Successfully Copied

२०७८ साल जेठ महिनाको राशिफल

कुनै जिम्मेवारीको कामले गर्दा व्यस्त रहनुपर्ला । कामको चापले मन, टाउको एवं आँखामा समस्या हुनसक्ने भएकाले कार्यतालिका बनाएर काम गर्दा सजिलो हुनेछ ।

मेष

कुनै जिम्मेवारीको कामले गर्दा व्यस्त रहनुपर्ला । कामको चापले मन, टाउको एवं आँखामा समस्या हुनसक्ने भएकाले कार्यतालिका बनाएर काम गर्दा सजिलो हुनेछ । पारिवारिक खुसीका निमित्त केही खर्च गर्नुपर्ला । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । कसैकसैलाई आफ्ना सन्तानप्रति माया प्रदान गर्ने अवसर मिल्नेछ । व्यापारिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । यात्रा गर्दा आफ्नो मालसामानको भने राम्रो ख्याल गर्नुपर्नेछ ।

वृष

व्यक्तिगत वा अफिसियल कामले यात्रा हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । कतैबाट कुनै आकस्मिक उपहार प्राप्त हुनसक्छ । पारिवारिक जमघट हुनेछ । आगोले पोल्ने वा चोटपटक लाग्नसक्ने सम्भावना भएकाले भान्सामा काम गर्दा होशियार रहनुपर्ने बेला छ । यात्रा गर्दा आकस्मिक समस्या आइलाग्न सक्ने भएकाले अत्यावश्यक चीजहरू लिएर यात्रा गर्नु सहज एवं लाभदायक हुनेछ । गर्भवती एवं स–साना केटाकेटीका आमाले सबै कुरामा विशेष ख्याल गर्नुपर्नेछ ।

मिथुन

कहिलेकाहीँ कामको चापले मनमा नकारात्मक भाव पैदा हुनसक्छ । सकेसम्म आफूलाई धीर, शान्त र सकारात्मक राख्ने प्रयास गर्नुहोला । वाकपटुता र कार्यकुशलताका कारण अनपेक्षित कार्यमा पनि सफलता प्राप्त हुनसक्छ । सन्तानबाट सन्तोष मिल्नेछ । आर्थिक पक्ष सबल हुनुका साथै व्यापारिक क्षेत्रबाट पनि राम्रो फाइदा हुनेछ । कसैकसैको नयाँ साथीसित मित्रता गाँसिनसक्छ । नवविवाहित जोडीको दाम्पत्य जीवन सुमधुर रहनेछ साथै अरू दाम्पत्य जोडीहरूको जीवनमा पनि केही नयाँपन आएर रमाइलो वातावरण बन्नेछ ।

कर्कट

कुनै धार्मिक, पर्यटकीय वा भेटघाटका निमित्त कतैको यात्रा हुनसक्छ । यात्रा गर्दा सम्भावित समस्या आउनसक्ने भएकाले अत्यावश्यक कुरा विचार गरी यात्रा गर्नु फलदायी हुनेछ । एकादश स्थानको सूर्य र बुधले काममा सन्तुलन ल्याउनेछन् । किनमेल गर्दा अनावश्यक समय र रूपैंयाँ खर्च हुनसक्ने भएकाले कुनै पनि सामान किन्नुपूर्व राम्ररी छनोट गर्नुपर्नेछ । प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । कसैकसैलाई कुनै संघसंस्थाबाट मान–सम्मान प्राप्त हुने अवसर मिल्नसक्छ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ ।

सिंह

इच्छानुरूप गरेका काममा सफलता मिल्दै जानेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल भइनेछ । अघिल्ला महिनामा कुनै कारणवश रोकिएका कामले गति लिन थाल्नेछन् । माइती/मावली पक्षसित भेटघाट भैरहला । घर सफा गर्दा कुनै कुनै सर–सामानमा हेरफेर हुनसक्छ । आफ्नो जोडीबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । यो महिनामा कसैकसैको प्रेमसम्बन्धले विवाहको मूर्तरूप लिने प्रबल योग छ भने कसैलाई घरमा भाउजू/बुहारी भित्र्याउने मौका मिल्नसक्छ ।

कन्या

कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । गृहस्थी जीवनमा जोडीहरूले अपेक्षित समयानुरूप आपसी माया एवं समझदारी प्राप्त गर्नेछन् । कुनै धार्मिक, माङ्गलिक एवं साहित्यिक कार्यमा सहभागी हुने अवसर जुर्नसक्छ । व्यक्तिगत खुसी र स्वास्थ्यका लागि केही खर्च हुनेछ । कहिलेकाहीँ काम गर्दा सानातिना अवरोध आउनसक्छन् । धैर्य र शान्त भई काम गरे सहज हुँदै जानेछन् । अनावश्यक खर्चको योग रहेकाले किनमेल गर्दा अत्यावश्यक कुरामा मात्र खर्च गर्नु उपयुक्त हुनेछ । व्यावसायिक क्षेत्र वा शेयरमा सकेसम्म नयाँ लगानी नगर्नु नै उपयुक्त हुनेछ ।

