Successfully Copied

चर्चामा इवेला र ग्यालोनी

विश्व व्यापार संगठन (डब्लुटीओ) ले आफ्नो प्रमुखमा पहिलो पटक महिला नेतृत्व पायो । यो सौभाग्य पाउने महिला हुन्, ६६ वर्षीया एन्गोजी ओकोन्जो इवेला ।

कर्तव्यनिष्ठ इवेला

विश्व व्यापार संगठन (डब्लुटीओ) ले आफ्नो प्रमुखमा पहिलो पटक महिला नेतृत्व पायो । यो सौभाग्य पाउने महिला हुन्, ६६ वर्षीया एन्गोजी ओकोन्जो इवेला । अत्यन्तै संघर्षशील, निर्भय र आफ्नो अडानको पक्का उनी अफ्रिकी मुलुक नाइजेरियाको डेल्टामा जन्मेकी हुन् । उनी दुई कार्यकाल त्यहाँको अर्थमन्त्री बन्न सफल भइन् । यो पनि नाइजेरियाली इतिहासमा पहिलो थियो । केही समयका लागि उनी प्रथम महिला विदेश मन्त्री बन्ने अवसरसमेत पाइन् । उनीसँग विश्व बैंकमा २५ वर्ष काम गरेको अनुभव छ । त्यहाँ उनले प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरेकी थिइन् । उनी डब्लुटीओको मात्र होइन, अफ्रिकी मुलुकहरूबाटै पहिलो पटक प्रमुख बन्न सफल भएकी छन् । २०२१ मार्च १ बाट उनले आफ्नो कार्यभार सम्हालिन् । १९९५ मा डब्लुटीओको स्थापना भएयता एन्गोजी कार्यकारी निर्देशक बन्ने सातौं व्यक्ति बनेकी छन् । उनको कार्यकाल २०२५ अगस्ट ३१ सम्म हुनेछ । एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एन्गोजीलाई नियुक्त गर्न अस्वीकार गर्दै आएको थियो । ट्रम्पले डब्लुटीओ चीनमुखी भएको आरोप लगाउँदै इवेलालाई समर्थन नगरी दक्षिण कोरियाली व्यापार मन्त्री यु युङ हिलाई अघि सारेका थिए । तर हिले उम्मेवारी फिर्ता लिने घोषणा गरेसँग इवेला चयन भएकी हुन् । उनलाई जिताउन डब्लुटीओका सदस्य मुलुकहरूले भर्चुअल विधिबाट मतदान गरेका थिए । उनलाई १६४ सदस्यले चुनेका हुन् ।

अफ्रिकी मुलुक नाइजेरियाको डेल्टामा जन्मिएकी उनी क्वीन्स स्कुलबाट प्राराम्भिक शिक्षापछि हाभर्ड विश्वविद्यालयबाट उच्च शिक्षा ग्रहण गरिन् । उनले अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीमा रिजनल इकोनोमिक्समा पिएचडी गरिन् । नाइजेरियाली राज्य एबियाका न्युरोसर्जन इकेम्बासँग विवाह गरेकी उनका चार सन्तान छन् । दुई वर्षअघि उनले अमेरिकी नागरिकता लिएकी थिइन् । उनले विश्व बैंकमा मात्रै काम गरेकी छैनन्, उनीसँग स्ट्यान्डर्ड चार्टड बैंक, ग्लोबल अलायन्स फर भ्याक्सिन, ट्वीटर, अफ्रिकी रिस्क क्यापासिटीमा काम गरेको अनुभव पनि छ । यति मात्रै होइन नाइजेरियाको ऋण घटाउने काममा उनको योगदान अतुलनीय छ ।

उनलाई बेतुक कुरा मन पर्दैन । गलत दृष्टिकोण राख्नेलाई उनी ठाडै अस्वीकार गरिदिन्छिन् । उनले मुलुकमा केही सुधार ल्याउने प्रयास गर्दा आमाको अपहरणको चरणबाट गुज्रनुपर्‍यो । खासगरी इन्धन क्षेत्रमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने क्रममा शक्तिशाली तेल आयातकर्ताहरूले उनकी आमालाई अपहरण गरेका थिए । तेल बिक्रीका लागि सरकारबाट सहुलियतको ठूलो रकम आफूहरूलाई चाहिने माग उनीहरूको थियो । त्यो अस्वीकार गरेपछि उनका चिकित्सक तथा सामाजशास्त्रका अवकाश प्राप्त आमा केमेने ओकान्जोलाई अपहरण गरिएको थियो । प्रायः परिवारजनले अपहरणमा परेका आफन्तलाई छुटाउन रकम बुझाउँछन् । किनभने त्यहाँका सुरक्षाकर्मीहरू अपहरणकारीसम्म पुग्नै सक्तैनन् । तर तत्कालीन अर्थमन्त्रीको हैसियतमा उनले आमाका अपहरणकारीसमक्ष झुकेनन् । अपहरणकारीले पहिले राजीनामा मागेका थिए, पछि फिरौती बुझाउन भनेका थिए । यी दुवै गर्न उनले अस्वीकार गरिन् । सन् २०१२ मा दक्षिणी नाइजेरियास्थित आफ्नै घरबाट ८२ वर्षीय आमाको अपहरण भएको थियो । आफ्नो अडानमा कायमै रहेको देखेर अपहरणकारीले पाँच दिनपछि उनकी आमालाई मुक्त गरिदिएका थिए ।

