Successfully Copied

‘खानामा क्यालोरी कम भए इम्युनिटी घट्छ’

तारेको, भुटेको वा मसलेदार खानेकुरा नियमित रूपमा खानु हुँदैन ।

गर्मीमा शीतलता प्रदान गर्ने खाद्यपदार्थ र महामारीका बेला रोगविरुद्ध लड्ने क्षमता बढाउने खानालगायतका विषयमा केन्द्रित भई पोषणविज्ञ सुशीला शर्मा खतिवडासँग गरिएको कुराकानी :

सुशीला शर्मा खतिवडा, पोषणविज्ञ

गर्मीमा शीतलता प्रदान गर्न कस्ता खानेकुरा खानुपर्छ ?

हामीकहाँ गर्मीमा सर्बत पिउने चलन छ । हुन त प्राकृतिक रूपले गर्मी र सर्दीको खाना छुट्याएपनि पोषणको हिसाबले यो खाना चिसो वा तातो भनेर छुट्याएको हुँदैन । तरपनि गर्मी महिनामा वातावरण र हाम्रो शरीर पनि सुख्खा हुने भएकाले पानीको मात्रा जाडोको तुलनामा दोब्बर बढाउनुपर्छ । पुदिनामा चुक, अमिलो, नुन–मरिच राखेर सर्बत बनाएर खान सकिन्छ । जौको सातुमा सख्खर मिसाएर खाने चलन पनि छ । मेवा, केरा र भुँइकटहर सदाबहार फल्ने फल हुन् । शरीरलाई यी फलफूलले शीतलता प्रदान गर्छन् । तरबुजा, कुभिन्डोको जुसमा बिरेनुनको प्रयोग गरी पिउन सकिन्छ । आफूसँग जे उपलब्ध छ वा ठाउँअनुसार जस्तो फल फल्छ त्यही खानु उपयुक्त हुन्छ । लट्टेको साग, निगुरो, कालो र सेतो जामुन, बाँसका टुसा (तामा), ऐंसेलु खानु राम्रो हो । डेरी उत्पादन पनि गर्मीका लागि राम्रो मानिन्छ ।

कस्तो खानाबाट बच्ने ?

तारेको, भुटेको वा मसलेदार खानेकुरा नियमित रूपमा खानु हुँदैन । सुपाच्य खानेकुराको सेवन गर्नु जरुरी हुन्छ । मासुको सेवन भरसक कम गर्नुपर्छ । यो मौसममा सजिलै पच्ने खाना खानु आवश्यक हुन्छ ।

महामारीबाट बच्न कस्ता खानेकुरा खान सकिन्छ ? रोगविरुद्ध लड्ने क्षमता बढाउन के खानु पर्ला ?

महामारीबाट बच्न पानी प्रशस्त भएका फलफूल, टुसा पलाउने सब्जी, टुसा पलाएका गेडागुडी खानुपर्छ । खानामा घिउ वातेलको प्रयोग हुनुपर्छ । त्यस्तै, रोगप्रतिरोधक क्षमता बढाउन खानामा भिटामिन ‘सी’, क्याल्सियम, जिंक, प्रोटिन, फ्याट समावेश गर्नुपर्छ । टुसा पलाएका गेडागुडीमा प्याज, गोलभेंडा राखेर सलाद बनाई खान सकिन्छ । यसमा भिटामिन ‘बी’ कम्प्लेक्स, जिंक प्रशस्त मात्रामा पाइन्छ ।

स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा कुनै पनि कुरा धेरै खानुहुँदैन । गेडागुडी खाँदा एक पसर, मसलाहरूको प्रयोग गर्दा एक चिम्टी र अन्न एक अञ्जुली खानुपर्छ । १८ वर्षभन्दा कम उमेरकालाई बढी क्यालोरीको आवश्यकता पर्छ । क्यालोरीको मात्रा कम भएमा इम्युनिटी पावरमा असर गर्छ, क्यालोरी कम हुनेबित्तिकै शक्ति कम हुन्छ र शरीर कमजोर हुन्छ ।

 Image