तुला

पारिवारिक वातावरण आफूले अपेक्षा गरेअनुरूप नै रहनेछ । शैक्षिक, साहित्यिक एवं सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरूका निम्ति यो महिना फलदायी हुनेछ । श्रीमान् एवं सन्तानबाट तपाईंको इच्छा बुझी काम गर्ने प्रयास हुनेछ । नवदम्पतीले एक–अर्कालाई राम्ररी बुझ्ने अवसर प्राप्त गर्नेछन् । आफ्नो इच्छानुसारको खानपिन गर्ने र किनमेल गर्ने समय निस्कनेछ । कहिलेकाहीँ काम गर्दा मनमा दोधार हुनसक्छ । धैर्य एवं सकारात्मक सोचका साथ काम गर्दा मनमा हौसला बढ्नुका साथै सबै कार्य सम्पन्न हुँदै जानेछन् ।

वृश्चिक

शैक्षिक, सामाजिक, व्यावसायिक, साहित्यिक एवं व्यक्तिगत कामका लागि कतैको लामो–छोटो दूरीको यात्रा हुनसक्छ । आफन्तलाई तपाईंको सहयोगको आवश्यकता पर्नसक्छ । पेट दुख्ने, रक्तचापमा कमी हुने लक्षण देखापर्नसक्छन् । सकेसम्म आफूले जानेको र आफूलाई सहज हुने खालको काम गर्दा अलिक सजिलो हुनेछ । कहिलेकाहीँ आफ्नो इच्छाविरुद्धका कार्यको जिम्मेवारी आइलाग्नसक्छ । आफ्नो भित्री बुद्धि र चेतनाअनुरूप काम गर्नु लाभप्रद रहनेछ ।

धनु

कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । मनमा भएको ताप/शंका हटेर जाँदा शरीर फुर्तिलो हुनेछ । काम गर्ने जाँगर बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति गर्ने अवसर मिल्नेछ । कसैकसैको लगनगाँठो कसिने योग छ । प्रतिस्पर्धात्मक/न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारिक क्षेत्र सफल हुन जाँदा आर्थिक लाभ पनि हुनेछ । अनपेक्षित विवाद/अपजश हुने सम्भावना भएकाले काम गर्दा निकै होशियार रहनुपर्ने बेला छ ।

मकर

सकारात्मक कुरा र कार्यतर्फ मन अभिप्रेरित हुनेछ । कहिलेकाहीँ झिना–मसिना कुराले व्यक्तित्वमा प्रभाव पार्नसक्ने हुँदा बोली र व्यवहारमा निकै सतर्कता अपनाउनुपर्नेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रतिको सम्मान र विचारको कदर गर्दै आफ्नो कुरा पनि राख्दै सहज ढङ्गले वार्ता गर्नसके सम्भावित विवाद टर्नसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । मनमा भएको द्विविधा हट्न जाँदा मनमा एकप्रकारको फुर्ती आउनेछ । कसैकसैले यो महिनामा लगनगाँठो कसेर आफ्नो गृहस्थी जीवनको सुरूवात गर्नेछन् ।

कुम्भ

कहिलेकाहीँ काम गर्दा मनमा आकस्मिक तनाव/विचलन आउनसक्छ । सकेसम्म आफूलाई सकारात्मक र शान्त राख्ने प्रयास गर्नुहोला । मनमा नकारात्मक भाव आएमा आफूलाई सकारात्मक कार्यमा मोड्नु राम्रो हुनेछ । आफ््ना प्रियजन एवं शुभचिन्तकसँग बेलाबेलामा वार्तालाप गरिराख्दा मनमा एक प्रकारको ऊर्जा आउनेछ । परिवारमा कुनै अतिथिको आगमन हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रो फाइदा हुनेछ । आफ्नो व्यक्तिगत खुसी एवं स्वास्थ्यको ख्याल गर्नुपर्ने बेला छ ।

मीन

मनमा भएको तनाव हट्न जाँदा मन चङ्गाजस्तै हुनेछ र शरीर पनि स्वस्थ रहनेछ । समस्याको समाधान हुनेछ र रोकिएका कामहरूले पनि गति लिन थाल्नेछन् । काम गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट अपेक्षित सहयोग पाइनेछ । कतै यात्रा वा घुमघाम गर्दा, सवारी चलाउँदा आफूले जाने–बुझेको बाटोबाट मात्र हिँड्नु मनासिब रहनेछ । साथै जस्तोसुकै सानो/ठूलो यात्रा गर्दा भैपरी आउनसक्ने कुराको ख्याल गरी अत्यावश्यक सामान लिएर हिँड्नु उचित हुनेछ ।

 Image