उनको जीवन गरिबीमा बितेको थियो । उनी नौ वर्षको उमेरसम्म आफ्नी हजुरआमासँग बसेकी थिइन् । किनभने उनका आमाबुवा पढ्नका लागि विदेश गएका थिए । उनले एउटा अन्तर्वार्तामा भनेकी छन्, ‘म कुनै पनि कष्ट सहन सक्छु । किनभने मैले बाल्यकाल गरिबीमा बिताएकी छु । गाउँमा एउटी केटीले गर्ने सबै काम मैले गरेकी छु । पानी ल्याएँ, हजुर आमासँग खेतमा गएँ, मैले गरिबीलाई नजिकबाट हेरेकी छु ।’ उनले बियाफ्रा गृह युद्ध पनि हेरेकी छन् । युद्धका क्रममा उनको सबै सम्पत्ति खोसियो । किनभने उनका बुवा एक प्रसिद्ध प्राध्यापक र बियाफ्रान बलमा ब्रिगेडिएर थिए । अहिले तिनैले २२० मिलियन डलर बजेट चलाउन पाउने अधिकार पाएकी छन् । उनी अझै पनि आफ्नो खाना आफै बनाउन रुचाउँछिन् । सन् २०१५ मा फाइनान्सिय टाइम्ससँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म आफ्नो खाना आफै बनाउन मन पराउँछु ।’ उनी जीवनमा सधै स्वावलम्बी बन्ने प्रयासमा दृढ रहिन् ।

विश्वकै पहिलो आर्थिक महाशक्तिको दौडमा रहेको अमेरिका र चीनबीच बढ्दो दूरी कम गर्ने अपेक्षा गरिएको छ । त्यस्तै कोभिड–१९ ले विश्वको अर्थतन्त्र थिलथिलो भएको अवस्थामा आर्थिक संकटबाट गुज्रिरहेका मुलुकलाई राहत प्रदान गर्ने जिम्मेवारी पाएको संस्था आफै संकटमा परेको छ । यो संकटबाट डब्लुटीओलाई मुक्त गराउन उनको भूमिका पनि महत्वपूर्ण रहने विश्वास गरिएको छ । विकास र जलवायु परिवर्तनका मुद्दाहरूलाई उनले पहिलो प्राथमिकतामा राखेकी छन् । उनले अफ्रिकन अफ द इयर, ग्लोबल लिडरसिप अवार्ड, ग्लोबल फाइनान्स मिनिस्टर अफ द इयर, टाइम्स युरोपियन हिरोज् अवार्डलगायतका प्रतिष्ठित अवार्ड पाइसकेकी छन् । धेरै संघसंस्थामा आबद्ध उनले १४ वटा प्रतिष्ठित विश्वविद्यालयबाट मानार्थ डिग्री हासिल गरेकी छन् ।

१७० वर्षमा बल्ल प्रथम

कुनै पनि मुलुकको चौथो अंगका रूपमा संचारजगत्लाई लिने गरिन्छ । पत्रकारिता, संचार माध्यम वा संचारगजत्को इतिहास धेरै पुरानो भए पनि महिलाका लागि बल्ल यसको नेतृत्व तहमा पुग्ने अवसर जुट्दैछ । यसो त यो क्षेत्रमा पुरुषको तुलनामा महिलाको सहभागिता र उपस्थिति न्यून छ । तर, जति छन्, सबै योग्य, सक्षम र दक्ष छन् । आफूले पाएको जिम्मेवारी बडो गम्भीरताका साथ निर्वाह गर्न सक्ने कार्यक्षमता भएका छन् । आफ्नै प्रतिभा, लगन र परिश्रमबाट आफूलाई स्थापित गर्दै सफलताको शिखर महिलाले चुमेकै छन् । त्यसको पछिल्लो उदाहरण ४७ वर्षीया एलेस्यान्ड्रा ग्यालोनी बनेकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ को १७० वर्षको इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक बन्न उनी सफल भएकी छन् । इटालीमा जन्मिएकी उनलाई प्रधान सम्पादक बनाउने घोषणा ‘रोयटर्स’ ले अप्रिल १३ तिर गरेको हो । उनलाई एक दशकभन्दा बढी समय समाचार संस्थाको नेतृत्व गर्दै आएका स्टिफन एडलरको ठाउँमा रोयटर्सले छानेको हो । सन् २०१५ यता ग्यालोनी रोयटर्समा ग्लोबल प्रबन्ध सम्पादक थिइन् । विश्वभर २०० स्थानमा ‘रोयटर्स’ का लागि २५ सय कर्मचारी कार्यरत रहेको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

