Successfully Copied

भान्सामै सौन्दर्य खजाना

चामलमा एमिनो एसिड र भिटामिन पाइन्छ । छालालाई गोरो बनाउन यसले सहयोग गर्छ ।

अहिले गर्मी मौसम छ । यो मौसममा छाला चमकविहीन हुने भएकाले स्याहार बढी आवश्यक पर्छ । गर्मीमा छालालाई सूर्यका हानिकारक परावैजनी किरणबाट जोगाउन र चमक बनाइराख्न केही घरेलु उपाय अपनाउन सकिन्छ । हाम्रो भान्साकोठामा उपलब्ध केही उपायहरू :

गोरो छालाका लागि चामल

चामलमा एमिनो एसिड र भिटामिन पाइन्छ । छालालाई गोरो बनाउन यसले सहयोग गर्छ । चामल धोएको पानी (चौलानी) पनि छाला र केशका लागि लाभदायक हुन्छ । छालाको दाग–धब्बा कम गर्न यसले मद्दत गर्छ । बढेको रोमछिद्र कम गर्न पनि यो उपयोगी छ । प्राकृतिक ‘ग्लो’ को चाहना राख्नेहरूले चौलानीलाई दैनिक टोनरका रूपमा प्रयोग गर्नुपर्छ । त्यस्तै, चौलानीले केश धुँदा नरम र चम्किलो हुन्छ । यसले केशलाई बलियो पनि बनाउँछ । हाँगा फाट्ने समस्या भए यसको प्रयोग गर्दा फाइदा पुग्छ । चामलको पिठोलाई स्क्रबका रूपमा प्रयोग गर्न सकिन्छ । यसमा थोरै दूध र मह मिसाएर पेस्ट बनाई प्याकका रूपमा पनि उपयोग गर्न सकिन्छ । यसले छाला मुलायम, नरम र चम्किलो बनाउँछ ।

मुलायम छालाका लागि दूध

दूधको नियमित सेवनबाट छाला मुलायम र नरम बन्छ । छालालाई यसले हाइड्रेट गर्छ र सुख्खा हुन दिँदैन । दूधमा पाइने ‘ल्याक्टिक एसिड’ छालाका लागि फाइदाजनक छ । यसले ‘कोलेजन’ उत्पादनमा सहयोग गर्छ । दूधमा थोरै मह मिसाई अनुहारमा १५ मिनेटसम्म लगाएर पखाल्दा अनुहारमा चमक आउँछ । मौसम परिवर्तन हुने बेला छाला रुखो हुनसक्छ । यो समस्या समाधानका लागि दूधलाई क्लिन्जरका रूपमा प्रयोग गर्न सकिन्छ । एक चम्चा काँचो दूध अनुहारमा लगाई केही समय मसाज गरी पखाल्दा अनुहारका मृतकोशिकाहरू विस्तारै हटेर जान्छन् ।

ब्याक्टेरिया नाश गर्ने बेसार

बेसार औषधीय गुणले भरिपूर्ण छ । यो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले डन्डिफोर पैदा गर्ने ब्याक्टेरियालाई मार्छ । साथै यसले छालाको ‘सिबासियस’ ग्रन्थिबाट निस्कने स्राबलाई कम गर्नुका साथै अनुहारमा डन्डिफोर र स–साना फोकाहरू आउन दिँदैन । अनुहारमा भएका दाग–धब्बा हटाएर यसले निखार ल्याउँछ । बेसारमा पाइने ‘एन्टी अक्सिडेन्ट’ ले बढ्दो उमेरका कारण हुने छालाजन्य समस्याको न्यूनीकरण गर्छ । बेसारबाट बनेको प्याक साताको एकपटक लगाए राम्रो हुन्छ । यसमा पाइने ‘एन्टी सेप्टिक’, ‘एन्टी ब्याक्टेरियल’, ‘एन्टी–फंगस’ र ‘एन्टी–बायोटिक’ रोमछिद्रबाट भित्र गई जमेको ब्याक्टेरिया नाश गर्छ र मृतकोशिकाहरूको मर्मत पनि गर्छ ।

छाला कसिलो बनाउन टमाटर

टमाटरले प्राकृतिक टोनरको काम गर्छ । लुज छालालाई यसले कसिलो बनाउन सहयोग गर्छ । यसमा पाइने ‘एन्टी अक्सिडेन्ट’ ले अनुहारको छाला निखारी प्राकृतिक चमक ल्याउँछ । टमाटरको जुसलाई कपासको सहायताले अनुहारमा लगाएर १५ मिनेटपछि सफा पानीले पखाल्दा ‘फेस ग्लेजिङ’ बढ्छ । यो प्रक्रिया दिनमा दुईपटक गर्नुपर्छ ।

सनवर्नको उपचार आलु

घामले डडेको छालाका लागि आलु उपयोगी छ । ‘डार्क सर्कल’ हटाउन पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुको बोक्राको सहायताले ‘डार्क सर्कल’ बाट छुटकारा पाउन सकिन्छ । सनवर्न भएको ठाउँमा ५ मिनेटसम्म काटेको आलु रगडेर सफा चिसो पानीले अनुहार पखाले फाइदा पुग्छ । त्यस्तै, आलुमा अण्डा मिसाएर ‘फेस प्याक’ का रूपमा पनि अनुहारमा लगाउन सकिन्छ । आलुको रसमा दुई चम्चा काँचो दूध मिसाएर कपासको सहायताले अनुहार र गर्दनमा लगाएर २० मिनेटपछि धुँदा फाइदा हुन्छ । अनुहारको छाला गोरो बनाउन यसले सहयोग पुग्छ ।

चाउरीपनबाट बच्न घिउकुमारी

पछिल्लो समय हाम्रो भान्सामा घिउकुमारी पनि भित्रिएको छ । यसको ताजा जुस खानेहरू बढेका छन् । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटासियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन् । यी तत्वले छालालाई हाइड्रेट राख्छन् । अनुहारमा घिउकुमारीको जुस नियमित लगाउँदा चाउरीपनबाट बच्न सकिन्छ । त्यस्तै अनुहारलाई यसले चम्किलो र मुलायम बनाउँछ । यसमा पाइने ‘एमिनो एसिड’ ले छालाका कोशिकाहरूलाई कसिलो बनाउन सहयोग गर्छ । यसमा ‘एन्टी एजिङ’ र ‘मोस्चराइजिङ’ गुण हुने भएकाले छालालाई भित्रबाटै नरम बनाउँछ । राम्रो टोनरका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । घिउकुमारीको जति धेरै प्रयोग गर्‍यो त्यति नै फाइदा हुन्छ । यसमा पाइने भिटामिन र खनिजले छालालाई पोषण दिन्छ । ‘स्क्रब प्याक’ का रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । आँखामुनिको भागमा यो लगाउँदा चाउरीपनबाट बच्न सकिन्छ ।

(एजेन्सीको सहयोगमा)

 Image