Successfully Copied

घरबाटै नयाँ वर्षको स्वागत

वास्तुशास्त्र र फेंगसुईमा पनि घर र आफूले काम गर्ने ठाउँलाई सफा गरी अनावश्यक चीजहरूबाट मुक्त गरायौं भने घरमा सुख, शान्ति र समृद्धि ल्याउँछ, नयाँ उर्जाको विकास गर्छ भनेर उल्लेख छ ।

लक्ष्मी खड्का, आर्किटेक्ट

वैशाख १, नयाँ वर्षको स्वागत गर्ने दिन । नयाँ वर्षको दिन यो काम गर्ने, यसरी मनाउने, यता जाने, साथीभाइसँग जमघट गर्ने भन्ने तय सबैले पहिले नै गरिसकेका हुन्छन् । तर नयाँ वर्षको स्वागत सर्वप्रथम आफ्नै घरबाट गर्नुपर्छ । यो पाठ जापानीहरूबाट सिक्नुपर्छ । जापानीहरू नयाँ वर्षलाई ठूलो चाडका रूपमा लिन्छन् । नयाँ वर्षलाई जापानी भाषामा ‘ओसोगाचु’ भनिन्छ । यसको स्वागतको तयारी सर्वप्रथम आफ्नै घरबाट गर्छन् । त्यहाँ घर भन्नाले आफू बस्ने वासस्थान मात्र नभई आफूले पढ्ने स्कुल, कलेज, आफूले काम गर्ने कार्यालय पनि हुन् । नयाँ वर्षको आगमन हुनु एक/दुई साताअघिदेखि नै घर र भवनको सरसफाइ गर्न थाल्छन् । घरभित्रका हरेक कुनाकाप्चाका फोहोर निकाली सफा गर्छन् । घरभित्र फोहोर र नचाहिने सामान राख्नु नै घरभित्र नकारात्मक ऊर्जा निम्त्याउनु हो । तसर्थ घरबाहिर आँगन, कौसी, बरन्डादेखि पार्किङ, बगैंचा सबैको सरसफाइ गर्छन् ।

सरसफाइका क्रममा घरको वाल पेपरदेखि लिएर भुइँको फ्लोरिङसमेत फेरिन्छ । यतिमात्र नभई पुराना र बिग्रन लागेका, बिग्रिएका फर्निचरहरू मर्मत गरेर अथवा फालेर फेरबदल पनि गरिन्छ । यति मात्र नभई नयाँ वर्षको बिदाको अघिल्लो दिन स–साना विद्यार्थी, वयस्कहरू पनि आ–आफ्नो कर्मस्थानको सरसफाइमा जुटेका हुन्छन् । स्कुलदेखि कलेज पढ्ने विद्यार्थीहरू पनि आफ्नो डेस्क, बेन्च, जुत्ता राख्ने र्‍याकदेखि आफ्नो कक्षसम्म पनि आफैंले सफा गर्छन् । अफिसका सानादेखि ठूला कर्मचारीहरू पनि आफ्नो कार्य क्षेत्रभित्र पर्ने स्पेसमा नयाँ वर्षको पहिलो दिनबाटै धेरै जोश, जाँगर र सकारात्मक ऊर्जा ल्याओस् भन्दै फोहोर र नचाहिने सामग्रीलाई केलाउँदै जान्छन् ।

घरको कार्य क्षेत्र मात्र नभई टोल, सहर एवं देशमै सरसफाइलाई मुख्य प्राथमिकता दिइन्छ । सबैजना मिलेर पार्कदेखि बाटोघाटोमा जम्मा भएका फोहोरको सरसफाइ गर्छन् । नचाहिँदो तरिकाले हुर्के–बढेका बोट–बिरूवा र रुखका हाँगा काटिनाले पनि टोल र सहर नै सुन्दर र मनमोहक देखिन्छ । जापानीहरू आफ्नो घर, काम गर्ने स्थान मात्र नभई टोल र सहर नै सफा भए मात्र मन सफा हुन्छ, नयाँ ऊर्जा, फुर्ती र जाँगर उत्पन्न हुन्छ भन्ने ठान्छन् । सायद यही सोचाइका कारण वर्षभरि थुप्रिएका अनावश्यक सामान पन्छाई घर र घर वरिपरि सफा र सुन्दर बनाउनु नै नयाँ वर्षको मुख्य महत्व र विशेषता ठान्छन् । त्यसपछि नयाँ वर्षको मध्यरातदेखि नयाँ वर्षको दिनभरि मन्दिरमा गई भगवान्को दर्शन गर्छन् र नयाँ वर्षले खुसी, उमङ्ग र नयाँ ऊर्जा ल्याओस् भनी पूर्ण आस्थाका साथ भगवान्सँग प्रार्थना गर्छन् ।

साँच्चै नै बस्ने घर र काम गर्ने स्थानले पनि मानिसको व्यक्तित्व विकासमा निकै असर पार्छ । वास्तुशास्त्र र फेंगसुईमा पनि घर र आफूले काम गर्ने ठाउँलाई सफा गरी अनावश्यक चीजहरूबाट मुक्त गरायौं भने घरमा सुख, शान्ति र समृद्धि ल्याउँछ, नयाँ उर्जाको विकास गर्छ भनेर उल्लेख छ । नयाँ वर्ष अथवा चाडपर्वमा घर सफा गर्ने भन्नेबित्तिकै खर्चिलो ढंगबाट नयाँ र महँगा सामान किनेर घरको सजावट गर्नुपर्छ भन्ने विचार पक्कै पनि राम्रो होइन । घरका कुनाकाप्चामा फोहोर जम्मा हुन नदिन वर्षको एकपटक भए पनि कोठाको ले–आउट अलि–अलि मात्र भए पनि फेरबदल गरेर अथवा कोठाभित्रका सरसामान, फर्निचरहरू यताउता सारेर भए पनि कोठाको सरसफाइ गर्नु उचित हुन्छ । घर सफाइसँगै झ्यालढोकामा राखिने पर्दाको सरसफाइ गर्नु पनि अपरिहार्य हुन्छ ।

झ्यालमा विन्डो ब्लिन्डसको प्रयोग गरिएको छ भने धूलो–मैलो जम्मा नहुने गरी बेलाबेलामा पुछेर सफा गर्नुपर्छ । यस्ता स–साना कुरामा मात्र पनि ध्यान दिने हो भने तपाईंको घर स्वर्ग बन्छ । तसर्थ चाडपर्वका अलावा नयाँ वर्षको स्वागत घरलाई सफा–सुग्घर गर्नुभयो, बिग्रे–भत्केको चीजको मर्मत गरी अनावश्यक सामानलाई केलाउँदै पन्छाउँदै घरभित्र सकारात्मक ऊर्जाको विकास गर्नुपर्छ । मन र मस्तिष्कमा नयाँ जोश र जाँगर उत्पन्न गराउँदै नयाँ वर्षको स्वागत गर्ने हो कि ?

 Image