Successfully Copied

चप्पल क्रेज

जमघटमा फ्ल्याट तथा हल्का हिल भएको चप्पल लगाउँदा स्मार्ट देखिन्छ ।

कुनैबेला एउटा रेडियो विज्ञापन खुब चर्चित थियो, ‘हात्ती बलियो कि हात्ती छाप चप्पल ?’ विज्ञापनको प्रभावले हो वा रहरले, बाध्यताले हो वा सहजताले केही वर्षअघिसम्म धेरैजसो नेपालीको खुट्टामा चप्पल नै हुन्थ्यो । सस्तो र छरितो भएर पनि हुनसक्छ, चप्पल फड्काउँदै हिँड्नेहरूको संख्या बढी थियो । समय धेरै बितेको छैन, हिजो आवश्यकता बनेको चप्पलले आज फेसन बजारमा बेग्लै पकड बनाएको छ । यससँगै चप्पलको सम्बन्ध खुट्टाको सुरक्षासँग मात्र नभई मान्छेको व्यक्तित्वसँग जोडिएको छ । त्यसैले त बजार अनेकथरी चप्पलले भरिभराउ हुन थालेको छ ।

खासगरी गर्मीसँगै चप्पलको माग उत्कर्षमा पुग्छ । गर्मीमा जुत्ता बाफिने वा गन्हाउने भएर पनि चप्पल सहज मानिन्छ । त्यसो त दैनिक कामकाजमा मात्र होइन, कार्यालय धाउँदा होस् वा विवाह भोजमा, चप्पलको उपयोगिता बढ्दो छ । अझ महिलाको पहिरनमा त चप्पलले विशेष भूमिका खेलेको हुन्छ । त्यसैले त उनीहरूसँग जुत्ताको तुलनामा चप्पलको संग्रह धेरै हुन्छ ।

डिजाइनअनुसार कुन अवस्थामा कस्तो चप्पल लगाउने भन्ने कुराको निर्क्यौल गरिन्छ । अवसर र पहिरनअनुसार चप्पलको डिजाइन पनि फरक हुन्छ । भोजभतेरमा लगाउने बेग्लै, सामान्य कामकाजमा बेग्लै । कार्यालयमा बेग्लै, लामो यात्रामा बेग्लै । पहिरनले पनि कुन किसिमको चप्पल लगाउने भन्ने कुरा निर्धारण गर्छ ।

जस्तो साडीमा लगाउने चप्पल र जिन्समा लगाउने फरक हुन्छ । स्कर्टमा लगाउने र कुर्तामा लगाउने बेग्लै । फ्ल्याट लगाउने वा हिल ? यसको टुंगो हाम्रो पहिरनले नै गर्छ । त्यसैले महिलालाई एक जोर चप्पलले मात्र काम चल्दैन । थरीथरीका डिजाइनका चप्पल जरुरी हुन्छ ।

त्यसो त चप्पलको सही छनोटले सहज मात्र होइन, फेसनेबल पनि देखाउँछ । स्मार्ट र फेसनेबल देखिनका लागि पनि थरीथरीका चप्पल लगाउने गरिन्छ ।

युवतीहरूको फेसनमा फुटवेयरले सबैभन्दा बढी महत्व राख्ने गरेको छ । विएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय भन्छन्, ‘नेपाली महिलाहरू फेसनेबल छन् । उनीहरू डिजाइन परिवर्तन गरी–गरी लगाउन चाहन्छन् । त्यससँगै उनीहरू सहजता र बलियो पनि खोज्छन् ।’

पहिरनअनुरूप

आफ्नो पहिरनअनुसारकै चप्पल छनोट गर्नुपर्छ । क्याजुअल वेयरमा धेरै तडकभडक तथा स्टाइलिस चप्पल सुहाउँदैन । यस्तो पहिरनमा हल्का र सहज चप्पल लगाउँदा राम्रो हुन्छ । वान पिस तथा जम्पसुटसँग भने फ्ल्याट वा कलरफुल चप्पल सुहाउँछ । क्याजुअल र फर्मल दुवैसित भने एंकल स्ट्रोप वेज हिल वा हल्का हिल भएको क्लोज सुज सुहाउँदो हुन्छ । ट्रेडिसनल पहिरनका लागि ट्रेन्डी फुटवेयर बजारमा पाइन्छ, जसले ट्रेडिसनल लुक्स दिन्छ । मखमल, ढाका, अल्लोबाट बनाइएका जुत्ता–चप्पल लगाउन सकिन्छ । यस्ता चप्पल विभिन्न डिजाइन र रंगमा उपलब्ध छन् ।

