Successfully Copied

सकारात्मक ऊर्जाका लागि ‘लक्की बेम्बो’

बेम्बो प्लान्टलाई शुभ मानिन्छ, जसलाई घरमा राख्दा सुख र समृद्धि हुने भनिएको छ

बेम्बो प्लान्टलाई ‘गुड लक’ बिरुवाका रूपमा चिनिन्छ । पछिल्लो समय यो बिरुवा धेरैको घरमा देख्न सकिन्छ । सुन्दर र आकर्षक भएकाले सजावटका रूपमा धेरै प्रयोग गरेको पाइन्छ । यो ‘ड्रेसेना सेन्गरियाना’ प्रजातिमा पर्छ ।

‘प्लान्ट नेपाल’ का सञ्चालक आमस पौडेलका अनुसार ‘लक्की बेम्बो’ को तीन हजारभन्दा पुरानो इतिहास छ । यो बिरुवाको उत्पत्ति भने जापानबाट भएको मानिन्छ । यसमा पनि धेरै प्रकार र आकारको बिरुवा पाइन्छ । सानो आकारको बेम्बोको बिरुवालाई ‘फ्रेन्डसिप प्लान्ट’ पनि भनिन्छ । यो बिरुवा हेरचाह गर्न एकदमै सजिलो हुन्छ ।

फेङसुई चिनियाँ ज्योतिष शास्त्रको हिस्सा हो । यसमा बेम्बो प्लान्टलाई शुभ मानिन्छ, जसलाई घरमा राख्दा सुख र समृद्धि हुने भनिएको छ । फेङसुईका अनुसार जसरी बेम्बो प्लान्ट धेरै समस्या झेलेर पनि सिधा उभिन्छ, त्यसरी नै मानिस पनि जीवनमा हरेक समस्या आउँदा आत्तिएर झुक्नु हुँदैन । वास्तुअनुसार यो बिरुवा घरमा राख्दा शुभ र भाग्य बलियो हुने मान्यता छ । हुन त हरेक बिरुवाले सकारात्मक ऊर्जा दिन्छन् ।

आमसका अनुसार ‘लक्की बेम्बो’ घरमा राख्दा वातावरण शुद्ध हुनुका साथै नकारात्मक ऊर्जालाई हटाइदिन्छ । उनी भन्छन्, ‘डिप्रेसनका बिरामीले बिहान पानी दिँदा निको हुने भनिएको छ । बिहान घाम उदाउनुअघि पानी हाल्दा सकारात्मक ऊर्जा मिल्ने, मन शान्त हुने मान्यता पनि छ ।’ जापान र चीनमा भने यो बिरुवालाई भगवान्भन्दा पनि माथि राखिएको छ ।

छनोट कसरी गर्ने ?

‘लक्की बेम्बो’ को बिरुवा किन्दा स्वस्थ बिरुवा हुनु जरुरी हुन्छ । यो बिरुवाको स्याहार–सुसार गर्न धेरै गाह्रो छैन । तर बिरुवा स्वस्थ भएन भने स्याहार–सुसारमा समस्या हुन सक्छ । स्वस्थ बिरुवा भनेको दाग–धब्बा नभएको, बोट पहेंलो नभएको हुनुपर्छ भने पात धेरै गहिरो हरियो पनि हुनुहुँदैन । बिरुवा दुई र तीन स्टेपको पाइन्छ । यसको मूल्य नेपाली बजारमा ५ सयदेखि १२ सय रुपैयाँसम्म पर्छ ।

स्याहार–सुसार

बिरुवाबाट नमीठो गन्ध आउन थाल्यो भने बिरुवामा ब्याक्टेरिया विकसित भएको हुनसक्छ । पहेंलो भएका पातहरू हटाइदिनुपर्छ । घामको प्रत्यक्ष सम्पर्कबाट टाढै राख्नुपर्छ । तर, बिरुवा बढ्नका लागि भने पर्याप्त उज्यालो चाहिन्छ । उज्यालो कम भएमा धेरै बढ्न पाउँदैन । यो बिरुवालाई धेरै पानीको आवश्यकता पर्दैन । सातामा एकपटक दिए पुग्छ । पानीमा बिरुवा राख्दा जरासम्म डुब्ने गरी पानी राख्नुपर्छ । यसलाई पूरै सुख्खा हुन दिनुहुँदैन । जरा भिज्ने पानी हुनुपर्छ । साथै पानी धेरै हुनुहुँदैन । माटोमा रोप्ने हो भने ओसिलो माटो हुनुपर्छ, तर पानी बढी हुनुहुँदैन । क्लोरिन भएको पानी राख्नुहुँदैन । धाराको पानी राख्नुहुँदैन । साथै लेउ जमेको पानी हुनुहुँदैन । जारको पानी राख्न सकिन्छ । बिरुवा स्वस्थ राख्न हरेक ७–१० दिनमा पानी परिवर्तन गरिदिनुपर्छ ।