ग्यालोनीले १९ अप्रिल २०२१ बाट आफ्नो कार्यभार सम्हालिसकेकी छन् । न्यूयोर्क सहरमा मुख्यालय रहेको अमेरिकी अन्तर्राष्ट्रिय बिजनेस दैनिक पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ मा करिब १३ वर्ष (वर्ष २००१–१३ सम्म) सम्वाददाता, आर्थिक तथा व्यापार लेखक र सम्पादकका रूपमा न्यूयोर्क, लन्डन, पेरिस र रोममा रही कार्य गरेको उनको अनुभव छ । उनले रोयटर्समा सन् २०१३ तिर इटालीको रोममा रहेर दक्षिणपूर्वी युरोपका लागि सम्पादकको भूमिका निर्वाह गरिन् । त्यसपछि लन्डनमा रहेर ग्लोबल न्युज एडिटरका रूपमा कार्य गरिन् । उनले रोयटर्स र द वाल स्ट्रिट जर्नलका लागि व्यापार र राजनीतिका विषयमा धेरै समाचार लेखिसकेकी छन् ।

‘रोयटर्स’ निष्पक्ष, गुणस्तरीय र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्नेमा विश्वभर अब्बल मानिन्छ । हो, त्यही ‘रोयटर्स’ को कार्यकारी समितिमा आफ्नो दक्षता, क्षमता र योग्यतालाई थप प्रदर्शन गर्ने अवसर उनले पाएकी छन् । यसो त सन् २०१५ देखि नै रोयटर्सको समाचारकक्षमा रही समाचारको योजना र सिर्जना गर्दै आफ्नो दक्षता र क्षमता प्रदर्शन गरिसकेकी छन् । ग्यालोनी अंग्रेजी, फ्रेन्च, इटाली र स्पेनिश गरी चार भाषाकी जानकार छिन् । यी सबैमा धाराप्रवाह लेख्न र बोल्न सक्छिन् । हावर्ड विश्वविद्यालय तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट उनले उच्च शिक्षा हासिल गरेकी छन् । ग्यालोनीले गेराल्ड लोएब फाउन्डेसनबाट प्रदान गरिने ‘मिनार्ड एडिटर अवार्ड–२०२०’, ‘अभर्सिज प्रेस क्लब अवार्ड’ र ‘युके बिजनेस जर्नलिस्ट इयर अवार्ड’ पाइसकेकी छन् ।

‘रोयटर्स’ का अध्यक्ष माइकेल फ्रिन्डेनबर्गले उनीबारे भनेका छन्, ‘एलेस्यान्ड्रा एउटी परिवर्तनकारी तथा प्रेरणादायी नेतृ हुन्, जसले विश्वको परिप्रेक्ष्यमा समाचारको भविष्यका लागि एउटा सम्मोहन दृष्टिकोण प्रदान गर्दै उत्कृष्ट पत्रकारिताको प्रमाण प्रस्तुत गरिसकेकी छन् । उनी एउटा व्यापक र विश्वव्यापी खोजी तथा अत्यधिक प्रतिस्पर्धामा स्ट्यान्डआउट उम्मेदवार रहिसकेकी छन् जो धेरै प्रतिभाशाली आन्तरिक र बाह्र उम्मेदवारलाई पछि पार्दै छनोट भइन् । एलेज्सान्ड्रा ग्लोबल म्यानेजिङ सम्पादक बनेपछि हाम्रो समाचार उत्पादन प्रवाहमा एकदमै नवीनता, गति र गुणात्मकता ल्याउन सफल भइन् ।’

नियुक्तिका लागि छनोटमा परेपछि एलेज्यान्ड्राले भनेकी थिइन्, ‘म रोयटर्सको प्रधान सम्पादक बन्नका लागि आतुर छु । १७० वर्षमा रोयटर्सले स्वतन्त्र, विश्वसनीय र विश्वभर रिपोर्टिङका लागि मानक निर्धारण गरेको छ । मेरा लागि प्रतिभाशाली, समर्पित र प्रेरक पत्रकारहरूले भरिभराउ विश्वस्तरीय समाचार कक्षको नेतृत्व गर्न पाउनु एउटा सम्मान र गर्विलो विषय हो । म थम्सन रोयटर्सका अध्यक्ष तथा सिइओ स्टिभ हास्करलाई मलाई छनोट गर्ने सल्लाहका लागि र रोयटर्समाथि एउटा दूरदर्शी तथा स्थायी मोहर लगाउन मलाई नेतृत्वदायी अवसर प्रदान गरेकोमा धेरै आभारी छु ।’

एजेन्सीको सहयोगमा

 Image