रंगको संयोजन

चप्पलको छनोट गर्दा रंगको छनोट महत्वपूर्ण हुन्छ । पहिरनको रंगसँग ‘म्याचिङ’ गरेर लगाउँदा शारीरिक वनावटलाई आकर्षक देखाउँछ । सेतो र कालो चप्पल प्रायः सबै पहिरनसँग लगाउन सकिन्छ । ब्यागसँग फुटवेयरको संयोजन पनि मिलाउन सकिन्छ । सामान्य पहिरनसँग कस्तो रंगको चप्पल सुहाउँछ त ? यो वर्ष रंगको फेसनको कुरा गर्दा उज्यालो रंग नै चल्ने फेसनविद्हरू बताउँछन् । अबको मौसम गर्मी भएकाले उज्यालो रंग नै उपयोगी मानिने उनीहरूको भनाइ छ । नीलो, रातो, पहेंलो रंगको जुत्ता–चप्पल गर्मीको फेसन हो । त्यस्तै गत वर्ष क्लासिक रंगको चप्पलकालो, बेज, ग्रे, सेतो रंगको पनि लोकप्रिय थियो ।

समय र अवसर

कुन ठाउँमा जाँदै हुनुहुन्छ, सोहीअनुरूप चप्पलको छनोट गर्नुपर्छ । घुमघामका लागि निस्कदै हुनुहुन्छ भने हिँड्न सजिलो खालको लगाउनुपर्ने हुन्छ । जमघटमा फ्ल्याट तथा हल्का हिल भएको चप्पल लगाउँदा स्मार्ट देखिन्छ ।

धेरै हिँड्नुपर्ने भए चौडा हिल भएको चप्पल पनि लगाउन सकिन्छ । पार्टीका लागि भने हाई हिल्स नै रोज्न सकिन्छ । तर पनि आफ्नो पहिरनसँग मिल्ने खालको चप्पल लगाउँदा सुन्दरतामा थप निखार पुर्‍याउन मद्दत गर्छ । साडी, कुर्ता–सलवार, लेहेंगामा हाई हिल सुहाउँछ । स्कर्ट, वानपिस, गाउनमा अवसर हेरेर हाई हिल लगाउन सकिन्छ । विवाह, व्रतबन्ध, पास्नी, बर्थडे आदि विशेष अवसरमा हल्का हाइहिल भएकै फुटवेयर प्रयोग गर्न सकिन्छ । साडी र कुर्ताका लागि हाई हिल, स्यान्डल, वेजहिल उपयोगी हुन्छ । यस्ता जुत्ता वा चप्पलमा आकर्षक वर्क गरिएका स्टोन विड्स आदि जडिएका लगाउन सकिन्छ । कोल्हापुरी चप्पल, मखमलको चप्पल साडी, कुर्ता–सलबारसित सुहाउँदो हुन्छ । ट्रेडिसनल एवं फ्युजन वेयरसँग यस्ता चप्पल आकर्षक देखिन्छन् । साँझको पार्टीमा वा डिनरका लागि बाहिर गएको बेला हल्का हिल वा पहिरनअनुरूप जुत्ता रोज्न सकिन्छ । चौडा हिल भएको चप्पल आरामदायक हुन्छ । यसले खुट्टालाई आराम दिन्छ । हिँड्न पनि सहज हुन्छ ।

दैनिक वा क्याजुअल

फ्ल्याट चप्पलले हिँडडुल गर्न मात्र सजिलो बनाउँदैन, आरमदायक र स्टाइलिस पनि उत्तिकै देखाउँछ । गर्मीमा ‘कुल’ देखिन फ्ल्याट चप्पल उपयोगी मानिन्छ । धेरैजसो महिलाहरूमा लोकप्रिय फ्ल्याट चप्पल लगाउन पनि हल्का र खुट्टा पनि नगुम्सने हुन्छ । यस्तो चप्पलले खुट्टालाई आराम दिन्छ । गर्मी मौसममा फ्ल्याट चप्पल एकदमै उपयोगी मानिन्छ । दैनिक प्रयोग गर्न तथा हिँड्न सजिलो हुन्छ । वान पिस, हाफ पाइन्ट, जम्पसुट, जिन्स आदि पहिरनमा यस्तो चप्पल राम्रो देखिन्छ । दैनिक प्रयोगका लागि स्टाइलिस हिल भएको फुटवेयर लगाउनु उपयुक्त मानिँदैन । यस्तो चप्पल पातलो र प्वाइन्टेड हिल भएको, अग्लो हुन्छ । यो हेर्दा राम्रो देखिए पनि धेरै समयसम्म हिँड्न कठिन हुन्छ । सुविधाजनक फुटवेयरका लागि नेपाली बजारमा स्वदेशी कम्पनीका जुत्ता–चप्पल पाइन्छन् ।

उचाइअनुरूप

चप्पल अग्लो लगाउने भन्ने कुरा आफ्नो उचाइमा पनि निर्भर रहन्छ । उचाइ धेरै छ भने धेरै अग्लो चप्पल लगाउँदा असुहाउँदो देखाउँछ । त्यस्तै उचाइ कम भएकाहरूले पनि आफूलाई अग्लो देखाउन हाई हिलको प्रयोग गरेको पाइन्छ, जुन एकदमै गलत हो । उचाइ कम भए पनि ठिक्कको हिल नै लगाउनुपर्छ । उचाइ अग्लो भएकाले हेन्डवर्क वा प्रिन्टेड फुटवेयर लगाउनु उपयुक्त हुन्छ । त्यस्तै गाढा तथा उज्यालो रंग छान्नुपर्छ भने उचाइ कम भएकाले हल्का रंगका फुटवेयर किन्नुपर्छ ।