बिरुवाबाट नराम्रो किसिमको गन्ध आए फ्याँक्नु नै उचित हुन्छ । किनभने यस्तो बिरुवाले स्वास्थ्यलाई क्षति पुर्‍याउँछ । बिरुवाको नसडेको भाग भए काटेर फेरि रोप्न सकिन्छ, यस्तो बिरुवालाई पानीको धेरै आवश्यकता पर्छ । बिरुवालाई पारदर्शी भाँडामा राख्दा यसको जराले अझ आकर्षक देखिन्छ । चिसो हावा आउने ठाउँमा बिरुवा राख्नुहुँदैन । त्यसका साथै धेरै तातो वा धेरै चिसो हुने ठाउँमा यो बिरुवा सप्रिँदैन । यो बिरुवाको सही तरिकाले हेरचाह गरे तीन फिटसम्म अग्लो हुन सक्छ । यसलाई माटोमा पनि रोप्न सकिन्छ । यसको पातमा धूलो जम्न दिनुहुँदैन किनभने बिरुवाले छिद्रबाट श्वास फेर्छ । समय–समयमा यसको पात ब्रस, कपडा वा स्प्रेको सहायताले सफा गरिराख्नुपर्छ । महिनामा एकपटक फर्टिलाइजरको प्रयोग गर्न सकिन्छ ।

फाइदा

- घरमा समृद्धि र शान्ति ल्याउँछ ।

- पर्यावरण सफा राख्छ । यो प्राकृतिक वायु शुद्धीकरण गर्ने बिरुवा हो ।

- यो बिरुवाले घरको सजावटमा थप सुन्दरता वृद्धि गर्छ ।

- यसले घरको नकारात्मक ऊर्जालाई हटाइदिन्छ ।

- यो बिरुवालाई उपहारका रूपमा पनि दिन सकिन्छ ।

प्रतिबन्धित विषादीको प्रयोगले समस्या

डा. गोविन्द भण्डारी

नेपालमा विषादीको प्रयोग धेरै वर्षदेखि हुँदै आएको छ । छिमेकी मुलुकहरू (भारत र चीन) बाट धेरै मात्रामा विषादी यहाँ भित्रिन्छ । विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाको ०७५ को तथ्यांकअनुसार यहाँ कुल १७० थरीका विषादी दर्ता भएका छन् । ती सबै फरक–फरक समूहमा पर्छन् । धेरैजसो विषादी किटनाशक छन् । तीमध्ये छ थरीका विषादी खतरनाक छन् ।

०७४ मा रुपन्देहीको गैंडहवा गाउँपालिकामा अनुसन्धानका क्रममा २० वर्षअघि प्रयोग भएको डीडीटीको अवशेष माटोमा फेला परेको थियो । कुल १४७ ठाउँको माटो नमुना परीक्षण गर्दा आठ प्रतिशतमा डीडीटी पाइएको थियो । त्यसका अवशेषहरू विभिन्न प्रक्रियाबाट तरकारी हुँदै मानव शरीरमा प्रवेश गरेका हुन सक्छन् । युरोपेली संघले गरेको विभिन्न अनुसन्धानबाट डीडीटी र क्यान्सरको अन्तरसम्बन्ध रहेको पाइएको छ । अन्य विकसित राष्ट्रहरूले गरेका अनुसन्धानमा पनि डीडीटीलाई मानिसमा हुने बाँझोपन, मृगौलाको समस्या, दम, मानसिक रोग, हृदयाघातजस्ता रोगको प्रमुख कारण मानिएको छ । युरोपेली संघले डाइक्लो रोभस, ट्राएजोफस, क्युनालफोस, प्राफेनोफस र कार्बेन्डाजिमलाई प्रतिबन्धित विषादीको सूचीमा राखेको छ । नेपालमा भने यी सबै विषादी जथाभावी प्रयोग भइरहेकै छन् । अध्ययनले माटोमा प्रतिकिलो १ दशमलव ०३ देखि ८ दशमलव १२ माइक्रोग्राम यी विषादी भेटिएका छन् । विषादीको परिणाम अत्यन्तै कमी भए पनि खतरनाक विषादी भएका कारण लापरबाही गर्नु हँदैन । युक्रेनको प्रोफ्रेनोफस विषादीको अधिकतम मात्रा १ माइक्रोग्राम (प्रतिकिलो माटोमा) तोकेको छ । नेपाली माटोमा भेटिएको यो विषादीको परिणामले (१ दशमलव ०९ देखि ३ दशमलव ३७ माइक्रोग्राम प्रतिकिलो) माटोमा हुने जीवजन्तुलाई सीधै नकारात्मक असर पार्छ । विषादी र यसका असरबारेमा किसानहरू अनभिज्ञ छन् । सुरक्षाका उपायहरू नअपनाई विषादी छर्ने कारणले उनीहरू झनै बढी जोखिममा छन् ।

 Image