Successfully Copied

उचित खाद्यान्न छनोट

खाद्यान्नको उचित छनोटसँगै सरसफाइ तथा स्वच्छतामा विशेष ध्यान दिनुपर्छ ।

विपिन कार्की, डाइटिसियन

मौसम, भूगोल तथा संस्कृतिअनुसार हाम्रो दैनिक खानपान फरक हुन्छ । मौसम परिवर्तनसँगै हामीले खानपानमा विशेष सजगता अपनाउनुपर्छ । साथै, खाद्यान्नको उचित छनोटसँगै सरसफाइ तथा स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । खासगरी वर्षामा खाना, पानी, फलफूल तथा तरकारीको माध्यमबाट हानिकारक ब्याक्टेरिया तथा भाइरस हाम्रो शरीरमा प्रवेश गर्न सक्छन् । त्यसैले खाद्यवस्तुलाई राम्ररी पखालेर खानुपर्छ भने पानी फिल्टर गरेर मात्र पिउनुपर्छ । खाना पनि उचित तापक्रममा पकाएर खानुपर्छ । बजारबाट ल्याएका फलफूल तथा तरकारीलाई मनतातो पानीमा १० मिनेट डुबाएर पखाल्नुपर्छ । हरियो सागलाई सफा पानीमा २/३ पटक सफा गरेपछि मात्रै पकाउनुपर्छ । यसो गरेमा करिब ५० प्रतिशत खानाजन्य रोग नियन्त्रणमा ल्याउन सकिन्छ ।

कोरोना भाइरसको कहर जारी रहेकाले रोगप्रतिरक्षा प्रणालीलाई टेवा प्र्‍ुयाउने प्रोटिन, भिटामिन, खनिज र ऊर्जा प्रदान गर्ने फ्याट तथा कार्बोहाइड्रेट्स प्राप्त हुने खाद्यपदार्थमा जोड दिनुपर्छ । वर्षामा आफ्नो खानामा यी खाद्यपदार्थहरू समावेश गर्नुपर्छ :–

१) भिटामिन ‘सी’ युक्त कागती, अमला, अम्बा, किबी, स्ट्रबेरी, गोलभेंडा आफ्नो दैनिक थालीमा समावेश गर्नुपर्छ । यसले शरीरमा रोगप्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै छाला स्वस्थ राख्न सहयोग गर्छ ।

२) भिटामिन ‘डी’ पाइने अण्डा, चीज, कलेजो आफ्नो खानामा समावेश गर्नुपर्छ । यी खाद्यपदार्थ पनि रोगप्रतिरक्षाका लागि महत्वपूर्ण मानिन्छन् । भिटामिनको आवश्यकता उमेर समूहका आधारमा निर्धारण गरिएको हुन्छ । यसको आवश्यकता सकेसम्म खाना वा प्राकृतिक रूपबाट परिपूर्ति गर्नु आवश्यक छ । सप्लिमेन्टको प्रयोग गर्दा चिकित्सकको अनुमति लिएर मात्र प्रयोग गर्नुपर्छ ।

३) वर्षामा शरीलाई न्यानो राख्न तरकारी मिसाइएको सुप, ज्वानोको सुप, गेडागुडीको रस, कागती, बेसार र महपानी सेवन गर्नाले शरीरको तापक्रम नियन्त्रणमा मद्दत पुग्छ । अदुवा, लसुन र मरिच हालेको सुप खानुपर्छ ।

४) स्न्याक्सका रूपमा भुटेको बदाम, काजु, आल्मोन्ड खान सकिन्छ । यी खाद्यपदार्थमा फ्याटी एसिड, ओमेगा ३ पाइने हुनाले आँखा र छालालाई संक्रमण हुनबाट जोगाउनुका साथै मुटुलाई पनि स्वस्थ राख्छ ।

५) टुसा उमारेको चना, राजमा, केराउ, प्याज, गाजर, गोलभेंडा, कागती, काँक्रा मिसाएर सलादका रूपमा खान सकिन्छ । यस्तो सलाद स्वास्थ्यवर्द्धक हुन्छ ।

६) दहीमा पाइने ‘प्रो–बायोटिक्स’ पेटका लागि फाइदाजनक हुन्छ । यसले पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । वर्षामा दहीलाई खानामा नियमित रूपमा समावेश गर्नु उचित हुन्छ ।

७) लौका, चिचिन्डो, फर्सी, बोडी, स्कुसका मुन्टा, स्कुस, हरियो केराउ, कुरिलो आदि फाइबरयुक्त सागसब्जी खानामा समावेश गर्नुपर्छ ।

८) भुटेको मकै×/भटमासमा पोषण तत्व हुनाले स्वास्थ्यवर्द्धक हुन्छ । यसलाई थप स्वादिलो बनाउन गुन्द्रुकको अचार प्रयोग गर्न सकिन्छ । गुन्द्रुकले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

९) रातको समयमा थोरै बेसार हालेको दूध पिउनुपर्छ । यसले मीठो निद्रामा मद्दत पुग्नुका साथै शरीरमा फुर्ती र ऊर्जा प्रदान गर्छ ।

 Image