पेसाअनुसार

कतिपय कम्पनीले कस्तो डिजाइनको फुटवेयर प्रयोग गर्ने भन्ने कुरा निर्धारण गरिदिएका हुन्छन् । जस्तो कि सरकारी कर्मचारीहरूले कालो रंगको फुटवेयर प्रयोग गर्छन् । नेपालमा थुप्रै कम्पनीले अफिस वेयर जुत्ता–चप्पल बनाउँछन् । बैंकर्स तथा कर्पोरेट क्षेत्रका कर्मचारीहरूले हल्का हिल, ब्लक हिल, हाई हिल, वेज हिलको प्रयोग गर्छन् । यस्ता फुटवेयरले उनीहरूलाई निकै स्मार्ट देखाउँछ । मोडल एवं चलचित्रकर्मीहरूले हाई हिल, उज्यालो रंग तथा कलरफुल लगाउँछन् । यसले उनीहरूलाई फेसनेबल एवं स्टाइलिस लुक दिन्छ । स्कुल–कलेजका विद्यार्थीहरूले कालो रंगको जुत्ता लगाउँछन् ।

फुटवेयरको छनोट गर्दा

- जुत्ता–चप्पल किन्नुपरे साँझको समय राम्रो हुन्छ । यो समय खुट्टा सुन्निने भएकाले खुट्टाको साइजको उचित अनुमान लगाउन सकिन्छ ।

- ढाड दुख्ने वा घुँडा दुख्ने समस्या छ भने अग्लो हिल नलगाउनु नै राम्रो हुन्छ । यस्ता चप्पलले झन् समस्यालाई बढाउन सक्छ ।

- धेरै हिँड्नुपर्ने ठाउँ भए अग्लो हिल लगाउनु हुँदैन । यसले खुट्टामा समस्या हुन्छ । खुट्टा दुख्ने, पोल्ने तथा खुट्टामा घाउ बनाउने डर हुन्छ ।

- हाई हिलको छनोट गर्दा शरीरलाई सन्तुलनमा राख्न सकिन्छ वा सकिँदैन भन्ने कुराको ख्याल राख्नुपर्छ ।

- फुटवेयरको छनोट गर्दा सहज महसुस गराउने हुनुपर्छ । धेरै खुल्ला वा धेरै टाइट चप्पलले सहजता दिँदैन । त्यस्तै खुट्टाको औंला एक–अर्कामा खप्टिँदा पनि पीडा हुन्छ ।

- फुटवेयर किन्दा गुणस्तरमा ध्यान दिनुपर्छ । राम्रो र ब्रान्डेड कम्पनी छान्नुपर्छ । कमसल फुटवेयरले खुट्टा गुम्सिने र गन्हाउने सम्भावना हुन्छ ।

- धेरै अग्लो हिल लगाउन नसके वेजहिल रोज्न सकिन्छ । यो चप्पल लगाउँदा हिँड्न सजिलो हुन्छ ।

- आफ्नो खुट्टालाई सुहाउने आकारको हुनुपर्छ । डिजाइनको पछि लाग्नुभन्दा आफ्नो खुट्टा सुहाउँदो फुटवेयर हुनुपर्छ ।

- खुट्टामा पसिना आउने, खुट्टा गन्हाउने समस्या छ भने क्लोज भन्दा फ्ल्याट वा अगाडिको भाग खुल्ला भएको फुटवेयरको छनोट गर्नुपर्छ ।

होमनाथ उपाध्याय

प्रबन्ध निर्देशक, विएफ डियर हिल

नेपाली ढाकाको चप्पलको माग अहिले बढी छ । विवाह, पार्टीहरूमा लगाउनका लागि आफ्नो पहिरनसँग म्याचिङ गरेर लगाउने चलन छ । ढाकाको फ्ल्याट वा फित्तावाला चप्पल बनाउन रेसा निस्कने भएकाले क्लोज, हल्का हिल भएको र अगाडि खुल्ला भएको डिजाइनमा निकालेका छौं । नेपाली बजारमा यो चप्पलको मूल्य १ हजारदेखि २ हजारसम्म पर्छ । अल्लोको अलि महँगो पर्ने भएकाले यसको माग अलि कम छ । अफिस तथा दैनिक प्रयोग गरिने छालाको जुत्ता वा चप्पल पनि बनाउँछौं । यस्ता फुटवेयरमा राम्रो खालको छालाको प्रयोग गरिन्छ ।

नेपाली बजारमा ९० प्रतिशत जुत्ता वा चप्पल स्वदेशी उत्पादन हुन्छन् । तर नेपाली भनेर ब्रान्डिङ गरिँदैन । थाइल्यान्डको ब्रान्ड ‘एरो सफ्ट’ मा बनिने किसिमको डिजाइन अहिले स्वदेशमै उत्पादन हुन्छ । यो ब्रान्डलाई अहिले नेपाली उत्पादनले विस्थापित गरिसकेको छ । धेरै प्रकारका डिजाइनमा अहिले नेपाली ब्रान्ड आत्मनिर्भर भइसकेको छ ।

 Image