस, हाउस किपिङ । कृषिमा पनि थुप्रै विधा छन् । बाख्रापालन, कुखुरापालन, दुग्ध उत्पादन, बेमौसमी तरकारी खेती, च्याउ खेती, बीउ उत्पादन आदि । नेपालमा राम्रो बजार भनेको मासुको रहेछ । बजारको सुनिश्चितता भएकोले यो जुनसुकै ठाउँका महिलाहरूले गर्न सक्छन् । गाउँमा पनि बाख्रा, कुखुरा पालनले राम्रै आम्दानी गर्न सकिन्छ ।

अर्को कुरा तालिम लिनु वा दिनुअघि त्यहाँको आवश्यकता र बजार अध्ययन गर्नुपर्छ । तराईमा हामीले फुरुनदाना, भुजिया, सर्फ, मूढा बनाउने तालिम दिएका थियौं । त्यहाँ साताको एकपटक हटिया लाग्ने र सटर पनि नचाहिने भएकाले त्यो क्षेत्रका महिलाले राम्रो आम्दानी गरेका थिए । त्यस्तै, पहाडी क्षेत्रको विकट ठाउँमा हामीले बाख्रा एवं कुखुरा पालनको तालिम दिएका थियौं । त्यस्तो विकट ठाउँमा पनि मासुले राम्रो बजार पाएको देखेर हामी खुसी भएका थियौं ।

गृहिणीका लागि सीप विकाससम्बन्धी विशेष तालिमको व्यवस्था छ ?

सिटिइभिटीअन्तर्गत प्राविधिक र व्यावसायिक तालिम सञ्चालन गरिएको छ । यहाँ महिला र पुरुषले कुन तालिम दिने भन्ने हुँदैन । गृहिणीमात्र नभई निरक्षर महिलाका लागि पनि धेरै तालिम छन् । आफूलाई मन लागेको जुनसुकै तालिम लिन सकिन्छ । तर विवाह गरेका महिलाहरू पुरुषले जस्तो पूरै समय खर्च गर्न नचाहने देखें । उनीहरू घर–व्यवहार एवं बालबच्चा सम्हालेर बाँकी रहेको समयमात्र आयमूलक काममा लगाउन चाहँदा रहेछन् । मैले अघि भनेका तालिमहरू सबै फाइदाजनक छन् । बीउ उत्पादनमा धेरै नाफा हुन्छ ।

हेभी इक्विपमेन्टमा पनि महिलाले तालिम लिइरहेका छन् ? के रोजगार पाइरहेका छन् ?

छन् । इसेपमार्फत हेभी इक्विपमेन्टको तालिम सञ्चालनमा छ । तर पुरुषको तुलनामा महिला निकै कम छन् । फिजिकली गाह्रो भएकाले पनि महिला कम छन् । यसको तुलनामा टेम्पो, सफारी चलाउने महिलाहरूले रोजगार चाँडै पाउँछन् । अर्को मैले सम्भावना देखेको भनेको केश काट्ने हो । यो क्षेत्रमा महिलाको आकर्षण बढ्दै गएको छ । महिनामा ५० देखि एक लाखसम्म आम्दानी गरिरहेका छन् । साथै विदेश जानेहरूले पनि यो सीप सिकेर गए निकै फाइदा हुँदो रहेछ ।

सिटिइभिटीबाट कुनै कोर्स सकेका वा सीप आर्जन गरेकामध्ये कतिले सोही क्षेत्रमा काम गरिरहेका छन् ?

समग्रमा बृहत् अध्ययन गरेको छैन । कुनै पनि परियोजनाले स्पोन्सर गर्छ अनि सिटिइभिटीले चलाउँछ । यस्तोमा भने उनीहरूले रोजगार पाएका छन्/छैनन्, के समस्या छ, कत्तिको आम्दानी गरिरहेका छन् भन्ने कुराको फलोअप गरिन्छ । तर सिटिइभिटीले नै सञ्चालन गरेका तालिमहरूको गरिँदैन । तर गर्नु जरुरी हुन्छ । तालिम मात्र दिएर हुँदैन । परिणाम कस्तो निस्कने भन्ने कुरा महत्वपूर्ण हुन्छ । तालिम सञ्चालन गर्नुअघि फलोअपसम्मको प्याकेज बनाइन्छ तर सबै कार्यान्वयन भएको छैन । हामी यसलाई ‘स्टार्ट अप सपोर्ट’ भन्छौं । सबैसँग तालिम लिएपछि व्यवसाय सञ्चालन गर्न सक्ने क्षमता हुँदैन । बैंकसँग सहकार्य गरी ऋण लिएर व्यवसाय गर्न सहजीकरण गर्नुपर्छ ।

 Image